दिलिप राई सगर
– कमलेको बूढी त गयो । राई जेठा खेती पुग्नसाथ राईनी बोजुले बतायो ।
– काँ गयो आमा ? उसले कुरा नबुझी सोध्यो ।
– हन मर्यो नि बुथुरी । अस्ति हाम्रोमा पराल माच राखेको दिन रक्सी खाएर कुटेथ्यो कमलेले । सुती हिँड्थी हैन ।
– ला मर्यो नै आमा, घाँटी – जिभ्रो सुन्निएको थियो, बोल्नै सक्थिनं । भात के पानी निल्न सक्थिनं । जा दुखै लुकायो । जेठाले दुखेसो गरे।
रक्सी खान पाए भात पानी नचाहिने । त्यो दिन त्यसै सुत्थे ती बुढाबुढी । मन्दिरको पेटीमा । अरू दुई जना थिए उस्तै खोया बिर्केहरू । त्यो कुमाई गाउँमा काम गरेर जिउ पालेका । कता– कताबाट बटुलिएर आई बसेका । गाउँभरि काम पाउँथ्यो । प्राय सबै धनवान् र अरापे परिवार काम गर्थेनन् । उनीहरू नै गाउँभरि भियाउँथे ।
जेठा पसल निस्क्यो छोरीलाई कापी किन्न । भट्टराईनी भाउजू भन्दैथी– कम्लेले बूढी कुटेरै मार्यो भाइ । मैले पहिल्यै कति कराउँथें , यसले कुटेरै मार्छ । नभन्दै त्यस्तै गर्यो बजियाले ।
– हो भाउजू , मारेछ । ससुराली नजिक भए त्यो जेल पुग्थ्यो तर पश्चिम कताबाट भुटानीसंग पछ्याएर आएकी रे । जेठा बूढा ठूलो मुलुक छ रे । ठूल्ठूला छोराछोरी छ रेन्त।
अन्त एक पल्ट लिन पनि आएको रे भाइ यही रक्सियालाई पर्खेर बसी । दुवै रक्सी खाने । झगडा गर्ने । बुथुरीको मुखै छुरा । अति अश्लील गाली बक्ने । कम्ले दोक्च्याउने । अब त मुक्ति पायो होला।
राति नै मरेर बिहान पर खोलामा लगेर गाड्यो रे कुकुरसरह । ३५ सय जति उठे । पाँच सय कफन खर्च । बाँकी किरिया खर्च । छोराको घर गए भन्थे कमले ।
जेठा खेत आउँदा कम्ले र कुमार बाटोमा शहर जाँदै गरेको भेटेको थियो । राईनी बोजुको परालको माच राख्न त्यसै थियो ।
प्रकाशित: २४ पुस २०७७ ०५:०९ शुक्रबार





