१६ फाल्गुन २०७७ आइतबार
कला

घरैमा कैदी

कथा

जीविका अश्रु

 

रानी खोलाको पारिपट्टि गान्तोकबाट हेर्दा ठ्याक्कै पश्चिम पाटोमा राङ्का भन्ने बस्ती छ। राङ्काको पूर्वी पाटो लुइङ बस्ती हो । त्यही लुइङ बस्तीमा छ  म्याक्स  जितबहादुर राई र पर्मिला लिम्बु राईको बसाइ। किरायामा एउटा सानो टीनले छाएको, माथि तीन कोठा र तल दुई कोठा भएको घर लिएर बसेको पनि चौध वर्ष पुग्नै लाग्यो। घरमास्तिर वर्षा लागेबाट नै इस्कूस लहरिन थाल्छ। अम्बक र अम्लिसोले ढाकेको छ पाखोबारी। पर्मिला त्यही पाखो बारीको अलिकति भागमा सागसब्जी लगाउँछे । मेहनती  छे ऊ। घरको बरन्डामा फूलका गमला सजाएकी छे। हुन त म्याक्सको घर नेपालको पहाडी गाउँमा पर्छ। पर्मिला पनि सिक्किमकी हैन। ऊ दार्जीलिङ पहाडतिरकी हो। तर,  अब उनीहरू सिक्किमलाई नै कर्मथलो बनाएर बसेका छन्। कसैले सिक्किमको खिलाफ केही भनेको सहन सक्दैनन् दुवै जना। सानो घरमा जम्मा दुई जना मिलेर बसेको देखिन्छ।

थिरबहादुर राई गाउँ पञ्चायतको अध्यक्ष । पञ्चायत हट्यो गाउँ विकास समिति बन्यो फेरि पनि अध्यक्ष उही बन्यो। अहिले ऊ कम्युनिस्ट पार्टीको सक्रिय कार्यकर्ता र नेता। उसलाई राज्य र देशले नै चिन्छ। चार कार्यकालसम्म  जनताले मन पराएर जिताएका थिरबहादुरले अध्यक्षको जिम्मेवारी राम्रोसँग पूरा गरेका हुन् ।

हेर्दा सुन्दर, बान्की परेको जिउडालका उनी महिला उत्थानबारे अत्यन्तै उपयोगी अभियान पनि चलाउँथे ।महिलाहरूलाई महिला हकहितबारे जागरुक गराउथे। कृषि , सामाजिक विकास, विविध जातजाति, भाषा, धर्म सबैमा समानता हुनुपर्छ भन्ने कुरामा अडिग थिए। लैङ्गिक भेदभाव पटक्कै मन नपराउने उनका दुई श्रीमती तीन छोरा र चार छोरी थिए। उनै छोराहरूमध्येका कान्छा छोरा हुन् म्याक्स।

– म्याक्स आज म तिम्रोमा आउछु है मैले फोन गरेर भनें।

उत्तरमा खुशी हुँदै  हुन्छ आउनुस नू भन्ने जवाफ आयो। फेरि पर्मिलालाई फोन लगाएँ र खबर सोधें।अनि म आउदैछु है भनेर थपिहालें। उनकोपनि बोली सुन्दा खुशी भएएझैँ लाग्यो। बिहानको खाना खाएर धन्दापात सकेपछि म गएँ। बाटो त्यति लामो हैन तर म हिंड्ने बानी नभएकीलाई एक घण्टा लागिहाल्ने।हिंड्न भनेपछि मरेझैं मान्छु म ।त्यसैले राङ्का जाने बाटोमा गाडी कुरेर बसें निकैबेरसम्म गाडी नपाएपछि एकसय पचास रुपैयामा रिजर्भ गाडी लिएर गएँ। राङ्का र सिच्चे वारिपारी हो हुन त ।  तर पनि पहाडी बाटो देखेजस्तो नजिक हुन्न। गाडीबाट झरेपछि पाँच मिनेट सासै फेर्न नसकिने गरिको उकालो बाटो चढेपछि म्याक्सको आँगनमा पुगें।कुकुर बेस्सरी भुक्यो। धन्न बाँधेको रैछ।नत्र त मेरो हंसले ठाउँ छोड्ने थियो।

कुकुरसँग डराउनुको मेरो बेग्लै कथा छ। सानोमा आमाले मलाई छिमेकी कहाँ दुध लिन पठाउनुभयो। उसो त हाम्रो घरमा बाइसपच्चीसवटा स्थानीय गाई थिए। त्यसमा पनि दश माउ त गाई नै थिए। गोरु, बहर, कोरली र बाछी गरेर बाइसपच्चीस पुग्नु कुन ठुलो कुरा हो र । यतिविघ्न गाई भएर पनि लैनोचाहिँ दुइटा मात्र थिए। सानो जातका गाई दुध उति धेरै नआउने। दुइटा गाईको दुध त्यस्तै दुई माना जति हुन्थ्यो एक साँझमा। घरमा सबैको खीर खाने रहर। परिवार ठुलो। बाआमा र उहाँहरूका हामी सात सन्तान, तीनवटी भाउजू , तीन नाति। बालविधुवा भएर बसेकी एक जना फुपू । हामीले पालेका गाईभन्दा धेरै संख्याको हाम्रो परिवार । अनि त छिमेकी कहाँ जानैपर्यो दुध किन्न। हो म त्यसैले एउटा सानो बाल्टी र एउटा काठको गाई दुहुने दुधेरो  बोकेर छिमेकी राई थरका कहाँ पुग्दानपुग्दै पाँच वटा खैरे पाङ्ग्रे , कालो र सेता अजंगका कुकुरहरूले कर्कश आवाजमा भुक्दै झम्टिए। डरले होस उड्लाझैं भएको थियो। झट्ट आमाले भनेको झम्झें । कतै कुकुरले झम्ट्यो भने नभाग्नु, नडराएझैं ठिङ्ग उभिनुू । म ठिङ्ग उभिए तर कुकुरको झम्टाइ कम भएन। हातको दुधेरो र बाल्टी घुमाईघुमाई कुकुरबाट बच्ने उपाय लगाएँ । दुधेरोको उझिण्डो चुटिएर पर छिमेकीको ढुङ्गे आँगनमा बजारियो। धन्न फुटेन । आँगनमा पुगेपछि त झन् कुकुरहरू मेरो त्यो मैलो जामामा झुन्डिएर मेरो सात्तो  लग्यो। म  छिमेकी भाउजूलाई सम्बोधन गर्दै जोडले चिच्याएँ – भाउजूभाउजू !

त्यतिन्जेलमा म आत्तिएर कालो निलो भैसकेकी रहेंछु। धन्न छिमेकी भाउजू आउनुभयो र म बाँचे । उहाँले कुकुरलाई बेस्सरी हप्काएर मलाई लिएर भित्र जानुभयो । हो त्यसै दिनदेखि आजसम्म म कुकुरदेखि असाध्य डराउँछु। 

अँ कुरा म्याक्सको घर पुगेको गर्दैथिएँ। हो म आँगनमा हुँदा पर्मिला कुकुरलाई गाली गर्दै निस्की। आउनुस न आन्टी यो कुकुर यस्तै हो पुरा भुक्छ । हल्ला गर्छ। अझ नयाँ मान्छे त देख्नै हुदैन । ऊ बोलिरहदा पनि म कुकुरबाट जोगिदै भित्र पस्दै थिएँ।मनमा डर बसिरहेकै थियो कुकुरको। हातको झोला पर्मिलाको हातमा थमाउदै म थपक्क बसें। – के ल्याइरहनु परेको नि आन्टी यस्तो केके कोसेलीहरू भन्दै अप्ठ्यारो मान्दै झोला समाई उसले। 

पर्मिला भान्साकोठातर्फ पसी र नुनको चिया लिएर आई। कपको बिर्को खोलें र चुरुप्प पारें चिया।बाक्लो हुने गरी दुध हालेको रैछ खुब मीठो लाग्यो। चिया पिउदै बातचित भयो। जति गफ गर्दै गयो उति पर्मिलाको अनुहारमा नैरास्यले छाउदै गरेको अनुभव भयो। र मैले नसोधी बस्नै सकिन। तिमी किन यति निराश नानी ! केही समस्या छ कि के हो ?  आन्टी के भन्नु र ?

निराशा अझ बढेको अनुहार मतर्फ फर्काई। मैले सनुभूति दिदै भनें आत्तिन पर्दैन । मनको कुरा मलाई नै सुनाए पनि मन हल्का हुन्छ। भन के भएको छ । मधुरो स्वरमा  म्याक्ससम्म कुरा नपुगोस है आन्टी भनेर कुरा शुरु गरी।

– मलाई लिएर कतै जाँदैन। चाहिएको कुरा उसैको मर्जीको ल्याइदिन्छ। अनि तिमी केही भन्दिनौ । मैले सोधें।  – भन्छु नि मलाई पनि बजार लैजानु भन्छु । आफ्नू पसंदको कुनै कुरा किनिदिनु भन्छु। कतै आफन्त अथवा छिमेकीकोमा जाउ भन्छु। मान्नु पर्यो नि।  

मैले बोल्न पनि म त हुदैन। कुटिहाल्छ । कुटाइ खानुभन्दा त नबोली बस्नु निको नि आन्टी।

मलाई यो दर्दनाक कुरा सुनेर उकुसमुकुस भयो।  

फेरि सोधें –  यस्तो कुरा तिम्रो माइतीलाई था छ ।

– आम्बो आन्टी कहाँ भन्नु सक्छु र माइतीमा। दाजुले मलाई मार्छ नि ।  आफैं रोजेर गएको होस् तो, केही भयो भनेर दुख देखाउँदै  आफैं रोजेर गएको होस् तो, केही भयो भनेर दुख देखाउदै लोग्नेस्वास्नी बाझेर आइस भने दुवैलाई काटिदिन्छु भनेको छ दाजुले। दाजु झोक्की छ। साँच्चै नै काटिपठाउँछ जस्तो लाग्छ। त्यसैले भन्दिनँ नि म माइतीमा ।

उसको कुराले मलाई रिंगटा लागेझैं भयो। एउटी महिला कसरी खप्न सक्दैछे त्यस्तो अत्याचार  एउटा समाजसेवीको छोरा आफ्नै स्वास्नीमाथि यति धेरै अत्याचार कसरी गर्न सक्छ ।  

छोराछोरी भएको भए पनि म यसो भुलिदै बस्न हुन्थ्यो । यत्तिका साल भैसक्यो नानी पनि  छैन। भएको एउटा पनि  खसिगयो। सम्झिदा म सम्झि नसक छ नि मेरो जिन्दगी। मर्नु पनि म आँट आउँदैना। पर्मिलाको कुरा सुनेर म भावुक भएँ।

अझ एकदिन त मेरो बर्थडे मनाइदिन्छु भन्यो अनि साथीहरू बोलायो। मतुवाली जात घरमा रम,बियर चलाउनैपर्यो। बेल्का केक काट्यौं। अनि खानपिनमा म व्यस्त भएँ। आज तोमुनि खान्छस् भने खा भन्यो। खुशी मानेर ब्राण्डी खाए। सबै मातेर नाच्न थाल्यो । म पनि  नाचें। केटा साथीसँग नाच्यो भनेर त्यहीँ सबैको अगाडि कुट्नुथाल्यो। मलाई कुटाइभन्दा सरमले  बढी पीडा भयो । ऊ पनि म मातेको थियो। मातेपछि पूरा निहुँ खोज्छ नि आन्टी। अन्त साथीहरू सबै जान्छु पनि म नभनी हिंडेछ घरतिर। कस्तो भयो होला मेरो मन सोच्नुस् त आन्टी ।  त्यसपछि मैले कहिले बर्थडे मनाएन। मनाए र म के गर्नु  खुशीका लागि मनायो लास्टमा रुदै बस्नुलाई के मनाउनु भन्ने लाग्छ आजकल त ।

मन एकतमासको अमिलो भयो। मनैमन सोच्न थालें। यतिसम्म पीडित महिला आखिर केका लागि कसैलाई भन्दिनँ आफ्ना पीडा, समाज, इज्जत या जिन्दगी जिउने सहाराको अभावमा । किन पुग्दिन सम्बन्धित ठाउँसम्म र कतिञ्जेल पुग्दिन । लोग्नेले स्वास्नीलाई कहिलेसम्म दासीको रुपमा मात्र हेर्ने शंकाको दृष्टिले मात्र हेर्ने होला। मेरो मनमा प्रश्नहरूको ओइरो लाग्न थाल्यो। ऊ भने मेरा लागि खाजा तुल्याउनतिर लागी। भान्सामा एकछिन गुनगुनाउँदै थिई। फापरको रोटीको साथमा अकबरे र चिम्फिङको अचार लिएर आई। म झसङ्ग भएँ। 

असाध्यै स्वादिलो घ्यूमा पकाएको रोटी खाएर म बिदा भएँ। मनमा भने आफ्नै घरमा कैदी जीवन बिताइरहेका हरेक महिलाहरूको दयनीय अवस्था मेरो मानसपटलमा सल्बलाइरह्यो।

प्रकाशित: १ माघ २०७७ १४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App