७ वैशाख २०८१ शुक्रबार
कला

टीका

लघुकथा

टीकाराम रेग्मी

१) तातो जिउ 

   ‘ओहो, यो गर्मी पनि’ स्कुलबाट आउनासाथ पोषणले टेबलमा झोला फाल्यो  र सोफामै पल्ट्यो।    

सिर्जना हत्तपत्त आई र आत्तिदै सोधी, ‘सन्चो भएन?’  

उसले सोफामा पल्टेको लोग्नेलाई उठाई र ग्लुकोज पानी खुवाई ।

‘आज बिछट्टै टाउको दुख्यो।’  पोषण बिस्तारै बोल्यो।

‘खोई, कतै ज्वरो आयो कि ?’ सिर्जनाले उसको निधार छाम्दै भनी, ‘आराम गर्नोस् ।’

सिर्जनाको हात निधारमा के परेको थियो, पोषणको टाउको त भुङ्ग्रामा राखे जस्तोमा भयो । उसले सिर्जनाको हात छाम्यो, टाउको छाम्यो, उसको शरीर त च्वात्त पोल्ला जस्तो तातो पो रहेछ ।  

‘यति धेरै ज्वरो आउँदा पनि किन नभनेकी, सिर्जना?’  

‘मेरो त अलिअलि जिउ तातेको मात्र त हो नि।’  उसले भनी । अनि यति भनी नसक्दै लडी।

        २) टिप्स्

लामो खडेरीले बेलुकासम्म पनि धपक्कै बलेको असारको महिना थियो । मेरो पसलको अघिल्तिर एउटी चालिसपैतालिस वर्षकी महिला थोत्रो साइकलको क्यारियरमा बाँधिएको टोकरीमा तरकारी राखेर बेच्दै थिइन्।

एउटा मोटरसाइकल रफ्तारमा आयो र त्यो साइकललाई नै ढाल्लाझैं गरी रोकियो। जिन र टिसर्ट लगाएको, गब्बरसिंहले गोली राख्ने जस्तो पोकैपोका भएको च्याप्टे पेटी बाँधेको लगभग साढे छ फिटको खाइलाग्दो जवान झयो र भन्यो, ‘खोई मलाई एक किलो काँक्रो जोख।’ 

ती महिलाले काँक्रो जोख्न थालिन् ।

‘कति हो ?’गोजीबाट वालट झिकेर खोल्दै सोध्यो ।

‘तिस रुपियाँ, बाबु ।’ तिनले जवाफ दिइन् ।

‘कति महँगो हो ? लौ, योभन्दा पर्दैन।’  उसले बिसको नोट फ्यात्त फाल्यो । नोट भुईंमा खस्यो।  

उनले भुईंको नोट टिप्दै भनिन्, ‘आउँदैन बाबु, यत्तिले त।’ उनले भन्दाभन्दै मोटरसाइकल हुत्तियो।

त्यतिखेरै आइपुगेर मसँगै उभिएको प्रकाशले भन्यो, ‘ऊ भर्खरै स्टार रेस्टुरन्टको वेटरलाई पचासको नोट टिप्स  निक्लिएको थियो ।’  

           ३) एक्स रे

चौताराको डिलमा लठी टेकाएर बस्दै समय बिताउने बुढाहरूले आफूलाई जेठो र सर्वज्ञ मान्दथे। आफ्नो कुराको खुट्टो अर्कोमा चढाउन सम्पूर्ण शक्ति लगाउँथे।

सधैंझैं त्यो दिन पनि परैबाट आफूहरूतिर आउँदै गरेका एक वृद्धलाई हेर्दै दुवै बुढाले नवागन्तुक बुढाको बारेमा लख काट्न थाले। 

उनी नजिकै आएपछि बुढा – १ बोलिहाले, ‘तपाईं पक्कै पनि हाकिम हुनुहुन्थ्यो होला है, तपाईंको पालामा ?’ 

नवागन्तुक बुढाले दङ्ग पर्दैै भने – ‘तपाईंले कसरी थाहा पाउनुभयो?’  

बुढा – २ ले तत्कालै भने, ‘कहाँ हुनु । यहाँ त सेनाको अफिसर पो हुनुपर्छ।’

नवागन्तुक फेरि बोले, ‘अनि तपाईंले कसरी थाहा पाउनुभयो त?’  

बुढा – २ ले १ लाई हेर्दै थिए, बुढा – १ ले भने, ‘तपाईंको शिर ठाडो थियो नि।’  

बुढा – २ लाई किन सह्य हुन्थ्यो। उनले भने, ‘होइन, तपाईंको बोलीमा दम छ।’  

‘हाहाहा..!’ नवागन्तुक बुढा गलल्ल हाँसे। ‘म को हुँ थाहा छ, तपाईंहरूलाई ? तपाईंहरूले जीवनमा कति मानिसको एक्स–रे उतार्नुभएको छ? हाकिम भएको भए अहिलेसम्म म त लोटिसक्थें, निहुरिसक्थें, ओइलाइसक्थें ।  

बुढा – १ र २ वाल्ल पर्दै प्रश्नवाचक दृष्टि छर्दै थिए।  

नवागन्तुकले भने, ‘म त शिक्षक थिएँ।

            ४) विश्वास

बिसबाइस वर्षजतिको विश्वासले यताउता हेरयो। सूर्यको प्रकाश छताछुल्ल भए पनि वातावरण चकमन्न थियो।  

‘यो रात होइन तर पनि किन यति सुनसान छ?’उसले सोच्यो।  

केही परबाट टकटक–टकटक आवाज आयो। यसो हेरयो। खैरो पोसाकमा पंक्तिबद्ध बन्दुकधारी सेनाहरूले मार्च गर्दै थिए ।

ऊ अकमकियोे, ‘किन निक्लदैनन् मान्छेहरू घरबाट ? कफ्र्यू कति दिनसम्म? के युद्ध चल्दै छ? कसका विरुद्ध?’  उसको रगत तात्यो।

उसले सडकबाट एउटा ढुंगो टिप्यो र निर्धक्क अघि बढ्यो । झ्याल तथा कौसीबाट चियाइरहेका केही मानिसहरू भन्दै थिए,

–दुस्साहसी।  

– मूर्ख।

– ए फर्की।  

– मर्लास्।

खै, उसले कसैले भनेको सुन्यो कि सुनेन। तर, ऊ सरासर अघि बढिरह्यो। बढिरह्यो। 

पहरा दिइरहेको बन्दुकधारीको अघिल्तिर गएर टक्क रोकियो। हातमा रहेको ढुंगो ताक्दै शिर ठाडो पारेर उसले भन्यो, ‘हे काँतर, यो बन्दुक फाल्छस् कि यही ढुंगाले बजाऊँ?’  

बन्दुकधारीले ढुंगाधारीको अनुहारमा एकटकले  हेर्‍यो। त्यहाँ उसले आफ्नो लक्ष्यमा दृढ ठिटो देख्यो। उसले तत्कालै बन्दुक तल झार्यो र ढुंगाधारीलाई सलाम गर्‍यो।

त्यति बेलासम्म जम्मा भइसकेका रमितेहरू नारा लगाउन थाले– ‘वीर विश्वास ... जिन्दावाद, जिन्दावाद !    

        ५) टीका

‘छोरी, तिमी मसँग हिँड!’ आमाले भनिन्।

‘सरिनालाई यो प्रवेशिका परीक्षा कटाउन असम्भवप्रायः छ। उसलाई होस्टेलबाट निकाल्नुस्।’  वार्डेनले रूखो स्वरमा भनिन्।

विगत चार वर्षदेखि छात्रावासमा राखिएकी छोरी हरेक परीक्षामा कृपांकको भरमा कक्षोन्नति गरिएकी थिई। उसले आफूलाई साथीहरू माझ कमजोर ठान्ने हुनाले खुलेर कुराकानी गर्दिनथी। होस्टेल वार्डेनको भनाइले आमाको मनमा च्वास्स घोच्यो। अनुनय गरी उसलाई त्यहाँ राखिछाड्न पनि उनको मनले मानेन।

छोरीको चिन्ताले केही दिनअघि मात्र इजरायलको राम्रो कमाइ छाडेर आएकी उनले सरिनालार्ई घरै राखिन्। हरेक बिहान सरस्वतीको मन्दिर लगिन्। टीका लगाइदिइन्। प्रसाद खुवाइन्। मायालु व्यवहार गरिन्। जानेसम्म सिकाइन्।  

सदाझैँ परीक्षा अवधिको दिनचर्या पनि यथावत् रह्यो। सरिनाले जब कुनै प्रश्न कठिन मान्थी उसको औंला निधारको टीकामा पुग्थ्यो। यसो गर्दा उसले कतै झट्का लागेको महसुस गर्थी। जानीनजानी केही लेख्थी। यसरी उसले परीक्षा सकी।

‘सरिना छोरी, तिमीलाई धेरैधेरै बधाई छ।’ परीक्षाफल प्रकाशित भएपछि उनले छोरीलाई फोन गर्दै बधाई दिइन् ।

‘ममी, म पूजा गरेकै कारणले पास भएकी हुँ?’ 

‘यसको कारण बिस्तारै बुझ्छ्यौ छोरी!’ आमाले भनिन्।

प्रकाशित: ९ वैशाख २०७८ ०९:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App