'तपाईसँगैका मानिसले दोस्रो पुस्ता हुकाइसके । तपाईंको अर्को पुस्ता हामीले कहिले देख्न पाउने?' महिलाको प्रश्न थियो । प्रश्नसँगै फैलिएको हाँसोबीच हमालले आफूले सबै नेपाली महिलालाई दिदीबहिनी भन्ने गरेकाले बिहेमा ढिलाइ भएको बताए । उनले थपे, 'म योग्य पुस्ता तयार गर्ने बाटोमा छु । तपाईंको आशीर्वाद लागोस् ।'
हमाल लिटरेचर फेस्टिभलको अन्तिम दिनको पहिलो सत्रमा अनुप बरालसँग 'सेलिब्रेटिङ राजेश हमाल' शीर्षकको छलफलमा उपस्थित थिए । छलफलमा आफ्नो स्वभावदेखि नेपाली फिल्मको आरोहअवरोहका विषयमा बोलेका हमालको छलफलको 'हाइलाइट' भने उनको बिहे नै थियो । छलफलको मध्यतिर बरालले सार्वजनिक चासोमा रहेको हमालको बिहेलाई जोड्ने गरी प्रश्न सोधेर यसको सुरुवात गरिदिए । बरालको प्रश्न थियो, 'जीवन संगिनी किन चाहिने रहेछ ?'
छिट्टै प्रेमिका मधु भट्टराईसँग विवाहको तयारी गरिरहेका हमालले अपेक्षा विपरीत निर्मम उत्तर दिए । 'विवाह सबैभन्दा ढोंगी साइनो हो । तपाईं आफ्नो आवश्यकताका लागि कसैलाई प्रेम गरिरहेको नाटक गरिरहनुहुन्छ । तर सत्य के हो भने कुनै पनि पुरुष र नारी जीवनभर एकअर्काप्रति आकर्षित भएर रहिरहन सक्दैनन्,' हमालले थपे, 'हामी आफ्नो एक्लोपनदेखि डराउँछौं । त्यसैले हामीलाई जीवनसंगिनी चाहिन्छ ।'
एक घन्टा चलेको सेसनमा उनले बिहेबाहेक कलात्मक फिल्मप्रतिको रुचि, बुबासँगको सम्बन्ध र नेपाली फिल्मको उन्नति–अवोन्नतिबारे संवाद गरे । केही वैयक्तिक अनुभवसमेत बाँडेका हमालको कथाले धेरैलाई भावुक बनाएको थियो ।
फेस्टिभलको अन्तिम दिन आठ शीर्षकका कार्यक्रम भएका थिए । हमालपछि सोही मञ्चमा भारतीय पत्रकार तथा लेखक एन्नी जेइडी पत्रकार सोमेश वर्मासँग 'रिपोर्टिङ द अननोन टर्फ' मा गफिइन्। छलफलका क्रममा जेइडीले मूलधारको पत्रकारिता र ब्लग लेखन छाडेर पुस्तक लेखक बनेको अनुभव सुनाइन् । सो क्रममा उनले लेखन अभ्यासका स्मृतिसमेत सुनाइन्। जेइडीसँग सोमेशको वार्ता चलिरहँदा सोही समयमा डबलीपट्टि अमर न्यौपाने, मोहन मैनाली र नयनराज पाण्डे 'आख्यान र गैरआख्यान'को महत्व केलाउन व्यस्त थिए। सो छलफललाई आनन्द राईले मध्यस्तता गरेका थिए।
अर्को चरणमा रवि थापाले बेलायती लेखक नेड बेउमनसँग 'ग्रोइङ अप विथ ग्रान्टा' शीर्षकमा छलफल गरेका थिए । उनको पुस्तक ग्रान्टा, लेखन शैली र त्यस क्रममा उनले गरेका अध्ययन, अन्वेषणका पाटोबाटे उक्त सत्रमा छलफल भएको थियो।
'नेपाली भाषा कसको ?' शीर्षकका अर्को सत्रमा नेपाली भाषाले अहिले खेपिरहेको चुनौतीबारे वसन्त थापासँग खगेन्द्र संग्रौलाले छलफल गरे । दुई मध्यस्थकर्ता क्रमशः किशोर नेपाल र वसन्त बस्नेतले नयाँ र पुराना पुस्ताका तीन–तीन वक्तामाझ 'पुस्तान्तर' शीर्षकमा छलफल गरेका थिए । दुई घन्टा चलेको सत्रमा पुरानो पुस्ताका शैलेन्द्र शेखर, बेञ्जु शर्मा र श्यामल एवं नयाँ पुस्ताका बुद्धिसागर, आन्विका गिरी र प्रवीण अधिकारीले दुई पुस्ताका लेखन शैली, स्वभाव र विषयवस्तुबारे छलफल गरे ।
फेस्टिभलको अन्तिम सत्र सुरु हुनुअघि वासुदेव अधिकारीको 'गायब सभामुख' नामक पुस्तक विमोचन गरिएको थियो । पुस्तकलाई राजन मुकारुङ, कृष्ण धरावासी, र अमर न्यौपानेले विमोचन गरेका थिए । अन्तिम प्रस्तुतिका रुपमा १८ जना कविहरुले कविता सुनाए । त्यसअघि 'छापा पत्रकारिताको भविष्य' शीर्षकमा तीन सम्पादकहरु राजेन्द्र दाहाल, अमित ढकाल र अखिलेश उपाध्यायले बहस गरेका थिए । चार दिन चलेको फेस्टिभलमा २० देखि २५ हजार दर्शकले सहभागिता जनाएको आयोजक बुकवर्मका निरज भारीले दाबी गरे ।
प्रकाशित: १२ कार्तिक २०७० ००:१४ मंगलबार





