१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

'पीडा नहोस् भन्ने मात्र चिन्ता'

काठमाडौं-रक्त क्यान्सरबाट पीडित साहित्यकार जगदीश घिमिरेको बिहीबार बिहान सवा ५ बजे निधन भएको छ। ६८ वर्षिय घिमिरे ३५ दिनदेखि चाबहिलको ओम अस्पतालमा मल्टिपल माइलोमा (रक्त क्यान्सर)को उपचार गराइरहेका थिए।'अन्तर्मनको यात्रा', 'लीलाम', 'जगदीशका कथाहरु', 'सन्तान' र 'साविती' लगायत कृति लेखिसकेका उनले 'अन्तर्मनको यात्रा'का लागि २०६४ मा मदन पुरस्कार र उत्तम शान्ति पुरस्कार पाएका थिए। आठ वर्षउपचार गराइसकेको रोग बल्झिएपछि उनलाई अस्पताल भर्ना गरेर किमो दिइरहेको थियो।

साहित्यकार र साहित्यप्रेमीहरु उनलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका थिए। 'किमोले गर्दा उहाँ गल्नुभएको थियो। उपचारमा सहभागी डाक्टरको सल्लाह अनुसार अस्पतालमा भर्ना गरेका थियौं।' छोरा हिमालले नागरिकसँग भने।

अस्पताल भर्ना हुँदा खासै कसैलाई खबर नगरिएको पनि उनले बताए। 'बुबाको निकट साथीभाइलाई मात्र खबर गरिएको थियो। तर उहाँ अस्पताल आएको थाहा पाएपछि साहित्यकारहरुको ओहोरदोहोर जारी थियो। पछिल्ला दिनमा उहाँलाई धेरै पिडा भएको थियो,' उनले भने। घिमिरेको परिवारमा पत्नी दुर्गा, छोरा हिमाल र छोरी जुन छन्।

रंगकर्मी सुनिल पोखरेलले घिमिरेको मृत्युले आफूलाई मर्माहत बनाएको प्रतिक्रिया दिए। 'बिहान जगदीश दाइको मृत्युको खबर आयो। एकछिन सपनाझैं लाग्यो। पत्याउन गाह्रो भयो। खबर सुनिरहँदा भाव विह्वल भैसकेको थिएँ। मलाई माया गर्ने आदरणीय दाजु गुमाएको छु। राजधानीमा नभएकाले आर्यघाट जान पाइनँ। दाइसँगका यादहरुलाई सम्झेर बसेँ,' उनले भने। पोखरेलले दसैंअघि मात्र घिमिरेको उपन्यास 'साविती'लाई नाटकमा रुपान्तरण गरेर अभिनय गरेका थिए।

लेखक नयनराज पाण्डेले आफ्नो कृति 'घामकिरी' विमोचनमा निम्तो स्वीकारेर आएको स्मरण गर्दै घिमिरेको लेखन उम्दा रहेको टिप्पणी गरे। 'उहाँ मृत्युसँग डराउनुभएन। मर्ने बेला कुनै पीडा नहोस् भन्ने मात्र उहाँको चिन्ता थियो। अस्पतालमा भेट्न जाँदाआउँदा समेत साहित्यका विषयमा कुरा भएको थियो,' पाण्डेले भने। उनका अनुसार घिमिरेले मिथ र राजनीतिलाई समावेश गरेर नयाँ साहित्य तयार गरिरहेका थिए।

पाण्डेले घिमिरेको साहसिक जीवनबाट प्रेरित भएर 'यात्रा अन्तर्मनको' नामक डकुमेन्ट्री नै तयार गरेका थिए। २०६५ सालदेखि सुरु गरेको डकुमेन्ट्री तीन महिनाअघि सकाएर केही साहित्यकारसँगै घिमिरेलाई पनि देखाइएको थियो। 'क्यान्सर जस्तो भयानक रोगबाट आक्रान्त हुँदा पनि जीवनलाई कसरी सकारात्मक सोचले अगाडि बढाउन सकिन्छ भन्ने डकुमेन्ट्रीको सन्देश थियो। भन्न खोजेको कुरा डकुमेन्ट्रीमा आएछ भनेर उहाँ सन्तुष्ट हुनुहुन्थ्यो,' पाण्डेले भने। आधा घन्टे डकुमेन्ट्री घिमिरे छँदै सार्वजनिक गर्ने इच्छा अपूरै रहेकोमा पाण्डेलाई खल्लो लागेको छ।

लेखक खग्रेन्द्र संग्रौलाले व्यक्तिगतभन्दा पनि कृतिका नाताले घिमिरेसँग बढी परिचित भएको बताए। 'हामी दुवै माक्र्सवादी धारबाट प्रभावित लेखक पर्यौं। समकालीन भए पनि एकअर्काबीच कहिल्यै प्रतिस्पर्धा भएन। बरु एकअर्काको कृतिमाथि विश्लेषण भने हुन्थ्यो,' उनले भने।

घिमिरेको 'लीलाम' कृति सार्वजनिक भएको बेला संग्रौलाको 'चेतनाको पहिलो राग' बजारमा आएको थियो। 'एकै समयका भए पनि बीचमा उहाँ विकासे काममा व्यस्त भएर साहित्यबाट टाढिनु भयो। पछि साहित्यमा फर्किएपछि कार्यक्रममा भेटघाट हुन्थ्यो,' संग्रौलाले भने।

प्रकाशित: १४ कार्तिक २०७० २३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App