१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

युटुबमा हिट हुँदै 'सन्डे मर्निङ'

काठमाडौं– लोक गायक भीम निरौलाले नेपाली शैलीमा गाएको अंग्रेजी गीत 'सन्डे मर्निङ लभ यु' गीत युटुबमा क्रमशः चर्चित बन्दै गएको छ। गत असोज २६ मा युटुबमा राखिएको यस गीतलाई बुधबार साँझसम्म दुई लाख २७ हजारभन्दा बढी दर्शकले हेरिसकेका छन् । कमेडी शैलीमा गाउँदै नृत्य गरेको भिडियोलाई प्रति घन्टा ५ हजार दर्शकले हेरिरहेका छन्। बिहीबार दिउसोसम्म यो गीत २ लाख ७४ हजारले हेरेका छन्।

'निर्देशकले जे जे गर्न आउँछ गर भनेर भनेका थिए। मलाईजस्तो नाच्न आउँथ्यो त्यस्तै नाचेको हुँ। मेरा सबै हाउभाउलाई क्यामेरामा कैद गरेर प्रोडक्सन कम्पनीले भिडियो तयार गरेको हो,' गायक निरौलाले भने । बेलायती निर्देशक रोजर बाल्गले म्युजिक भिडियो निर्देशन गरेका हुन्। लाइट इन्जिन फिल्म कम्पनीले निर्माण गरेको भिडियोमा बेलायती मोडल कार्पी कौकोचले अभिनय गरेकी छिन् । गीतमा शब्द–संगीत भने निरौला स्वयंको छ । भिडियो दुई हजार पाउन्ड खर्चमा तयार भएको हो।

गीत रेकर्ड गरेको तीन महिनापछि भिडियो निर्माण गरिएको उनले बताए । उनले गीत असार ७ मा ह्वाइटहाउस रेकर्डिङ स्टुडियोमा तीन सय पाउन्डमा रेकर्ड गराएका थिए । भिडियोको सुटिङ चाहिँ साउन १३ मा पूर्वी लन्डनमा तीन दिन लगाएर गरिएको थियो ।

'गीतको केही भाग स्टुडियोभित्र हरियो पर्दा राखेर खिचिएको थियो भने बाँकी सुटिङ आउटडोर गरेका थियौं । भिडियोमा अभिनय गर्न नेपाली मोडल नभेटिएपछि एक महिना कुरेर बेलायती मोडललाई काम गरायौं,' उनले नागरिकसँग फेसबुक च्याटमा भने। नेपाली मोडलहरुले व्यस्तताका कारण समय दिन नसकेपछि बेलायती मोडल लिनु परेको निरौलाले बताए।

गायक निरौलाले एल्बम निकाल्ने उद्देश्यले गीत रेकर्डिङ गरिएको र अहिलेसम्म ६ वटा गीत रेकर्ड भइसकेको जनाएका छन् । आठ गीत पुर्‍याएर एल्बम निकाल्ने सोच रहेको बताउँदै उनले एल्बमको नाम 'सन्डे मर्निङ लभ यु' रहने पनि जनाए।

'दुइटा गीत रेकर्ड सिध्याएर नेपाल आएपछि सार्वजनिक गर्ने सोच छ,' उनले भने, 'नेपालमा संगीतमा लागेर बाँच्न सकिन्न । निरन्तरताका लागि मात्र गीत सिर्जनामा सक्रिय भएको हुँ।' गीतले लोकप्रियता पाइरहेकाले आई–ट्युन्स राम्रै बिक्री हुने उनको अपेक्षा छ । त्यसैले उनी चाँडै नै गीतलाई आई–ट्युन्स लगायत अन्य साइटमा राख्दैछन्।

'मैले संगीत अध्ययन गरेको छैन । त्यही पनि मेरो गीतलाई मन पराएर हेर्ने दर्शकहरुलाई धन्यवाद दिन चाहन्छु । यसले मलाई संगीतमा लाग्न प्रेरित गरेको छ,' उनले भिडियोले प्राप्त गरेको लोकप्रियतालाई इंगित गर्दै भने ।

आठ वर्षदेखि बेलायतको रिडिङस्थित स्टान्डर कन्ज्युमर बैंकमा काम गरिरहेका उनको तीन महिनाभित्र एल्बम रिलिज गर्ने योजना छ । चार मिनेटको दृश्य समावेश यो भिडियोबारे भिडियोहरुको जानकारी दिने आधिकारिक बजफिड डटकममा समेत उल्लेख भएको छ ।

रमाइलो शैलीमा गाइएको तथा खिचिएको यो गीतमाथि धेरैले धेरै खाले प्रतिक्रिया दिइरहेका छन् । कसैले यसलाई मनोरञ्जक मानेका छन् त कसैले बकवास । तर उनी भने गीतलाई मनोरञ्जक बनाउने हिसाबले नै तयार गरेको बताउँछन् । धनकुटाका स्थायी बासिन्दा भीम बेल्जियम हुँदै लन्डन पुगेका हुन् । २०४४ सालमा 'गाह्रो हुँदो रहेछ' बोलको गीत गाएर रेडियो नेपालको स्वर परीक्षा पास गरेका भीमका यसअघि 'क्रियसन' र 'प्रत्येक रात' नामक एल्बम निस्किसकेका छन्।

सन्डे मर्निङ लभ यू (भिडियो)

प्रकाशित: ७ कार्तिक २०७० ०१:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App