coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

‘इलामको साहित्यिक इतिहास’ सार्वजनिक

जिल्लाको साहित्यिक इतिहास र यहाँका साहित्यकारको बारेमा अब एउटै पुस्तकमा पढन् पाइने भएको छ । साहित्यकार तथा पत्रकार डा.देवी क्षेत्री दुलालको ‘इलामको साहित्यिक इतिहास’ पुस्तक सदरमुकाममा विमोचन गरिएको हो ।  

साहित्यकार प्रा.डा.वद्रीविशाल पोखरेल, जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल र साहित्यकार देवी पन्थीलगायतले डा.दुलालको १८ औं कृति संयुक्त रूपमा विमोचन गरे । इलामे साहित्यकार विष्णु नवीनको जन्मजयन्ती अवसर पारेर कृति विमोचन गरिएको हो ।  

इलामको साहित्य लेखन इतिहासमा अहिलेसम्म रहरसिंह राईको १९२४ सालको कविता ‘चरीको सवाई’लाई पहिलो मानिएको छ । तर, यस कृतिका सर्जक डा.दुलालले ‘चरीको सवाई’ प्रकाशन भएको भनिएको वर्ष १९२४ लाई इतिहासकारमध्ये कसैले विक्रम संवत् र कसैले इस्वी संवत्मा लेखेको पाइएको बताए । ‘तर, मैले भेटेसम्मका इतिहासमा चाहिँ सन्त ज्ञानदिल दासको उदय लहरी १९३८ सालमै प्रकाशित भएकाले इलामको यो पहिलो प्रकाशित सिर्जना हो,’ उनले भने, ‘रहरसिंह राईको पनि पहिलो कृति चरीको सवाई होइन । उनको पहिलो लिखित सिर्जना १९५८ सालमा प्रकाशित राधाकृष्णको सवाई र गोपिनीको श्लोक देखिन्छ ।’ यो इतिहासलाई पुस्तकमा उल्लेख गरेको उनले बताए ।  

विमोचित कृतिको ‘इलामका स्रष्टा र सिर्जना’ परिच्छेदमा २ सय ५५ साहित्यकारको संक्षिप्त परिचय उल्लेख छ । सन्त ज्ञानदिल दासदेखि अहिलेसम्मका फुटकर सिर्जना लेख्ने साहित्यकारसमेत उनको कृतिमा अटाएका छन् । ‘यो खोज–अनुसन्धानपरक साहित्यिक विधा हो,’ डा.दुलालले भने, ‘इलामबाहिर जन्मेर पनि इलामको साहित्यमा योगदान गर्नेे व्यक्ति पनि यसमा अटाएका छन् तर यो आफैंमा पूर्ण भने होइन ।’

प्रकाशित: ९ माघ २०७७ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App