१६ असार २०८१ आइतबार
image/svg+xml
कला

ज्ञानी कोरोना

बालकथा

 

                                                                                                                                                                                     सुशीला  देउजा

 

जाडोलाई बिदाईको हात हल्लाउँदै मोटा लुगाहरू थन्काउने बेला हो फागुन जाँदो र चैत्र महिना लाग्दो । यस बेला घाममा पनि बस्न सकिदैन । भित्र बस्दा पनि पातलो स्वीटर छोडन मन लाग्दैन । बडो असहज बेला जस्तो लाग्छ मलाई । दिउँसोतिर म बैठक कोठामा आजको कान्तिपुर पत्रिका पल्टाएर त्यसमा नजर गाडी रहेकी थिए । भरखर मात्र चीनमा देखा परेको कोरोना कहरले युरोपमा पनि हमला गरिसक्यो रे । कैयौको ज्यान गइसक्यो भन्ने दुखद समाचार पढेर अति दुखी भए । साथै एक किसिमको त्रास पनि मनमा फैलियो । त्यसै बेला मेरी पाँच बर्से नातिनी ‘सिरिन’ आएर म संगै बसी । निकैबेरसम्म मैले उसलाई ध्यान नै दिई रहेकी थिइन् । सुक्कसुक्क आवाज सुनेर ऊतिर फर्केर हेरे । ऊ आँसु चुहाउदै रहिछ । मैले हतरपतर मायाले अगाल्दै सोधे ‘के भयो बाबा ? मेरी प्यारी नातिनीलाई के भयो आज’ ? 

‘आज मलाई बाबाको कस्तो माया लागिरहेछ । कति धेरै दिन भइसक्यो बाबासंग भेट नभएको, बाबासंग खेल्न नपाएको, बाहिर घुम्न जान नपाएको’ ।

मैले उसलाई फकाउँदै भने, ‘तिम्रो बाबाको धेरै काम छ नानु । बिहान चाडै काममा जानुपर्छ । राति आउँदा तिमी निदाइसकेकी हुन्छौ । त्यसैले तिम्रो भेट नभएको’ ।

उसले आँसु पुछी र अलि आवेगमा आउदै सोधी ‘हैन बाबालाई मात्र किन यति धेरै काम गर्नु परेको !’  

‘किन नि पैसा कमाउन !’  

‘पैसा किन कमाउन प¥यो ?’

‘पैसा नकमाए तिमीले मिठो मिठो खाने कुरा कसरी खान्छौ । राम्राराम्रा लुगा कसरी लगाउछौ । बाबासंग घुम्न गएर खेलौना कसरी किन्छौ’? यति सम्झाउँदा पनि उसको चित्त बुझेन । दिक्क भएकी सिरिनले मसंग गुनासो पोख्दै भनी,  ‘थाहा छ आमा मेरो साथी ‘एरिका’को बाबा कस्तो स्वीट हुनुहुन्छ । काममा पनि जानु हुन्न । एरिकालाई स्कुल पु¥याउने , स्कुलबाट ल्याउने, अनि आफनै हातले खाना खुवाउने गर्नुहुन्छ । बेलाबेला गाडीमा राखेर घुमाउन लैजानुहुन्छ । खेल्ने कुरा किनिदिनु हुन्छ रे । कति माया गर्नुहुन्छ आफनो छोरीलाई’ । अँध्यारो अनुहार लगाउदै अर्काेतर्फ फर्केर एकलै फतफताइर्, ‘मेरो बाबाले मात्र मलाई माया गर्नु हुन्न । न छोरीसंग खेल्नु हुन्छ । न गाडीमा राखेर घुमाउन लैजानुहुन्छ । न खेल्ने कुरा किनिदिनुहुन्छ । केही पनि गर्नु हुन्न किन होला?’ भन्दै मुख फुलाएर बसी । मुस्कुराउदै मैले सिरिनलाई काखमा राखेर मायाले सुमसुमाउदै भने, ‘त्यस्तो सोच्नु हुदैन नानु । तिम्रो बाबाले तिमीलाई कति माया गर्नुहुन्छ । ’

‘त्यसो भए किन घरमा चाडै आउनु हुन्न त ?’ अलि चर्किएर भनि ।

‘तिम्रो बाबाको धेरै काम छ क्या । फुर्सद भएको वेला त लगि हाल्छनी । तिम्रो बाबाले नलगे के भो त ? हामी छदै छौ नि । वुवाले मैले स्कुल ल्याउने पु¥याउने गरिहाल्छौ । मामुले खाना खुवाइहाल्नुहुन्छ । बेलाबेला मामुले घुमाउन लग्नुहुन्छ । हामी सबैले तिमीलाई कति माया गर्छाै । ’

उसले मेरो कुरालाई बेवास्ता गर्दै भनी, ‘नाई मलाई एरिकाको बाबाले गरेजस्तै मेरो बाबाले पनि मलाई गर्नुप¥यो । बाबासंग खेल्नुप¥यो । बाहिर घुम्नुप¥यो । मलाई बाबा कस्तो मन पर्छ बाबाको कति माया लाग्छ’ भन्दै आँखाभरि आँसु पारी । मेरो कुरा उसलाई चित्तबुझदो लागेन कि फतफताउदै उसको खेल्ने कोठामा तर्फ गई ।

कोरोना कहरको असर अब नेपालमा पनि देखापर्न थाल्यो । केही समयपछि त लकडाउन पनि सुरु भइहाल्यो । बाहिर आवतजावत सबै ठप्प भयो । अब सिरिनको बाबाको घरमै बास हुन थाल्यो । बिहान उठेदेखि राति सुत्ने बेलासम्म पनि बाबालाई घरमै देखेर सिरिन ज्यादै खुसी भई । बाबालाई एकछिन पनि छोडदिन । खादा संगै सुत्दा संगै बाबाकै वरिपरि लुटपुटिरहन्छे । अब त खाना पनि बाबाले नै खुवाउने भनी जिद्धी गर्छे । बाबाले खुवाउदा खुसी भएर खान्छे । बाबाको हात तान्दै बगैचामा खेल्न लैजान्छे । बाबालाई एकपल पनि छोडदिन । बल्ल उसले चाहेजस्तै भएको छ । बाबासंग लामो समय यसरी बिताउन पाएकी सिरिन फुरुङ परेकी छे । 

एकदिन सबैजना खाना खादै गर्दा खुसी हुदै उसले भनी, ‘होकि बाबा यो कोरोना कति ज्ञानी रहेछ । ’  अचम्म मानी सबैले एकसाथ सोधे, ‘किन र ?’ ‘किन नि, ऊ आएर त हो बाबा घरमा बस्न पाउनुभएको । मैले बाबासंग खेल्न पाएको । मलाई त कोरोना कस्तो मन परयो ।’ उसको यस्तो अबोध कुराले सबैको एकसाथ हाँसोको फोहरा छुटयो । सबै हाँसोको देखेर सिरिन अचम्म मानी सबैलाई पालैपालो हेर्दै थिई ।  

प्रकाशित: २७ मंसिर २०७७ ०७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App