खेमलाल पहारी
– तेरा छोराछोरी कता पढ्छन्, शान्ति ? विनाले सोधी ।
– अन्त कहाँ हुनु, बोर्डिङमा । उसले नाकका पोरा फुलाउँदै जवाफ तेर्स्याई अनि तेरा त उसले अलि हेयको भावमा सोधी ।
मैले पनि बोर्डिङमा अक्षर चिनाएर सरकारीतिर सारें । पछि सरकारले कोटामा टेक्निकल पढ्न दिन्छ रे क्या ।
विनाले यसो भन्दै गर्दा शान्तिले लोप्पा खुवाउँदै भनी– इस् दिन्छ कोटा । बरु खर्च धान्न साकिन भन न । किन लाज मान्छेस् ।
विना केही पनि बोलिन ।
विश्वव्यापी कोरोना कहरको चपेटामा सारा विश्व च्यापिइरहँदा शान्तिले विनालाई सोधेकी थिई– तेरा भुन्टाभुन्टीको के खबर छ ?
– के हुनु खै, स्कुलहरू पूरै बन्द भैहाले । निन्द्राका कालहरूलाई तिनपाथी घिच्न र खेल्न पाए पुग्यो । पढाइलेखाइ त परै जाओस् आफ्नै नाम लेख्न समेत भुलिसके ।
– अई, तिनको स्कुलले अनलाइन कक्षा खोलेको छैन र । हाम्रालाई त ढुक्क छ, बाई । सरमिसले ठूलीलाई दिनको चारचार घण्टा पढाएका छन् र बाबुलाई पनि जानेको नभुलोस् भनेर दैनिक विषय मिलाएर एकडेढ घण्टा पढाएकै छन् । उतिबेला केके न जान्ने टोपलिएर स्कुल सरिस् । अहिले केको खसखस गर्छेस् । शान्तिले मर्ममै पुग्ने गरी भनी ।
– अनि फि नि, फि विनाले सोधी ।
पढाएपछि दिल खोलेर तिरिन्छ । बाबै, अनलाइनमा सरमिसलाई कम्ता दुख छ । एक घण्टा पढाउन पूरै दुई अढाई घण्टा तयारी गर्नुपर्छ ।
तिहारपछि फाट्टफुट्ट स्कुल खुले । नानीबाबु झोला भिरेर कान र नाकमा मास्क चढाएर स्कुल हिंडे र परीक्षा समेत दिए ।
आज विनाले शान्तिलाई स्थानीय टेलिभिजनमा बोल्दै गरेकी देखी ।
शान्ति भन्दै थिई– अहँ तिरिन्न । एक पैसा तिरिन्न । अनलाइन पढ्न दिएको मोबाइलमा ग्याम खेलेर हाम्रा छोराछोरी बिग्रेको क्षतिपूर्ति कसले दिन्छ नि हाम्लाई ? घरमा नेट जोडेको पैसा कसले दिन्छ नि हाम्लाई ? मोबाइल किनेको पैसा कसले दिन्छ नि हाम्लाई ?
प्रकाशित: २० पुस २०७७ ०८:३७ सोमबार