२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बाबाको बाटो पहिल्याउँदै सीता

बाबा अच्युतराम भण्डारीसँगै बसेर तबला बजाउँदै सिता। तस्बिर : नागरिक

गोकर्णको सुन्ताखानकी सिता भण्डारी तबलामासँगै आधुनिक गीत संगितमा रमाउँदै छिन्। प्रसिद्ध तबला बादक अच्युतराम भण्डारीकी छोरी सिता सानैदेखि बाबाको कलालाई पछ्याउँदै पछ्याउँदै आएकी छिन्। उनले बाबाको सीपलाई जीवनको मार्ग बनाउने सोच राखेकी छिन्।

‘अब बाबाको बाटो पहिल्याउँदै तबलामा रमाउने सोच बनाएकी छु,’ उनले भनिन्, ‘यसै वर्षदेखि तबलामै स्नातक गर्ने सोच बनाएकी छु।’ बाबाको काखमा बसेर तबलामा औंला चलाउँदै आएकी उनले यति बेला बाबसँगै स्टेजमा बसेर तबला बजाउन थालेकी छिन्। ‘सबैको जीवनमा केही न केही नयाँ गर्ने सोच हुन्छ,’ उनले भनिन्, ‘बाबाले पहिल्याएको बाटोमा नयाँ ढंगले हिड्नु जत्तिको खुसी अरू कुनै काममा भेटिन।’

उनी बजाउने मात्र होइन, घरमा आउने विद्यार्थीलाई तबला सिकाउन पनि थालेकी छिन्। यसका लागि उनले एरोमा म्युजिकल सेन्टर समेत खोलेकी छिन्। जहाँ हरेक साँझ बिहान तबलाको धुन गुञ्जयमान हुन्छ। ‘तबला खुसी हुने माध्यम पनि हो,’ उनले भनिन्, ‘यसको आवाज आत्मासम्म पुग्ने गर्छ।’ उनले ऐनाको अगाडी बसेर तबला बजाउने गर्छिन।  

‘ऐनालाई सहभागिहरू मानेर अभ्यास गर्ने गरेको छु,’ उनले भने, ‘यसबाट औंलाको चाल र अनुहारको हाउभाउ नियाल्न मद्दत गर्छ।’

सामाजिक सञ्जालमा तबला सुन्दा पनि निकै रमाइलो लाग्ने गरेको उनी बताउँछिन्।  

को हुन अच्युतराम भण्डारी ?

अच्युतराम भण्डारीले तबला बजाउन थालेको करिब पाँच दशक पूरा भयो। उनको रहरमा कुनै कमी आएको छ। तबलासँगको उनको मोह जीवनजतिकै प्यारो छ। २०१६ सालमा गोकर्णको सुन्ताखानमा जन्मिएका भण्डारीले घरमा हुने भजनको समयमा ९ वर्षकै उमेरदेखि तबला बजाउन थालेको बताए। सुरुमा रहरमा बजाएको तबला अहिले उनको सबैथोक बनेको छ। १७ वर्षको उमेरदेखि व्यावसायिक रूपमा तबला बजाउन थालेका भण्डारीले २१ वर्षकै उमेरमा तबला बजाउन युरोप जाने अवसर समेत पाएका थिए। तबला बजाउँदै उनी युरोप, अमेरिकादेखि संसारका दुई दर्जनभन्दा बढी मुलुकमा पुगेका छन्।  

तबलाप्रतिको मोह यसले दिएको अथाह आनन्दसँग जोडिएको उनी बताउँछन्। तबलाले घरबार मात्र होइन, समाजमा योगदान दिनसक्ने समेत बनाएको उनको भनाइ छ। कुनै बेला भजनकिर्तनमा सीमित तबला अहिले सामाजिक सहयोग अभियानमा समेत बज्ने गरेको छ।  

प्रसिद्ध तबला बादक जाकिर हुसेनबाट समेत तबलाको ज्ञान प्राप्त गरेका उनले नेपालमा थुप्रै चेला जन्माएका छन्। तीमध्ये धेरैले तबलाबाटै आयआर्जन गर्न थालेको उनको भनाइ छ। दुई दर्जन बढी अहिले उनीसँग तबला बजाउन सीप सिक्दै छन्।

पण्डित होमनाथ उपाध्यायका शिष्य भण्डारीले गुरुका नाममा पुरस्कार स्थापना गर्ने सोच समेत बनाएका छन्। तबलाप्रति आकर्षित युवा पुस्तालाई प्रोत्साहनका लागि यस्तो गर्न लागेको उनले बताए। ‘आगामी वर्षदेखि प. होमनाथ तबला पुरस्कार वितरण गर्ने सोच बनाएको छु,’ उनले भने, ‘यसबाट नयाँ पुस्ताले प्रोत्साहन पाउने विश्वास छ।’  

हरेक शनिबार गुह्येश्वरीस्थित उनको निवासमा दुई दर्जन बालबालिका संगीत सिक्न आउने गर्दछन्। तीमध्ये आधाले निःशुल्क सिक्ने गरेको बताइएको छ। उनले तबला बजाउने मात्र होइन, यसबारे विभिन्न पुस्तक समेत लेखेका छन्। आफूसँग सिक्न आउन नपाउनेले किताब पढेर ज्ञान प्राप्त गरोस् भन्ने उद्धेश्यले पुस्तक तयार गरेको उनले बताए।

हार्मोनियमको समेत राम्रो ज्ञान भएका भण्डारीले प्रसिद्ध हार्मोनियम साधना पुस्तक प्रकाशन गरेका छन्। यस बाहेक लकडाउनको समयमा उनले आधा दर्जन पुस्तक तयार गरेको बताए। ‘तबला, मादल हार्मोनियम बजाउने सरल नियम लिपिबद्ध गरेको छु,’ उनले भने, ‘यसले नयाँ पुस्तालाई यस बाजा तर्फ थप आकर्षित गर्ने विश्वास छ।’

भारतको इलाहावादबाट संगीतमा स्नातकोत्तर गरेका भण्डारीले अढाइ दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा संगीत विषयको प्राध्यापान समेत गरे। संगीतका सबै क्षेत्रमा सहज पहुँच होस् भन्ने उनको चाहना छ। संगीत क्षेत्रलाई राज्यले उपेक्षा गरेको भन्दै गुनासो गरे।

प्रकाशित: २४ पुस २०७७ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App