२२ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

मेनाबती

बसपार्कको दक्षिणपट्टि थानाको छेउमा मेनाबतीका बाआमाको चिया पसल छ। पसलमा चियासँगै आलुचप, पकौडा, प्याजी, मटरआलु तरकारी र चिउरा पाइन्छ। पसल व्यस्त तरिकाले चल्छ। उनका बाआमालाई पसलमा भ्याइनभ्याई हुन्छ। उनी बाआमालाई सघाउन प्रत्येक दिन पसल आउँछिन्। उनलाई पसलमा बस्न औधि मन पर्छ। पसलमा उनी थरीथरीका मान्छेलाई हेर्न पाउँछिन्।  

१४ वर्षकी उनलाई काम गर्न भने त्यति मन पर्दैन। उनी धेरै चञ्चल छिन्, सिमलको भुवाजस्तै हलुका मनकी। उनका अनेक रहर र सपना छन्। काम गर्दा शृंगार बिग्रिन्छ कि भन्ने डर उनलाई लागिरहन्छ। उनी पसलमा जुठा थाल र कप माझ्ने, ग्राहकले दिएका पैसा राख्ने गर्छिन्। उनको बायाँ हातका औँलाका नङ लामालामा छन्। नङमा सस्तो खालको रातो नेल–पोलिस लगाएकी छिन्। भाँडा माझ्दा र चियाका गिलास धुँदा नङमा कालो फोहोर छिर्छ र उनलाई दिक्क लाग्छ।  

शुक्रबार बेलुकी, उनले क्रिम पाउडर र लिपिस्टिक बाक्लै दलिन्। उनी निस्केको देखेर उनकी आमाले उनलाई, ‘कहाँ जान लागेकी ?’ भनेर सोध्छिन्। ‘साथी आशासँग सिनेमा हेर्न जाँदै छु’ भन्दै उनी निस्किन्छिन्। यसअघि उनी साथीहरूसँग धेरैपटक सिनेमा हेर्न गएकी थिइन्, त्यसैले आमाले उनलाई रोक्दिनन्।  

आशाको घर पुग्न उनले १० मिनेट जति खेतको फाँट हिँड्नुपथ्र्यो। फाँट सुनसान थियो। प्रायः उनी आशाको घर जाँदा त्यही बाटो हिँड्ने भएकाले उनी निर्धक्क थिइन्। फिल्मको मध्यान्तरमा उसिनेको अन्डा, अमिलो–पिरो चटपटे जिब्रो पड्काउँदै खाने सोच्दै उनी आफ्नै धुनमा हिँडिरहेकी हुन्छिन्। त्यहीबेला पछाडिबाट कसैले उनको मुख बेस्सरी हातले थुन्छ। उनले आवाज निकाल्न पाउँदिनन्। उनले टाउको फर्काएर समातेको मान्छेतिर हेर्न खोज्छिन्, त्यस मान्छेले अनुहारमा नकाब लगाएको हुन्छ। उनले उसको आँखा देख्छिन्, तर को मान्छे भनेर चिन्न सक्दिनन्। कसेर अँठ्याएकाले उनी हलचल गर्न पनि सक्दिनन्। उनलाई त्यो मान्छेको जिउ फलामजस्तै साह्रो लाग्छ। उनी हातखुट्टा फाल्दै गुहार मागिरहेकी हुन्छिन्।  

यो मान्छे को हो ? किन जबर्जस्ती अठ्याउँदै छ ? कहाँ लैजाँदै छ भन्ने सोचेर उनको मनमा गहिरो भय पलाउँछ। खेत भएकाले सुनसान थियो, कोही मान्छे हिँड्डुल गरेको मौका पनि परेको थिएन। जति कराउन खोजे पनि मुख थुनिदिएकाले मेनाबतीको आवाज निस्किएन र कसैले थाहा पाएन। खेतनजिकै बाली रुँग्नका लागि छाप्रो बनाइएको थियो। नकाबधारीले उनलाई अँठ्याउँदै त्यही छाप्रोमा लैजान्छ। छटपटाउँदै फुत्किन उनले हर प्रयास गर्छिन्, तर, उनको प्रयास असफल हुन्छ।  

छाप्रोमा लगेर त्यो नकाबधारीले उनलाई तीन–चार झापट हिर्काउँछ। उनको टाउको र निधार झमझम गर्दै दुख्न थाल्छ। उनी दुखाइ सहन नसकेर अर्धचेतजस्तै हुन्छिन्। उनी साहस बटुल्दै आँखा पुलुक्क हेर्छिन् र नकाबधारीलाई एक झापट हान्छिन्। हात टोक्दै उसको नकाब खोल्न लाग्छिन्। नकाबधारीले उनको हात बेस्सरी अठ्याउँछ। अनि, उनको कुर्थाको तल्लो भाग च्यातेर डल्लो पारी मुखमा कोचिदिन्छ, अनि सलले मुख बाँधिदिन्छ। उनी कराइरहेकी हुन्छिन् तर आवाज मुखभित्रै थुनिन्छ। उनी डरले पसिनैपसिना हुन्छिन्।  

नकाबधारीले यताउता हेर्छ। छाप्रोको छेउमा डोरी थियो। डोरी ल्याएर उसले मेनाबतीको हात बाँध्न थाल्छ। उनले नकाबधारीको हातमा दाँतले टोक्दै पेटमा लात्तीले हिर्काउँछिन्। नकाबधारीले उनलाई फेरि झापट हिर्काउँछ। उनी टाउको हल्लाउँदै, ‘मलाई घर जान दे’ भन्दै बिन्ती गरिरहेकी हुन्छिन्। उनको अनुरोध त्यो मान्छेले सुन्दैन। मुख र हात बाँधिएपछि उनी भयले काम्न थाल्छिन्। डर र सन्नाटा चिरेर आफ्नो नाकबाट निस्केको सासको आवाज र नकाबधारी चलेको आवाज मात्रै उनले सुनिरहेकी हुन्छिन्। उनी बली चढाउन तयार राखिएको बोकोको हालतमा थिइन्, बोको बरु अबोध भएकाले डराउँदैन, तर उनको डरले सीमा नाघ्दै थियो।  

नकाबधारीले हात बाँधेपछि उनको खुट्टामाथि बसेर कुर्था च्यात्छ। उनी सकिनसकी बल लगाउँदै विरोध गर्दै जिउ कुप्रो पार्छिन्। नकाबधारीले उनका कलिला स्तनलाई निर्ममतापूर्वक समाउँछ, अँठ्याउँछ। उनी डरले छटपटाउँछिन्। छातीका मासुहरू च्यातिएर रगत बगेको जस्तो पीडा हुन्छ उनलाई। केहीबेर उसले उनका मासुका डल्ला झम्टिँदै र कोपर्दै गर्छ। उसमा कुुनै प्रकारको दया, माया र संवेदना जाग्दैन। गिद्धले सिनो लुछेर भोक भेटेजस्तै ऊ आफ्नो पाशविक भोक मेटिरहेको हुन्छ।  

उनले खुट्टा चलाउन खोज्छिन्, थिचिएकाले सक्दिनन्। यताउति चल्न खोजे नकाबधारीले कुटिहाल्थ्यो। नकाबधारीले मनलागी उनको जिउ, घाँटी र गालामा कोपर्छ। पीडा भएर उनी दुई हात पर उफ्रिन खोज्छिन्, तर सक्दिनन्। मुखमा लुगा कोचिएकाले आवाज निकाल्न सक्दिनन्। उनलाई श्वास फेर्न पनि सकस हुन्छ। ऊबाट थिचिँदा र उसले कोपर्दा शरीर दुखिरहेको हुन्छ। उनी पसिनैपसिना हुन पुग्छिन्। आँखाबाट आँसु बगिरहेको हुन्छ। उनी बाआमालाई झलझली सम्झन पुग्छिन्। बा–आमाले उनलाई धेरै सुरक्षित तरिकाले राखेका थिए, खुबै माया गर्थे, त्यो सम्झेर उनको भक्कानो फुट्छ।  

नकाबधारीले न अनुहार देखाइरहेको हुन्छ, न त एक शब्द बोलेको हुन्छ। मात्र मनपरी तरिकाले उनको मासु लुछिरहन्छ। कसैलाई यौनांग नदेखाएकी उनी आफ्नो अस्मिता बचाउन बल गर्दागर्दै गलिसकेकी हुन्छिन्। मानसिक रूपमा उनी डराएर अर्धचेत भइसकेकी हुन्छिन्। जिउ लुछिसकेपछि त्यसले उनको सुरुवाल फुकाल्छ। उनी अर्धचेत भइसकेकीले कुनै प्रकारको विरोध गर्न सक्दिनन्। उसले उनको खुट्टा फट्टाएर यौनांग नियालेर हेर्छ र थुक निल्छ। त्यसपछि यौनांग चिमोट्छ, मनपरी चलाउँछ, थिच्छ। त्यसपछि उसले आफ्नो अन्तिम पाशविक रूप देखाउँछ। अर्धचेत अवस्थामा पनि उनी त्यो पीडा सहन सक्दिनन्।  

उनका आँखाबाट आँसुको भेल बग्छन्। उनले विभत्स पीडा महसुस गर्छिन्। उनको स्वर सुकिसकेको हुन्छ। आफ्नो भोक मेटेपछि नकाबधारीले बलात्कार गर्न छाड्छ, त्यही बेला कसोकसो अर्धचेत अवस्थामै उनले बलात्कारीको नकाब खोल्न पुग्छिन्। बलात्कारीको अनुहार हेरेर उनी अचम्ममा पर्छिन्। बलात्कारी आफ्नै पसल छेउको, स्वास्नी र दुई छोरा भएको भट्टीपसले चतुर हुन्छ। उनी चतुरलाई औँला ठड्याउँदै आवाजबिना भन्छिन्, ‘तँलाई मेरा बाआमाले छाड्ने छैनन्।’ चतुरले हतपत नकाब लगाउँछ र उनलाई गालामा झापट हान्छ।  

बेलुका अबेरसम्म छोरी नफर्केपछि मेनाबतीका बाआमा डराउँछन्। उनका बा उनलाई खोज्न गाउँटोलतिर जान्छन्, मेनाबतीका सबै साथीहरूको घरमा पुग्छन् तर कतै मेनाको पत्तो पाउँदैनन्। उनी रातभरि खोजेर उज्यालो नहुँदै घरमा आएका हुन्छन्। कसैले खबर ल्याउँछ– बजारको तीन किलोमिटर पश्चिम तिल खेतमा मेनाबतीको शव भेटियो। शव विभत्स अवस्थामा थियो, शरीरभरि नीलडाम थिए, कपडा च्यातिएको थियो– यस्तो खबर फैलिएपछि टोल नै डराउन थाल्छ।  

मेनाबतीका बाबुआमा शव भएको ठाउँमा पुग्छन्। त्यहाँ पुलिस र मानिसहरूको भीड थियो। मेनाबतीले लगाइएको चाँदीको सिक्री घाँटीमा थिएन। एउटा कानमा मात्र झुम्का थियो। कपाल जिङरिङ्ग, अनुहार सुनिएको र ओठमा घाउ थियो। प्रहरीले मेनाबतीकै पसलमा चिया खाने भएकाले उनको शव चिन्छ। प्रहरीले नै मेनाबतीका बाआमालाई खबर पठाएको थियो। शव देख्नेबित्तिकै उनका बाआमा डाको छाडेर रुन थाल्छन्।  

प्रहरीले पोस्टमार्टमका लागि मेनाबतीको शव अस्पताल पठाउँछ। जाँच गरेपछि थाहा हुन्छ, उनलाई बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको हुन्छ। नाबालिग मेनाबतीको बलात्कारपछि हत्या भएको खबर स्थानीय मिडियाले हावाजस्तै फैलाउँछन्। बाल अधिकारकर्मी, सामाजिक कार्यकर्ता, नागरिक समाज र महिला अधिकारकर्मीले घटनाको दोषी पत्ता लगाई कारबाही गर्न प्रशासनलाई दबाब दिन्छन्, आन्दोलन सुरु हुन्छ।  

अर्को दिन बजार बन्दको घोषणा हुन्छ। यो खबर देशभरि फैलिन्छ। देशका अधिकांश मिडियामा खबर आउँछ, यस जघन्य अपराधको विरोध गरिन्छ। उनका बाआमा पनि धर्ना बस्छन्। देशका ठूला सहरमा न्यायप्रेमी अपराधीलाई कारबाहीको मागसहित सडकमा ओर्लन्छन्।  

६ महिना बित्छ। न्याय पाउने कुनै लक्षण हुँदैन। अपराधी पत्ता नलागे पनि सरकार उनका बाआमालाई राहत दिन तयार हुन्छ, तर उनका बाआमाले राहत लिन अस्वीकार गर्छन्। राहतले छोरी फर्काउन सकिँदैन। उनीहरूको माग थियो, अपराधी पत्ता लगाएर कारबाही गर्नू। बलात्कारीलाई फाँसीको सजाय दिनू।  

एक वर्ष बित्यो, हत्यारा पत्ता लागेन। त्यसपछि उनका बाआमा निराश भए। बाध्यतावश राहत लिन तयार भए। यो घटना यसै सेलाएर गयो। एक वर्षपछि चतुरको भाइ गंगु चिया खान मेनाबतीको पसल आउँछ। त्यतिबेला मेनाबतीकी आमाको आँखा गंगुको घाँटीमा पर्छ। उसले मेनाबतीको जस्तै चाँदीको सिक्री लगाएको थियो। सिक्री देखेपछि उनी पकौडा तार्न छाडेर गंगुको छेउमा गएर घाँटीमा आँखा गाड्दै भन्छिन्, ‘यो सिक्री मेरी मेनाको हो। कहाँ पाइस् ?’  

गंगुले कमिज सम्याउँदै घाँटीको सिक्री छोप्छ र भन्छ, ‘यो सिक्री कसको हो भन्ने मलाई थाहा छैन। मलाई चतुरदाइले दिएका हुन्। चतुरको नाम सुन्नेबित्तिकै उनले चतुरको भट्टीतिर हेर्छिन्। भट्टीमा चतुर थिएन। गंगु डराएर त्यहाँबाट चिया नखाई निस्कन्छ।  

मेनाबतीका बाआमाले प्रहरी चौकी गएर सबै वृत्तान्त बताउँछन्। प्रहरीले त्यही साँझ चतुरलाई पक्रन्छ। चतुरलाई प्रहरीले समातेर लैजाँदा मेनाबतीका बाआमामा न्याय पाउने झिनो आशा पलाउँछ। भोलिपल्ट बिहान प्रहरी थानाअगाडि ठूला मान्छेहरू कार चढेर आएको मेनाबतीकी आमाले देख्छिन्। उनलाई लाग्छ, कुनै काण्ड भएको होला सहरमा। तर, ती मान्छे निस्केलगत्तै चतुर पनि थानाबाट हाँस्दै निस्किन्छ। उसले मेनाबतीका बाआमाको पसलतिर हेरेर थुक्छ। ती मान्छेहरू चतुरलाई छुटाउन जम्मा भएका थिए भन्ने सुइको बल्ल उनले पाउँछिन्।  

मेनाबतीका बाआमा तुरुन्तै प्रहरीकहाँ गएर चतुर किन छुटे भनी सोध्छन्। प्रहरीले उनीहरूलाई सिधै भन्छन्, ‘चतुर तिम्रो छोरीको हत्यारा होइन। सिक्री पनि तिम्री छोरीको होइन।’ प्रहरीको कुरा मेनाबतीका बाआमालाई विश्वास लाग्दैन। उनीहरूले पुनः हत्यारा पत्ता लगाइदिन प्रहरीलाई बिन्ती गर्छन्। जवाफ आउँछ, ‘हत्यारा पत्ता लागेपछि खबर गर्छौैं।’  

डेढ वर्षजति बितेको थियो, हत्यारा पत्ता लाग्ने आशा धमिलिँदै गएकाले मेनाबतीका बाआमा निराश थिए।  

एक बेलुकी। सबै ग्राहक गइसकेका थिए। मेनाबतीकी आमा पम्पमा जुठा भाँडा मस्काइरहेकी थिइन्। पम्प चतुरको भट्टीसँगै जोडिएको थियो। मेनाकी आमा पम्पमा भएको चतुरले थाहा पाउँदैन। हातमा दारुको गिलास लिएको चतुरले फोनमा बोल्दै गरेको उनले सुन्छिन्, ‘मेनाबतीजस्तै माल फेरि पाएको भए, आह !’  

चतुरले बोलेको वाक्य सुनेर मेनाबतीकी आमाले गिलास मस्काउन छाडेर चतुरको पसलतिर हेर्छिन्। पसलमा ग्राहक थिएनन्। उनी रिसले रातोपिरो हुन्छिन्। केही देख्दिनन्। रिसले उनको जिउ थरर्र काम्छ। उनी दाँत किट्दै आफ्नो पसलभित्र गएर पैसा राख्ने बाकसको छेउमा भएको खुकुरी उठाउँछिन्। आफ्नी श्रीमतीले खुकुरी बोकेर निस्केको देखेर मेनाका बाले पछ्याउँदै सोध्छन्, ‘कहाँ जान लागेकी ? के भयो तँलाई ? किन केही बोल्दिनस् ?’  

उनी केही नबोली सरासर चतुरको पसलमा गएर दारु पिउँदै गरेको चतुरको घाँटीमा पछाडिबाट खुकुरीले हान्छिन्। चतुर भुँइमा पछारिन्छ तर ऊ उठेर भाग्न खोज्छ। उनले अर्कोपटक खुकुरी प्रहार गर्दै भन्छिन्, ‘अपराधी ! मेरी छोरीको ज्यान किन लिइस् ?’ दुईपटक घाँटीमा खुकुरीले हानेपछि उनले उसको पेटमा खुकुरी घोप्छिन्।  

चतुरको घाँटी र पेटबाट रगतको धारा बग्न थाल्छ। चतुरले सकिनसकी हात जोडेर माफी माग्दै नमार्न आग्रह गर्छ।  

सबै हेरिरहेका मेनाबतीका बाले अड्कल लगाए, चतुर नै अपराधी रहेछ। हुन त उनीहरूलाई चतुरप्रति नै शंका लागेको थियो, तर आफ्नै कानले सुनेपछि झन् विश्वास भयो।  

चतुरले माफी मागेको देखेपछि मेनाबतीका बाको जिउभरिको रगत उम्लिन थाल्छ। उनले पसलको छेउमा रहेको ठूलो ढुंगो उठाएर चतुरको टाउकामा बजार्छन्। चतुरको टाउको छताछुल्ल हुन्छ।  

त्यतिन्जेल केही मान्छे दगुर्दै ‘के भयो, के भयो’ भन्दै त्यहाँ आउँछन्। हातमा भएको खुकुरी फाल्दै मेनाबतीकी आमाले भन्छिन्, ‘प्रहरीलाई बोलाओ। हामी हाँसी–हाँसी जेल जान तयार छौँ, तर छोरीको विरहमा तड्पेर बाँच्न सक्दैनौँ। मेरी छोरीले आज न्याय पाई। समाजको विष पखालियो।’

प्रकाशित: ४ पुस २०७७ ०५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App