१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

एक कमलरी बालिकाको साहसले जन्मिएको कृति कान्छु

कृति

जितेन्द्र रसिक

पुस महिनाको मौसम । विराटनगरको यात्रा तय गरेकी छन् उनले । उनी अर्थात् उपन्यासकी म पात्र । यात्राका लागि मइक्रो बसको झ्यालनेरको सिट बुकिङ गरेकी थिइन् उनले। सोही अनुरूप उनी आफ्नो सीटमा बसिन् । विच बाटोमा पुगेपछि कालो वर्णकी १५÷१६ वर्षकी किशोरी  माइक्रो बसमा चढिन् । नाकमा नत्थी लगाएकी । उनको वेशभूषाले उनी तराई मूलकी किशोरी हुन् भन्ने सजिलै अनुमान गरिन् । करिव एक घण्टाको यात्रापछि किशोरी बोलिन् ‘मलाई बमिट आउँछ । झ्यालतिर बस्छु नि हुन्छ दिदी ?’ झ्यालमा बसेर यात्रा गर्नुको मज्जालाई छाडेर आफूभन्दा सानी मान्छेको आग्रहले उनी किशोरीलाई आफु बसेको सीट दिन्छिन् । ती पात्र थिइन् कमलरी परिवारकी छोरी । आमाबाबुसँगै कमलरी जीवन भोगेर माल्किनको छोरीको सहयोगले कमलरीबाट उम्किएर संघर्ष गर्दै शिक्षा हासिल गरिरहेकी किशोरी । उनै कमलरी किशोरी पढाइ सकेर आफू कमलरी बनेको गाउँकै विद्यालयमा शिक्षक बन्न सफल भएकी छन् । आफू जन्मिएको गाउँ र कमलरी बस्न बाध्य समाजबाट कमलरी प्रथा हटाउन संघर्ष गरेकी एक किशोरीको कथा हो ‘कान्छु’ बाल उपन्यास । कान्छु पात्र कान्छु उपन्यासकी नायिकाका रूपमा उभिएकी छन् । बाल उपन्यासमा नायिकाले कमलरी बस्न बाध्य भएकी परिवार र तिनका बालबालिकाको मनोदशालाई उजागर गर्न सफल भएको छ ।  

कमलरी बालिकाको पढ्ने उत्कण्ठ चाहना र माल्किनको बालबालिकाको किताब छुन मात्र पाउँदा पनि आफूलाई साह्रै भाग्यमानी ठान्ने कान्छु माल्किनको अनेक गालीगलौज, पिटाइ मात्र हैन चोर दोष समेत खेपेर कमलरी बालजीवन बिताउन बाध्य भएकी छन् । कठोर परिवार भित्रकी माल्किनको छोरीको उदार स्वभाव र आफ्नो परिवार र उनलाई मानसपटलमा दासत्वको जन्जिर बोकेर बसेका जमीनदार अर्थात् माल्किन र उनको उद्धार स्वभाव भएकी छोरीको आसपास केन्द्रित रहेको कान्छु बाल उपन्यासका पात्र उनै माल्किनको छोरीको सहयोगमा उनी शिक्षित हुन सम्भव हुन्छिन् ।  

यसरी कमलरी बसेका बालबालिका र तिनका परिवारले भोग्नु परेको दासत्व जीवनदेखि कमलरी बालिकाको संघर्ष र परिवर्तनका कथा सरल र मिठो भाषा शैलीमा आख्यान बनेर सलल बगेको छ । 

बालबालिका भविष्य हो । बालबालिका मुलुकका गहना हुन् । भविष्यको मुलुक वर्तमान बालबालिकाको हातमा छ । मुलुकलाई कस्तो बनाउने ! समाज कस्तो बनाउने ? मुलुक समृद्धि बनाउने जिम्मेवार वर्तमान बालबालिका तथा भविष्यका कर्णधार वा नागरिक बन्ने अहिलेका बालबालिका हुन् । विरुवाको सम्भार गरयौं भने त्यसले भविष्यमा राम्रो फल दिन्छ । विरुवाकै बेवास्ता गरियो भने त्यसले न सोचे अनुसारको फल दिन सक्छ न वरपरको विरुवा नै फस्टाउन दिन्छ । बरु झारपात र झोर  जङ्गल बनेर सिंगो बगैंचा कुरूप बनाइदिन्छ । त्यसैले बालबालिका भनेका विरुवा हुन् । यसको सम्भार कसरी गर्ने, भविष्यको लागि योग्य नगरिक बनाउन बाल्यावस्थादेखि नै कसरी सुसभ्य र सुबाटोमा दोहोरयाउने ! कसरी बालबालिकालाई विचारशील बनाउने ! कसरी नेतृत्व क्षमता बढाउने र कसरी तर्फ हाम्रो ध्यान जान जरुरी छ । यो सबै गर्न अभिभावक, समाज, परिवार, राज्य सबैसबैले भूमिका खेल्न आवश्यक छ । तीबाहेक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बालबालिकालाई सुमार्ग हिंडाउने कार्य साहित्यले गर्छ ।  अर्को पक्ष संस्कार र शिक्षा पनि हो । यी सबै बालबालिकाका लागि आवश्यक छ । तर, यसलाई हामीले बालबालिकालाई कसरी दिइरहेका छौं भन्नेचाहिँ प्रमुख कुरा हो । हामीले लेखिएका बालसाहित्य मुलुकको भविष्य लक्षित छ कि छैन, साहित्यले मनोरञ्जनसँगै समाजमा रहेका कुरीति र सुनीतिको विषयमा सोच्न विवश बनायौं कि बनाएनौं ! बाल पाठकहरूलाई चिन्तनशील बनाउन प्रेरित गरिरहेका छौं कि छैनौं भन्ने कुरा महत्वपूर्ण हो । बालसाहित्यका सर्जकले  विगत वर्तमान र भविष्यभित्र रहेर बालबालिकालाई मनोरञ्जन भित्र सकरात्मक, प्रेरक शिक्षा दिएका छौं कि छैनौं भन्ने महत्वपूर्ण पक्ष हो।

पछिल्लो समय बालबालिकाको क्षेत्रमा र बालसाहित्यको क्षेत्रमा धेरै पुस्तकहरू लेखिन थालेका छन् । तर ती अधिकांश पुरानै ढर्रामा रहेर लेखिएका छन् । जसले समाज र नागरिकको चेतनाको स्तर सोही स्तरको बनाइदियो । हामीले बालसाहित्य लेख्ने बेला कहिल्यै सोचेनौ अबको ५० वर्षपछिको मुलुकका लागि लेखिरहेका छौं भनेर । बालसाहित्यले विगत वर्तमान र भविष्य यी तिनै कुरा परिवेश र समयकाल हेरेर पस्किन सक्नुपर्छ । हाम्रा बालसाहित्य पढेर उसले ५० वर्षपछिका लागि योजना बनाउन सक्नुपर्दछ । यसो नभएकै कारण अमेरिका पत्ता नलाग्दै अस्तित्वमा रहेको मुलुक नेपाल अहिले हविगतमा छ । हुन त एउटा सुन्दर मूर्ति बनाइसकेपछि मूर्तिकारले अरूका लागि अर्को मूर्ति नबनाउन् भनेर हातखुट्टा काटिदिने मुलुकका जनता हौं हामी ।

अझै पनि हामी बालबालिकालाई भूतका कथा सुनाउँछौं र उनीहरूको बालमनोविज्ञानमा त्रास भरिदिएर निकम्मा बनाइदिन्छौं । भगवानका कथा सुनाएर भक्त बनाइदिन्छौं । मालिकका कथा सुनाएर दास बनाइदिन्छौं । कलिलो मष्तिष्क चिमोटेर अदृश्य रूपमा वैचारिक र चेतनाको अपाङ्ग बनाइदिन्छौं । र पनि त्यस्ता लेखकहरू अपराधी सावित गर्ने अदालत छैन लेखन क्षेत्रमा । बालसाहित्यका लेखकहरू अन्य विधाका लेखकजस्तै परन्तु हुँदै होइन । उनीहरू निकै संवेदनशील हुनुपर्छ । उसले चलाएको कलमले भोलिको मुलुकको भविष्य निर्धारण गर्छ । विश्वकै भविष्य निर्धारण गर्दछ । यदि गलत बालसाहित्यले बालपाठकहरूलाई मनोरञ्जनको नाममा गलत शिक्षा पनि बालसाहित्यमा घोलिदियो भने त्यो भविष्यका लागि घातक हुन्छ । मानवताका लागि घातक हुन्छ । समाजका लागि घातक हुन्छ । मुलुक हुँदै विश्वका लागि घातक हुन्छ । त्यस्ता बालसाहित्य सिर्जना भएका छन् भने त्योभन्दा ठूलो अपराध बालसाहित्यका सर्जकले अरू केही गर्नै पर्दैन । मेरो हातमा परेको बालउपन्यास कान्छु यी सबै दोषबाट मुक्त बालसाहित्यको उत्कृष्ठ कृतिमध्येमा परेको महसुस गरेको छु ।

नेपाली साहित्यमा बाल उपयोगी पुस्तक पर्याप्त छैन । त्यसो त घरैदेखि बालमैत्री वातावरण अधिकांशको घरमा छैनन् । के हामीले बालबालिकाका लागि १० प्रतिशत मात्रै पनि सोचेका छौं ? अधिकांशले सोचेका छैनन् । के हामीले बालबालिका मैत्री भान्छा प्रयोग गर्छौ ? के हामीले बालबालिका मैत्री कोठा प्रयोग गर्छौं ? के हामीले कुनै पनि संरचना बनाउँदा बालबालिकामैत्री बनाएका छौं ? के हामीले बालबालिका मैत्री शौचालय बनाएका छौं ? घरमा बालबालिकामैत्री भरयाङ बनाएका छौं ? कुर्सीटेबल बालबालिका मैत्री छन् ? आजको सवाल यो हो । तर कमलरी बसेकी कान्छु बालउपन्यासकी नायिकासम्म पुगेर हेर्ने हो भने हामीले वर्तमान समयमा उठिरहेको सवाल भन्दा फरक परिवेशको सन्दर्भ उपन्यासमा समावेश भएको छ । एक बालक वा बालिकाले मान्छे मान्छे बिचको विभेदलाई कसरी लिने गर्दछ र त्यसले उनीहरूको मनोविज्ञानलाई कस्तो असर पार्दछ र जन्मेर चेतनाको विकास हुँदैदेखि मानिसमानिस भित्रको विभेदसँग कसरी मुकाबिला गर्दै समाज परिवर्तनका लागि सकरात्मक भूमिका खेल्छिन् भन्ने दृष्टान्त कान्छु बालउपन्यासबाट बालपाठक माझ पस्किन सफल भएकी छन् उपन्यासकार यमुना अधिकारी पराजुली ।  

विगतका  बालबालिकाले सरकारले दिएका पाठ्यक्रमका केही बालमैत्री सृजनाबाहेक बाह्य पुस्तक पढ्न पाउनु दुर्लभ थियो । उनीहरू दन्त्यकथा, स्वैरकल्पनाका कथा र किम्वदन्तीहरू सुनेर पढेर हुर्किए । हुर्किएका बालबालिका नागरिक बने । बालमस्तिष्कले जस्तो शिक्षा ग्रहण गरयो त्यही प्रभावमा परेका नागरिक बने । र उसले समाजलाई आफूजस्तै बनायो । मुलुकलाई आफूसँग जस्तो चेतना स्तर थियो उस्तै बनायो । आफूजस्तै परिवार बनायो । र हामी अहिले त्यही जनशक्तिबाट प्राप्त युग बाँचिरहेछौं । वर्तमान भविष्यको चित्र हो  । हामीले वर्तमानमा बालबालिकालाई संसारका सारा सुन्दर चेतना भेला पारेर साहित्यमार्फत दिन सक्यौं भने उनीहरूले अहिले मनोरञ्जनका रूपमा ग्रहण गरेका सामाग्रीले अदृश्य रूपमा उनीहरूलाई भोलिको सुन्दर नागरिक वा असल मानिस बनाउन हामी सर्जकहरू सफल हुनेछौं ।  

कान्छु बाल उपन्यास पनि भोलिका सुन्दर भविष्य र मानवता निर्माणको पक्षमा विगतको कुरीति चिरेर निस्केको अक्षरहरूको अमृतकुण्ड हो । जोजो कान्छुरूपी अमृतकुण्डमा डुब्ने धृष्तता गर्दछ उसले कमलरी जीवनको एउटा पाटो आफैले भोगेसरह अनुभूत गर्न सक्नेछन् । कान्छु भित्रका राम्रा पक्ष अनुसरण गरेर समाजका लागि, मानवताका लागि र जीवनका लागि असल बाटोका रेखाहरू कोर्न प्रेरित हुनेछन् । त्यसैले बालउपन्यासको क्षेत्रमा कान्छु उपन्यासले एउटा अर्को अध्याय थपिदिएको छ भन्न सकिन्छ। 

प्रकाशित: २० फाल्गुन २०७७ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App