प्रविधिको सजिलो
फेसबुकमा देखेको फोटो नियाल्दा
लाग्यो–
बडीआमा त उस्तै रहिछिन्
शारीरिक बनौट शिरदेखि पाउ
पहिला जस्ती थिइन् ठ्याक्कै दुरुस्तै ।
यहाँ,
परिवर्तन भयो त मात्रै समय
हिजो जुन परिवेश थियो
वातावरणमा मेरो बाल्यकाल थियो
वातावरणमा भगवानरूपी मातापिता गुरुवर्गदेखि साथीसंगी
झुल्के घामसरि कति थिए ताँती
अघिपछि पाइला हिंड्थ्यौं स्कुले जति
समयरेखा बितेका कथा जो÷जसलाई सम्झिरहेछु
वर्षौपछि आज उही फेरो जसरी सर्दछ मेलो ।
माथि लेकबाट बडीआमा
तल्लो फाँट ओरालो झर्थिन्
भिरालो बेसीको पहारिलो घाम
नित्य दौडधूप गर्नुपर्ने कस्तो थियो काम ।
नाङ्लाभरि पसल सजाउने तिन्ले
कर्मको थुन्से बिसाउँथिन् र
सल्लेरी सीप पीरा ओछ्याउदै
चकलेट, भुजिया, बिस्कुट पुरिया
र पाइनापल जुम्लिया
कड्यामकुडुङ मिस्रीका डल्लादेखि सक्खर– चिउरा
चुरोट बट्टादेखि सुपाडी टुक्रा
बेरै नगरी
बिस्कुनसरि सजावट अटाउँथिन् ।
जब मध्यान्हमा बज्थ्यो घण्टी
टिङ्टिङ् आवाजपछि किनमेल कहानी–
ए केटाकेटी हो, के खान्छौ तिमेरु !
नगद भए किनेर लैजाऊ ।
व्यापारी बडीआमाको बोली राइफलझैं कडा गोली
भुरा केटाकेटी न सुरा नातागोता
जो आउन् धाउन् कि जाउन्
दोहोरयाई – तेहरयाई बोल्न्थिन्–
साहुको माल हो बाबै
उधारो दिनुभन्दा त बरु बेच्दिनँ
चुपचाप चाराना हल्ला गरे बाराना
चिन्या नचिनै पन्छिन खोज्थिन् ।
जो थिए हाताहाती
आफ्नै सन्तान सरह मायाले डाक्थिन् ।
पाँच पैसा, दश पैसा, चाराना, आठाना र बारानापछि रुपियाँ
टम्म जो कमाइ गर्थिन्
जुट्दा –जुट्दा कति खटेपछि लट्री
सुर्के थैली भर्थिन् ।
जे होस्,
विद्यालय परिवार
विद्यालय परिसर
स्कुल बिदाको दिन
बडीआमा पनि घरैमा थकाइ मार्थिन् ।
धनकुटा, हाल काठमाडौं ।
प्रकाशित: १२ माघ २०७७ ०४:१९ सोमबार