३ कार्तिक २०८१ शनिबार
image/svg+xml
कला

कर्तव्य

कथा

 ममता मृदुल

 

विवाहको चहलपहल थियो । घरमा सबैका थिए । भिडभाड बीचमा शान्ति प्रफुल्लित थिई । शान्तिका बुबाआमा पनि खुशी थिए । राम्रो कुलघरान शिक्षित व्यवसायी ज्वाइँ पाएकोमा सबै हर्षित थिए । सुकोमल सुन्दर शरीर, शिष्ट व्यवहार सम्पूर्ण कुरा मिलाएर बनाएको सुन्दर कलाजस्तै शान्ति हेरिरहू लाग्ने थिई । शान्तिको मुहारमा अनौठो जादु थियो । गणेशविक्रमको नजरमा बसेकी उत्रन सकिन । शान्तिको विवाहमा आफ्नो हैसियतभन्दा बढेर गोवद्र्धनले खर्च गरे । आर्मीमा जागिरे गोवद्र्धनले छोरी अन्माएपछि शान्ति गणेशविक्रमको घरकी लक्ष्मी हुन पुगी । रमाइलो संसार थियो । प्रेमको बगैंचामा रमाएकी अनौठो अनुभूति नयाँ नातागोतामा भुलेकी थिई । बिहेपछि शान्तिको दिनचर्या राम्रैसँग बितेको थियो ।

दुई वर्षको सानो भाइलाई सबैले कन्हैया भन्थे । बिहे गरेको एक वर्षपछि शान्तिले छोरा जन्माई, घर परिवार सबै खुशी थिए । गणेशविक्रमले छोराको न्वारान धुमधामसँग गरे । सुत्केरी खान शान्ति माइत आई । एघार वर्षकी अम्बिका, सात वर्षकी जया शान्तिसँग धेरै झ्याम्मिए ।

एक महिनापछि छोरी घर पठाउन श्यामा कोसेली तयार पार्दै थिइन् । गोवद्र्धन जागिरमा नै भएकाले श्यामालाई सबै व्यवहार एक्लै गर्नुपरेको थियो । राति एघार बजेतिर सामान मिलाएर श्यामा आँगनमा निस्केकी थिइन्, केले छोक्यो अँध्यारोमा देखिनन् । हल्ला गरेपछि मान्छे भेला भए तर केले टोक्यो पहिल्याउन सकेनन् । अस्पताल जाने नजाने दोधारे कुरा भयो । श्यामाले अस्पताल नजाने निर्णय गरिन् । सबै सुत्न गए । अस्पताल नगएकी श्यामा बिहान सात बजे यमराजको अघि लागिन् । आँगनमा तुलसीको मठमा सधैं बिहान जल चढाउने आमा आफैं लमतन्न सुतेको देखेर कन्हैया छक्क परेको थियो । आमाको छेउमा बसेर कचौरामा भुटेको भात लिएर जुठो हातले आमाको छाती छाम्थ्यो । दूधको तलतल लागेर होला श्यामालाई छोड्न मानेकै थिएन । कन्हैयालाई आमासँग छुटाउन कसैले सकेनन् । कन्हैयालाई आमाको अनुहार छोपेको पटक्कै मन परेन कपडा तानेर हटाइदिन्थ्यो । शान्तिले धेरै प्रयास गरी तर मान्दै मानेन । वातावरण अश्रुपूर्ण भएको थियो । गोवद्र्धन आइपुगेपछि श्यामालाई सेलाए ।

माइतबाट विदा भएर घर जान तयार भइ बसेकी शान्ति घर जानुअगाडि श्यामा आफैं गएकी हुँदा शान्ति गइन । अम्बिका, जया, कन्हैया सँगसँगै छोरा पनि शान्तिले नै स्याहार्नुपरेको थियो । सत्र वर्षकी शान्तिले आमाको सम्पूर्ण भार आफ्नो काँधमा थापी । गाई, बाच्छा, खसी, बाख्रा सबै पालेकी श्यामा गएपछि त्यो काम शान्तिले गर्न थाली । जननी गुमाउनुको पीडा भाइबहिनीको जिम्मेवारीले मन कटक्क खाएको थियो । गणेशविक्रम आएका थिए । पन्ध्र दिनपछि शान्तिलाई घर जाऊँ भनेर गणेशविक्रमले भनेपछि शान्ति केही बोलिन । अर्को कोठामा भाइबहिनी सुतेका थिएनन् । शान्तिले अम्बिका, जयासँग तिमीहरू मेरो घर जान्छौ भनी । अम्बिकाको आँखामा आँसु आयो जवाफ दिइन् । जया टुलुटुलु हेरिरही । गोवद्र्धन पनि त्यहीँ आए । केही सोच्न सकेका थिएनन् । घरमा ज्वाइँ आएका छन् के गर्नु । शान्तिले मन बलियो पारी । संसार मायामा भुलेको छ माया नै मायाको संसार त्यागेर अवोध भाइबहिनीलाई सम्हाल्ने निर्णय गरी बहिनीको आँखाको डिलमा अडिएको आँसुको थोपाले मनमा ठूलो आँधी चल्यो । रातभरि मनमा हावा हुरी चलिरह्यो । असिनाले बारी नासेजस्तो बाढीले मन बगाइदियो । आफूले भाइबहिनीप्रति कर्तव्यको बोध गरायो । शान्तिले गणेशविक्रमलाई घर नजाने निर्णय सुनाएपछि एक्लै फर्के ।

सुत्केरी अवस्थामा सानो नानीलाई स्याहार पुगेन । तीन दिन लगातार आएको ज्वरो घटेन । अस्पताल पुगेर गणेशविक्रमलाई फोन गरी । छोरा विरामी भएको खबर पाएर गणेशविक्रम अस्पताल आए । पाँच दिन अस्पताल बसेपछि शान्ति एक्लै घर फर्की । आँसुको आहालमा डुबेकी शान्तिको छोरा दैवले चुँडेर लगिसकेको थियो । गणेश विक्रमले शान्तिलाई धेरै सम्झाए घर जाऊँ भनेर तर शान्तिले भाइबहिनीप्रतिको कर्तव्य नछाड्ने भएपछि अर्को विवाह गर्ने निर्णयमा शान्तिले स्वीकृति जनाई । आर्मी जागिरे गोवद्र्धन घर व्यवहार गर्न भ्याउँदैन थिए । धेरै माया गर्ने लोग्ने सम्पन्न घरपरिवार भाग्यले पाए पनि भोग गर्ने कर्ममा रहेनछ भन्ने ठान्थी । दुई जना बहिनीलाई पठाएर विवाह गराइदिई । दुवै ज्वाइँ जागिरे थिए । राम्रो घर गरेर बसेका थिए । बुबा पेन्सन थाप्ने र घरको बारीमा काम गर्थे । कन्हैया काम गर्दै पढ्दै थियो । एक दिन साँझमा शान्ति खाना पकाउँदै थिई, कन्हैयाले निलुलाई लिएर आएपछि बुहारी भियाएकी थिई । गाउँका छिमेकी, इष्टमित्र बोलाएर भोज ख्वाई । निलुलाई बुहारीको रूपमा पाएर शान्ति दङ्ग थिई । अबोध बालकले चकलेटको पोको भेट्टाएझैं शान्तिमा आनन्दको अनुभूति सञ्चार भएको थियो । बुहारी आए पनि शान्तिको घरधन्दा घटेन । निलुको लागि शान्ति आँखाको कसिङ्गर भई । सानो कुरा बढाएर ठूलो पार्नु निलुको लागि सामान्य कुरा थियो । कन्हैया निलुको कुरा सुनेर शान्तिलाई गाली गथ्र्यो । निलुले जे भने पनि आँखा चिम्लेर विश्वास गरेको थियो ।  

शान्ति बजार गएकी थिई । बाटोमा गणेशविक्रमसँग जम्काभेट भयो । दुवै मौन भएर एक अर्कालाई हेरिरहे । शान्ति केही बोल्न सकिन । गणेशविक्रमले सोधे–सन्चै छौ ? शान्तिका आँखा रसाए । बीस वर्षपछि एक्कासि भेट भएको थियो । मनमा लोग्नेको माया जीवित भएर आएको थियो । शान्ति आऊ चिया पिउँ भन्दै चिया पसलतिर बढे । शान्तिपछि लागेकी मनमा कुतकुती लागिरहेको थियो । मान्छेले देख भने भन्ने डर पनि लाग्यो । गणेशविक्रमलाई रोक्तै भनी सुन्नुस् त मलाई हतार छ । पछि पिउँला है ! गणेशविक्रमले अटल भएर भने शान्ति चिया पिऊँ । तिमीलाई भेट्ने इच्छा धेरै पहिला आए पनि खै केले रोक्यो । अब नरोक । चिया पिएर दुबै विदा हुँदा मोबाइल नम्बर साटासाट गरे । शान्ति आज धेरै खुशी थिई । खुशी मनभरि फैलिएर मन मीठो भएको थियो ।

कर्तव्यको पहाडमुनि थिचिएर कति बस्छ्यौ शान्ति अब घर आऊ भनेर गणेशविक्रमले भन्दा छक्क परेकी थिई । गणेशविक्रमले पटकपटक फोन गर्थे । शान्ति ! म तिम्रो आशामा छु भन्दा ऊ केही बोलिन । मनमनै सोचिरही मायाको भोक कसलाई लाग्दैन मलाई पनि माया गर्ने मान्छे होस् जस्तो लाग्छ तर कसरी जानु ? समाजले के भन्छ ? 

मनमा धेरै कुरा आउँछ । बूढो बाबुको स्याहार कसले गर्छ । निलु एक कप चिया बनाएर दिन्न । यस्तै सोधेकी थिई । गोवद्र्धन आइपुगे । शान्तिको मनमा कुरा खेलिरहेका थिए । निर्णय गर्न सकिन । शान्तिलाई बेचैन देखेर सोधेका थिए । शान्तिले गणेशविक्रमसँग भेट भएको कुरा भनिन् । गोवद्र्धन खुशी भएर घर जाऊ छोरी अब तिम्रो खाँचो यो घरमा छैन भने । शान्तिले मनमनै सोची मैले मेरो कर्तव्य पूरा गरें अब म स्वतन्त्र छु । रातभरि मनमा कुरा खेलिरहे । निन्द्रालागेन । बिहान चिया खान नपाएर निलु फत्फताउन थाली । कन्हैया शान्तिको कोठामा पस्यो । सुतेकी शान्तिलाई भान्छामा काम नगरेकाले कराउन थाल्यो । शान्तिलाई उठेर काम गर्ने जाँगर चलेन । कन्हैयाले गाली गरेर निस्केपछि गणेशविक्रमले फोन गरे । शान्तिले सन्चो छैन उठेकै छुइन भनेकी गणेशविक्रम गाडी लिएर आइपुग्दा शान्ति ओछ्यानमा नै थिई । गोवद्र्धनसँगको सामान्य कुराकानीपछि शान्तिलाई लिएर गए । बीस वर्षपछि मिलन भएर शान्तिले छोरा जन्माई । कर्तव्यपथमा ऊ निरन्तर लम्किरहेकी थिई ।  

प्रकाशित: २० पुस २०७७ १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App