२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

परिवारले निङमाको हत्या गरेको माइती पक्षको आरोप

आइतबार घरभित्रै मृत भेटिएकी लिमचुङबुङ ३ बाराहा पिप्लेकी निङमा याङजी शेर्पाको हत्या गरिएको माइती पक्षले आरोप लगाएका छन्। 

आइतबार राति करिब दश बजे २० वर्षीया शेर्पा घरकै कोठामा मृत भेटिएकी थिइन्।

झुन्डिएको घाँटीको डोरी फुकाएको अवस्थामा मृत भेटिनुमा उनको हत्या भएको दाबी माइती पक्षले गरेको छ। मृतकका बुबा गञ्जु शेर्पाले दसैँ टीकाको दिन माइत ससुराली आएका छोरी–ज्वाँईलाई भोलिपल्ट घरसम्म पु¥याउन लगेको बताउँदै सोही रात आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको बताए ।

‘दसैँमा आएका छोरी ज्वाँईलाई भोलिपल्ट बिदा गर्दै घरसम्मै पु¥याउन लगेका थियौँ’ छोरीको मृत्युले भावविह्वल भएका शेर्पाले भने ‘मेरी छोरीले त्यसरी आत्महत्या गर्नुपर्ने कुनै कारण छैन, झुन्डिएको भए घाँटीमा डोरी हुनुपर्ने हो, त्यो पनि छैन। ज्वाँई र परिवार मिलेर मारेको हुनुपर्छ।’ घट्नाको निष्पक्ष छानबिन गरी अपराधीलाई सख्त कारबाही गर्न पनि शेर्पाले माग गरेका छन्।

छोरीले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएकाले परिवारले नै उनको हत्या गरेको जिकिर गञ्जुको छ। उनले आत्महत्या दुरुत्साहनको जाहेरी पनि प्रहरीमा दिएको बताएका छन्। छोरीको हत्या नै भएको दाबी गर्दै कानुन बमोजिम कारबाही हुनुपर्ने उनको माग छ।

उता परिवार पक्षले भने झुन्डिएको देखेर बचाउन सकिन्छ कि भनेर हतार हतार सल काटेको दाबी गरेको प्रहरीले जनाएको छ। श्रीमती कोठामा झुन्डिएको देखेर बचाउने उद्देश्यले सल काटेर खाटमा राखेको तर, त्यस बेलासम्म उनको प्राण गइसकेको मृतकका श्रीमान् क्षेत्र भुजेललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

वडाध्यक्ष गुरुमणि कुमाईका अनुसार गत जेठ १० गते बुद्ध जयन्तीका दिन सामाजिक परम्परा अनुसार निङमा र क्षेत्रको बिहे भएको हो। स्थानीयहरूका अनुसार वैदेशिक रोजगारीबाट फर्केका क्षेत्र र निङमाबीच प्रेम सम्बन्ध थियो। तर, पछिल्लो समय क्षेत्र घर नबस्ने, गाउँतिर बढी घुम्न जाने, तास, क्यारिमबोर्ड खेल्ने, कहिलेकाहीँ त बास बस्नसमेत घर नआउने गरेपछि निङमाले यसो गरे सँगै बस्न नसक्ने चेतावनी दिएको जानकारी आएको वडाध्यक्ष कुमाईले बताए।

मृतकको शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरी मङगलबार आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईँले बताए। घट्नाबारे अनुसन्धान सुरु भइसके पनि पोष्टमार्टम रिपोर्ट नआएसम्म यकिन भन्न नसकिने उनले बताए। माइती पक्षको जाहेरीका आधारमा मृतकका श्रीमान् क्षेत्र भुजेललाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी भनाई छ। 

प्रकाशित: २९ आश्विन २०८१ १७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App