८ वैशाख २०७८ बुधबार
कला

बुवा विश्वास, बुवा आकाश !

अक्षर

आखिर विश्वासको कुरा न हो ! मुन्धुममा भनिएको छ अरे, चोला फेरिएको मान्छेले सातौँ आकाशभन्दा नि माथि सुम्निमा–पारुहाङ बस्ने फलैँचामुनि बस्न पाउँछ ! र, यही सुखातीत विश्वासको भर गरेर प्रियजनको स्थायी वियोग झेल्ने आँट गरिरहेका हुन्छौँ, हामी साधारण मान्छे !  

‘सदालाई छुट्टिएर गए पनि हाम्रा प्याराहरू आकाशमाथिको त्यो पवित्र थलोमा गजधम्म बस्दै, जीवन–जगत्को झ्याउलोदेखि पर मोक्षलाई प्राप्त भइबसेका’ ठानेर मन बुझाउन कस्सिन्छौँ। अनि ढुक्क हुँदै धर्तीमा आफ्नो दिनगन्तीको हिसाब भुलेर अर्थोक अर्थोक कुरामा बिन्दास अलमलिइरहेका हुन्छौँ। तर अरू कुरा जेजसो भए पनि यो मन बुझाउने मेसो चाहिँ, मान्छेले दुःख र पीडालाई पछार्दै अघि बढ्न सकोस् भन्ना खातिर प्रकृतिले व्यवस्था गरिदिएको मेन्टल मेकानिजम्को एउटा पाटो हो भन्छ, मनोविज्ञान सूत्रले ! होला र त, संकटको घडीमा आँटबलले भ्याएसम्म मुकाबिला गर्दै जीवनलाई घिसार्दै अघि बढिरहेको हुन्छ मान्छे ! सकस र अप्ठेरालाई बाइपास गर्न नसके त निम्छरो मान्छेको के पिताम् ! हरिबिजोग भइहाल्छ नि !  

‘आमा सत्य हुन् भने बाबु विश्वास, आमा धर्ती हुन् भने बाबु आकाश !’ हिन्दू धर्मशास्त्रले बाबुआमाबारे खुट्याइदिएको यो सुन्दर हरफप्रति मेरो पटक्कै विमति छैन। साथै २०७४ असार आसपास सामाजिक सञ्जाल र पत्रपत्रिकामा राम्रै स्थान ओगटेको, कवि नीरा शर्माको ‘बा’ कविताको अंश ‘आमालाई धर्ती भन्नेहरूले बालाई कहिल्यै आकाश भनेनन्’ ले पनि मलाई द्रविभूत तुल्याउँछ। तिनताका सोही कविता, संगीतकार तथा गायक हरि लम्सालको संयोजनमा गीत बनेर बजारमा आयो। आमाको तुलनामा बुवाबारे कमै लेखेकी छु। तर पनि सानातिना चोटपटक लाग्दा वा च्वास्स घोँच्दा–पोल्दा, बिब्ल्याँटो स्वभावकी मेरो मुखबाट अचम्म तालले हठात् फुस्कने शब्द हो, एड्ढया बुवा !  

त्यसता बेला, ‘आमा’ नभनेर ‘बुवा’ भन्ने मेरो बानी मुवाँलाई पच्दै पच्दैनथ्यो। उहाँलाई बहुत नाइन्साफी लाग्दथ्यो कि छोरीका निम्ति सबथोक एक्लै गर्ने आफू, सप्तरी फत्तेपुरमा बस्दै आएका आफूहरूदेखि टाढिँदै बेग्लै घरजम गरेर पर हुत्तिने बाउको नाउँ चाहिँ छोरीको मुखमा झुन्डिने थेगो ? मलाई थाहा छैन कि किन छुट्टै घरसंसार बसाउनुभयो बुवाले, केही कारक तत्व अवश्यै विद्यमान थिए हुनन्, बुवाको यो कदमपछाडि। उत्निखेर परिस्थितिको अघिल्तिर हात खडा गर्न बाध्य बुवाआमाको निजी सन्दर्भमा अहिले अघिसरा भएर बोल्न मलाई बिल्कुलै ठीक लाग्दैन। म यस विषयलाई मनको मदानीमा मथेर कतै नभएको दुनियाँको आठौँ उदेक मान्दै मथिङ्गल हल्लाउने उद्योगमा कहिल्यै लागिनँ। अहिले पनि त्यो हाइपोथेटिकल विचारलाई पछ्याउनु वाहियात् लाग्छ। मेरा पिताजीसँग त्यसबेला आफूले मोडेको बाटोको उचित कारण पक्कै रहेको हुनपर्छ।  

धेरै काल बुवाको सानिन्ध्यमा बिताउन नपाए पनि किशोरवयको सुरुवाती बेलासम्म बुवाको मायाममता, स्नेही साथ र हकार्पकार् (बेलाबखतका पिटाइ पनि)ले स्मृतिको भकारी झुसी भर्न पाएकीमा मैले सन्तोक मानेकी छु। उसै पनि बुवा र म, आधुनिक तथा सभ्य बाबुछोरीमा दैनन्दिन देखिने मायालु व्यवहारभन्दा कोशौँ टाढा थियौँ। भावविभोर बनेर बाबुको छातीमा लिपिक्क टासिँदा ममताको छहारीमा सुरक्षित भएको ठान्ने छोरी, अनि छोरीलाई अँगालेर पितृस्नेहले सरोबरी हुँदै शिर सुमसुम्याउने बाबुमा हामी कहिल्यै फेरिन सकेनौँ। म सानी छँदाको कुरा बेग्लै, तर ठूली हुँदै जाँदा हामी बाउछोरी माया दर्शाउने मामिलामा दर्पmरिँदै गयौँ, सरमले हलका कोतरेजस्ता खस्रा बन्दै गयौँ। उसो र, मायालु स्पर्शको चाहनामा म हन्तकाली नै हुँ। मुवाँलाई अँगालेर सुत्दा प्राप्त हुने आनन्द र सुखानुभूति मेरो निम्ति यति मूल्यवान् छ कि म त्यो प्यारो सुखलाई अन्य कुनै कुरासँग दाँज्नलायक नै ठान्दिनँ। प्रियजनसँग टाँसिएर बस्नु/सुत्नु अत्यन्त प्रीतिकर लाग्छ मलाई !  

तत्कालीन् फत्तेपुरमा भर्खर भर्खर बसाइँ सरिआएर लाहुरे टोल बसाएका मतुवाली मामा–छ्यामाहरूका धेरैजसो छोराछोरी समवयी थिए। त्यो टोलमा केही घरकाहरू इसाई थिए, र प्रत्येक शनिबार दिउँसो त्यहाँ हुने बाल–सँगतीमा म सधैँ उपस्थित रहन्थेँ। मेरो उपस्थितिको सब से ठूलो कारणमा एउटा थियो– संयोजकका तर्फबाट कसैले घुँडा मोडेर बाइबलका पद पढिसकेपछि उनीसँगै घुँडा दोबारेर बसिरहेका श्रोतागणले भन्नुपर्ने ‘आमेन’ ! जुन बडो आकर्षक लाग्थ्यो। दोस्रो– फत्तेपुर नाउँको मधेसी कस्बामा कहिले नदेखेका ठूला रंगीन हुप्सियो र केही चकलेट उपहारस्वरूप प्राप्त गर्नु ! तिनै समवयी साथीहरूको सिको गरिटोपलेर बुवालाई ‘बाबा’ अथवा ‘ड्याडी’ पुकार्न औधि मन भएर पनि मैले त्यसो गर्न पटक्कै सकिनँ। एक त, आफ्नी छोरीलाई आँखा तरेरै अत्याइदिने र अर्काका छोराछोरीका नजरमा साह्रै असल बाबु देखिइदिने बुवाको डरले, अर्को– स्वयंको बानी नपरेको मधेसी जिब्रोले अटेरी गर्दिनाले ! बुवा स्वयं पनि, बेलाबखतका बाबुछोरीका भलाकुसारीमा आफूहरूलाई बुबा, मुमा, सानोमुमा भनेरै सम्बोधन गर्नुहुन्थ्यो।  

भैरहवामा २०१० सालमा राजाको सिन्दुर पहिरेर केटौले उमेरका मेरा पिताजी नेपाल प्रहरीको रिक्रुटमा भर्ती हुनुभएको थियो। त्यही बेला, आफू जन्मेहुर्केको पुख्र्यौली थलो तत्कालीन पूर्व ३ नम्बर भोजपुर–काहुले छाडेपछि यदाकदा कामविशेषले बाहेक बुवालाई पहाड जाने मौका मिलेन। त्यसयता जीवनका अधिकांश समय मधेसमा बिताउनुभएको उहाँलाई पनि किराँत भाषा र संस्कृतिसँग बाक्लो संगत गर्ने सन्जोग जुरेन। सप्तरीमै जन्मे–हुर्केर पहाडको मुख देख्दै नदेखेकी म त झन् बुवाभन्दा चौखण्ड मधेसी बनेर निस्किएँ ! र यो कुरामा मलाई गुनासो कहिल्यै भएन। बरु तराईको हावापानी र धुलोमाटोमा खाइखेली गर्दै हुर्कन पाएकीमा मधेसी हुनुको गौरव हृदयमा हरदम सलबलाइरह्यो। परिस्थिति अनुकूल–प्रतिकूल जेजस्तो रहे पनि, एक सच्चा पथ–प्रदर्शकको हैसियतमा बुवा सदैव मेरो साथमा रहिरहनुभयो, मेरो भागमा परिरहनुभयो। अहिलेकी लेखक बन्न मलाई चाहिने कच्चा पदार्थको जुगाड अप्रत्यक्ष तवरमै गरिदिएर बुवाले धेरै पहिले नै अमूल्य योगदान गरिदिनुभएको तीव्र बोध हुन्छ मलाई, जुन सत्य गाडधनजत्तिकै बहुमूल्य भएर जीवनभरिलाई मेरो मनमा बसिरहने छ। गाउँको हाम्रो अबल धानखेतको केही कट्ठा जग्गा स्थानीय माछा फारमको अधिग्रहणमा परेर १८ कट्ठा बचेको थियो। प्रचलित दरभाउ अनुसार त्यसको मुवाब्जा सरकारबाट नपाएको गुनासो सम्बन्धित सबै किसानको हृदयमा उकुसमुकुसिएको थियो क्यार ! हाम्रो जग्गा चन्द्रनहरसँगै टाँसिएको थियो, बाँकी बचेको जग्गाको पूर्वपट्टि अजंगको ह्युम पाइप हालेर आफ्ना पोखरीहरूबाट अतिरिक्त पानी निकास गर्न कलभट् बनाएको थियो माछा फारमले। त्यही अतिरिक्त पानीका कारण हाम्रो झन्डै डेढ कठ्ठा जग्गा सदैव जलमग्न भएर दलदले भास बनेको थियो, जहाँ जोखिम मोलेर रोपिएका धानका बोटहरू होप्सिएर ढल्दै अन्तमा त्यहीँ सिद्धिन्थे।

यही विषयलाई लिएर बुवा मलाई घरीघरी राजालाई निवेदन लेख्न लगाउनुहुन्थ्यो। म फुच्चीलाई भाँती पुर्‍याएर त्यो लेख्न त के आउनु, बुवाले नै सिकाउनुहुन्थ्यो। ‘तेरो अक्षर छिपाको जस्तो हुनपर्छ है...’ भनेर आफैँले बनाइदिनुभएको बाँसे कलमको नींब, चक्की घोलेको मसीमा चोबेर लेख्न लगाउनुहुन्थ्यो। बुवाले भन्नुहुने त्यो ‘छिपाको अक्षर’बारे उहाँबाहेक कसैको मुखबाट वा कहीँकतै मैले आज पर्यन्त सुनेकी छैन। सरकारको बरद बाहुलीबाट, परवर दिगार निगाह बक्सियोस्, मौसुफको जो हुकुम, सकल दर्जा, म अदना रैती आदि इत्यादि शब्दावली धेरैपटक लेखेको हुनाले मलाई अझैं ती कण्ठाग्र छन्। उतिबेला ती बिन्तीपत्र लेख्दाताका होस् या पछि बुवाले मलाई पठाउनुहुने चिठीहरूमा होस्, साहित्यको कडा हरक र जैविक स्वाद मजैले महसुस गर्थें म ! बुवाका चिठीहरू सामान्यभन्दा विशेष लाग्थे मलाई, तिनैबाट पनि ममा साहित्यको प्रभाव परेको हो जस्तो लाग्छ। अथवा मेरो रगतमा बुवाको जिन बगिरहेकाले होला, सुस्तरी ममा पनि सकेसम्म राम्ररी कुरा मिलाएर लेख्ने बानीको विकास हुँदै गएको ! मेरा चिठी प्राप्त गर्ने पत्रमित्र र अन्य साथीभाइहरू ‘क्या साहित्यिक चिठी लेख्छे’ भनेर सर्काउँथे। मेरा ती तथाकथित् साहित्यिक चिठीहरू अहिले सम्झँदा आफैँलाई उल्याएर रुन्चे हाँसो हाँस्न मन लाग्छ।  

धरान बसाइमा, कहिलेकाहीँ खोलामा नुहाउन जाँदा सर्दु खोला माथिको लामो ओरालोमा तीन वर्षकी मलाई काँधमा बोकेर गुटुटु कुद्नु हुने बुवालाई सम्झँदा अहिले पनि म भावविभोर हुन्छु। फुस्रेको पुलिस क्याम्पको क्वार्टरमा हाम्रो परिवार बसिरहँदा बुवा असई हुनुहुन्थ्यो। त्यही क्वार्टरबाट शोभा र माला नाउँका दुई साथीसँग सर्दुपूर्वको डाँडैडाँडा उँधो झरेर बाटाका लालुपाते टिप्दै र बेलचन्नाका पात चबाउँदै लामो पैदल सफर तय गरेर स्कुल जाने–आउने गर्थें। मूलबाटोको पश्चिममा अवस्थित पूर्व मोहडाको, बाल्यकालको त्यो स्कुलको नाउँ पनि याद छैन मलाई, जसको खेल्ने चउर एकदम फराकिलो थियो। त्यो मैदानको उत्तरमा सिमलीका झ्याङ र पूर्वमा सप्तरीमा देखेको भन्दा फरक खालका अमलाका बडे बडे रूखहरू थिए, सम्झनाहरू अधकल्चा छन्। लहरै ठडिएका फुस्रेको पुलिस अफिसर्स क्वार्टरका छिमेकी सई साहेबका छोरी शोभा र माला जो मभन्दा ठूला थिए, अचेल कहाँ होलान् भनेर कहिलेकाहीँ गम खाने गर्छु। भैरहवाको पुलिस लाइनमा ८ कक्षासम्म प्रौढ शिक्षा पढेकी मेरी मुवाँले, धरानमै ‘पूर्व व्यावसायिक शिक्षा’ नामक मेरो किताब कतै नपाइँदा कसैबाट लिएर डल्लै किताब मोटो कापीमा सारिदिनुभएको थियो। तिनताका नै हो भानुचोक धरानमा चन्द्रमाबाट ल्याइएको ढुंगाको प्रदर्शनी हुँदा मुवाँले मलाई त्यो ढुंगा देखाउन लग्नुभएको, तर त्यो ढुंगाको रूपरंग र अन्य कुरा म केही सम्झन्नँ, निकै सानी थिएँ। धरानसँगका यादहरू बहुत प्यारा छन्, जसले मलाई बुवा र मुवाँसँग सदैव गाँसिरहन्छन्। फत्तेपुरको त्रियुगा खोलामा नुहाएपछि प्रायः हामी बाबुछोरी खोलामाथिको चौरमा घाम ताप्थ्यौँ। बसेर घाम तापिरहनुभएको बुवाको ढाडमा भुँडी टँसाएर उहाँका तिलचामले केशबाट नौ वर्षकी मैले चामलजति उखेलिरहँदा, बुवा सधैँ गुनगुनाउनुहुन्थ्यो– ‘रुख से नकाब हटा दो, मेरे हजुर’। गीत–सङ्गीतप्रति हुरुक्क हुने मेरो स्वभावमा पनि बुवाकै संगीत–रुझानको असर हो भन्ने लाग्छ।  

पुख्र्यौली थातथलो, पहाडको देवीथान– काहुलेमा अन्य जातजातिका साथै मितेरी खलक बस्नेतहरूले बान्तवा कुरा फरर बोलेजसरी मधेस घरमा आफूले सोही रीत लागू गर्न नसकेको सत्य बुवाको हृदयमा बिझाउने गथ्र्यो सायद ! छरछिमेकमा पनि हाम्रो भाषा बोल्ने कोही नभइदिँदा राई भाषा र संस्कृतिदेखि उछिट्टिएर पर हुत्तिन पुगेकी थिएँ म ! सायद मनमा बिझेको यही खिल उखेल्न होला, बुवाले आफ्नो वंशवृक्षका हाँगाबिँगाबारे सम्भव भएसम्म मलाई चिठीहरूमा बताइरहनुहुन्थ्यो। बुवामुनिका दुई भाइ काकाहरू र उहाँहरूका सन्तानसँग त मेरो राम्रो सम्बन्ध थियो, तर पहाडमै बस्नुभएका बडाबा र उताका दाइदिदीहरूसँग चिनजान गाढा थिएन। फुपुहरूबारे अनभिज्ञ थिएँ, आउजाउ कहिल्यै भएन। यसै मेसोमा बुवाले चिठीमा कुन फुपु हाल कस्तो अवस्थामा कहाँ हुनुहुन्छ, बान्तवाहरू कति प्रकारका हुन्छन्, हाम्रो पाछा के हो, जीबा र ज्यामाको जीवन पहाडमा कसरी बित्यो भन्नेबारे यावत् जानकारी दिइरहनुहुन्थ्यो। जीबाको सेखपछि ज्यामालाई पहाडबाट ल्याएर पाडाजुँगी घरमा स्याहारेर असल छोराको कर्तव्य निर्वाह गर्नुभएको बुवा सम्झँदा मेरा आँखा रसाउँछन्।

मान्छे समयभन्दा बलवान हुन कहिल्यै सक्दैन भन्ने सदैव मान्दै आएकी तुच्छ प्राणी हुँ म ! मेरो बुवाको जमानादेखि अनवरत रूपमा, प्रेमको बाहुपासबाट पन्छिएर हतपती भाग्न नसकेका धेरै मान्छे देखेकी छु। जहिल्यै जहाँसुकै हुन सक्ने प्रेमको विराट स्वरूपलाई लत्याउन जोकोहीको बुताको बात पनि हुँदैन नि !

भैरहवामा बसिरहनुभएकी मुवाँलाई हवल्दार साब र साथी प्रहरी साथ लिएर गई जबर्जस्ती ल्याउनुभयो बुवाले। जसको शक्ति उसको भक्ति पारामा लठैत जस्ता दशजना पुलिसका मद्दतमा मुवाँलाई उठाउनुभो, बिल्कुल अपहरण शैलीमा। केटीको इच्छा र स्वीकृतिलाई कुनै भाउ नदिएर गरिएको विवाहलाई बिछट्टै प्रेम गरेको बर्को ओढाइदिएर बुवाले आफ्नो कार्यलाई न्यायोचित बनाउनुभो।  

पोखरा –ल्वाङ घलेलबाट आएर बजैसँग बसिरहनुभएकी गुरुङसेनी मुवाँलाई २०१० सालमा क्युपिडले शिरमा प्रहार गरेको रन्कोमा बुवाले आफ्नो बनाउनुभयो। त्यस्तरी मरिहत्ते गरेर प्राप्त गरेको प्रेम, समयको अन्तरालमा उस्तै रहिरहन नसकेको देखियो। सायद त्यो परिवर्तित चित्तको दोछाया स्वभाव बुवाको मजबुरीको विम्ब थियो ! कहीँकतै भवितव्यको चक्रव्यूहमा पर्दा, प्रेमको बान्की र प्रभाव अनन्तसम्म यथावत नरहँदोरैछ, मुनामदन– लैजामजनुँ – रोमियो जुलियट र जुलियस सिजर अपवाद लाग्छन् मलाई ! बिहेपश्चात् धेरै काल बितिसक्दा पनि सन्तानको मुख देख्न नपाउँदा कल्पँदै, बच्चा प्राप्तिको भाकल गर्दै बुवा राजविराजका कुण्डहरूमा डुबुल्की लगाउनुहुन्थ्यो अरे ! त्यसैले मेरो नाउँ कल्पना राख्नुभएको बुवाले ! म जन्मनुमा बुवाका ती जल–अनुष्ठानको कति योगदान छ, त्यो त म भन्न सक्दिनँ, तर मलाई जन्म दिएर जिन्दगीका अनेक रूप र छटाको स्वाद चाख्ने मौका दिलाइदिनुभएकामा बुवाप्रति अनुगृहित छु। यस लेखको थालनीमा उद्घृत् ‘आमालाई धर्ती भन्नेहरूले बालाई कहिल्यै आकाश भनेनन्’ पंक्ति देख्दा÷सुन्दा, झल्याँस्स हुन्छु कि कतै मैले पनि बुवाको सम्झना र स्नेहलाई स्मृतिपटलमा पुग्दो स्थान दिन कन्जुस्याइँ गरिरहेँ कि त ? चैत ४ गते बुवाले सधैँलाई धर्ती छाडेर बादलपारिको देश जानुभएको तीन वर्ष हुन्छ। बुवालाई शिरमा सुम्निमा–पारुहाङकै थान्कोमा राखेर मनभरि हुँदै यो बेला मैले केवल यति शब्द–श्रद्धाञ्जली अर्पण गर्न सकेँ। बुवा, प्रणाम !

प्रकाशित: २२ फाल्गुन २०७७ ११:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?