३ कार्तिक २०८१ शनिबार
image/svg+xml
कला

मैले साहित्यमा यु टर्न गरेँ

संस्मरण

खेमराज पोखरेल

मलाई मेरा साथीहरू‘यु टर्न गर्ने मान्छे’ भन्नुहुन्छ । लागेपछि भित्तो लागेर गर्ने, नगर्दा चट्टै छोडिदिने बानी छ रे मेरो । रिस्क लिने, निर्णय छिटो गर्ने, दुःखसँग नआत्तिने सकभर धेरैजनासँग मित्रता राख्ने स्वभाव छ रे मेरो । यो भनाइ मसँग अन्तरङ्ग भएर रहनु भएका साथीहरूको हो । तर, मलाई भने त्यस्तो लाग्दैन । मलाई म अल्छी, प्यासिभ, रिस्क नलिने, एकलकाँटे, जिद्दि, पलायनवादी, मित्रसँग मात्र मित्रता राख्ने स्वभावको छु जस्तो लाग्छ । मन नमिल्नेसँग मित्रता राखेर आफ्नै दिमाग किन खल्बल्याउनु जस्तो लाग्छ ।

मैले तेत्तीस वर्ष इतिहास पढाएँ । मेरो कुरा, मैले इमानदारिताका साथ पढाएँ भनेको छु । अब मेरा विद्यार्थी तथा प्रशासनले के भनेका छन्, त्यो मलाई थाहा छैन । इतिहास पढाएर व्यवहार चलेन, दोकान थापेँ, त्यसैलाई साथीहरूले यु टर्न भने । दोकान चलाउन सकिएन, छोडिदिएँ, त्यसैलाई यु टर्न भने । विराटनगर बसाइले आवश्यकता पूरा गर्न सकेन, काठमाडौँ सरुवा भएँ, त्यसैलाई यु टर्न भने । बामपन्थी राजनीतिमा सक्रिय थिएँ, घटनाक्रमले मलाई म राजनीतिका लागि अयोग्य भन्ने आफैँलाई लाग्यो, चटक्कै छोडिदिएँ, त्यसैलाई साथीहरूले यु टर्न भने । दस थान इतिहासका पुस्तक लेखेँ, ती इतिहास नभएको महसुस भयो । इतिहास लेख्न नसकिने बोध भयो । किनभने साँचो नलेखी इतिहास नहुने, साँचो लेखे परिवेशले अनुमति नदिने भएपछि म इतिहास लेखनमा रमाउन सकिनँ, छोडिदिएँ । र साहित्यमा लागेँ । साथीहरूले यु टर्न भने । र फोरकास्ट गरे – ‘यो चञ्चल छ, अब फेरि केमा यु टर्न गर्छ थाहै छैन ।’ तर म भन्छु अब म कतै यु टर्न गर्दिनँ । किनकि साहित्यमा लाग्नुपूर्व म लागेका क्षेत्रहरूमा स्वार्थ थियो, उपलब्धिको आशा थियो । उपलब्धि नहुँदा निराश र दुःखी हुनु स्वाभाविक नै थियो । तर साहित्यमा लाग्दा कुनै स्वार्थ तथा उपलब्धिको आश नगरी लागेको छु । साहित्यमा लागेबापत केही पाउनु छैन, गुमाउनु पनि छैन । त्यसैले विश्वास गर्नुस् साथीहरू म यु टर्न गर्दिनँ ।

म पूरापूर इतिहासको मान्छे हुँ । आइएदेखि एमएसम्म इतिहास नै पढेँ । त्रिभुवन विश्वविद्यालयमा ३३ वर्षजति इतिहास नै पढाएँ । तर म अहिले साहित्यमा छु । किन? केका लागि ? यो प्रश्न मलाई बारम्बार गरिने प्रश्न हो । त्यसैले अहिले म मेरो साहित्य प्रवेशका बारेमा केही कुरा भन्दै छु । विश्वास गर्नुस्, गफ दिएको होइन, म बाल्यकालदेखिनै साहित्यको अनुरागी थिएँ । बुवा हजुरबाले लय हालेर रामायण तथा अन्य ग्रन्थ पाठ गरेको मेरा वाल दिमागमा रमाइलो लाग्थ्यो । मेरो गाउँमा साहित्यका त्यति धेरै पुस्तक उपलब्ध थिएनन् । अनि शहरमा पुस्तकालय, क्लव वा वाचनालय सीमित थिए । तिनीहरूले हिन्दीका उपन्यास कथाहरूका पुस्तकहरू राख्थे । भाडामा पाइन्थ्यो । अनि गुलसन नन्दा, प्रेम बाजपेयी, गुरुदत्त, रानु आदिका उपन्यास खुवै पढ्ने अवसर जुर्यो । पछि पो थाहा भयो ती त बजारु उपन्यास रहेछन् । मेरो सम्पर्क बजारु उपन्याससँग पो भएछ । अनि दार्जिलिङतिरबाट नेपालीका उपन्यासहरू पनि आउन थाले । ती पनि बजारु नै रहेछन् । सम्झनामा युधीर थापा छन् । ‘निलो चोली’ उपन्यास पढेर म पनि बजारु उपन्यासको हितैषी भएँछु । किनकि बैँस आउँदै गरेको समय थियो त्यो । र बजारु उपन्यासले बैँसका खुराक पस्किन्थे । यसै रन्कामा मैले पनि एउटा उपन्यास लेखेको थिएँ । यो कुरा २०२९ सालतिरको होला । कविता त म आफ्ना कोर्सका किताब तथा कपीका पहिलो पानामा केही न केही कविता लेख्थेँ । यसो भएपछि जाहिर कुरा के हो भने जब ती पुस्तक तथा कपी नाश भए मेरा कविता पनि नाश भए । उपन्यास भने मोटो कपीमा थियो । त्यो पनि समयसालमा कता पुग्यो । संरक्षण र सम्वर्धन भएन । किनभने मलाई बाबाको डर लाग्थ्यो  । उहाँ खाली मलाई पढ् भन्नुहुन्थ्यो । बाबाले यसो नभनी दिएको भए सायद मैले पढ्ने पनि थिइनँ होला । बाबाको डर नभएको भए म कुन हावाको सर्कासँग कहाँ उड्ने थिएँ होला त्यो कसलाई थाहा छ र !

एसएलसी पास भएपछि आइए र बिए पढ्न राजविराज महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस गएँ । २०३२ देखि २०३६ सम्मको कलेजका यी जम्मा ४ वर्ष मेरो जीवनको प्राज्ञिक जग हो । साहित्यिक जीवनको आधार हो । हरेक विषयका नोट कपीहरूको पहिलो पानामा मेरा कविता हुन्थे । तिनताका मैले मेरो उपनाम ‘कौशल’ राखेको थिएँ । त्यति बेलादेखि नै म साहित्यमा लागेको भए मेरो साहित्यिक नाम कौशल हुन्थ्यो । कविता शृङ्गारिक, राजनीतिक, भावनात्मक वा प्रेमिल पनि हुन्थे । तिनताक केशव गुरुयाने कि प्राडा केशवप्रसाद उपाध्याय र गङ्गाप्रसाद उप्रेती सरको प्रत्यक्ष नेतृत्वमा राजविराजमा साहित्यिक कार्यक्रमहरू हुन्थे । म भाग लिन्थेँ । पहिलो, दोस्रो, तेस्रो सान्त्वना आदि पुरस्कारहरू मनग्गे पाएको थिएँ । प्रमाणपत्र तथा पुस्तकहरू उपहार पाएको थिएँ । थाहा छ, स्थानीय पत्रिकामा मेरा कविता र लेख प्रकाशित भएका थिए । तर अहिले ती कविता, लेख मसँग छैनन् । ती संस्थाहरूले दिएका प्रमाणपत्र पनि जीवनभरिको डेरा सराइले कहाँ पुगे केही थाहा छैन । आइए र बिए पढ्दा भने मविब क्याम्पस राजविराजको पुस्तकालयमा भएका नेपाली तथा हिन्दीका उपन्यास, कविता, कथा पढेँ । योजना नै त्यो पुस्तकालयमा रहेका नेपाली तथा हिन्दी भाषाका साहित्यका पुस्तकहरू पढेर सक्ने बनाएको थिएँ । शाकुन्तल महाकाव्यलगायत देवकोटाका अनेकौँ कृति त्यतिबेला नै पढेको हो । समका पाइएका नाटक त्यतिबेलै पढेको हो । समको नियमित आकस्मिकताले त दिमाग नै खल्बल्याएको थियो । रवीन्द्रनाथ टैगोरको गीताञ्जली पनि त्यति बेलै पढेको हो । निराला त्यति बेलै पढेँ । सारिका, कादम्बिनी जस्ता पत्रिका त्यही बेलै पढेँ । धेरै लेखक र तिनका कृतिको नामै बिर्से । यसरी नेपाली साहित्यका पुस्तक त्यो बेला पढेर मैले साहित्यलाई मन पराएको थिएँ ।

बिए पढ्ने क्रममा मैले पढेको आफ्नै गाउँको राष्ट्रिय प्राविमा मेरै अगुवाइमा एउटा नाटक प्रदर्शन भएको थियो । सायद नाम थियो ‘खरानीभित्रको आगो’। नाटक मैले नै लेखेको थिएँ । किनकि म त्यो बेलासम्म कम्युनिष्ट विचारबाट प्रभावित मात्र होइन कि संवाहक बनिसकेको थिएँ । यसै झोँकमा कम्युनिष्ट फ्रेममा उक्त नाटक लेखेको थिएँ । सो नाटकको रिहर्सल पनि मैले नै गराएको थिएँ । उक्त नाटक मञ्चन गर्न काठका खाट, तन्ना जस्ता स्थानीय स्रोत परिचालन गरिएको थियो । पर्दापछाडि नाटकको डायलग बोल्ने र त्यो डायलगलाई पर्दाबाहिरको कलाकारले बोल्ने प्रविधि थियो । कम्युनिष्ट विचार लिएका हुनाले मस्कोबाट प्रकाशित भएका प्रगति प्रकाशनका पुस्तकहरू पढ्ने मौका मिल्यो । चिनियाँ साहित्य पढ्ने अवसर मिल्यो । ल्युसुनलाई त्यही बेला पढेँ । म्याक्सिम गोर्कीको आमा, टल्सटायको युद्ध र शान्ति जस्ता पुस्तकहरू हिन्दी भाषामा पढिए ।

मैले २०४१ सालदेखि कलेजको प्राध्यापनको काम सुरु गरेँ । पारिवारिक  जिम्मेवारीबाट थिचिएँ । तथापि पोखरामा पढाइरहेका बखत कविता प्रतियोगितामा भाग लिएर दोस्रो भएको थिएँ । विराटनगर गएपछि पनि एकपल्ट अप्रतियोगी कविता वाचन गरेको थिएँ । तर इतिहासको प्राध्यापन, इतिहासका पुस्तकको पढाइ, इतिहासका आर्टिकलको लेखन, इतिहासका पुस्तक लेखन कार्यमा लागिरहेको र जीवन धान्न सुुसेधन्दा निभाउनै गर्ने भएकाले साहित्य¬–लेखन, साहित्य–पढनले तीब्रता पाउन सकेन । २०४१ सालपछि गरिमा, गोरखापत्र, कान्तिपुर जस्ता राष्ट्रिय पत्रिकामा केही लेख¬रचना प्रकाशन हुँदै गएको थियो । यसबाहेक केही स्थानीय पत्रिकामा छापिएका थिए । म अमेरिकाबाट फर्केपछि मैले आफ्ना पुराना डायरीमा रहेका २०४१ सालपछिका कविताहरू सङ्कलन गरी २०६६ सालमा ‘सडक र बूढो सिमल’ नामको कविता सङ्ग्रह र विभिन्न पत्रिकामा छापिएका लेख–रचनाहरू सङ्कलन गरेर ‘सबैथोक छ केही छैन’ नामक निबन्ध सङ्ग्रह प्रकाशन गराएको थिएँ । सबैथोक छ, केही छैन’ शीर्षकको मेरो निबन्ध गरिमामा छापिएको थियो । यो दुई सङ्ग्रह मेरो रहर मात्र थियो । म साहित्यानुरागी वा साहित्य–साधक भएको वा साहित्यमा होमिएको प्रमाणचाहिँ होइन । खासमा यो अवधिसम्म सक्रिय भएर साहित्यको पढन तथा लेखनमा लागेकै थिइनँ ।

यो अवधि २०४१देखि २०७०सम्ममा म आफ्नै इतिहासका पुस्तक लेखनमा लागेको थिएँ । किनभने पुस्तक नलेखी प्रमोसन हुनेवाला थिएन । यो प्रसङ्गमा मैले ४० थानभन्दा बढी इतिहासका अनुसन्धानात्मक लेख प्रकाशित गराएको थिएँ भने करीब १० थानजति इतिहासका पुस्तक प्रकाशन गराएको थिएँ । म प्रोफेसरको विज्ञापनको लागि तयारी स्वरूप यी सबै काम गरिरहेको थिएँ । त्यसैले मेरो ध्यान साहित्यतिर गएको थिएन । २०७० सालमा मेरो जीवनमा एउटा महत्त्वपूर्ण घटना घट्यो । त्रिभुवन विश्वविद्यालयमा इतिहास विषयको प्राध्यापकको विज्ञापन निस्केको थियो । सिट ९ वटा थियो । म पास भइनँ । प्रोफेसर नभएको कुरालाई मेरो बुद्धि, दिमाग, मन र परिवेशले सामान्य मान्न नै सकेन । अझै सकेको छैन । म फेसबुकमा आफ्ना आक्रोशहरू पोखिरहेँ । मेरो आक्रोश सायद अति धेरै भएको थियो कि पद्मकन्या क्याम्पसकै डा. जयराज पन्तले एक भेटमा भन्नुभयो – ‘मलाई थाहा छ, पक्का हो, सरलाई अन्याय भएको छ । तर अब तपाईँको फेसबुकको आक्रोश पनि बढी हुन थाल्यो । यसले त्रिविलाई केही फरक पर्दैन, तर सरको व्यक्तित्व स्खलित पार्छ । डा. रमेश ढुङ्गेल तथा डा. जगमान गुरुङ पनि त्रिविमा प्राध्यापकमा असफल बनाइएका मान्छे हुन् ।’ यसपछि म फेरि आफ्नो ठाउँमा आएँ । आफैँ गमे कि अब फेसबुकमा आगो निकालेर के फाइदा ! म चुप लागेँ ।अनिमैले खेलो हराएँझैँ महसुस गरेँ ।

अब इतिहासमा प्रोफेसर हुन सम्भव थिएन । त्यसकारण मेरो दिनचर्या फेसबुकमा साहित्य पढ्नु थियो । कथा, लघुकथा, कविता पढ्दै गएँ । रमाउँदै गएँ ।फेसबुकमा लघुकथा कुनो भन्ने रहेछ, कुन सर्का म त्यसको सदस्य भएँ । पछि आफैँ लघुकथा लेख्न थालेँ । लाइक र प्रतिकृयाहरू आउन थाले । म रमाएँ । अनि धडाधड लेख्न र पोस्ट गर्न थाले । पछि त्यसै समूहको एउटा एडमिन बनाइएँ । अर्को कथा समूह पनि रहेछ । दुवैको संस्थापक एडमिन नारायण तिवारी हुनुहुँदो रहेछ । नारायण तिवारीलाई पनि चिनेको थिएन । यसरी म फेसबुकमार्फत साहित्यको फाँटमा देखापरेँ । त्यसैले म हाकाहाकी भन्छु कि म फेसबुके हुँ । तपाईँ मलाई हियाउनुहुन्छ भने पनि म केही भन्दिनँ । तर म विशुद्ध फेसबुके हुँ । यसरी कुन सट्का म साहित्यमा बास बसेँ, मलाई नै पत्तो भएन । परिवेश र दिमागको उल्झनले मलाई साहित्यमा ल्याइदियो । मलाई साहित्यमा ल्याउने काम सामाजिक सञ्जालका मेरा पाठक नै हुन् जसले मेरा अडबाङ्गे सृजनालाई पनि लाइक, कमेन्ट र सेयर गरेर मलाई फुक्र्याइदिनुभयो । पाठकदीर्घाको यो फुक्र्याइ मेरा लागि अमूल्य निधि भएको छ । यही फुक्र्याइमा मेरा अहिलेसम्म माथिका दुई कृतिबाहेक पाँचवटा लघुकथासङ्ग्रह, दुई वटा कथासङ्ग्रह प्रकाशन भएका छन् । दुई वटा लघुकथासङ्ग्रह सम्पादन र प्रकाशन गरेको छु । म अझै फुर्किइरहेको छु ।

म किन साहित्यमा आएँ ? प्रयोजन के हो ? भन्नेबारे मैले भन्नु अति आवश्यक र सान्दर्भिक हुन जान्छ । मान्छेको जीवनमा साँच्चि धेरै नै समस्याहरू हुन्छन् । याने कि पीडाहरू हुन्छन् । मनभित्र उथलपुथल भइरहन्छ । मन दिमागभित्र भुइँचालो गइरहेको हुन्छ । आफ्ना र बिरानाले हानेको तिरले हृदय छियाछिया भइरहेको हुन्छ । भौतिक शरीरलाई धान्न हजार ठाउँमा निहुरमुन्टी न हुनुपर्दछ । त्यसैले खासमा मान्छे मरेर बाँचिरहेको हुन्छ ।

बाँचेर मरिरहेको हुन्छ । विसङ्गतिमा बाँचेको हुन्छ । मान्छेको पीडा सुन्ने कोही छैन । किनकि ऊ आफ्नै पीडाबाट लघारिइरहेको हुन्छ । प्राप्ति र गुमाउने बिचका जालझेलबाट मनोवैज्ञानिक द्वन्द्वमा हुन्छ । मान्छेको यो मनोविज्ञान मेरो पनि हो । र म मेरा असन्तोषी कुरा भन्न तथा शान्ति खोज्न साहित्यमा आएको हुँ । केही दिन पहिले फेसबुकको कथा पेजमा छलफलका लागि एउटा जिज्ञाशा राख्नुभएथ्यो एडमिन कथाकार विश्वराज अधिकारीले । जिज्ञासा यसप्रकार थियो – कथा आफ्नो सन्तुष्टिको लागि लेख्ने हो वा कथा पाठकको रुचिअुनसार लेखिने हो ? यहाँहरूको राय जान्न मन लाग्यो ।  

यो जिज्ञासाका बारेमा अधिकांश विद्वानहरूले जनताका लागि लेख्ने, पाठकका लागि लेख्ने भन्नुभएको थियो । आफ्नै सन्तुष्टिको लागि लेख्ने हो भने प्रकाशन नगरी थन्क्याएर राखे भयो नि भन्ने राय आएका थिए । 

तर मैलेँ भने यस्तो राय राखेको थिएँ –  

– मेरो विचार फरक छ सर। म लेख्दा प्रत्यक्ष आफैलाई सन्तुष्ट हुने किसिमले लेख्छु। त्यो बेला म पाठक, समीक्षक वा परिवेश केही पनि केन्द्रमा राख्दिनँ । मेरो सामाजिक आर्थिक राजनीतिक वा अन्य क्षेत्रका विसङ्गतिसँग असन्तुन्टि हुन्छ । त्यो असन्तुष्टीमाथि विद्रोह गर्न मन लाग्छ। र, र म त्यो कुराको समन गर्नका लागि मलाई लागेका कुरा लेख्छु। तर म पनि सामाजिक प्राणी भएकाले र म बाँचेको संसार र पाठक बाँचेको संसार एउटै भएकाले मेरा विद्रोह र पाठकको कुरोको कही कतै मेल खान्छ। र धेरै पाठकले मन पराउनुहुन्छ। त्यसकारणले गर्दा मेरा आफ्नै सबै रचना उत्तिकै पपुलर हुँदैनन् । म आफ्नै मनसँग लेख्छु। आत्मासँग लेख्छु।पत्रिकाले के लेखे छाप्ला, प्रकाशकले के लेखे छाप्ला, के लेख्यो भने पाठक खुसी होलान् भन्ने हेक्का नै राख्दिनँ । तर पाठकका मनमा पनि मेरो मन पस्यो भने म अति पुलकित हुन्छु।

तर मेरो कुरा साहित्यका क्षेत्रमा सोहै आना ठिक भने होइन । यो वैश्य युगमा पत्रिकामा लेखेर गुजारा गर्नुपर्ने नियति पनि हुनसक्छ साहित्यकारको । व्यवसायिक लेखन पनि हुनसक्छ । राजनीतिक विचारबाट प्रेरित पनि हुनसक्छ । समाज बदल्ने असिम चाहना पनि हुनसक्छ । तर मेरो सबालमा यी कुनै कुरा होइनन् साहित्यमा लाग्नुको प्रयोजन । म अलि भाग्यमानी छु, मानोचामल त्रिविले नमरुञ्जेल दिएको छ । व्यावसायिक लेखक हुन आवश्यक नै छैन । हुति पनि छैन । इच्छा पनि छैन । समाज बदल्ने असीम चाहना मेरो छ, तर म त्यसलाई मात्र केन्द्रमा राखेर लेख्दिनँ । म जे लेख्दा आफू रमाउँछु, त्यही लेख्छु । यसोभन्दा मैले पाठकको महत्त्वलाई इग्नोर गरेको भने पटक्कै होइन । मलाई साहित्यमा खेल्ने बनाउने नै पाठक महानुभावहरू हुन् । म निर्धक्क भन्छु, मेरा लागि पाठक महान हुन् ।

त्यसकारण मलाई कति पुस्तक प्रकाशन भए ! राष्ट्रिय वा स्थानीय पत्रिकामा कति लेख–रचना प्रकाशित भए, केके पुरस्कार पाइयो भन्ने कुराले असर गर्दैन । यदि यी कुराले असर गर्न थाल्यो भने त फेरि साहित्यभित्रको राजनीति सुरु भइहाल्छ । तिगडम सुरु हुन्छ । असन्तोष शुरुहुन्छ । असन्तोषभित्र शान्ति कहाँ पाउनु ! तिगडममा शान्ति कहाँ पाउनू !

छाप्ने सवालमा राष्ट्रिय पत्रिकाले कि नाम छाप्छन्, कि आफ्ना मान्छेको छाप्छन्, कि पहुँच र चिनाजानीको छाप्छन् । त्यो भद्रगोलमा को पसोस् भन्ने लाग्छ । तर यसो भनेर ती राष्ट्रिय पत्रिकामा मैले आफ्ना कृति नपठाएको भने होइन । पहुँच नपुर्याएको मात्र हो । पुरस्कारको प्रसङ्ग पनि साहित्य क्षेत्रमा भद्रगोल छ भन्छन्, तर मलाई केही थाहा छैन । थाहा हुन पनि किन पर्यो र ! नजाने गाउँको बाटो नखोज्नु भन्छन् ।

यो लेखिरहँदाका मिति (२०७७पुस)सम्म आइपुग्दा निकट भविष्यमा प्रकाशन गर्नका लागि १ लघुकथा सङ्ग्रह, १ कथासङ्गह, १ यात्रासंस्मरण तयारजस्तै छन् । त्यसो त छाप्यो भने त २ वटा सङ्ग्रहलाई पुग्ने समीक्षा पनि छन् । आफ्नै आत्मकथा पनि लेखिसकेको छु । दुई थान उपन्यास बाटोमा छन्, म बाचेँ भने ती आउनेवाला छन् । भारतका विभिन्न पत्रिकामा तथा सञ्जालमा प्रकाशित भएका हिन्दी भाषामा लघुकथाहरूको सँगालो पनि निकालूँ भन्दै छु । रहर त अङ्ग्रेजी भाषामा पनि एक थान लघुकथासङ्ग्रह प्रकाशन गर्नेतिर छु । काम भइरहेको छ । 

रहरले मात्र के हुन्छ र ! भोलि कसले जानेको छ र ! आँखाहरू निकै कमजोर भएका छन् । कान हद बोल्न थालेका छन् । शरीर बिसाउन अनुरोध गर्छ । परिवेश अनुकूल नहुन पनि सक्छ । यस्तो अवस्थामा म झन् –झन् छिटो कम्प्युटरको स्क्रिनमा औँला कुदाइरहेको छु । मलाई केही चाहिएको छैन । म चेतसहित जिउँदै छु भन्ने प्रमाण मात्र भए पुग्छ । पाठक तथा साथीभाइले म जिउँदै भएको कुरा सुने पुग्छ । अरू कुरा त जीवनको जस्केलाबाट के पो भन्न सकिन्छ र ! र पनि भन्न मन लागेको छ कि म जतिञ्जेल छु, साहित्यमा छु । किनकि म साहित्यमा रमाएको छु । यसले मलाई मेरा मानसपटलभरि कुदेर रौस्याएको छ । तर साहित्यको कुनै गुटमा छैन । कुनै उपगुटमा छैन । स्थापितका आग्रह पनि मसँग छैन । स्थापितका लामा इतिहासको गर्विलो कहानी पनि मसँग छैन । लपसिक्खाका कलिला बुद्धिलाई पनि मैले झेल्नु पर्दैनँ । म हिँडेको छु एउटा यस्तो यात्रामा र मलाई थाहा छ त्यो यात्रामा कहीँ पुगिँदैन । त्यसको कुनै जेनिथ छैन । र पनि म साहित्यमा हिँडिरहेको छु । हिँड्ने सबालमा म मग्नमस्तीको छु । मेरो हिँडाइ तीव्र छैन । कछुवा ताल छ, तर म हिँडिरहेको छु । चेत, बुद्धि, परिवेश, शक्तिले साथ दिउञ्जेल म तपाईँ पाठकहरूको सम्पत्ति हुँ । मलाई निर्देशित गरिरहनुहोस् । म लुरुलुरु बिनाप्रश्न हिँडिरहन्छु ।  

डिसेम्बर २८, २०२०

सान मार्कोस, अमेरिका

 

प्रकाशित: २० पुस २०७७ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App