१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मेघन–ह्यारीले ल्याएको विश्व तरंग

अक्षर

दुनियाँ आज पद, प्रतिष्ठा र सम्मानका लागि मरिहत्ते गरेको हामीले देखेका छौँ। राजदरबारको सुखसयल, राजसी ठाँटबाँटमा रमाइरहेका नवविवाहित युवा राजकुमार ह्यारी र मेघनको जोडीले एकाएक सन् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट अलग्गिने घोषणा गरेसँगै विश्व तरंगिएको थियो, समाचारहरूमा।

त्यतिबेलादेखि नै उनीहरूले ‘हिज, हर रोयल हाइनेस’ भन्ने पदवी र शाही कोष पनि प्रयोग गर्न नपाउने बकिंघम राजदरबारले घोषणा गरेको थियो। त्यसको ठीक एक वर्षपछि तिनै पूर्वराजकुमारका जोडीको विशेष अन्तर्वार्ताले विश्व तरंगित भयो। ह्यारी–मेघनसँग ओप्रा बिन्फ्रीले लिएको एक घन्टा २० मिनेट लामो सनसनीपूर्ण अन्तर्वार्ता मार्च ७ मा अमेरिकी टेलिभिजन सिबिएसले प्रसारण गर्‍यो। विश्वका पत्रिका र टेलिभिजन यिनै अन्तर्वार्ताका विषयलाई लिएर भरिएपछि अन्ततः बेलायती राजदरबारले बाध्य भएर प्रतिक्रिया दिएको छ, ‘ह्यारी–मेघनले अन्तर्वार्तामा उठाएको कुरामा गम्भीर र दुःखी छौँ। पछिल्ला केही वर्ष उनीहरूका लागि चुनौतीपूर्ण रहेको थाहा पाउँदा पूरै शाही परिवार निकै दुःखी छ। दुवैले उठाएको कुरा विशेषगरी रंगभेदसँग जोडिएको विषय निकै चिन्ताजनक देखिन्छ। मानिसले यसलाई अलगअलग तरिकाले बुझेका हुन सक्छन्। हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौँ। शाही परिवारले यसलाई निजी रूपमा सम्बोधनको प्रयास गर्नेछ।’

एकाएक बेलायती राजदरबारले मेघन–ह्यारीको चर्चित अन्तर्वार्तापछि रंग तथा नश्लभेदको गम्भीर आरोप खेप्नुपर्‍यो। विश्वका सञ्चारमाध्यममा मेघनका पक्षमा उर्लेको समर्थनबाट बाध्य भएर वक्तव्य निकाल्नुपर्‍यो, त्यो घटनाको छानबिन गर्ने र पारिवारिक उक्त घटनाको परिवारभित्रै छानबिन गर्ने भन्नुपर्‍यो।

दुनियाँलाई रंगभेदको बारेमा पढाउने बेलायत, प्रजातन्त्र र स्वतन्त्रताको जननी मानिने ठाउँ र सम्मानित मानिएको बेलायती राजदरबार यथार्थमा कति रंगभेदी रहेछ भन्ने मेघनले ओप्रा विनफ्रेसँग गरेको कुराकानीमा छताछुल्ल भयो। मेघनले शाही परिवारमा उनीहरूको छोरा आर्चीको छाला कति कालो होला भनेर पटक–पटक कुरा भएको आरोप लगाएकी थिइन्। यद्यपि ह्यारीले यो महारानी एलिजाबेथ र राजकुमार फिलिपले नगरेको बताएका थिए। बेलायती दरबारको त्यस्तो डरलाग्दो रंगभेदी प्रतिक्रियाका कारण आफूलाई मानसिक स्वास्थ्यमा समस्या पर्नुका साथै राजपरिवारभित्रको कठिन एकांकी जीवनका कारण बाँच्ने इच्छा नै मरेको र आत्महत्या गर्नेसम्मको सोच मनमा आएको मेघनले बताइन्।  

राजकुमार ह्यारीले आफू शाही जिम्मेवारीबाट अलग्गिने विचार सुनाएपछि उनका पिता राजकुमार चाल्र्सले फोन समेत उठाउन छाडेको बताएका थिए। उनका लागि दिँदै आएको सुरक्षा समेत फिर्ता लगिएकामा आश्चर्य व्यक्त गर्दै कम्तीमा मेरा लागि नभए पनि आफ्नो सानो नाति र छोराको सुरक्षित जीवनको समेत प्रवाह नगरिएकामा मेघनले रोष व्यक्त गरिन्। तथापि ह्यारीले आफ्नी हजुरआमा महारानी एलिजाबेथ द्वितीयासँग सम्बन्ध साँच्चिकै राम्रो भएको र आफूले उनलाई अत्यन्त सम्मान गर्ने बताएका थिए।  

नेपालसँग ह्यारीको प्रगाढ सम्बन्ध  

अफगानिस्तान युद्धमा सँगै लडेका ह्यारीले गोर्खा सैनिकको निष्कपट माया र व्यवहारबाट साह्रै खुसी र गर्व महसुस गर्ने गरेको बेलाबेला बताउँदै आएका छन्। सन् २०१५ को भूकम्पलगत्तै नेपाल भ्रमण गरेका उनले उत्तरी गोर्खास्थित प्रभातकिरण विद्यालयको पुनर्निर्माणमा स्वयंसेवक भएर सघाएका थिए। अन्नपूर्ण हिमशृंखला तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राकृतिक सौन्दर्यलाई सधैँ सम्झने ह्यारीले बताउने गरेका छन्। गोर्खा सैनिकसँग गाँसिएको उनको प्रगाढ माया र नेपालीप्रतिको मीठो सद्भावका कारण उनी नेपालीमाझ अत्यन्त लोकप्रिय छन्। नेपाल–ब्रिटेन दौत्य सम्बन्ध स्थापित भएको दुई सय वर्ष पुगेको उपलक्ष्य (सन् २०१७) मा लन्डनस्थित दूतावासले भव्य कार्यक्रम आयोजना गरेको थियो, त्यहाँ समेत राजकुमार ह्यारी आएर नेपालीलाई सम्मान व्यक्त गरेका थिए।  

सञ्चारमाध्यमको खेदो  

सञ्चारमाध्यमले बेलायतको राजदरबारलाई जहिले पनि तरंगित समाचारको स्रोत बनाइरहेको देखिन्छ। राजकुमारी डायना तेइ पापाराजीको सिकार भइन्, अन्ततः पेरिसको कार दुर्घटनामा। त्यतिबेला राजकुमार विलियम र ह्यारी किशोर थिए। आमाको मायाको तीव्र याचक थिए। बेलायती सञ्चारमाध्यमसँग मेरी आमालाई जस्तै मेघनलाई पनि पापाराजीहरूले दुःख दिएकामा रोष व्यक्त गरे। कति पत्रिकाको विरुद्ध कानुनी कारबाही समेत गरे उनीहरूले। भर्खरै मेल अन सन्डे पत्रिकालाई मेघनको व्यक्तिगत गोप्यता सार्वजनिक गर्दै उनका पिताको हातले लेखेको चिठी प्रकाशित गरेर दुःख दिएकामा अदालतले पत्रिकालाई कारबाही गरेको छ।  

रंग तथा नश्लभेदविरुद्ध आन्दोलन

बेलायती पूर्वराजकुमार ह्यारी महारानी एलिजाबेथका बहुतै मनपर्ने नाति हुन्। डायनाको मृ्त्युपछि आफ्ना टुहुरा दुई नाति (विलियम १४ वर्ष र ह्यारी १२ वर्षका हुँदा)लाई महारानीले गरेको प्रेमपूर्ण संरक्षकत्वको सबैतिर प्रंशसा भएको थियो। तीन वर्षअघि ह्यारीले मेघनलाई बिहे गर्दा महारानीले भनेकी थिइन्, ‘हाम्रो शाही परिवारले आधुनिकताको प्रतिनिधित्व गर्छ।’ एकाएक बेलायती राजदरबारले मेघन–ह्यारीको चर्चित अन्तर्वार्तापछि रंग तथा नश्लभेदको गम्भीर आरोप खेप्नुप¥यो। विश्वका सञ्चारमाध्यममा मेघनका पक्षमा उर्लेको समर्थनबाट बाध्य भएर वक्तव्य निकाल्नुपर्‍यो, त्यो घटनाको छानबिन गर्ने र पारिवारिक उक्त घटनाको परिवारभित्रै छानबिन गर्ने भन्नुपर्‍यो।

ह्यारी–मेघनको विवाहलाई त्यति मन नपराएको बेलायती दरबारले उनी गर्भवती हुँदा उनीबाट जन्मने बच्चालाई राजकुमार या राजकुमारीको नैसर्गिक दर्जा दिन नसकिने नियम बनाएको रहेछ। जब कि राजपरिवारका अन्य नातिनातिनाबाट जन्मेका सन्तानलाई स्वतः राजकुमार र राजकुमारी हुने गर्छन्। मेघन अफ्रिकी मूलकी आमा (श्यामवर्ण) र अमेरिकी मूलका पिता (श्वेतवर्ण)बाट जन्मेकी हुन्। दुई फरक रंग र फरक जातिबाट जन्मेकी मेघन शुद्ध बेलायतीजस्ती अर्थात् पूरै गोरी छैनन्। उनी हाम्रो भाषामा गहुँगोरी छिन्। यसरी दुई भिन्न रेसबाट जन्मने सन्तान कस्तो रंगको होला ? अर्थात् कति कालो वा गोरो होला भन्ने पक्षपाती चर्चा दरबारमा हुनुलाई हक्की स्वभावकी आत्मनिर्भर अमेरिकी मेघनलाई सैह्य हुने कुरै भएन। यदि यो कुरा सही हो भने यसले रंगभेद कति गहिरो रहेछ बेलायतमा भन्ने प्रस्ट पार्दैन र ? यसलाई मेघनले मात्र नभएर विश्वले रंगभेदको संज्ञा दिएको छ।

बेलायती राजतन्त्र

ब्रिटिस राजतन्त्रको पतन शीर्षकमा न्युयोर्क टाइम्समा ह्यामिल्टन नोलान लेख्छन्, ‘सन् २०२१ मा पनि राजतन्त्र भएको कुनै राष्ट्रले क्रान्तिकारी जिम्मेवारीको कमी देखाएको छ। भर्खरको अन्तर्वार्ताको बारेमा तपाईंले सुन्नुभएको हुन सक्छ, बेलायती राजतन्त्र कुरौटे र जातिवादको विषाक्त अड्डा हो। मान्छेलाई रंग र वर्गमा वर्गीकरण गरेर आफ्नै बुहारीप्रति यति विघ्न अमानवीय बन्न सक्छ ?’  

ह्यारी र मेघनमाथि भएको शाही जातिवाद उन्मूलनको बारेमा टाइम्स पत्रिका लेख्छ– विविध राज्य मिलेर बनेको बेलायत एउटा यस्तो देश हो, जहाँ राज्यका चार ठूला अफिसहरूमध्ये दुईजना जातीय अल्पसंख्यकका सभासद छन् र १० मध्ये एकजना सांसद गैरश्वेत छन्। सामाजिक दृष्टिकोण वा उत्पीडन र भेदभावका हिसाबले सर्वेक्षण गर्दा ब्रिटेन युरोपमा सबैभन्दा कम जातीय देशमध्ये एक देखिन्छ।

मेघन–ह्यारीको अन्तर्वार्तापछि विश्व पक्ष र विपक्षमा तातिरहे पनि उनीहरू आफूलाई कस्तो महसुस महसुस गरिरहेका होलान् ? मेघनकी साथी अभिनेत्री जनिना गवानकरले भनिन्, ‘ओप्रा विनफ्रेसँग गरेको अन्तर्वार्तापछि मेघन र प्रिन्स ह्यारीले स्वतन्त्र महसुस गरिरहेछन्।’  

शाही परिवारको सदस्यका रूपमा कार्यरत हुँदा मेघनको मानसिक स्वास्थ्य संघर्षको जानकारी भएको ‘धेरै इमेल र टेक्स्ट म्यासेजहरू’ आफूसँग रहेको उनले बताएकी छन्।

मेघनका पिताको प्रतिक्रिया  

पितासँग मेघनको राम्रो सम्बन्ध देखिँदैन। यो अन्तर्वार्तापछि उनको प्रतिक्रिया यस्तो रह्यो, ‘म यसबारे धेरै निराश छु। मैले सयपटक के भयो भनेर माफी मागेँ। उनीहरूबाट कुनै प्रकारको चासो नदेखाइए म प्रेसको सहारा लिन्छु। म उनीहरूबाट सुन्न चाहन्छु। विगत ४ वर्षदेखि कुनै प्रकारको कुराकानी भएको छैन उनीहरूसँग। बिहेताका टेक्स्ट मेसेज आएको थियो, जतिखेर म हस्पिटलमा मुटु रोगले ग्रस्त थिएँ र बिहेमा आउन नसक्ने भएको थिएँ। मैले गल्ती गरे पनि उनी मेरी छोरी हुन्, म उनलाई देख्न हेर्न चाहन्छु। मैले मेरी छोरीलाई माया गर्न कहिल्यै छोडेको छैन। मलाई मेघन मनपर्छ। उनी मसँग रिसाउन सक्छिन्, तर म अझै उनका बुवा हुँ।’

अन्त्यमा,

बेलायती राजदरबारमा देखिएको यो किचलो यतिखेर विश्वभरि चर्चाको विषय भएको छ। यो एउटा शाही घरानाको पारिवारिक कलह मात्र नभएर संसारको शक्तिसम्पन्न र कुनै बेला संसार जितेको बेलायती साम्राज्यकै लज्जाको विषय बनेको छ। बेलायत स्वयंमा बहुजाति, बहुभाषी बहुधर्म भएको विविधतापूर्ण देश हो। यतिखेर बेलायतको पार्लियामेन्टमा अर्थ र गृह मन्त्रालय सम्हाल्ने भारतीय मूलका ऋषि सुनाक र प्रीति पटेल छन्। बेलायतको जनसंख्याको १४.४ प्रतिशत जनजाति अल्पसंख्यक पृष्ठभूमिबाट आएका छन्, उत्तरी आयरल्यान्डमा २.२ प्रतिशतदेखि इंग्ल्यान्डमा १६.१ प्रतिशतसम्मका छन्। २०१९ को आम चुनावपछि हाउस अफ कमन्सका ६५ जना वा १० प्रतिशत सदस्य जातीय अल्पसंख्यक पृष्ठभूमिबाट आएका छन्। 

तथापि अल्पसंख्यक पृष्ठभूमिका काला, गहुँ गोरा अफ्रिकन एसियनलाई हेर्ने दृष्टिकोण अझै बदलिएको छैन। हरेक पाइलामा माइग्रेन्टले अपमानित हुनुपर्छ, अनेक नाममा जात, वर्ग रंगमा। हामी सबैले आशा गरौँ, बेलायती राजदरबार बेलायती समाजले विश्व तरंग ल्याएको यो दुःखद खबरको निष्पक्ष छानबिन गरोस् र आफ्नी बुहारी, छोरा र नातिलाई सम्मानपूर्ण जीवन जिउने उनीहरूको अधिकारको सम्मान गरोस्। देशका सबै वर्ग, जाति रंगका विविध फूलहरूले सजिएको संयुक्त अधिराज्य बनिरहोस्।

प्रकाशित: ७ चैत्र २०७७ ०६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App