नेपाली समाजको पछौटेपनको मूल कारण के होला ? यो जटिल प्रश्नको उत्तरको खोजीमा छन् खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका कृषिविज्ञ मदन राई। मुलुक पछौटेपनको सिकार हुनुको कारण राज्य व्यवस्था र त्यसले अवलम्बन गरिरहेको किताब घोकाउने शिक्षा प्रणालीलाई ठान्छन् कृषिविज्ञ राई। व्यावहारिक शिक्षाकै अभावमा नेपाली नागरिक सम्पन्न हुन नसकेको कृषिविज्ञ राईको निष्कर्ष छ। उनको बुझाइमा वर्तमान शिक्षा प्रणालीमा भएको खोटकै कारण श्रम र उत्पादन गर्न सक्ने योग्य जनशक्तिको अभाव भएको हो। अहिलेका पुस्ता पढालेखा छ तर सीपविहीन। यही समस्याको हल गर्ने उपायको खोजीमा कृषिविज्ञ राईले २०७० सालमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शुभद्रा–मदन (शुभम) फाउन्डेसन स्थापना गरेर वैकल्पिक शिक्षाको अभ्यासमा छन्।
श्रम गर्नेलाई सानो मान्छे मान्ने सामन्ती संस्कार यथावत् छ। श्रम गर्ने र उत्पादन गर्ने जनशक्तिको अभावमा देशको सिंगो अर्थतन्त्रले अपेक्षित फड्को मार्न नसकेको तितो यथार्थ हामीसामु छ। यसै विषयलाई मध्यनजर गरेर शुभम फाउन्डेसनमार्फत वैकल्पिक शिक्षाको परिकल्पना गरिएको कृषिविज्ञ राईले बताए। हाल सो फाउन्डेसन विद्यार्थीलाई दुःख गर्न सिकाउने थलोका रूपमा विकास भइरहेको छ। ‘डिग्रीको सर्टिफिकेट प्राप्त गरिसकेपछि हरेक नागरिक हरेक सीप र ज्ञानयुक्त हुनुपर्छ,’ कृषिविज्ञ राईले भने, ‘तर अहिलेको शिक्षा प्रणालीले प्रमाणपत्र दिन्छ, ज्ञान दिन्छ तर बुद्धि, विवेक र सीप दिएको छैन। त्यसलाई परिवर्तन गर्ने अभियानम चलाइरहेका छौं।’
कोदालोदेखि कम्प्युटर शिक्षा
वर्तमान शिक्षण पद्धति व्यावहारिक भएन भन्ने टिप्पणीबीच स्थापना गरिएको (शुभद्रा–मदन) फाउन्डेसनमार्फत कृषिविज्ञ राईले संसारका लागि वातावरण शिक्षा (दिसा, पिसाब, पसिनाको पुनः प्रयोग), राष्ट्रका लागि अर्थतन्त्र शिक्षा (कृषि, उद्योग, व्यापार, सेवा) तथा व्यक्तिका लागि योग्यता शिक्षा (ज्ञान, बुद्धि, विवेक, सिप) दिने योजना र सपना बुनेका छन्। यही योजना र सपना अनुसार विभिन्न जिल्लाबाट आवासीय जीवन बिताइरहेका करिब डेढ सय विद्यार्थीलाई जीवनमा काम लाग्ने सीप सिकाउने प्रबन्ध मिलाइएको छ। पाठ्यपुस्तकसँगै काममुखी शिक्षालाई जोड दिने फाउन्डेसनमा हाल सातवटै प्रदेश तथा हिमाल, पहाड र तराईका ५२ जिल्लाका विद्यार्थी आबद्ध छन्। भारत विहारका विद्यार्थीसमेत फाउन्डेसनमा अध्ययनरत छन्।
कृषि खरिदबिक्री संस्थान, मुस्ताङको मार्फा कृषि फर्मदेखि युएनमा सेवा गरेको अनुभव संगालेका कृषिबिज्ञ राईको लगानीमा २०६१ सालमा स्थापित नाहिमा कृषि स्रोत केन्द्रलाई शुभम फाउन्डेसनमा परिवर्तन गरिएको हो। फाउन्डेसनले निम्न आर्थिक स्तर भएका, ९ देखि ११ वर्ष उमेरभित्रका जेहेनदार विद्यार्थीलाई शिक्षा, खाने, बस्ने सहितको वैकल्पिक शिक्षाको प्रबन्ध मिलाएको छ। उनले हरेक विद्यार्थीलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने उद्देश्यले चार ‘क’ (कोदालो, क्यामेरा, कम्प्युटर र कलम) अर्थात् ‘कोदालोदेखि कम्प्यूटर’ चलाउनेसम्मको जीवनोपयोगी शिक्षाको अभ्यास गराउने गरेका छन्। पहिलो ‘क’ (कोदालो) को अर्थ जीवनमा आवश्यक पर्ने आधारभूत कामलाई व्यावहारिक रूपमा प्रत्यक्ष सिक्नेछन्, दोश्रो ‘क’ (क्यामेरा) को अर्थ गरिएका÷सिकेका सबै कामहरूलाई क्यामेराले खिच्नेछन्, तेस्रो ‘क’ –कम्प्युटर) को अर्थ क्यामेराले खिचेका कामहरूलाई कम्प्युटरमा राख्ने छन् र इन्टरनेटमा भएका त्यस्ता थुप्रै कामको अध्ययन गर्नेछन् तथा चौथो ‘क’ (कलम) को अर्थ कोदालो, क्यामेरा र कम्प्युटरका सिकाइहरूलाई लेख्नेछन् भन्ने हुन्छ। सैद्धान्तिकभन्दा प्रयोगात्मक शिक्षण विधि अपनाएर शैक्षिक अभ्यास गरिरहेको फाउन्डेसनमा पाठ्यपुस्तकको अध्ययनसँगै मानवजीवनमा गर्नुपर्ने वा मानव जीवनका लागि आवश्यक पर्ने सबै काम सिकाउने गरिएको कृषिविज्ञ राई बताउँछन्। फाउन्डेसन आफंैमा विद्यालय होइन तर विद्यालयमा अपनाइनुपर्ने शिक्षण पद्धतिको नयाँ प्रयोग यहाँ देख्न र सिक्न सकिन्छ।
फाउन्डेसनमा विद्यालयमा सिकेका ज्ञानलाई व्यवहारमा उतार्ने अभ्यास गर्ने गरेका छन्। खोटाङको अर्थतन्त्रमा कृषि र प्रविधिको महत्व र युवाहरूको सीप विकासको आवश्यकतालाई ध्यानमा राखेर उनकै नेतृत्वमा २०६१ सालमा खोटाङ विकास मञ्च स्थापना गरिए। दिगो कृषि विकासका लागि नाहिमा कृषि स्रोत केन्द्रमार्फत पहल र प्रयत्न भए। उनका लागि युवा सूर्यबहादर राईले कार्यकारी निर्देशकको भूमिका निर्वाह गरेर फाउन्डेसनको सपनालाई साकार पार्ने अभियानमा ‘राइट ह्यान्ड’को भूमिका निर्वाह गरिरहेका छन्।
विद्यार्थी केही न केही सिक्नमा तल्लीन
फाउन्डेसनमा विद्यार्थी केही न केही सीपमूलक काम सिकिरहेका भेटिन्छन्। कुनै विद्यार्थीको समूह बन्दा, काउली, आलु, अकबरे खुर्सानीलगायत कृषि बालीको खेती, गोडमेल, हेरचाह, बालीनालीमा देखिएका रोग, अनुसन्धान, बानीनालीको अंग्रेजी नाम, वैज्ञानिक नाम, खेती गर्ने समयलगायतबारे अध्यायन गरिरहेका हुन्छन्। कुनै विद्यार्थीको समूह गाई, बाख्रा, भैंसी, बंगुर, खरायो, हाँस, कुखुरा, परेवा, लौकाट, टर्कीलगायत पशुपन्छीबारे अध्ययन गरिरहेका हुन्छन्। कुनै विद्यार्थी फूलका बगैंचा सजावट, सिलाइकटाइ, कम्प्युटर ल्याब, पुस्तकालय, इन्जिनियरिङ, आरन, पाक कला, सिकर्मी, डकर्मी, कुटानी पिसानीसम्बन्धी काम सिक्नमा व्यस्त देखिन्छन्। मदन राई पनि तिनै विद्यार्थीसँग सिक्न/सिकाउनमै रमाइरहेका हुन्छन्।
प्रत्येक विद्यार्थीलाई शिक्षासँगै ज्ञान, वुद्धि विवेक र सीपले पूर्ण बनाउन बोली (नेपाली, अंग्रेजी, हिन्दी र चाइनिज) शिक्षा, विज्ञान (प्रकृति) शिक्षा, खाना शिक्षा, लुगा शिक्षा, निर्माण शिक्षा, प्रविधि शिक्षा, स्वास्थ्य र यौन शिक्षा, मनोरञ्जन (संगीत तथा खेलकुद) शिक्षा, मानविकी तथा व्यवस्थापन शिक्षा, सिर्जनशील शिक्षा, मनोयोग र सन्तुलन शिक्षा गरी १२ विद्यामा प्रयोगात्मक ज्ञान दिने गरिएको कृषिविज्ञ राई बताउँछन्। ‘किताब घोकाउने तर पाठ्यक्रमले निर्देशित गरेका क्रियाकलाप नगराउने आम परिपाटी छ। पाठ रटाउने तर पाठ्याक्रमले खोजेका क्रियाकलापमा संलग्न नगराउने परिपाटीको अन्त्य हुनुपर्छ,’ राईले भने, ‘शैक्षिक प्रमाणपत्र बोकेर कसरी बाँच्ने भनेर कसैले पनि भौतारिन नपरोस्, आफैं आत्मनिर्भर बनोस्। अबको शिक्षा त्यस्तो हुनुपर्छ। विद्यार्थीलाई जीवनमा आवश्यक पर्ने सबै किसिमका सीप सिकाउन आवश्यक छ।’
फाउन्डेसनले विद्यार्थीहरूलाई सुरुवाती समयमा सदरमुकाम स्थित विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्ययन गराइरहेको थियो। हाल फाउन्डेसनले बन्द हुन लागेको सामुदायिक विद्यालय (श्री जनजागृति प्रावि) लाई पूर्ण व्यवस्थापकीय जिम्मेवारी लिई माबि तहसम्म सञ्चालन गरिरहेको छ। त्योभन्दा माथिल्ला तहका विद्यार्थी दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत छन्। तर, उनीहरूलाई विद्यालयको बन्द कोठामा मात्र सीमित राखिन्न। विद्यार्थीलाई गाई, बाख्राबारे ज्ञान दिन गोठ र खोरमै पुर्याइन्छ। धान बुझाउन खेतमै लगिन्छ। बोटबिरुवा भएकै ठाउँमा लगेर त्यसबारे पढाउने गरिएको राईले बताए।
जीवनोपयोगी शिक्षाको अभ्यास गर्दै आएको फाउन्डेसनले २०७२ सालमा नजिकै रहेको जनजागृति प्राथमिक विद्यालय जिम्मा लिएर व्यावहारिक शिक्षाको अभ्यासलाई अझ फराकिलो बनाएको छ। विद्यार्थी संख्या घटे त्यो विद्यालय खारेजमा पर्न लागेपछि अभिभावकको आग्रहमा फाउन्डेसनले जनजागृतिलाई शिक्षा सुधारको अभ्यास गर्ने थलोका रूपमा विकास गरेको हो।
‘संस्कारमा हुर्काऔं र प्रकृतिमा सिकाऔं’ भन्ने नारासाथ विद्यार्थीलाई रुचि र इच्छाअनुसार सिक्ने अवसर दिने गरिएको फाउन्डेसनले जनाएको छ। फाउन्डेसनमा देशका विभिन्न जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आवासिय भर्ना भएका छन्। विभिन्न भाषाभाषी, जातजातिका विद्यार्थी भेला भएकाले फाउन्डेसनले ‘मिनी–नेपाल’को झल्को दिन्छ।
सबैका बाजे मदन
२००६ साउन ४ गते जन्मिएका राई अहिले पनि उत्तिकै जोसिलो र फुर्तिला छन्। सबैरै उठ्छन्, युवाझैं फुर्ती र उर्जाका साथ विद्यार्थीलाई उठाउँछन्। ७० वर्ष नाघिसकेका उनलाई विद्यार्थीले ‘मदन बाजे !’ भनेर सम्बोधन गर्ने गरेका छन्। उनले पनि उनीहरूलाई नातिनातिनी भनेर बोलाउने गरेका छन्। तिनै केटाकेटीसँग उनी सिक्ने र सिकाउने प्रक्रियामा सहभागी हुन्छन्। ‘कसको क्षमता के छ ? कसलाई के बनाउने ? त्यो क्षमतालाई कहाँ र कसरी प्रस्फुटन गराउने ? त्यसको भविष्य कसरी बनाउने ? भनेर योजना बनाउन उनी व्यस्त रहन्छन्।
सबैको अध्ययन–भ्रमण थलो
शिक्षालाई जीवनोपयोगी बनाउन अभ्यास गरिरहेको शुभम फाउन्डेसन हाल विशिष्ट व्यक्ति, शिक्षासम्बद्ध कर्मचारी, संघसंस्थालगायतको अध्ययन गर्ने थलो बनेको छ। फाउन्डेसनको शैक्षिक अभ्यासबारे जानकारी लिन र बुझ्न स्वदेशदेखि विदेशका नागरिक सोल्मा पुग्ने गरेका छन्। प्रयोगात्मक शिक्षण विधि अभ्यासको सिको गर्न जिल्ला तथा बाहिरका विद्यालयको टोली पुग्ने गरेको फाउन्डेसनले जनाएको छ। पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेल, सशस्त्र प्रहरीका पूर्वमहानिरिक्षक सनतकुमार बस्नेत, दुर्जकुमार राई, पूर्वएआइजी रामकुमार वान्तवालगायतले फाउन्डेसनमै आएर त्यहाँको अभ्यासबारे जानकारी लिइसकेका छन्। कृषिसँग सम्बन्धित विभिन्न प्राविधिक शिक्षालयका बिद्यार्थी समेत अध्ययनका लागि आउने गरेका छन्। अमेरिका, बेलायत, फ्रान्स, जापान लगायतका देशका प्रोफेसर र बिद्यार्थी पनि फाउन्डेसनको भिजिटमा आउने गरेका छन्। यस अवधिमा शिक्षा मन्त्रालयका सह–सचिव, उप–सचिव लगायतले पनि फाउन्डेसनको भ्रमण गरिसकेका छन्।
जागिरदेखि राजनीतिसम्म
मदनको बाल्यकालको नौ वर्ष घाँस, दाउरा, गोठालो, हलो कोदालो, ढिकीजाँतो, पानी पँधेरो गर्नमै बित्यो। नौ वर्षको उमेरमा विद्यालय भर्ना भए। २०२३ सालमा एलएलसि पास गरेपछि उनी इन्जिनियर बन्ने सपना बोकेर ढाकरमा चामल, नुन, सिन्की, भाँडो, खास्टो, आमाको आधा तोलाको माडवारी लिएर खाली खुट्टा काठमाडौं हिँडेका थिए। त्रि–चन्द्र कजेलमा आइएस्सी पढ्दापढ्दै उनलाई छात्रवृत्तिमा भारतमा बिएस्सी पढ्ने अवसर प्राप्त भयो। २०२८ सालमा बिएस्सी सकेर स्वदेश फर्किएपछि मदनको जागिरका लागि धोका खुल्यो। २०२९ सालमा कृषि खरिदबिक्री संस्थान विराटनगरमा कृषि अधिकृतको जागीर पाए। तर, संस्थानको जागीरले चित्त बुझेन। स्थायी जागीर खोजीकाक्रममा २०३० सालको अन्त्यमा मुस्ताङको मार्फास्थित कृषि फर्ममा हाकिमका रूपमा पुगे। मार्फामा लगातार ५ वर्षसम्म दैनिक १६ घण्टा काममा बिताएको कृषिविज्ञ राई बताउँछन्।
मार्फामा कार्यरत रहेकै अवस्थामा बेलायतमा एमएस्सी पढ्ने अर्को अवसर मिल्यो। बेलायतबाट फर्केपछि पुनः मार्फामा थप ७ वर्ष काम गरे। १२ वर्ष मुस्ताङ बसाइका क्रममा स्याउको व्यवसायीकरणमा पु¥याएको योगदानको कदर गर्दै राजा वीरेन्द्रले उनलाई चारवटा तक्मा र पुरस्कार प्रदान गरेका थिए। एमएस्सी सकेर बेलायतबाट फर्केपछि भने उनलाई देशको विकासप्रति चासो बढ्न थाल्यो। त्यो बेलाका राजाको आसपासमा हिँड्ने औंठाछाप मन्त्री देखेपछि उनमा ‘पढेलेखेका मान्छे पनि राजनीतिमा लाग्नुपर्छ’ भन्ने सोच पलायो। ढिलोचाँडो राजनीतिमा लाग्ने अठोट सहित उनी २०३८ सालमा आफ्नै गाउँको लामदुवालीमा पाँचदिने जिल्लाव्यापी कृषिमेला र फिल्म प्रदर्शनी गरेर सामाजिक सेवामा प्रवेश गरे। २०४३ सालमा राष्ट्रिय पञ्चायतमा चुनाव लड्का लागि २०४१ साल चैतदेखि नै जागीरको मायाँ मारेर भोट माग्न जिल्लामा दौडधुपमा निस्किए तर राजीनामा स्वीकृत नभएकाले चुनावमा लड्न पाएनन्।
सरकारी सेवामा लागेको १५ वर्षपछि संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एएफओ) इटलीले अन्तर्राष्ट्रिय स्तरको जागिरका लागि बोलाइए। युएनको १२ वर्षे जागीरका क्रममा ज्ञान, बुद्धि, विवेक र सीप सिकाएको उनको अनुभव छ। उनले हालसम्म ७२ देश घुमिसकेका छन्।
२०४६ सालको जनआन्दोलन हुँदा उनी युएनकै जागिरमा थिए। जनआन्दोलनको सफलताले उनलाई पनि उत्साहित बनायो। घर फर्केपछि २०५४ सालमा कांग्रेसकातर्फबाट तत्कालीन रतन्छा–६ को वडा सदस्य निर्वाचित बने। पछि कांग्रेस परित्याग गरेर २०५६ सालमा संसदको चुनावमा स्वतन्त्र उम्मेद्वारी दिए। उनले जित्न सकेनन् तर सम्मानजनक मत प्राप्त भयो। हाल उनी नयाँ शक्ति हुँदै हाल जनता समाजवादीका केन्द्रीय सदस्य छन्।
प्रकाशित: ११ वैशाख २०७८ ०४:३६ शनिबार