११ माघ २०७७ आइतबार
कला

धन्यवाद कोरोना

बालकथा

अनुराग कक्षा चारमा पढ्छ । उसले पढ्ने स्कुल घरभन्दा टाढा छ । हिँडेर जानु पर्दा त डेढ घण्टा जति लाग्छ होला । तर, अनुराग कहिल्यै हिँडेर स्कुल गएको छैन । ऊ स्कूल जाँदा सधैं बसमा चढेर जान्थ्यो ।  स्कुलको बस चढ्ने ठाउँमा प्रायः आमाले पुरयाउनुहुन्थ्यो । आमाले नभ्याउँदा दिदीले पुरयाउनुहुन्थ्यो । स्कूलमा केही कार्यक्रम हुँदा आमा नै जानुहुन्थ्यो । शिक्षक र अभिभावकको मिटिङमा पनि आमा नै जानुहुन्थ्यो । अनुरागका साथीहरूका भने बुबाआमा दुवै आउनुहुन्थ्यो । कसैकसैका भने बुबा मात्र पनि आउनुहुन्थ्यो । अनुरागलाई पनि साथीहरूका बाआमाझैं उसका बाआमा  आए हुने थियो भन्ने लाग्दथ्यो ।

साना केटाकेटीहरू उनीहरूका बाबाका ढाडमा चढ्थे । बाबाचाहिँ घोडा बनेर हिँड्थे । कहिले आफ्ना बच्चालाई काँधमा राखेर बाबा घोडा दौडिएझैं दौडन्थे । त्यो दृश्य देख्दा अनुराग टोलाएर हेर्दथ्यो । अनुरागले उसका बुबालाई खासै देखेको थिएन । कहिलेकाहीँ साउती गर्दै आमा भन्नुहुन्थ्यो । बिस्तारै बोल है! बुबा राति ढिला आएर सुत्नुभएको छ । तर, अनुरागलाई उसका बुबा कहाँ जानुहुन्छ । के काम गर्नुहुन्छ भन्ने केही थाहा थिएन।  कहिलेकाहीँ राम्रा लुगा चकलेट र खेलौनाहरू बाबाले ल्याइदिएको भनेर आमाले नै दिनुहुन्थ्यो । अनुरागलाई चाहिँ ती राम्रा लुगा चकलेट र खेलौनाले लोभ्याउन सक्दैन थियो । उसलाई बाबासँग भेट गर्न र खेल्न मन थियो ।  

कोरोना कोभिड १९  महामारी आयो । सबै स्कुल बिदा भए । उद्योग–व्यापारहरू सबै बन्द भए । अनुरागका बाबा पनि घरमा आउनुभयो । रेडियो र टिभी चारैतर्फ महामारीको बारेमा चर्चा हुन थाल्यो । टिभी र रेडियोमा जता पनि कसरी सुरक्षित बस्ने भनेर अनेक प्रकारका सुरक्षित रहने उपायहरू आउँथे । अनुरागका बुबा पनि बाहिरबाट आउनुभएको थियो ।  

उहाँ  कोठामा चौध दिनसम्म बस्नुभयो । बाबा एकान्तबास बसेको  दिन गन्दै अनुराग कागजमा रेखा तान्दथ्यो । आमा र दिदीले बाबालाई खाना दिएका बेला ढोकाको बाहिर थाममा अडेस लागेर चिहाइरहन्थ्यो । चौध दिनसम्म यसरी नै बित्यो ।

बाबालाई ज्वरो आउने, टाउको दुख्ने र सास फेर्न गाह्रो हुने जस्ता कुनै समस्याहरू पनि देखापरेका थिएनन् । चौध दिनपछि बाबा बाहिर आउनुभयो। सुरुमा अनुरागलाई बाबासँग नजिक हुन निकै गाह्रो भयो । बाबालाई लुकेर चिहाउँदै भाग्दै गर्यो । जब बाबाले उसलाई अँगालोमा राखेर खेल्न थाल्नुभयो तब    अनुरागले बाबालाई एक क्षण पनि छोडेन ।  बाबासँग खेलेर रमाउन थाल्यो । बाबासँग कहिले लुकामारी खेल्ने । कहिले घोडा बनाएर खेल्ने । कहिले माथिबाट आयो हाउगुजी भन्दै काउकुती लगाई माग्न थाल्यो । योभन्दा पहिला उसले सम्झने  भैकन बाबासँग कहिल्यै बस्न पाएको थिएन ।

उसका बाबा लामो बाइस चक्का भएको ट्रक चलाउनुहुन्थ्यो । कहिले अमेरिका त कहिले क्यानडाका विभिन्न ठाउँमा सामान लोड गरेर पुग्नुपर्थ्यो ।  कहिलेकाँही घर आइपुग्दा हप्ता  दिन नै बितिसक्थ्यो । बाबा घरमा आइपुग्दा अनुराग निदाइसकेको हुन्थ्यो । बिहान बाबा नउठी अनुरागको स्कुल जाने बेला हुन्थ्यो । कहिलै बाबासँग यसरी घुलमिल भएर बस्न पाएको थिएन । उसलाई बाबाको हात समातेर स्कूल बससम्म जान रहर थियो । अविभावक शिक्षकको मिटिङमा बाबा र आमासँगै जाने इच्छा थियो । तर, उसलाई यो कोरोना सकियो भने बाबा काममा जानु होला भन्ने डर पनि थियो । यो अदृश्य कोरोनालाई धन्यवाद दिँदै अनुरागले भन्यो । धन्न यो कोरोना आयो र मैले बाबासँग खेल्न पाएँ है बाबा भन्दै अँगालो मार्यो । बाबाले अनुरागलाई छातीमा टाँसे । बाबाका आँखामा खुसीका आँसु टिल्पिलाएका थिए। हो छोरा ! हामीसँगै बस्न पाएनौ । सँगै बसून् भनेर नै यो कोरोना आएको होला । धन्यवाद कोरोना, दुवै जनाले आआफ्नो आँसु पुछे । 

प्रकाशित: १ माघ २०७७ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App