एउटै कार्यालयमा कार्यरत सुमधुर बोली भएकी कोपिला र लगनशील मोहनको केही महिनाको प्रेमपछि लगनगाँठोमा बाँधिदिने निर्णय दुवै परिवारबाट भयो । पढाइ र जागिरले परिवारसँग टाढा भएका मोहनले विवाहपछि घर पायककै जिल्लामा सरुवा गराए । उनको ठूलो परिवार, बिहान सबेरै उठ्नुपर्ने, सबैले भान्सामै चिया, खाजा, खाना खाने चलन रहेछ । घरखेती भएको, पूजा– भक्ति गर्ने, आफ्नो संस्कार बोकी आएको परिवार थियो । राजधानीमा हुर्केकी कोपिलाको परिवारमा आमाछोरी मात्र थिए । एक्ली हुर्केकी र सोचभन्दा उल्टो परिस्थिति भइदिनाले संयुक्त परिवारमा जिन्दगी बिताउने कुराले उनलाई गारो हुन थाल्यो।
माइती आएकी बेला म यस्तो घरमा बस्न सक्दिन भनेर भावुक हुँदै आमालाई भएर सुनाइन् ।
– जुवाइँले के भन्छन् , आफैं मन परापर गरेर विहे गरेका हौ । ठूलो परिवार छ भन्ने थाहै थियो । अब जस्तो छ, भोग गर्नुपर्छ । निर्वाह गर्नै पर्छ । पछि बानी पर्दै जानेछ । अनुभवी आमाले अर्ती दिइन् ।
– खै आमा म त सक्दिन त्यसरी दिनरात घोटिएर सेवा– सुसार गर्न । जुवाइँलाई अन्तै सरुवा मिलाएर मात्र मलाई लिन आउनू भनेर आएकी छु।
आमाको अनुहार तमतमाइलो भयो । रातो र निन्याउरो भयो।
– छोरी भन्न नसकेको सत्य कुरा, आमाले अड्केर पीडित स्वरमा बोलिन्।
– के कुरा हो आमा ? मेरो मुटु ढुकढुक भयो । छिट्टो भन्नु न । कोपिलाले आत्तिएर भनी।
– मेरो पनि जिन्दगीमा यस्तै अवस्था आएको थियो । मैले परिवारको महत्व बुझ्न सकिन । तेरो बाबा घरको जेठो छोरा, जिम्मेवारी थियो । मलाई उनीहरू अशिक्षित र गाउँले लागे । मैले जतिबेला संस्कार र संस्कृतिले परिवार र समाज बन्दो रहेछ भन्ने बुझें त्यतिबेलासम्म ढिलो भैसकेको थियो ।
संयुक्त परिवारमा जन्मिहुर्की गरेका तिम्रा बाबा एक्लिएर टोहलाउन थाले । कलह बढ्यो । मैले थाम्दाथाम्दै एकदिन कता हराए । पछि तिमी र म मात्रै त भयौं । त्यसपछिका कुरा त तिमीलाई थाहै छ ।
कोपिलाको स्मृतिमा उसका बाबा आए र बिलाए । त्यही साँझ कोपिला ससुराली घर जान पोकापन्तुरा कस्न थालिन् ।
प्रकाशित: १५ माघ २०७७ ०९:०८ बिहीबार





