५ वैशाख २०८१ बुधबार
कला

इन्टरनेटसम्म आइपुग्दाको कला प्रदर्शनी

सन् १९६२ मा भएको चारवटा एकल कला प्रदर्शनीलाई विशेष रूपमा लिनुपर्ने हुन्छ । किनकि यहीँबाट एकल कला प्रदर्शनी गर्ने लहड चलेको देखिन्छ । सम्भवतः यहीँबाट हरेक कलाकारले एकल कला प्रदर्शनी गर्नैपर्छ भन्ने एक संस्कार पनि बसेको देखिन्छ । यी चार कलाकारमा लैनसिंह बाङदेल, उत्तम नेपाली, उर्मिला गर्ग उपाध्याय र विजय थापा थिए ।

सुन्दर लामाले चित्रपटको पृष्ठभूमिमा सपाट चहकिलो निख्खर रातो पोते। उनले संगतिको परवाहविना नितान्त विपरीत रङहरूसँग पौँठेजोर खेले। अनि शक्तिशाली रेखा र रङहरूलाई अनुशासनबद्ध तरिकाले उनले क्यानभासमा पछारे। कतै निर्धक्क भएर चम्किलो वैजनी रङले पदार्पण ग¥यो। सँगै एक अलग्ग खण्डमा नीलो रङ उदायो। सँगसँगै बज्र, मुर्कुटाहरू, देवी–देवताका अनेक विम्ब क्रमशः थपिँदै जाँदा एउटा रहस्यमय संयोजन बन्यो, उनको क्यानभासमा। कतै नीलो रङको पृष्ठभूमि। उज्यालो पहेँलो रङका मुखाकृति। अनि, मुर्कट्टाका हात अशान्त मनमा बस्न खोजे जस्तो। देवीका मुखाकृति थपक्कै टाँसिएको दृश्यावलोकन भयो। कतै काग, कतै भैँसी र घोडाका टाउका उदाउने बिलाउने क्रममा उनका क्यानभासमा देखापरे। अनि सपाट रङमाथि काला रेखांकहरू, विभिन्न मोटिफहरू लिएर दौडिएका अनेकानेक यथार्थ आकृति दृश्यावलोकन हुन थाल्यो।

लोककलाका सपाटपना, हिन्दू परम्पराका मिथ र छटपटिएका मनका अथाह व्यथा एकैसाथ उर्लिएको जस्तो। जबर्जस्ती उम्लिएको पारामा भन्न खोजेका धेरै कुरा छरपस्ट भएर उनका क्यानभासमा टाँसिदा हरेक विम्बको आ–आफ्नै क्षेत्र बनेजस्तो। मनभित्रको वार्तालाप उदांगिएको जस्तो। यी भिन्दाभिन्दै स–साना कथा बोकेका थुप्रै व्यथा मिलेर एउटा पुस्तक बनेजस्तो। एउटा अलग्गै संयोजन र प्रस्तुति थियो सुन्दरको।  

सुन्दर लामा युवा कलाकार हुन्। उनको संयोजन सर्वथा पृथक् छ। उनी अन्तर्मनका कुरालाई एउटा कथामा बुन्छन्, अनि प्रतीकात्मक रूपमा प्रस्तुत गर्छन्। पफर्मेन्स कला र भिडियो आर्टमा पनि उनको दरिलो उपस्थिति छ। उनी राम्रा–राम्रा कविता पनि लेख्छन्। नेपाली समसामयिक कलामा उत्तरआधुनिक खण्डतर्फ क्रियाशील सुन्दर यस्तै अनेकानेक विम्ब र प्रतीकको संगठन गर्न सक्ने क्षमतावान् कलाकार हुन्। यही सन्दर्भ सँगालेर अहिले उनको ‘एकालाप’ नामक भर्चुअल सोलो कला प्रदर्शन भइरहेको छ। क्लासिक आर्ट ग्यालरीले यसको आयोजना गरिदिएको हो। क्लासिक आर्ट दीर्घा कलाकार सरिता डंगोलले चलाउँदै आएकी छन्। यसअघि पनि उनले दुइटा यस्तै भर्चुअल सोलो कला प्रदर्शनीको आयोजना गरिसकेकी छन्। यी एकल कला प्रदर्शनी तिर्थ निरौला र प्रमिला बज्राचार्यका थिए।

 भर्चुअल कला प्रदर्शनी

कला सिर्जनापछि कला भावक कहाँ पुग्न आवश्यक हुन्छ। कलाकार र भावकबीच यतिखेर कोभिड–१९ महामारी तगारो बनेको छ। कलाका दीर्घाहरू खुलेका छैनन्। बिक्री–वितरण बन्दजस्तै छ। कलाकार स्वयं पनि आर्थिक मारमा परेका छन्। तथापि कला सिर्जना भने रोकिएको छैन। यस्तो अवस्थामा राम्रै गरे कलाकारले। कला भावकमा पुग्न कलाकार आफैँले नौलो प्रयोगकै रूपमा भर्चुअल कला प्रदर्शनी गरे। नेट र साइबर–कल्चर पहिले पनि नचलेको होइन। अर्कै प्रसंग र उद्देश्यका साथ यसको प्रयोग हुने गथ्र्यो। व्यक्तिगत रूपमा कलाकारले पनि आफ्ना कलालाई आफ्ना वेबसाइटमा राख्ने प्रचलन पनि यसअघि नै आइसकेको थियो। फेसबुकमा आफ्ना कलालाई प्रदर्शन गर्ने कुरा राम्रै प्रचलनमा आइसकेको थियो। अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा अनलाइनको अभ्यास आरम्भ भइसकेको थियो। तथापि यो भर्चुअल कला प्रदर्शनीच कोभिड–१९ कै उपहारका रूपमा सम्झनुपर्ने हुन्छ। भावकमाझ पुग्ने यो नयाँ माध्यम आउनु धेरै कुरा साक्षीका रूपमा बसेका छन्। विशेषगरी यो सहजै अन्तर्राष्ट्रिय हुन सक्ने माध्यम हो, अर्कोतर्फ कला प्रदर्शनीमा सहभागी हुन र प्रदर्शनी आयोजना गर्न पनि सजिलो भयो। त्यस्तै, कलाको ओसारपसारमा झन्झट पनि नहुने, हल खालि छैन कि भन्ने डर पनि नहुने, हलको भाडा तिर्न चाँजोपाँजोको झन्झट पनि बेहोर्नुनपर्ने, प्रदर्शनीमा आर्थिक खर्च नहुने आदि कारण यस्ता कार्यक्रम सहजै अगाडि आउने सन्दर्भ देखापर्‍यो।

 

यसो हुँदा अलिकता मनमा चाह भएकाले यस्ता कार्यक्रम सहजै गर्न सक्ने अवस्थाको सिर्जना भयो। यसर्थ पनि भर्चुअल कला प्रदर्शनीको एउटा लहड चले जस्तो भएको छ अहिले, सम्भवतः देशमा लकडाउनले जरा हाल्न थालेपछि। वैकल्पिक रूपमा सबैभन्दा पहिला आइडब्ल्युएस (इन्टरनेसनल वाटर कलर सोसाइटी) ले यसको सुरुआत गर्‍यो। जसले विशेष गरेर जलरंगमा काम गरिरहेका कलाकारलाई प्रमोट गर्न अन्तर्राष्ट्रिय रूपमै काम गर्दै आएको छ। यो कलाको आन्दोलनमा अगुवाइ गरेपछि यसपछि बग्रेल्ती रूपमा अन्य कलाका समूह पनि अगाडि आउन थालेका छन्। आइडब्ल्युएसका अगुवा हुन्, एनबी गुरुङ। उनी आफैँ पनि प्रभाववादी दृश्य–चित्र बनाउन माहिर चित्रकार हुन्। अति क्रियाशील एनबी गुरुङ जलरंगी दृश्यचित्रको विकासका लागि गएका वर्षदेखि निकै सक्रियताका साथ लागिपरेका छन्।

यो भर्चुअल कला प्रदर्शनीमा विविध शैलीका काम एउटा आकर्षक ढंगले समायोजित भएको थियो। भर्चुअल स्वभावका कारण विश्वभरि यसको पहुँच सहज पनि भयो। फलस्वरूप भावकहरू घरघरमै बसेर आफ्नो अनुकूलतामा कलाका विविधतालाई अलग–अलग ढंगले रस स्वादन गरे। जहिले आफूलाई मन लाग्यो, फुर्सद भयो, त्यसैबेला हेर्न मिल्ने, रोकेर एकक्षणपछि हेर्छु भन्न पनि मिल्ने, आदि कारण सामान्य भावकका लागि अनुकूल वातावरण बन्यो। यस्तैयस्तै काममा निरन्तरता दिइरहेको यो आइडब्ल्युएसले जलरंगका डेमो कार्यक्रम पनि यही भर्चुअल कलामार्फत आयोजन गर्‍यो। यो अझ रमाइलो र आकर्षक बन्न गएको थियो। नेपालभरिका कलाकारले घरैमा बसेर विशेष गरेर जलरंगमा दृश्यचित्र पालैपालो बनाउने यसको प्रावधान थियो। यो कार्यक्रम दिनभरि नै चलिरहने स्वभावको थियो। जसले गर्दा दिनभरि हेरिरहे पनि, आफूलाई मन परेको कलाकारको मात्र हेर्न खोजे पनि हेर्न पाइने, यो अवसर साँच्चिकै आकर्षक बन्न गएको थियो। कला कसरी बन्दो रहेछ, हरेक घरघरबाटै यसको अवलोकन गर्न सकिन्थ्यो। सिक्न खोज्नेका लागि पनि यो एक लाभदायक कार्यक्रम बनेको थियो। कलाको यो एउटा थप नयाँ आयामले धेरै कलाकार, कला संस्थालाई सम्भवतः यसले पे्ररणाा पनि प्रदान गर्‍यो। फलस्वरूप भर्चुअल कला प्रदर्शनीको कार्यक्रमलाई रोशन प्रधान, मंगल सूत्र आदिले पेगोडा समूह, सरिताको क्लासिक आर्ट ग्यालरी, रोशन मिश्रको ‘तारा गाउँ म्युजियम’, दिवेश प्रधानको ‘अनलाइन ग्यालरी नेपाल’ आदिले पनि यस्तै कार्यक्रमलाई निरन्तर दिन थालेका हुन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पनि आफ्ना राष्ट्रियकला प्रदर्शनी यसै भर्चुअल कलामार्फत गरे। हरेक वर्ष गरिने यो राष्ट्रिय कला प्रदर्शनी भौतिक रूपमा हुन नसक्ने अवस्था सिर्जना भएपछि यो जाँगर सार्थक नै भयो। अविन श्रेष्ठको ‘कार्टुनिस्ट क्लब’को क्यारिकेचरको कार्यक्रमलाई यही भर्चुअल माध्यमबाटै सार्वजनिक गरे। अन्य कलाका समूह पनि बिस्तारै यही बाटोमा लाग्न थालेका छन्। 

 

यो भर्चुअल कला प्रदर्शनीमा पनि धेरैजसोले यसैमा बिक्रीको पनि प्रावधान राखेका थिए। कति बिक्री भयो वा भएन, त्यो सार्वजनिक भएको छैन। तथापि कलाको बिक्रीको विकल्पलाई यसले ल्यायो भन्नैपर्छ। बाह्य राष्ट्रले पनि यस प्रकारका कार्यक्रम राख्ने भएकाले यहाँका कलाकारले पनि भाग लिन पाउने अवसर यसले प्रदान गरेको थियो। यसैबेला अर्को थप राम्रो काम के पनि भयो भने कलाका टक प्रोग्राम पनि यथेष्ट रूपमा आयोजना हुन थाल्यो। रोशन मिश्रको ‘तारा गाउँ म्युजियम’देखि सरोज महतो र महिमा सिंहको ‘विकल्प’, कैलाश श्रेष्ठको ‘ओदान’, केशव खनाल र देवेन्द्र थुम्केलीको ‘ललितकला पत्रकार समाज’, कृति उपाध्यायको ‘डब्ल्युएबिसी’, जुपिटर प्रधानको ‘स्पेस वान’ आदिले कलाका विविध विषयमा टक प्रोग्राम गरेका थिए। यी सबैजसो टक प्रोग्राम नेपाली कलाकार, कला समीक्षक र कला विज्ञबाट हुँदा हामीले नै हाम्रो कलाबारे चर्चा गर्ने राम्रो परम्परा पनि बस्यो। यसअघि विशेष गरेर यस्ता टक पोग्राम नभएका भने होइनन्। यसरी भर्चुअल स्वरूपमा देखापरेको थिएन। कति यस्ता कलाका टक प्रोग्राममा त बाह्य कलाका गतिविधि र बाह्य राष्ट्रका कलाविद्मा बढी केन्द्रित हुने गरेको थियो। फलस्वरूप हामी विदेशकै कलाको कुरा बढी मात्रामा गर्दथ्यौँ। अहिले हामी आफैँले हाम्रै कलाको मन्थन, पुर्पक्ष गर्ने सन्दर्भ जुरेको देखिन्छ। यो पनि एक प्रकारले कोभिड–१९ कै उपहार सम्झनुपर्छ।

कला प्रदर्शनीको परम्परा  

नेपालमा कला प्रदर्शनी गर्ने परम्परा कहिलेदेखि सुरु भयो भन्ने ठ्याक्कै तोकेर भन्न सकिन्न। तथापि नेपाली कलामा आधुनिक प्रवृत्तिले प्रवेश पाएपछि भने कला प्रदर्शनी हुने क्रम झ्यांगिन थालेको हो। प्राचीन वा माध्यमिक कालतिर कलालाई प्रदर्शन गर्न सम्भवतः चलन थिएन। तथापि कुनै–कुनै जात्रा वा पूजाआजामा चित्र वा मूर्ति सर्वसाधारणका लागि प्रदर्शन गर्ने चलन अहिले पनि छ। कति जात्रामा त थन्काइएका भगवान्लाई (अति उत्कृष्ट मूर्ति वा चित्र) आम भावकको अगाडि प्रदर्शन गर्दा भक्तिभावका लागि मात्र यो अवसर बनेन, अपितु आम भावकलाई उहिलेका कलालाई हेर्न पनि अनुकूल अवसर जुर्‍यो। कलाका संग्रहालयमा कलाहरू प्रदर्शनार्थ राखिने सन्दर्भ अलि अलग्ग पाराले देखापरेको हो। यसबाहेक दरबार र महलमा मूर्ति र चित्रहरूले सजाउने प्रचलन त अझ अघिबाट सुरु भएको हो। यसबाट पनि ती कला अवलोकन गर्न सकिन्थ्यो, गर्दथे पनि। तर यसलाई कला प्रदर्शनीको अर्थमा लिन सकिन्न। कला प्रदर्शनी भनेर नामकरणकै साथ देखिन थालेको ६० को दशकभन्दा पर तान्न सकिन्न। यस हिसाबले विधिवत कला प्रदर्शनी हुन थालेको ६० वर्ष नाघेको छैन।  

अहिले आएर समूहगत कला प्रदर्शनी र एकल कला प्रदर्शनी दुई प्रकारका कला प्रदर्शनी गर्ने प्रचलन छ। नेपालमा बाहिरबाट कला शिक्षा हासिल गरेर फर्केपछि विशेष गरेर यसरी कला प्रदर्शनी गर्ने प्रचलन चलेको देखिन्छ। आफूले बनाएका कला सार्वजनिकीकरण गर्नुपर्छ भन्ने अवधारणा यसै बेला भित्रिएको देखिन्छ। विश्वमै पनि कला प्रदर्शनीको यस्ता औपचारिक कार्यक्रम १९औँ सदीको अन्ततिर भएको पाइन्छ। यस बेलादेखि कलाको गुणस्तरको सन्दर्भमा, बिक्री–वितरणको सन्दर्भमा, कलाको चर्चा, विचार–विमर्श गर्ने सन्दर्भमा, कलामा नौला प्रयोगको सन्दर्भमा यस्ता कला प्रदर्शनी केन्द्रको रूपमा रहेको देखिन्छ। यसबखत कलामा स्थापित मान्यतालाई तोडेर नौलो प्रयोग गर्न हुन्छ कि हुँदैन, कलाकारको आफ्ना कला सिर्जनामाथि अधिकार हुन्छ कि हुँदैन। यी यावत कुराको प्रसंग यसै बेला भएको कला प्रदर्शनीसँग गाँसिएको देखिन्छ। फ्रान्सेली सरकारी निकाय ‘सालोन’बाट हुने गरेको राष्ट्रिय कला प्रदर्शनीमा अति उत्कृष्ट कला पनि अस्वीकृत भएका कुरा कलाको इतिहासबाट थाहा लाग्छ। यसले आफूहरूको अधिकार कुण्ठित भएको कलाकारले महसुस गरे। फलतः कलागत आन्दोलन नै भयो। सरकारले बाध्य भएर अस्वीकृत जमातको कला प्रदर्शनी भनेर आयोजना पनि गर्न प¥यो। यस्ता कला प्रदर्शनीमा भाग लिन नदिनुका कारण मात्र के थियो भने सालोनले निर्धारण गरेका परम्परागत नियमभन्दा विपरीत यी कला थिए। सम्भवतः यसै बेलादेखि कलाका नयाँ–नयाँ कलागत आन्दोलन हुने क्रम सुरु भयो। यसपछिको छोटो समयभित्रै आधुनिक कलाको उदय भएको थियो। सम्भवतः आधुनिककलाको उदय यसैको परिणतिका रूपमा देखापरेको हुन सक्छ।  

नेपालमा समूहगत कला प्रदर्शनी मेला वा अन्य हस्तकलाको प्रदर्शन गर्दा परम्परागत कला र विशेष गरेर समसामयिक कलाको पनि प्रदर्शन गर्ने परम्परा चलेको देखिन्छ। एकल कलाको सम्भवतः पहिलो प्रदर्शनी नेपालका मूर्धन्य चित्रकार, मूर्तिकार चन्द्रमान सिंह मास्केले गरे। तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले उनलाई कलामा विधिवत शिक्षा लिन कलकत्ता पठाएका थिए, जहाँ पश्चिमी कला शैलीको स्कुल थियो। स्वभावतः उनले यस्ता कला प्रदर्शनी भएको देखे होलान्। फलस्वरूप उनी नेपाल फर्कनेबित्तिकै यस्तै कला प्रदर्शनी हुनपर्छ भन्ने लागेर पनि कला प्रदर्शनी गरे होलान्।  

अर्को रमाइलो कुरा, यसबखत कलकत्ताको कला स्कुलको भित्तामा चारैतिर कला प्रदर्शन गर्ने चलन थियो। सम्भवतः पश्चिमी परम्पराको नक्कलमा पनि यसो गर्न थालिएको हुन सक्छ। सुरुसुरुमा पश्चिमी कलाकारका कलाकृतिका प्रतिकृति टाँगिएका हुन्थे। पछिल्लो कालमा आएर आफ्नो कलाको मौलिकता र परम्परालाई संस्कारको रूपमा विकास गर्न मुगल मिनियचर चित्रहरू र अजन्ता कलाको प्रतिलिपि कलाहरू पनि प्रदर्शन गर्ने प्रचलन रहेको देखिन्छ। यसबखत विद्यार्थी कलाकारलाई मुम्बईनजिक रहेको अजन्ताको गुफामा गुफाचित्रको अध्ययन गर्न र प्रतिलिपि बनाउन पठाउँथे भन्ने गरिन्छ। यसरी आफ्नो परम्परागत कलालाई कलाको पाठ्यक्रममा राखेर पढाउने गर्दथे। यसर्थ पनि विद्यार्थी कलाकारमा आफ्नो परम्परा र मौलिकताको ज्ञान यथेष्ट रूपमा रहोस् भन्ने चाहना रहेको हुनुपर्र्छ। यसरी चारैतिर भित्तामा यस्ता कला प्रदर्शन गरिनुको मुख्य कारण परम्परा र मौलिकतालाई अझ मलजल गर्न हुन सक्छ। यी सबै वातावरणलाई नजिकबाट नियालेका मास्केले नेपालमा आएर यस प्रकारको प्रदर्शन गर्न अनौठो पनि भएन।  

अहिलेसम्म प्राप्त अभिलेख अनुसार, चन्द्रमान सिंह मास्केले सन् १९२९ मा एकल कला प्रदर्शनी गरेको भन्ने भनाइ छ। समूहगत कला प्रदर्शनी यसअघि पनि फाट्टफुट्ट भइरहने परम्परा देखिन्छ। एकल कला प्रदर्शनीको कला विकासमा खास अर्थ छ। साहित्यकारको एक पुस्तक प्रकाशनको अर्थ भएझैँ कलाकारको एकल कला प्रदर्शनीलाई महत्वपूर्ण घटनाका रूपमा हेरिन्छ। कलाकारको कलाको शैलीमा देखिने निरन्तरता, पहिचानका विशेषता, प्रवृत्तिमा स्पष्टता, विषयमाथिको आस्था, शिल्पी दक्षताको प्रमाण अनि गुणस्तरका लक्षण आदि हेर्न सकिने भनेको यही एकल कला प्रदर्शनी नै हो। यसर्थ समग्रमा कलामाथि सूक्ष्म तरिकाले लेखाजोखा गर्न यसले भरपुर मद्दत गर्दछ। कलाकारकै बारेमा पनि गहन प्रकारले विश्लेषण गर्न सकिने अवसरको रूपमा यसलाई लिइन्छ। कलाकारकै आफ्नो कलागत करिअरका लागि यो एक महत्वपूर्ण घटना हुने गर्छ। यसैले कलाकारले आफ्नो एकल कला प्रदर्शनी गर्दा बडो योजना बनाएर, आफ्ना राम्रा–राम्रा कला राख्ने र यसलाई विशेष कार्यक्रमसहित आम समुदाय माझ सार्वजनिक गर्ने परम्परा बस्न गएको हो। पहिला यस्ता एकल कला प्रदर्शनी पनि आयोजकले नै गरिदिनुपर्ने परम्परा देखिन्थ्यो। आजको दिनमा कलाकार आफैँ सजग भएर, आफैँ लागिपरेर आफ्नै एकल कला प्रदर्शनी गर्छन्। यी दुवै प्रक्रिया फरक–फरक हुन्। यसले कलाकारमा रहेको कलाप्रतिको सोच, मान्यता र ज्ञानको पनि प्रत्याभूति दिने गर्छ। यसबाट नेपालमा कहाँबाट वास्तविक आधुनिक कलाको सुरुआत भयो भन्ने सन्दर्भमा भन्नका लागि आधारनिर्माण हुन्छ। यसर्थ कलाको प्रदर्शन मात्र भावकको कला दृश्यावलोकनका लागि अवसर जुराउनु मात्र होइन, यसले कलाको ऐतिहासिक कालखण्ड स्थापित गर्ने सन्दर्भमा पनि मद्दत गर्छ। कलाहरूबीच तुलनात्मक रूपमा अध्ययन गर्न यसले अनुकूल वातावरण प्रदान गर्छ।  

चन्द्रमान सिंह मास्केपछि यस्तो एकल कला प्रदर्शनीको निरन्तरता देखिएन। यसपछि एकैचोटि सन् १९५४ मा भएको तेजबहादुर चित्रकारको र यसपछि सन् १९५५ तिर भएको गेहेन्द्रमान अमात्यको एकल कला प्रदर्शनीलाई लिन सकिन्छ। यसपछि उर्मिला उपाध्यायको एकल कला प्रदर्शनी सन् १९६९ मा भएको हो। अर्का मूर्धन्य चित्रकार तेजबहादुर चित्रकारलाई तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले कलकत्ताको सोही कला स्कुलमा अध्ययन गर्न पठाएका हुन्। उनी त्यहाँ अध्ययन गर्दा मास्केले पनि अध्ययन गर्दै थिए। करिब एकै समय जस्तै दुवैजना नेपाल फर्के पनि त्यति बेला उनले एकल कला प्रदर्शनी गरेको देखिँदैन। किन गरेनन्, यो खोजकै विषय छ। उर्मिला उपाध्याय मुम्बईको जेजे स्कुल अफ आर्टबाट स्नातक र युरोपमा थप कलाको अध्ययन गरेर आएकी कलाकार हुन्। यसर्थ उनको यो कला प्रदर्शनीले खास अर्थ राख्छ।  

सन् १९६२ मा भएको चारवटा एकल कला प्रदर्शनीलाई विशेष रूपमा लिनुपर्ने हुन्छ। किनकि यहीँबाट एकल कला प्रदर्शनी गर्ने लहड चलेको देखिन्छ। सम्भवतः यहीँबाट हरेक कलाकारले एकल कला प्रदर्शनी गर्नैपर्छ भन्ने एक संस्कार पनि बसेको देखिन्छ। यी चार कलाकारमा लैनसिंह बाङदेल, उत्तम नेपाली, उर्मिला गर्ग उपाध्याय र विजय थापा थिए। लैनसिंह बाङ्देल युरोपबाट कलामा उच्च शिक्षा हासिल गरेर फर्केका हुन् र उनको नेपालमा पहिलो कला प्रदर्शनी भए पनि यसअघि युरोपमै उनको एकल कला प्रदर्शनी भइसकेको थियो। उत्तम नेपाली लखनउबाट कलाको अध्ययन गरेर आएका हुन्, विजय थापा भने बनारसबाट कलामा अध्ययन गरेर आएका हुन्। यसैले हरेकका कलाको शैली अलग–अलग कलाको स्कुलिङले निर्देशित गरेको देखिन्छ।  

सन् १९६४ पछि लक्ष्मण श्रेष्ठ, रामानन्द जोशी हुँदै मनुजबाबु मिश्र, ठाकुरप्रसाद मैनाली, प्रमिला गिरी, शुष्मा सिम्खडा, शशिविक्रम शाह, दुर्गा बराल, मदन चित्रकार, शंकरराज सिंह सुवाल, गोविन्द डंगोल, वत्स गोपाल वैद्य, कृष्ण मानन्धर इन्द्र प्रधान, के के कर्माचार्य लगायत आजका समसामयिक कलाका सबैजसो हस्ती एकपछि अर्को गर्दै आ–आफ्ना एकल कला प्रदर्शनी गरेका छन्। यसपछिका दिनमा बढीभन्दा बढी एकल कला प्रदर्शन गर्ने कलाकारको एक प्रकारको होडबाजी नै चल्न थालेको देखिन्छ।  

जहाँसम्म समूहगत कला प्रदर्शनीको सन्दर्भ छ। यसको औपचारिक सुरुआतको बिन्दु नेपाल ललितकला संस्थाको आयोजनमा भएको पहिलो राष्ट्रिय कला प्रदर्शनीलाई दिनुपर्ने हुन्छ। २०२२ सालमा ललितकला संस्था तत्कालीन युवराज वीरेन्द्र शाहको नेतृत्वमा भयो। २०२३ मा पहिलोपल्ट राष्ट्रिय कला प्रदर्शनीको आयोजना भयो। सम्भवतः यसबेला देखापरेका समसामयिक कलाकारका चित्र र मूर्ति अनि सदियौँदेखि सिर्जना गर्दै आएको नेपाली परम्परागत चित्र पौभाको पनि प्रदर्शन भयो। अनि आम भावकले यस्ता कलालाई अवलोकन गर्ने अवसर पाएको मान्नुपर्छ। मूलतः यसअघि पनि हाम्रो परम्परागत कलामा आम समुदायको पहुँच थियो। तर, त्यतिबेला विकसित भएको समसामयिक कलालाई अवलोकन गर्ने स्थान भने थिएन। यसर्थ यो कलाको प्रदर्शनीले विशेषगरी समसायिक कलाकारका कलालाई अवलोकन गर्ने राम्रो अवसर प्रदान गरेको मान्नुपर्छ। यो राष्ट्रिय कला प्रदर्शनीले विशेष गरेर समसामयिक कलाकारलाई आफ्नो काम देखाउन पाउने अवसर प्रदान गर्‍यो। यसैबेला प्रदर्शन हुनका लागि चाहिने आवश्यक गुणस्तरका मानक बनाइएको थियो। जसले जुन पायो त्यो वा गुणस्तर नभएका कला प्रदर्शनीमा छनोट हुँदैनथ्यो। निरन्तरतामा आज पनि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष यही स्वरूपमै राष्ट्रिय कला प्रदर्शनीको आयोजना गर्दै आइरहेको छ। केही विधा आज थप गरिएको छ, पुरस्कार पनि केही थप भएका छन्। तथापि मूल स्वरूपमा भने अलिकता फरकपना आएको देखिएको छैन।  

(लेखक कलाकार र कला समीक्षक हुन् ।) 

प्रकाशित: १० माघ २०७७ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App