१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

आमा

कविता

मेरी आमा  

गाउँमा

मेरो बाटो हेर्दै पिँढीमा रुँदै छिन्  कि  

च्यातिएको आमाको फरियामा सिर्सिर बतास खेल्दैछ कि  

धुलैमैलै चौबन्दीमा

पुतली आई बस्दैछ कि  

छिद्रछिद्र  पटुकीको पोल्टोबाट  

झिकेर लामपाते

रुँदैरुँदै सालको पातमा सुर्ती बेर्दै छिन् कि  

पारीपट्टि लागिरहेको होला  डढेलो जलिरहेको होला रानी वन  

वारिपट्टि धुमिरहेको होला मौसम  

गलिरहेको होला आमाको  मन पिरैपिरले खाइरहेको होला मुटु  

आमाको सपना सजाउन  

परदेश लागेकी अभागी छोरी म

आज आफै सपनाजस्तै भएकी छु  

आफ्नै खुसीहरूबाट आज भागेकी छु  

तर पनि आमा,

उत्साह र संघर्षको उकालीमा चढ्न  

दुखहरूलाई नै बैसाखी  हरपल बनाएकी  छु  

हर दिन आँसुहरु पिएकी छु  

तिम्रो  सपना पूरा गर्न  

आफ्नै रहरहरू  मैले सिएकी छु  

भो अब छातीको घाउ अरू नदुखाउनु  

म छोरीको सम्झनामा

अरू आँसु नचुहाउनु  

मेरी आमा ,  

गाउँमा  

देउरालीमा भाकल गर्न लौरो टेकी जाँदै छिन् कि  

हरेक मठमन्दिरमा पाती चढाई ढोग्दै छिन् कि  

बाटो  हिँड्ने बटुवालाई मेरो खबर सोध्दै छिन् कि  

आमा ,

आउँछु अब फर्किएर  

आफ्नै गाउँघर सम्झिएर  

दशधारा दुध पिएको त्यो गुण तिर्नुछ मैले  

आमाको काखमा लुट्पुटिदै रम्नु छ मैले ।

प्रकाशित: १६ फाल्गुन २०७७ ०५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App