१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

'बिहे सबैभन्दा ढोंगी साइनो'

काठमाडौं– विवाह र अभिनय गरेका फिल्मको गुणस्तरबारे अभिनेता राजेश हमालले जीवनकालमा धेरै प्रश्न सामना गर्दै आएका छन्। एनसेल नेपाल लिटरेचर फेस्टिभलमा सोमबार आफ्नो नालीबेली सुनाउन आएका हमाललाई यी प्रश्नले फेरि पछ्याए।अपेक्षा अनुरुप नेपाली फिल्मलाई दिशा निर्देश नगर्नुको र विवाह नगरेर पुस्ता हस्तान्तरणमा ढिलाइ गर्नुको कारण सहभागीले हमालसँग सोधे। हमालको बिहेप्रति चिन्तित एक प्रश्नकर्ता महिलाले त राजेश हमालले वंशपरम्परालाई कहिले निरन्तरता दिने हो ठ्याक्कै जवाफ चाहियो भनेर हमाललाई र्‍याख र्‍याख पारिन्।

'तपाईसँगैका मानिसले दोस्रो पुस्ता हुकाइसके । तपाईंको अर्को पुस्ता हामीले कहिले देख्न पाउने?' महिलाको प्रश्न थियो । प्रश्नसँगै फैलिएको हाँसोबीच हमालले आफूले सबै नेपाली महिलालाई दिदीबहिनी भन्ने गरेकाले बिहेमा ढिलाइ भएको बताए । उनले थपे, 'म योग्य पुस्ता तयार गर्ने बाटोमा छु । तपाईंको आशीर्वाद लागोस् ।'

हमाल लिटरेचर फेस्टिभलको अन्तिम दिनको पहिलो सत्रमा अनुप बरालसँग 'सेलिब्रेटिङ राजेश हमाल' शीर्षकको छलफलमा उपस्थित थिए । छलफलमा आफ्नो स्वभावदेखि नेपाली फिल्मको आरोहअवरोहका विषयमा बोलेका हमालको छलफलको 'हाइलाइट' भने उनको बिहे नै थियो । छलफलको मध्यतिर बरालले सार्वजनिक चासोमा रहेको हमालको बिहेलाई जोड्ने गरी प्रश्न सोधेर यसको सुरुवात गरिदिए । बरालको प्रश्न थियो, 'जीवन संगिनी किन चाहिने रहेछ ?'

छिट्टै प्रेमिका मधु भट्टराईसँग विवाहको तयारी गरिरहेका हमालले अपेक्षा विपरीत निर्मम उत्तर दिए । 'विवाह सबैभन्दा ढोंगी साइनो हो । तपाईं आफ्नो आवश्यकताका लागि कसैलाई प्रेम गरिरहेको नाटक गरिरहनुहुन्छ । तर सत्य के हो भने कुनै पनि पुरुष र नारी जीवनभर एकअर्काप्रति आकर्षित भएर रहिरहन सक्दैनन्,' हमालले थपे, 'हामी आफ्नो एक्लोपनदेखि डराउँछौं । त्यसैले हामीलाई जीवनसंगिनी चाहिन्छ ।'

एक घन्टा चलेको सेसनमा उनले बिहेबाहेक कलात्मक फिल्मप्रतिको रुचि, बुबासँगको सम्बन्ध र नेपाली फिल्मको उन्नति–अवोन्नतिबारे संवाद गरे । केही वैयक्तिक अनुभवसमेत बाँडेका हमालको कथाले धेरैलाई भावुक बनाएको थियो ।

फेस्टिभलको अन्तिम दिन आठ शीर्षकका कार्यक्रम भएका थिए । हमालपछि सोही मञ्चमा भारतीय पत्रकार तथा लेखक एन्नी जेइडी पत्रकार सोमेश वर्मासँग 'रिपोर्टिङ द अननोन टर्फ' मा गफिइन्। छलफलका क्रममा जेइडीले मूलधारको पत्रकारिता र ब्लग लेखन छाडेर पुस्तक लेखक बनेको अनुभव सुनाइन् । सो क्रममा उनले लेखन अभ्यासका स्मृतिसमेत सुनाइन्। जेइडीसँग सोमेशको वार्ता चलिरहँदा सोही समयमा डबलीपट्टि अमर न्यौपाने, मोहन मैनाली र नयनराज पाण्डे 'आख्यान र गैरआख्यान'को महत्व केलाउन व्यस्त थिए। सो छलफललाई आनन्द राईले मध्यस्तता गरेका थिए।

अर्को चरणमा रवि थापाले बेलायती लेखक नेड बेउमनसँग 'ग्रोइङ अप विथ ग्रान्टा' शीर्षकमा छलफल गरेका थिए । उनको पुस्तक ग्रान्टा, लेखन शैली र त्यस क्रममा उनले गरेका अध्ययन, अन्वेषणका पाटोबाटे उक्त सत्रमा छलफल भएको थियो।

'नेपाली भाषा कसको ?' शीर्षकका अर्को सत्रमा नेपाली भाषाले अहिले खेपिरहेको चुनौतीबारे वसन्त थापासँग खगेन्द्र संग्रौलाले छलफल गरे । दुई मध्यस्थकर्ता क्रमशः किशोर नेपाल र वसन्त बस्नेतले नयाँ र पुराना पुस्ताका तीन–तीन वक्तामाझ 'पुस्तान्तर' शीर्षकमा छलफल गरेका थिए । दुई घन्टा चलेको सत्रमा पुरानो पुस्ताका शैलेन्द्र शेखर, बेञ्जु शर्मा र श्यामल एवं नयाँ पुस्ताका बुद्धिसागर, आन्विका गिरी र प्रवीण अधिकारीले दुई पुस्ताका लेखन शैली, स्वभाव र विषयवस्तुबारे छलफल गरे ।

फेस्टिभलको अन्तिम सत्र सुरु हुनुअघि वासुदेव अधिकारीको 'गायब सभामुख' नामक पुस्तक विमोचन गरिएको थियो । पुस्तकलाई राजन मुकारुङ, कृष्ण धरावासी, र अमर न्यौपानेले विमोचन गरेका थिए । अन्तिम प्रस्तुतिका रुपमा १८ जना कविहरुले कविता सुनाए । त्यसअघि 'छापा पत्रकारिताको भविष्य' शीर्षकमा तीन सम्पादकहरु राजेन्द्र दाहाल, अमित ढकाल र अखिलेश उपाध्यायले बहस गरेका थिए । चार दिन चलेको फेस्टिभलमा २० देखि २५ हजार दर्शकले सहभागिता जनाएको आयोजक बुकवर्मका निरज भारीले दाबी गरे ।

प्रकाशित: १२ कार्तिक २०७० ००:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App