१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

टुहुरी चेली

कथा

म तेह्र वर्षको थिएँ । मेरो  स्कूल पनि घर नजिकै थियो । ९ कक्षामा पढ्दै थिएँ ।  स्कूलमा  मेरो नाम वसन्ती भने घरमा बोलाउँदा बबी भन्नुहुन्थ्यो । पहाडको गाउँ भिरालो जमिन घरमाथि भनौँ गाउँकै माथि ठुलो पहरा ठुलाठुला ढुंगा थिए ।  त्यहीं खोल्सा थियो । पानी जहिल्यै आइरहने हुनाले खेतीपाती गर्न सजिलो थियो । भिरालो भएरै होला गाउँको नाम नै भिरगाउँ थियो । हाम्रो घरपरिवारमा बा, आमा, दाजु र चार जनाको परिवार थियो । दाइ एसएलसी गरेर यही गाउँको स्कुलमा पढाउनुहुन्थ्यो । हामीलाई खानलाउन र घरखर्च गर्न कुनै समस्या थिएन।

एक दिन बेलुका खाना खाएर दाजु र म अगेनुको छेउमा बसेका थियौँ । आमा माथ्लो तलामा सुत्न गइसक्नुभएको थियो । बा हामीलाई  रामायणको श्लोक  सुनाउँदै हुनुहुन्थ्यो । बाहिर झमझम पानी परिरहेको थियो । अचानक एउटा ठुलो आवाज आयो । म कुदेर बाहिर निस्किएँ । घरमाथिको ठुलो ढुंगा त घरछेउमै आइरहेको जस्तो देखेँ । म अर्को साइडतिर  बाआमा भाग्नुभाग्नु भन्दै कराउँदै भागेँ । एकछिनमै ठुलो ढुंगासहित आएको पहिरोले हाम्रो घर कता पुरयायो होला थाहा भएन । अन्धकार रातमा म एक्लै रुदैँ –कराउदै बाआमा र दाजुलाई बोलाउन थाले ।   तर कोही बोल्नु भएन।  म रोइरहे बा, आमा र दाजु कोही आउनु भएन । अन्धकार छ ।  त्यहाँ पनि पहिरोको खतरा हुन्छजस्तै लागेर छामछामछुमछुम गर्दै भागें। डाडाँघरे दाइको गोठमा पुगेछु।

रातको  नौदस बजेको होला गाउँमा होहल्ला हुँदै थियो। तर, अहिले कोही कराएको सुनिदैन । एकनासे पानी परिरहेको छ । जमिन भुइँचालो गएजस्तै हल्लिरहेको थियो । ठूलो आवाज गर्दै पहिरो गइरहेको जस्तो सुनिरहेको छु । पहिरो बग्दै तल आँधी खोलामै पुग्यो होला जस्तो लाग्छ । घरमा बा, आमा र दाजु भाग्न सक्नुभयो कि भएन । घरबारी र गोठ सबै बगायो होला भन्ने सम्झिदै रुँदै– कराउँदै गोठमा बसेको छु । ठुलोठुलो स्वर गरेर कराएँ । कहीँबाट केही आवाज आएन । गाउँ नै बगायो जस्तो लाग्दै छ।

भिजेर मुसो जस्तो भएको छु । लुगा फुकालेर निचोरे र फेरि लगाएँ । जाडो र डरले थरथरी काँपिरहेकी छु । जसोतसो बाँच्न सफल भएँ । पानी पर्न अलिक कम भयो । अब यो साइडमा पहिरो पनि जाँदैन होला । अब भने मेरा लागि रुनुकराउनुबाहेक केही रहेन । रातभर गोठमा रोएर बसेँ । रुँदारुँदा आँसु पनि सक्किए क्यार आँखा पूरै सुक्खा भए जस्तो छ । पारि गाउँमा भाले बासेको सुन्दैछु । अब उज्यालो हुनै लागेछ भन्ने लाग्यो, पारिपट्टि आगो बलेको पनि देखिन्छ । यता गोठमा गाई, गोरु, बाछा समेत छ वटा रहेछन् । गाईकै बाछाको छेउमा गोबरसँग लत्पतिदै बिहानीको प्रतिक्षामा बसेकी छु । उज्यालो भएपछिका दिन कस्ता हुने हुन् ? केके देख्नुपर्ने हो । अब यी आँखाले भन्ने अनेक पीडा आँखा अगाडि नाचिरहेको देख्छु  । चिसो कपडा माटो र गोबरले लत्पतिदाको अवस्था अर्कै छ । अलेली मिरमिरे उज्यालो हुँदैछ । गाउँघर पूरै बगाए जस्तो लाग्दै छ । मुटु झन्–झन् काप्न थाल्यो । बेलुका बा, दाजुसँग बसेर रामायण सुनेको समयमा यो मन कति प्रसन्न थियो, छिनभरमै कहाँ पुरयाइदियो ।  के गरूँ ? हिजो गाउँ, साथीभाइ, घाँसपात र मेलापर्म स्कुलमा रमाउँदै हिँडेको अकस्मात यस्तो अवस्था देख्नुपर्छ भन्ने मैले सपनामा पनि सोचेको थिइन । कसरी यो मनलाई बुझाउनु ? यो गाउँमा अब जीवितै कोही छैनन् होला जस्तो लागेको छ । पच्चीस गाउँ र एउटा स्कुल थियो, एकसय साठीभन्दा बढीको बसोबास रहेको थियो । दुई सय बढी पशुचौपाया थिए होलान् । सबै  घर एकै पाटातिर भएकोले सबै बगायो जस्तो लागेको छ । सोच्दासोच्दै अलिअलि उज्यालो भयो ।

गोठबाट निस्केर डाँडाबाट गाउँतिर हेरेँ गाउँको त नामनिशाना छैन । आकाश अहिले फाटेको छ । पानी पर्न छाडेको छ । गोठका गाईवस्तु पनि  डाडाडुडु गर्न थाले । गाउँको नामोनिशाना नदेखेर होला यिनीहरूको पनि हुने भयो । आज  यो गोठले यी गाईवस्तु र मलाई बचाएको छ । अब यो साइडमा  पहिरो गएन भने बाँचिन्छ जस्तो लागेको छ । अब पूरै उज्यालो भइसकेको छ । पारि गाउँबाट होहल्ला गरेको सुनिन्छ । के भनेको बुझ्दिन तर अधेँरी खोला उर्लेर आको देखिन्छ । सायद पुल बगायो होला । पारिबाट साइसाइसुईसुई गरेको सुन्छु । कोही कराए जस्तो पनि लाग्छ । तर केही बुझिदैन । म पनि अग्लो कान्लामा गएर रुँदैरुँदै मलाई बचाउनुस्  भन्दै कराउन खोज्छु, बोली आउँदैन । कपडा देखाउछु देखुन् भनेर । शरीर पुरै अररो भएको छ, ढाडिएर होला । गाउँघर केही छैन, लेदो बगिरहेको छ । हिजोको वस्तीमा । त्यहाँ गाउँघर गोठ थियो भनेर भन्नै नसकिने गरी सबै बगिसकेको छ ।  

अब यो बस्तीमा कोही जीवित छैनन् भन्ने पक्का भयो । अहिलेसम्म कोही कतै देखा परेको छैन, कहीँ होहल्ला छैन । गाउँमा  आठनौ बजेभित्र त सबै सुतिसक्छन् । सबै निदाएको समय भएकाले सबै पहिरोमा बग्नुभएका होला जस्तो छ । म अभागी किन भागेछु । नभागेको भए सगैँ त भइन्थ्यो भनेर आफूलाई आफैदेखि रीस उठेको छ । अब कता जानु, के गर्नु सहारा कोही छैन । फेर्ने कपडा छैन, खाने को त कुरै छोडौ । पारि गाउँबाट कोही आउनुहुन्छ कि भन्ने आशाामा छु । खोला तर्न कठिन छ।  पुल पनि बगाएको हो भने कोही आउन सम्भव छैन । अब यी गाईवस्तु खोलेर छाडिदिनुपरयो भनेर सबै गाईगोरु, बाछाबाछी खोलिदिएर सबैसँग रुँदै बिदा मागेँ । रातभर सँगै थियौँ । अब को कता हुने हो थाहा छैन । तिमीहरू पनि आफै बाँच्ने प्रयास गर भन्दै पल्लो पाखा बारीतिर लगाइदिएँ । घाँसको त कमी छैन चर्छन् होला । म कामना गर्छु– उनीहरूको परिवारमा  केही बाधा नआवस् । म जस्तो परिवारबाट छुट्नु नपरोस् ।

पशु भन्नु मात्र कतिसम्म चेतना हुँदो रहेछ भन्ने गाईको आँसु देखेर थाहा भयो । छेउमा गएर सुमसुम्याएँ । गाईले मलाई चाटिन्  र  तप्पतप्प आँसु  झारिन् । मेरो भक्कानो फुटेर आयो । लाग्यो,  यी नै मेरी आमा हुन् । तर, उनको पनि परिवार छोराछोरी थियो ।  त्यसैले तिमी, तिम्रो बाटो जाऊ भने तर गइन् पनि ।

घाम मजाले लागेको छ ।  भित्र लाएको लुगाबाहेक बाहिरी  सबै गोबर र हिलो लागेको छ । हिँड्दैहिँड्दै एकदमै तिर्खाएजस्तो भोक लागेजस्तो भयो । हातखुट्टा लल्याकलुलुक भयो । अब के गर्ने ? सकीनसकी हिँड्दै थियो । त्यहीँ पर्तिर धारो रहेछ । पहिला पेट भरिने गरी पानी खाएँ । अबचाहिँ बाँच्छु जस्तो लागेर आयो ।  आफू नुहाएँ लुगा धोएर घाममा सुकाएर पारिपट्टि हेर्दै बसेको छु । देखून् भनेर कहिले कपडा हल्लाउँछु, कहिले हात तर अहँ कसैले मलाई देखेन ।  रुँदै– बस्नुबाहेक  केही रहेन।

आमाबाबाट कहिल्यै टाढा  भएर नवसेकी म उहाँहरूको एकदमै याद आयो कतैबाट नानी भन्दै बोलाउनुहुन्छ कि, दाजुले बहिनी भन्छ कि भनेर कान ठाडो पारेर सुनिरहेँ, मेरा कान थाके, मेरा आँखा मधुरा भए। तर, अहँ आमाबाले छोरी पनि भन्नुभएन, दाजुले बहिनी पनि भनेन । मलाई थाहा छ – उहाँहरू यो संसारमा हुनुहुन्न । तर,  म यो कुराको  कसरी विश्वास  गरूँ ? जानेले त एकदिन दुःख पाउनुभयो होला । तर मैले त जीवनभर यो पीडा  बोकेर बाँच्नुपर्ने भयो । कसरी भुलूँ म मेरा आमाबा, दाजु, कसरी भुलुम् साथीभाइ आफन्तहरू ! धिक्कार भो म बाँचेको । सगैँ गएको भए पीडा त हुने थिएन । कसो गरूँ मेरो पीडा कोसँग पोखूँ ?  कस्लाई सुनाऊँ ? सुन्ने कोही छैन । अब म पनि त्यहीँ पहिरो हुँदै खोलामा गएर फालहान्छु र सधैँका लागि पीडाबाट मुक्त हुन्छु, मेरा आमाबा सँगै हुन्छु भनेर अगाडि बढिरहेको छु।

परिपट्टिबाट धेरै मानिस खोलातिर झरेको देख्न थालेँ यतैतिर आएका हुन् जस्तो छ । झोलुुंगे पुल बगाएर अस्थायी पुल बनाउन युवाहरू जुटेको जस्तो देखिरहेको छु । वारि र पारि गाउँको विवाहवारी चल्ने भएकाले पारि गाउँको सँग हाम्रो सम्बन्ध एकदमै राम्रो छ । तर, दुःखको कुरा– कसैले छोरीजुवाइँ कसैले बुहारी त कसैले नातानातिना गुमाउनुभएको छ ।

म खोला छेउको ढुंगामा उभिरहेको छु । पारिपट्टि रुवाबासी चलिरहेको छ । यो रोदनले खोला, जंगल, पाखा, भित्ता सबै रोइरहेको  छ । बिलकुलै उजाड बनेर ।  म यो सम्पूर्ण दृश्य ट्वाल्ल पर्दै हेरेर उभिरहेँ । सोचे– अब म यो गाउँको एक्ली टुहुरी चेली  हुने भएँ । कसरी यो मन बुझाउनु, धेरै गारो भएको छ यो मन बुझाउन ।                                              

प्रकाशित: ७ माघ २०७७ ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App