गंगा आचार्य सापकोटा
१)
भाँचिएको रुख पनि आयो पलाई –पलाई,
दीपले नि ज्योति छर्यो आफैलाई जलाई ।
उस्तै देखेँ काँडाभित्र फूलको पनि मुस्कान,
यस्तो लाग्यो जिउने कला सिकाउँदै छन् मलाई।
२)
विवेकको पाटोचाहिँ पूरै खाली पाएँ,
आफ्नै ठानेको मान्छे पनि जाली पाएँ ।
निस्वार्थ सहयोग गरेकी न हुँ मैले,
परिणाममा भने नमिठो गाली पाएँ।
३)
हरियो बन पनि पतझर बन्न सक्छ,
बलियो घर पनि खण्डहर बन्न सक्छ ।
जिन्दगीमा आइलाग्ने उतारचढावले,
कोमल मन पनि त पत्थर बन्न सक्छ।
४)
हृदयमा मानवता जगाउन जानेनन् ,
ऊसँग पनि एकमन छ भन्ने ठानेनन् ।
उनैले गर्छन् मबाट सम्मानको अपेक्षा,
जसले मलाई कहिल्यै आफन्त मानेनन् ।
५)
अँध्यारो अनि उज्यालो नभनी,
अप्ठ्यारोमा विचलित नबनी ।
सुनझैँ चम्किने लक्ष्य हो भने,
पिउनैपर्छ आगो तनतनी।
प्रकाशित: २१ फाल्गुन २०७७ ०८:४३ शुक्रबार