१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

‘सख्खर जस्तै गुलियो व्यापार’

सर्लाहीको बरहथवा नगरपालिका-८, का जिवस मण्डल सख्खर (गुण) व्यापारबाट सख्खर जस्तै गुलियो आम्दानी गर्दै छन्। उमेरले ६५ वर्ष पार गरिसकेका उनले आठ वर्षदेखि घर नजिकै उखु पेलेर सख्खर बनाउने कोल (क्रसर) सञ्चालन गरेका हुन्।

 खेती किसानी मुख्य पेसा भए पनि मौसमी पेसाको रुपमा कोल क्रसर चलाउने गरेको उनी बताउँछन्। तीनदेखि चार महिनाको बीचमा हुने यस पेसाबाट बर्सेनि सख्खर बेचेर पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ। ‘‘कोल चलाएको आठ वर्ष भयो, यसकै आम्दानीले घर व्यवहार गर्न र केही रकम बचत गर्न सकेको छु’’ उनले भने।

विशेष गरी कात्तिक अन्तिम हप्ताबाट सुरु गरेर फागुन/चैतसम्म उनी कोल चलाउँछन्। दैनिक ५० क्विन्टलसम्म उखु क्रसिङ गर्ने मण्डलले पाँच सय केजीभन्दा बढी नै सख्खर बनाएर बजार पठाउँछन्। उनले उत्पादन गरेको सख्खर ६० देखि एक सय २० रूपैयाँ सम्ममा व्यापारीहरूले लैजाने गरेका छन्। उनले भने, ‘‘राम्रो सख्खरको धेरै मूल्य आउँछ। अलि फोहोर भयो भने, मूल्य कम आउँछ।’’

नजिकैका खेतहरूमा लगाएको उखु किनेर पेल्ने गरेको मण्डलको भनाइ छ। जिल्लामा रहेका चिनी उद्योगहरू ढिला चल्ने हुँदा उखु हटाएर अन्य बाली लगाउने किसानलाई उखु काट्न हतारो हुने गर्दछ। अन्य मकै, गहुँ, तोरी, आलुलगायतको बाली लगाउन समयमै उखु बेच्नुपर्ने किसानहरूलाई चिनी उद्योग ढिलो चल्दा समस्या हुने गरेको छ।

 उनी तिनै किसानहरूको उखु खरिद गर्छन् र सख्खर बनाएर बेच्छन्। स्थानीय किसानहरू पनि चिनी उद्योगहरूले समयमै खरिद नगरिदिए पनि मण्डललाई बिक्री गरेर सानातिनो गर्जो टार्न सकेको बताउँछन्।

यस वर्ष पनि मण्डलले प्रतिक्विन्टल चार सय ५० रुपैयाँमा उखु खरिद गरेको बताए। उद्योगले केही बढी मूल्य दिए पनि ढुवानी, खर्च, वर्षौंसम्म पैसा पाउन समस्या रहेकाले कोलमा उखु दिँदा सजिलो भएको बरहथवा–८ का उखु किसान रामजनम राय बताउँछन्।

मण्डल भन्छन्, ‘‘मलाई उखु किसानको समस्या राम्ररी थाहा छ, किसानहरूलाई सात/आठ दिनमै भुक्तानी गरिदिन्छु। यसले पनि किसानहरु आफैँ बोकेर उखु ल्याइदिन्छन्।’’

कतिपय किसानलाई त आफूले उखु लिनुभन्दा पहिला नै खेती लगाउन बिउ मल किन्न, घरखर्च टार्न पैसा दिने गरेको उनी बताउँछन्। मण्डलले क्रसरमा अन्य पाँच जनालाई काम समेत दिएका छन्। उनीहरूको पनि तीनदेखि चार महिनाको रोजीरोटी यसैबाट टरेको छ।

मण्डलको जस्तै जिल्लामा झण्डै ५० वटाको हाराहारीमा सख्खर बनाउने कोल क्रसर सञ्चालनमा रहेका छन्। कोल क्रसरले मात्र वर्षेनी अढाई लाख क्विन्टल बढी उखु क्रसिङ गर्ने गर्दछन्। यस पेसामा २ सय ५० जना बढी कामदार छन्। सर्लाहीबाट मात्र दुई हजार पाँच सय केजी हाराहारीमा सख्खर उत्पादन हुने गरेको छ। यहाँ उत्पादन भएका सख्खर छिमेकी जिल्लामा मात्र नभई काठमाडौँ, चितवन, बिराटनगरलगायतका शहरहरुमा पनि पुग्ने गरेको स्थानीय व्यापारी दिनेश महतोले बताउँछन्।

भारतीय सख्खरले स्थानीय किसान मारमा

भारतीय बजारबाट चोरी तस्करी भएर आउने सख्खरका कारण स्थानीय उत्पादनकर्ता मारमा पर्ने गरेको मण्डलले गुनासो छ। ‘‘भारत सरकारको किसानलाई ठूलो मात्रामा अनुदान दिने भएका कारण लागत कम छ’’ उनले भने, ‘‘कालोबजारीबाट किनेको मलखाद र बिउबिजनबाट उत्पादन भएको बालीले कसरी प्रतिस्पर्धा गर्नु! हाम्रोमा लागत धेरै छ।’’

भारतबाट आउने सख्खरमा गुणस्तर समेत नभएको उनको दाबी छ। यसले गर्दा नेपाली उपभोक्ता ठगिन बाध्य भएको उनी बताउँछन्। उनी भन्छन्, ‘‘यसबारेमा अधिकांश उपभोक्तालाई थाहा हुँदैन। केही सस्तोमा पाइयो भन्छन् तर पछि पछुताउनुपर्ने हुन्छ।’’

भारतको सिमावर्ती क्षेत्रबाट खुल्लमखुल्ला ट्रकका ट्रक भित्रिने गुणस्तरहीन सख्खर नियन्त्रण नगरेसम्म स्थानीय उत्पादनले बजार पाउन नसक्ने र उपभोक्ता पनि ठगिने अवस्था रहने उनको भनाइ छ।

चिनी उद्योगलाई उखु तान्ने हतारो

सरकारले उखुको न्यूनतम् मूल्य निर्धारण गर्नुअघि नै चिनी उद्योगहरूले धमाधम किसानहरुसँग उखु खरिद गर्न थालेका छन्। जिल्लामा रहेका तीन चिनी उद्योगले सञ्चालनको तयारी गर्दै गर्दा क्रसिङ सुरु गरेका छन्।

लामो समय किसानको उखुको भुक्तानी नदिएर विवादग्रस्त बनेको जिल्लाको धन्कौँल अन्नपूर्ण चिनी उद्योगले किसानसँग उखु खरिद गर्न शुरु गरेको छ। यही मङ्सिर ६ गतेदेखि क्रसिङ शुरु गरेर चार दिनमा २६ हजार आठ सय ७१ क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगका प्रबन्धक शैलेन्द्र गुप्ताले बताए।

उखु खरिद गरेको भुक्तानी नदिने र किसानलाई दुख दिने छवि बनेको अन्नपूर्ण यतिबेला नयाँ उद्योगीबाट सञ्चालनमा आएसँगै किसानको भरोसा बटुल्न लागिपरेको स्थानीय किसानहरु बताउँछन्।

यस वर्ष भने मङ्सिरको पहिलो हप्ताबाटै क्रसिङ गरेर उद्योगले किसानको भरोसा बटुल्ने प्रयास गरेको हो। अब किसानहरूसँग राम्रो समन्वय गरेर क्रसिङ शुरु गरेको गुप्ताले भने।‘‘किसानको पुरानो बक्यौता रकम भुक्तान भइसकेको छ।’’

उद्योगले यस वर्ष १८ लाख क्विन्टल हाराहारीमा उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका प्रबन्धक पवनकुमार सिंहको भनाइ छ।

विसं २०७९ मा नयाँ उद्योगीको निकै पहल पछि केही किसानले पुरानो भुक्तानी पाए। त्यसपछि उद्योग सञ्चालन भएको थियो। क्रसिङ सिजनको अन्तिममा सञ्चालनको प्रयास गरेको उद्योगले उपकरणमा आएको खराबीका कारण लगभग ६८ हजार क्विन्टल मात्र क्रसिङ गरेको थियो।

अझै उद्योगलाई पूर्ण भरोसा गरेर उखु दिन नसकेको स्थानीय उखु किसानहरूले बताएका छन्। जिल्लाको धन्कौल गाउँपालिका–३, निवासी विन्देश्वर महतोले थोरै मात्रामा उखु दिएको बताए। ‘‘मैले उखु रोप्नै छोडिसकेको छु।’’

उनले भने, ‘‘थोरै खेतमा लगाएको उखु फेरि गाउँकै उद्योगलाई दिएको छु। बढीमा १५ दिनमा भुक्तानी दिने उद्योगीले बचन दिनुभएको छ।’’ उद्योगमा प्रत्यक्ष जोडिएका स्थानीयले पहिलो चरणमा उखु दिएका छन्।

यस क्षेत्रमा उत्पादन भएको उखु हरिवनको इन्दुशङ्कर चिनी उद्योग हरिवन, गोडैता नगरपालिकामा रहेको महालक्ष्मी चिनी उद्योग बगदहमा दिने गरेको महतोले बताए।

 जिल्लाका अन्य उद्योगले अहिले कटानी भएको उखुको चिनी राम्रो नपर्ने भन्दै उद्योग सञ्चालनमा ढिलाइ गरिरहँदा अन्नपूर्णले भने किसानको मन जित्न समय अगावै उद्योग सञ्चालनमा ल्याएको हो। यस वर्ष उद्योगले कम्तीमा १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उखु प्रबन्धक दिनेश अग्रहरीले बताए।

उद्योगी तथा व्यवस्थापन पक्षले खेतमै पुगेर किसानहरूलाई उखु दिन आग्रह गरिरहेका अर्का उखु किसान बृजेन्द्र रायले बताए।

यस्तै गोडैता नगरपालिकास्थित बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले यस वर्षको क्रसिङ शुरु गरेको जनाएको छ। केही दिनदेखि उखु सङ्कलन गरेर उद्योग सञ्चालन गरिएको सिंहले बताए।

उद्योगले वर्षको केही भुक्तानी बाँकी राखेको र त्यो समेत एकदुई सातामा भुक्तानी गरिने समेत उनको भनाइ छ। गत वर्ष यस उद्योगले १२ लाख ३७ हजार तीन सय क्विन्टल उखु क्रसिङ गरेको थियो। जिल्लाको अर्को चिनी उद्योग इन्दुशङ्करले पनि मङ्सिरको अन्तिम साताबाट क्रसिङ शुरु गर्ने जनाएको छ।

देशमै व्यवस्थित मानिने जिल्लाको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस सिजनको लागि क्रसिङ तयारी अवस्थामा रहेको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले बताए।

उद्योगले यसवर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने जनाएको छ। यस उद्योगले अघिल्लो वर्ष २१ लाख ४८ हजार ६ सय ११ क्विन्टल उखु क्रसिङ गरेको थियो।

उखुको अनुदान बापतको रकम भुक्तानीमा ढिलाइ भएका कारण जिल्लाको उद्योगहरू सञ्चालन हुन नसक्दा अन्य जिल्लाका उद्योगहरूले ठूलो परिमाणमा सर्लाहीको उखु लगेकाले यहाँका चिनी उद्योगहरूले पर्याप्त उखु नपाएको बताएका थिए। देशमै धेरै उखु खेती हुने सर्लाहीमा बर्सेनि ७० देखि ८० लाख क्विन्टलसम्म उखु उत्पादन हुने गरेको तथ्याङ्क छ।

समर्थन मूल्य अन्योलमै

मङ्सिर आधा सकिनै लाग्दा समेत सरकारले यस सिजनको लागि उखुको समर्थन मूल्य तय नगर्दा किसान र उद्योगी दुवै अन्योलमा छन्। उखु काटेर बेच्न लैजान समय घर्किदै गर्दा पनि अझै निर्णय नभएको उखु किसानहरूको गुनासो छ।

‘‘पहिला नै समर्थन मूल्य तय गर्ने व्यवस्था भए आफूलाई फाइदा भए उखु लगाउने नभए नलगाउने गर्न पाउँथ्यौँ, नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले भने।

यता उखु उद्योगहरूले भने तत्काललाई गत वर्ष सरकारले तोकेको समर्थन मूल्य भुक्तानी गरेर उखु खरीद गर्ने तयारी गरेका छन्। पछि सरकारले तय गरेको समर्थन मूल्य दिने गरी अहिलेलाई अघिल्लो वर्षको मूल्यमा खरिद गर्ने व्यवस्था गरिएको महालक्ष्मी चिनी उद्योगले जनाएको छ। तर, किसानहरू भने सरकारले पछि थपेको बाँकी रकम नपाउने चिन्तामा छन्। अघिल्लोपटक प्रतिक्विन्टल रु पाँच सय ६५ रुपैयाँ तोकिएको थियो।  

प्रकाशित: १३ मंसिर २०८१ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App