१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

संघर्ष

लघुकथा

शुभद्रालाई दाम्पत्य जीवनबाट नैराश्यबाहेक केही मिलेन ।  अग्नि साक्षी राखी सँगै मर्ने सँगै बाँच्ने कसम खाई भित्र्याएको आफ्नो लोग्नेले यो व्यवहार गर्ला भनेर उनले सोचेकी पनि थिइनन् ।

सहन सकुन्जेल सहेर बसिन् । कति सहनु, रातोदिन पाउने शारिरीक र मानसिक यातना । सहनुले सीमा नाघेपछि उनले  परार्ई घर त्याग्ने दृढ अठोट गरिन् ।

त्यसपछि पनि समस्या उही रहयो । दुःख पाएपछि कठैबरा भन्ने धेरै भए  तर, सहयोग गर्ने कोही नहुँदा कहिलेकाहीँ त उनलाई जीवनदेखि नै विरक्तै लागेर आउँथ्यो – कहाँ जाने , गर्ने के र के खाने ।  उनी टेक्ने जमिन र समाउने हाँगोबिनाकी हुन पुगिन्।

तर पनि उनले जीवनदेखि हार्ने मनसाय कहिल्यै लिइनन् ।

जीउपालोका  लागि उनले माइतीले दिएको एउटा कटेरोमा कानका मुन्द्रा बेचेर सानो कुटिर उद्योग खोलिन । उनको लगनशीलता र मेहनत देखेर केही मान्छेले उनलाई चिन्न थाले ।  विभिन्न संघसंस्थाले उद्ययोगलाई बढावा दिन थप सहयोग गर्यो।

संस्था पनि दर्ता भयो । विभिन्न संघसस्थामा आबद्ध भइन् । तालिम लिइन् । आफूले सिकेर आएपछि बेरोजगार महिलाहरूलाई सीप विकासका तालिम दिन थालिन्।

अहिले उनको संस्थाले निकै प्रगति गरेको छ । उनले दिने तालिमको हरेक समूहमा कम्तीमा पचास जनाजति सहभागी हुने गर्छन्।

यसबेला धेरै महिला दिदीबहिनीको घरघरमा कुटिर उद्योग खुलेर उनीहरूको जीवनस्तर उक्सेको देख्न पाउँदा शुभद्रा गर्वको महसुस गर्छिन्।

शुभद्रा एउटी उद्यमी महिलाको नामले चर्चित भएकी छिन् यतिबेला ।

उनलाई एक दिन नाम चलेको मिडियाले अन्तर्वाता लियो । धेरै प्रश्न सोधिसकेपछि अन्तमा सोधियो उनलाई – तपाइँ यो शिखरमा पुग्नुको श्रेय कसलाई दिनुहुन्छ ?

जवाफमा शुभद्राले सहजै भनिन् – म मेरो श्रीमान् र उहाँसँग जोडिएको उहाँको परिवारको नाम लिन्छु । किनभने उहाँको व्यवहारले मलाई  संघर्षको पाठ सिकायो र न म यस ठाउँमा पुग्न सफल भएँ ।

प्रकाशित: ८ माघ २०७७ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App