भाइले आमाको समान मिलाउँदै थियो। आज आमा भाइसँग अमेरिका उड्दै हुनुहुन्थ्यो । उतै बस्ने गरी आमाले घर छोड्दै हुनुहुन्थ्यो , यो मन अनि गाउँघर शून्य पारेर। बुढेसकालमा छोराको काखमा प्राण त्याग गर्ने आमाको इच्छा र एकमात्र छोरा उतै बसोबास गरेपछि आमाले यो बाध्यतावश लिनु परेको निर्णय थियो। आमालाई भेट्न छिमेकी, आफन्त, साथीसंगी सबै भेला भएका थिए। आमा भने केही हराएजस्तो, केही बिर्सेजस्तो, केही सम्झेजस्तो, केही भुलेजस्तो गरेर यताउता हेर्दै हुनुहुन्थ्यो । यही परिस्थितिमा आमाले मलाई भन्नुभयो –ऊ त्यो आलमारीमा राखेको बाको फोटो छुटेछ नि ।
मैले बाको फोटो लगेर आमाको झोलामा राखिदिए। उहाँले भनेजस्तै पशुपतिनाथको फोटो , बुद्धको फोटो र पुराना अरू चिजहरू पनि राखिदिए झोलामा। उहाँको निस्कने समय हुँदै थियो। आमालाई छातीमा टाँसेर ठुली आमा बेसरी रूनुभयो।
– कान्छी, अब तिम्रो र मेरो भेटै हुन्न होला हगि।
वातावरण स्तब्ध बन्यो । सबैको आँखामा आँसु थिए। सबैको प्यारो हुनुहुन्थ्यो आमा। सबैलाई माया गर्नुहुन्थ्यो। यो उमेरमा घरगाउँ छोडेर जानु पर्दा आमालाई झन खपिनसक्नु भएको थियो। आँगनको डिलभरि फुलेका थिए आमाले सारेका फूलहरू। बाले सारेको नासपाती, कागती, आरु, सुन्तला विभिन्न जातका फलफूहरू लटरम्म फलेका थिए। आँगननको डिलमा आमाले पुज्ने तुलसीको मोठमा बत्ती बलिरहेको थियो। आमाले सबै नियाल्नुभयो र भन्नुभयो– बेलाबेलामा आएर यो घरको ख्याल राखेस् है। तेरो बा र मैले बडो दुख गरेर बनाएको यो घर मन्दिर हो बाबै । यही प्राण छोड्ने मन थियो। विधाताले कहाँ पुरायो। आमाका आँखाबाट आँसु झर्न रोकिएका थिएनन्।
– बिहानबिहानै एक हुल परेवा चारो खान आउँथे , मलाई सम्झेर। ऊ त्यो लाँकुरीको बोटमा बसेर एउटा चरा मलाई हेर्दै कराउँथ्यो। तेरो बा चरा बनेर बोलेजस्तै लाग्थ्यो। मेरो यो झोलामा अट्ने भए म सबै अटाएर साथै लान्थे। मन यतै छोडेर यो शरीर मात्र लिएर जाँदै छु म ।
आमाले पर पुगुन्जेलसम्म पनि चश्मा फुकाल्दै आँसु पुछिरहनुभयो। आमाले दिएको घरको साँचोको झुप्पा हातबाट खसेपछि म झस्याङ्ग भएँ। त्यतिन्जेलसम्म आमा टाढा पुगिसक्नुभएको थियो ।
प्रकाशित: २२ माघ २०७७ ११:१७ बिहीबार