३ कार्तिक २०८१ शनिबार
image/svg+xml
खेल

बेलबारी गोल्डकप फुटबल : उद्घाटन खेलमा झापा विजयी

मोरङमा शुक्रबारदेखि सुरु भएको सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उद्घाटन खेलमा झापा–११ फुटबल क्लब विजयी भएको छ। बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा भएको उक्त खेलमा झापा–११ ले भारतको कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलअन्तरले पराजित गरेको हो।

खेलको नवौँ मिनेटमा भारतको सिलिगुडीले गोल गरेको थियो । उसका लागि प्रनेश प्रधानले सान्त्वना गोल गरेका थिए। खेलको पहिलो हाफको ३५ औं मिनेटमा झापाका निरज कार्कीले आफ्नो टोलीका लागि पहिलो गोल गर्दै खेललाई बराबरीको अवस्थामा पुर्‍याएका थिए।

यसैगरी खेलको दोस्रो हाफमा झापा–११ ले थप चार गोल गरेको थियो। खेलको ५५औँ मिनेटमा झापा–११ का अभिषेक गुरुङले गोल गरेका थिए। लगत्तै ५९औँ मिनेटमा झापा–११ का  उत्सव राईले गोल गर्दै खेललाई ३–१ को अवस्थामा पुर्‍याए। उनले नै खेलको ७०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई ४–१ को अग्रता दिलाए।

यस्तै खेलको ७७औँ मिनेटमा झापा–११ का निकेश श्रेष्ठले गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए । आजको खेलको म्यान अफ दी म्याच झापा–११ का उत्सव राई घोषित भए। एलएक्स सिटी फुटबल क्लबको आयोजनामा आजदेखि सुरु भएको सो प्रतियोगिता कात्तिक १० गतेसम्म चल्नेछ। प्रतियोगितामा आयोजकसहित १० टोली सहभागी रहेका आयोजक समितिका अध्यक्ष विक्रम वान्तवा राईले बताए। शनिबार आयोजक एलएक्स सिटी फुटबल क्लब र चित्लाङ फुटबल क्लब काठमाडौँबीच खेल हुनेछ।

बेलबारी नगरपालिका र अखिल नेपाल फुटबल सङ्घ(एन्फा) र आरजु राइस मिलले आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले  आठ लाख र उपविजेताले  चार लाख पुरस्कार प्राप्त गर्ने छन्।  

प्रकाशित: २ कार्तिक २०८१ २२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App