८ वैशाख २०७८ बुधबार
कला

बालसाहित्यको आवश्यकता

नेपाली बालसाहित्यमा चित्राङ्कनको सुरुआत कहिले भयो भन्ने बारे ठोस अध्ययन भइनसकेके पनि बालसाहित्य र चित्राङ्कन बीचको अन्योन्याश्रित सम्बन्ध रहेकोमा दुई मत देखिँदैन । हुन पनि चित्र त भाषाभन्दा जेठो अभिव्यक्तिको विश्वव्यापी माध्यम नै हो ।

लिपिको विकासभन्दा अगाडि नै चित्राभिव्यक्ति र चित्राक्षरको सुरुआत भइसकेको थियो । ग्रहण गर्न सजिलो माध्यम भएरै होला भरखर तोत ेबोली फुटेका नानीहरू पनि चित्रको रङ र लय हेर्दै ‘ताताङ–तुतुङ’ बोलीमा हराउन थाल्छन्, मन्त्रमुग्ध हुन्छन् । मानसिक र शारीरिक बुद्धिसँगै उनीहरूको बोध र ग्रहण क्षमताब्ने कल्पनाको रोचक उडान भर्न सक्छन् । चित्राङ्कित साहित्यले त्यस्तो आस्वाद्य रस प्रदान गर्दछ जसलाई बालबालिकाहरू पहिले आँखाले पिउँदछन् अनि मनः मस्तिष्कमा पुरयाएर भावना वा विचारलाई अमृतमय पार्दछन् (गोविन्दराज विनोदी) । 

बालबालिकाहरूलाई मनोरञ्जन दिने, रचनात्मक एवं सिर्जनात्मक हुने प्रेरणा दिने र ज्ञानविज्ञानका विविध विषय सम्वन्धमा जानकारी दिने विषयवस्तुलाई उनीहरूको उमेरअनुसारको  सरल भाषामा रोचक तरिकाले प्रकाशन गरिएको कृति नै बालसाहित्य हो (प्रमोद प्रधान) । यसैगरी   पाठ्यपुस्तक  र बालसाहित्यमा प्रयोग हुने चित्राङ्कनबारे विश्लेषण गर्दै डा.चूडामणि बन्धु लेख्छन्— पाठ्यपुस्तकमा चित्र उदेश्य केन्द्रित र स्थिर हुन्छ । चित्रकारको भूमिका सहायकको रूपमा हुन्छ।

चित्रको प्रयोग गतिशील हुन्छ र बालसाहित्यमा चित्रकारको भूमिका स्रष्टाका रूपमा उतिकै महत्त्वपूर्ण हुन्छ । मेरो आफ्नो अध्ययन सीमित भएको कारण प्रारम्भका बारेमा म सङ्क्षिप्त मात्र चर्चा गर्न चाहन्छु । यसै प्रसङ्गमा कुरा गर्दै बालकका पूर्व सम्पादक रमेश विकलले २०२३ सालपछि प्रकाशन आरम्भ गरेको बालकले पनि चित्राङ्कनलाई धेरथोर ठाउँ दिएको बताउनुहुन्छ । 

यसरी आफ्नो प्रारूप तय गरेको बालसाहित्यमा चित्राङ्कन पक्ष कतै घिस्रिँदै अनि कतै दौडेर अगाडि  बढ्यो । निजी क्षेत्रबाट प्रकाशन थालेको रत्न पुस्तक भण्डारले २०२७ पछि कृष्णप्रसाद पराजुलीको सातगेडीको कथा र सुनौलो तीन कुरा पहिलोपल्ट प्रकाशन थालेर चित्रको एकाध प्रयोग गर्दै लामो समयसम्म चित्राङ्कनको परम्परा धान्ने मात्र काम गरयो । 

सन् १९७२ मा अन्तर्राष्ट्रिय पुस्तक वर्ष मनाइयो । कुनै पनि राष्ट्र इतिहासका निर्माता त्यसै राष्ट्रका जनता हुन् । इतिहास भन्नु नै समय क्रममा आएका व्यक्ति र तिनका कार्यको परिणाम हो । जनक, सीता र बुद्ध नेपालमा नजन्मेका भए, पृथ्वीनारायण शाह, बलभद्र र अमरसिंहले यसको निर्माण र संरक्षण नगरेको भए, भानुभक्तले भाषा नदिएको भए र शहीदले रगत नबगाएको भए आज नेपाल अर्कै हुने थियो । गरीबै भए पनि नेपाल सधैं स्वतन्त्र बनेर जुन स्वाभिमानले बाँचेको छ त्यो कुरा पुर्खाका पौरखबाट नै सम्भव भएको हो । राष्ट्रिय स्वाभिमान र पहिचानका यस्ता कुरा नयाँ पुस्ताका बालबालिकाहरूका हृदयमा जमेर बसेको हुनुपर्छ अनि मात्र नेपाल अझै पनि हजारौ हजार वर्षसम्म स्वतन्त्र भएर बाँच्न सक्छ । जसरी हामी हाम्रा इतिहासका निर्माता हौं त्यसरी नै हामी त्यसका परिणाम पनि हौ । आजका बाबालिकाहरूले यस प्रकारको इतिहासको निर्माणका निम्ति धेरै समय पाएका छन् । 

आजका बालबालिकाहरूका निम्ति यस शताब्दीको पूरै हिस्सा छ, इतिहास निर्माण गर्न । बालबालिकाहरूको आजको जीवन पनि इतिहासकै परिणाम हो । आज हामीसँग यिनीहरूका निम्ति जेजति छन्, ती पनि हामीले पुर्खाबाट पाएका छौं, जे जति बनेका छन् ती पनि इतिहासकै परिणाम हुन् ।

बालसाहित्य भन्नाले सामान्य अर्थमा बालकका लागि सृजित साहित्य भन्ने बुझिन्छ । प्रथमतः बालकका लागि सृजित साहित्य र बालकद्वारा सृजित साहित्य नै बालसाहित्य हो । बालबालिकाको ग्रहणक्षमता र स्तरअनुरूपका बालोपयोगी साहित्यका रूपमा देखापर्ने बालकद्वारा सृजित साहित्य र प्रौढद्वारा बालकका लागि सृजित साहित्य नै बालसाहित्य हो । बालबालिकाको मस्तिष्क सुकोमल, स्वच्छ र निष्कलङ्क हुन्छ । तसर्थ उनीहरूको कलिलो मस्तिष्कका लागि सहज, सरल, मनोरञ्जनात्मक, औत्सुक्यपूर्ण र कोमलकान्त भाषिक युक्त बालसाहित्य हुनु आवश्यक छ र बालसाहित्यले सामान्यतया यी प्रवृत्तिहरूलाई आत्मसात गरेको पनि पाइन्छ । 

बालसाहित्यका पाठक वा लक्षित समूह नै बालबालिका भएका हुनाले बालमनोव्यञ्जना बालसाहित्यको मूलभूत विशेषताको रूपमा देखापर्छ । नेपाली बालसाहित्यको इतिहासमा लेख्य रूपमा आउनुभन्दा पूर्वका बालसाहित्यिक सामग्रीहरू साहसिक, अतिरञ्जनात्मक र धार्मिक–नैतिक भावनाबाट अभिप्रेरित देखिन्छन् भने त्यसपछिका बालसाहित्यहरूले ज्ञान विज्ञानका विविध प्रवृत्तिहरूलाई संवरण गरेको पाइन्छ । 

नेपाली साहित्यमा बालसाहित्य लेखनपरम्पराको थालनी भएको त्यत्ति धेरै समय भएको छैन । विसं १९५८ मा देवशमशेरको शासनकालमा उपत्यकाभित्र पचासवटा र उपत्यका बाहिर एकसयवटा भाषा–पाठशालाहरूको स्थापना भएपछि ती पाठशालाहरूमा पढाइने पाठ्यपुस्तकका रूपमा बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहले लेखेको अक्षराङ्क शिक्षा  पाठ्यपुस्तक नै पहिलो औपचारिक पाठ्यसामग्री बन्यो । यसमा रहेका छोटा नैतिक–धार्मिक कवितालाई नै लेख्य नेपाली बालसाहित्यको प्रारम्भ विन्दु मान्नुपर्ने देखिन्छ । त्यसभन्दा पूर्व श्रुतिपरम्परामा बाँचेका लोकगीत–लोककथा नै बालसाहित्यका सामग्री थिए । यस आधारमा औपचारिकरूपमा १९५८ साललाई नै आधारविन्दु मानेर हेर्दा एक शतकको इतिहास नेपाली बालसाहित्यले संवहन गरेको पाइन्छ । तसर्थ यस अवधिभित्रका नेपाली बालसाहित्यमा देखिएका प्रवृत्तिगत विशेषताहरूमा पनि विविधता देखिनु स्वाभाविकै हो । मूलतः लेखनाथ  पौड्याल  र चक्रपाणि चालिसेसम्मका बालसाहित्य अधिकांशतः नैतिक–आदर्शपरक प्रवृत्तिका देखिन्छन् भने लक्ष्मीप्रसाद देवकोटा यताका बालसाहित्यहरूमा प्रकृतिपरकता बढी पाइन्छ र २०३० को दशक यताका बालसाहित्यमा बालपरिवेशपरक प्रवृत्ति बढी पाइन्छ ।

वर्तमानका समसामयिक बालसाहित्यमा बालसंसारका यावत् विषयवस्तुका साथै उनीहरूका रुचि, प्रवृत्ति, खेल, ज्ञानविज्ञान र प्रविधि आदि विषयलाई नेपाली बालसाहित्यको अन्तर्वस्तु बनाउने प्रवृत्ति पनि पाइन्छ । छोटो इतिहास मात्र तय गरेको बालसाहित्यको विधामा चित्राङ्कनको राम्रो प्रयोग र सिर्जना भएको छ । बालसाहित्यमा चित्राङ्कनको अपरिहार्यता महसुस भएपछि यस क्षेत्रमा कुची चलाउनेहरूको पनि ठूलै जमात देखिन्छ । तर सबैका सिर्जना उत्कृष्ट र दोषरहित छैनन् । चित्राङ्कनको आधारमा उत्तम, मध्यम र निम्न स्तरका कला पनि प्रकाशनमा प्रयोग भएका छन् । आज हामीहरू जे गर्छौ त्यसको परिणाम पनि भोलि हामीले भोग्नैपर्छ, उम्कने उपाय छैन । इतिहास भनेको व्यक्तिले गरेका कामहरू मात्र होइन, तिनका परिमाणको पनि अभिलेख हो । राष्ट्रको इतिहास जानेर बालबालिकाहरूले आफ्ना पुर्खाको पौरख थाहा पाउँछन्, उनको सफलता र असफलताहरू, उनका विजय र पराजयहरू पत्ता लगाउँछन् । 

बालबालिकाहरूका निम्ति इतिहासका कुराहरू र महापुरुषका कथाहरू धेरै किसिमले प्रस्तुत भएका छन्, ऐतिहासिक आख्यान, किशोर जीवनी र बालजीवनीका रूपमा । विश्वसाहित्यको इतिहास हेर्दा केही लेखकले ऐतिहासिक आख्यान लेखेर योगदान गरेका छन् । ऐतिहासिक आख्यान भनेको ऐतिहासिक घटना र परिवेशमा आधारित भई लेखिएको उपनयास वा कथा हो । यसमा इतिहासका कोरा तथ्यलाई सजीव बनाउन काल्पनिक घटना र पात्रहरूको रचना गरेर आवश्यकतानुसारको सामाजिक परिवेशको निर्माण गरिन्छ । नेपाली भाषामा केही ऐतिहासिक उपन्यास लेखिएका भए पनि बालबालिका वा किशोर–किशोरीहरूका निम्ति नै भनेर लेखिएका ऐतिहासिक आख्यानहरूको सर्वथा अभाव नै छ । इतिहासका पात्रहरूलाई प्रस्तुत गर्दै लेखिने अर्को किसिमको विधा जीवनी हो । जीवनी तथ्यमा आधारित साहित्य भएकाले यसको प्रकृति कल्पनामूलक साहित्यका अरू विधाभन्दा फरक हुन्छ । साहित्य भएकै कारणले यसमा भाषाको आकर्षक प्रयोग पाइन्छ । विशुद्ध तथ्यपरक जीवनीहरू त इतिहासमा अभिरुचि हुने प्रौढहरूका लागि मात्र उपयोगी हुन्छन् । तर, किशोरावस्था विशेष गरी व्यक्तित्व निर्माणको समय भएकाले किशोरहरूका लागि जीवनी बढी उपयोगी हुन सक्छन् । यसैकारण किशोर जीवनी जस्ता किशोरहरूका निम्ति लेखिएका जीवनीले बालसाहित्यका विशिष्ट विधाका रूपमा बेग्लै पहिचान बनाएको पाइन्छ । हुन पनि संसारका महापुरुषको जीवनी पढेर प्रेरणा लिनसक्ने समय पनि १२ बर्ष पछिको किशोरावस्था नै हो।

किशोरकिशोरीहरूलाई उनीहरूको व्यक्तित्व निर्माण गर्न उनीहरूका निम्ति लेखिएका किशोर जीवनी दिएर महापुरुषहरूप्रति श्रद्धा जगाई तिनीहरूलाई सुमार्गका यात्री बनाउन सकिन्छ । साना बालबालिकाहरूका निम्ति पनि जीवनीहरू उत्तिकै प्रेरणादायक हुन्छन् । महापुरुषका जीवनीहरूलाई जीवनी मालाको रूपमा प्रकाशित गर्ने चलन पनि छ । बालबालिका ज्ञानका भोका हुन्छन् । उनीहरूमा पनि साहित्यप्रति झुकाव हुन्छ । महापुरुषका जीवनीहरूलाई सरल भाषा र आकर्षक शैलीमा प्रस्तुत गरेर बालबालिकाहरूका निम्ति उपयुक्त बनाइन्छ।

यस्ता जीवनी पूर्ण वा आंशिक पनि हुन्छन् । पूर्ण जीवनीमा व्यक्तिको पूरै जीवन कथा हुन्छ भने आंगिकमा व्यक्तिको कुनै अंश मात्र प्रस्तुत हुन्छ । इतिहासमा जोड दिएर त्यसलाई प्रामाणिक र वस्तुगत बनाउन सकिएला र व्यक्तिका रूपमा प्रस्तुत गरेर चरित्र चित्रणमा प्रकाश पार्न पनि सकिएला।

यस अवस्थामा हुनसक्छ व्यक्तिका सकारात्मक पक्षलाई प्रकाशमा ल्याएइला र नकारात्मक पक्षलाई हटाइएला अनि कतिपय किंवदन्तीमूलक बिषयको समावेश पनि गरिएला । तर, अनावश्यक, मनगढन्ते र काल्पनिक कुराको समावेश भने त्यति उपयुक्त नहोला । साहित्यिक कृति भएकाले जीवनीमा आकर्षक शैलीको अपेक्षा त गरिन्छ नै । प्रत्येक बालक प्रकृतिको मूर्त रूप हो । उभित्र वर्गले नसोचे जस्तो विद्वान, द्रष्टाले नदेखे जस्तो र वैज्ञानिकले विश्वासै नगरे जस्तो अलौंकिक संसार हुन्छ । आकर्षक नभएमा त्यसको साहित्यिक महत्त्व कम भइदिन्छ । नेपाली भाषामा केही जीवनीहरूका संकलन निस्केका छन् र ती लोकप्रिय पनि भएका छन् । तैपनि नेपाली बालबालिकाहरूका निम्ति भनी तयार गरिएका ऐतिहासिक व्यक्तिका जीवनीको पूरै कथा भएको पूर्ण जीवनीको संख्या भने कमै छ । जीवनी तथ्यमा आधारित भए पनि कला हो, निर्माण हो, मानिसको जीवनजस्तै । महापुरुषका जीवनी पढेर बालबालिकाहरूले के थाहा पाउँछन् भने ती विश्वप्रसिद्ध व्यक्तिहरू पनि केटाकेटी बेलामा उनीहरूजस्तै थिए। तर, निरन्तरको अध्ययन, परिश्रम, लगन र साधनाले गर्दा तिनीहरू प्रसिद्ध भए, अमर भए । बालकालिका निम्ति अनेक मार्ग छन्, जुन मार्गमा लागे पनि हुन्छ, सफल हुनुपर्छ, त्यसका निम्ति महापुरुषका जीवनीहरू पथप्रदर्शक बन्न सकून् । त्यसकारण आफ्ना बालबालिकाहरूलाई तिनका पुर्खासंग परिचित गराउनुहोस्, इतिहासको जानकारी दिनुहोस् र संसारका महापुरुषहरू कसरी महापुरुष बने भन्ने कुरा थाहा पाउने राम्रा जीवनीहरू छानेर दिनुहोस् ।

बालक सफा सेतो कोरा कागज हो जसमा कुनै दाग हुँदैन । दागरहित यस्तो बालमस्तिष्कमा सरल, आकर्षक र ज्ञानवर्द्धक चित्राङ्कन सहितको उत्कृष्ट साहित्य दिएर सुसंस्कृत बनाउनुपर्दछ । बालसाहित्यमा रुचि राख्ने वा समर्पित भएर लाग्ने सबैको दायित्व भनेको उत्कृष्ट बालसाहित्य उपहार दिएर बालबालिकाको स्वस्थ विकासमा सहयोग पुरयाउनुपर्छ । अनि आजको आधुनिक युगमा समेत केटाकेटीलाई परम्परागत शैलीमा अक्षर घोटीघोटी मात्र पिलाएर विद्वान बनाउने कल्पना गर्नुभन्दा सिर्जनशीलता संगसंगै ज्ञानआर्जन हुने खालको खेल र साहित्यसम्बन्धी मनोरञ्जन श्रव्य, दृष्य शिक्षण पद्धत्ति अवलोकन गर्नु प्रभावकारी हुन्छ । असल बालसाहित्यले बालबालिकाको, परिवारको, समाजको, राष्ट्रको र विश्वको नै भविष्य निर्माणमा सहायक हुन अवश्य सहायता गर्दछ ।

प्रकाशित: २६ चैत्र २०७७ १४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?