१ माघ २०८१ मंगलबार
image/svg+xml
कला

क्षमा

लघुकथा

लक्ष्मी पोखरेल 

 

समयले सबैको साटो पुरयाइदिन्छ । अझ भनौं सबैको साटो फेरिदिन्छ । यो लोकमा भए गरेका पाप र पुण्य भनाउँदा कर्मका फल र लेखाजोखा मृत्यु लोकमा अवश्य हुन्छ भन्ने जनश्रुति मिथ्या हो भनी पत्याउने आधार बग्रेल्ती र यथेष्ठ हुन्छन् । यी र यस्ता कुरा नितालाई  उतिबेला छर्लङ्ग भो, जतिबेला  उनी आफ्नो जाहेरी दरखस्त लिएर प्रहरी महिला सेल पुग्दा आफ्नी समकालीन र कलेज ताकाकी सहपाठी अप्सरालाई उक्त सेलको प्रमुखको पदमा देखिन् । अप्सरालाई देखेलगत्तै निता विगतमा गुजुल्टिन पुगिन् ।  

पहाडका दुर्गमबाट तराईका समथर र सुगममा उच्च शिक्षाका लागि झरेकी अप्सराका लवज, पहिरहन, शहरको छाँटसँग कत्ति पनि मेल नहुने तिनको ढर्रा र पारा आदि निता र निताको जमातका लागि खिसीटयुरीका विषय हुन्थे । अप्सरालाई होच्याउन तिनीहरू कुनै अवसर र दाउ खेर जान दिँदैन थिए । दुखजिलो सहेकी, आफ्ना घरको अवस्था बुझेकी र आफू केका लागि बाआमाको स्नेहबाट टाढिएर र घरभन्दा पर आएकी हुँँ भन्ने सधैं हेक्का र त्यही कुरालाई गुरुतर जानेकी अप्सरा भने निताहरूका हेपाइ र दुर्वचन कहिले सहिदिन्थिइन् कहिले अर्को कानबाट मिल्याइदिन्थिन् । आफू पढ्नै मात्र आएकी थिइन् । पढिन् । गतिलो श्रेणीका प्राप्ताङ्कले उत्तीर्ण पनि भइन् । त्यसैबेलादेखि निताको मुख देख्न परेको, जुरेको होइन । निता त आफ्नो मस्तिष्क र स्‍मृतिबाट हराइसकेकी पो थिइन् ।

आज सामुन्ने उही निता आफू पतिद्वारा अपहेलित, ताडित, मानसिक र शारीरिक यातनाबाट मुक्त होइपाऊँ र निज पतिलाई कारवाही गरिपाऊँ भनी हात जोडी आफ्ना सामुन्ने देख्न पाउँदा बलिष्ठ त सम्यभन्दा अरूथोक जगतमा क्यै रहेनछ भन्ने कुरा अप्सरालाई अझ स्पष्ट भयो । उहिलेको ईवीको बादला लिने योभन्दा उपयुक्त अवसर अर्को कहिले आउँला– नआउँला भन्ने कुरा अप्सराले एक मनले सोचिन् । साटो फेर्न र  बदला लिन इच्छुकले दुईटा चिहान खन्नुपर्दछ भनी अन्तस्करणले भन्यो । एउटा शत्रु भनिँदा लागि अर्को बदलाको कलुषित भावले भित्राभित्रै गालेको आफ्नै लागि । 

अप्सराले निताका निम्ति चिसो पेय ल्याउन अराइन् र उजुरी सुन्न थालिन् ।

प्रकाशित: १ पुस २०७७ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App