३ पुस २०८१ बुधबार
image/svg+xml
कला

शुभेच्छा

कथा

सुनिल पोखरेल  

 

रोल नं एक सुजन पोखरेल– हाजिर सर !  

रोल नं दुई शुभेच्छा सिंह ठकुरी–प्रिजेन्ट सर !

वैैशाखको दुई गते गुरुले अघिल्लो वर्षजस्तै योपालि पनि हाजिर बोलाए । उही रोलक्रम कक्षा  एकदेखि नै जारी छ । यो वर्ष उनीहरूको विद्ध्यालय शिक्षाको अन्तिम वर्ष अनि यो पहिलो दिन थियो । यानकी यो शैक्षिक वर्षको अन्तमा उनीहरू प्रवेशिका दिँदै थिए । सुजनको हाजिर जनाउने शैलीमा कहिल्यै परिवर्तन आएन । बुवाले उसलाई सुरुको दिन विद्यालय लैजानुभन्दा अगाडि नै सिकाएका थिए कि गुरुले नाम बोलाएपछि हाजिर सर भन्न ।. कुनैकुनै कक्षामा अंग्रेजी पढाउने गुरु र गुरुआमाले हाजिर बोलाउँदा उसको हाजिर जनाउने शैलीप्रति आपत्ति नै जनाए । एकचोटि एन्जोलिना मिसले त खाउँलाझै गर्दै भनिन् “सुजन योर रोल नं इज वान बट ह्वाई यु प्रेजेन्ट इन दिस ओल्डी म्यानर ? से प्रिजेन्ट म्याम अर यास म्याम ह्वाइल आई कल्ड योर नेम !” उस्ले सोझै उत्तर फर्कायो “आइ कान्ट डु सो म्याम !”  मिसको रिसको पारो चड्यो ।  

“ह्वाई यु कान्ट डु सो, यु भिलेज ब्वाई, यु नट्टी फेलो, ईफ यु डन्ट डु सो आई विल मेक यु सेकेन्ड नेक्स्ट इयर एण्ड शुभेच्छा विल वि फस्ट !”  सुजन कक्षा एकदेखि नै यहीं सामुदायिक विद्यालयमा पढ्दै छ र निरन्तर कक्षा प्रथम र बोर्ड प्रथम समेत । २०५८ सालमा क्रान्तिकारीहरूले निजी विद्यालयको खरो विरोध गर्दै बन्द गर्न चेतावनी दिएपछि गाउँशहरमा भएको बोडिङ स्कुल बन्द भयो र शुभेच्छा पनि सामुदायिक विद्यालयमा पढ्न आई एक कक्षा फड्को मार्दै कक्षा तीनमा ।

मिसको यो कुराले ऊ दुखी भएन बरु कताकता शुभेच्छाका लागि उसको मनमा खुसी पलायो । संगै पढेको पनि ५ वर्ष भैसक्यो । ऊ सधै प्रथम र शुभेच्छा सधै दितीय । पढाइमा प्रतिस्पर्धी जस्तो देखिए पनि उनीहरूको बिचमा व्यक्तिगत सम्बन्ध निकै राम्रो थियो । उनीहरूको सम्बन्ध साथीभन्दा पनि माथि छ भनेर बेलाबेला हल्ला नचलेको होइन । हेडमास्टर पण्डित यदुविलासको कानमा समेत यो कुरा नपुगेको पनि होइन तर दुवै मेधावी विद्यार्थी भएकाले उनले यो कुरामा चासो राखेनन् । शुभेच्छा हुनेखाने ठकुरी खानदानकी केटी थिई । केही समय बोर्डिंङ स्कुलसमेत पढेकी हुनाले उसको अंग्रेजी ग्रामर र स्वास्थ्य तथा विज्ञान बिषयमा राम्रो थियो । त्यसैले कक्षाका साथीहरू तथा केही शिक्षकहरूको बुझाइमा शुभेच्छा नै प्रथम हुनुपर्ने ठहर थिया । तर गणित, नेपाली, संस्कृत र अन्य विषय सुजनको निकै राम्रो थियो ।  

आजको हाजिरसंगै सुजनले कक्षा आठको कुरा सम्झियो । उसै गरी गुरुले हाजिर बोलाएका थिए । रोल नं एक सुजन पोखरेल, उही शैलीमा उसले हाजिर फर्काएको थियो– हाजिर सर । रोल नं दुई शुभेच्छासिंह ठकुरी– तर त्यो दिन शुभेच्छा हाजिर जनाउनै सकिन । घोसे मुन्टो लगाएर डेस्कमा घुँक्कघुँक्क गर्न थालेकी थिई । गुरु, र साथीहरू सबैले सम्झाउन खोजे तर ऊ घुँक्क्घुँक्क गर्न छोडी । दोस्रो घन्टीपछि सानो छुट्टी हुन्थ्या । तर उसको  घुँक्कघुँक्क   रोकिएको थिएन । सुजनलाई निकै नरमाइलो लग्यो । यसै पनि उनीहरू मिल्ने साथी थिए । सानो छुट्टीमा सुजन उसको नजिक गयो र सोध्यो– “सधैझैँ तिमी द्धितीय र म प्रथम भएको छु । यसमा रुनुपर्ने के छ र !  यसै पनि केटी  पाटीमा त तिमी प्रथम नै भएकी छौ, कि अरु कुनै दुख छ तिमीलाई !” सुजनका यी प्रश्नले उसलाई झन बोल्न नसक्ने जस्तो बनायो । निकै समयपछि आसु पुछदै उसले आफ्नो कुरा सुरु गरी ।”तिमी प्रथम भएकोमा म खुसिनै छु। तिमी र म एकदम राम्रा साथी हौ र म चाहन्छु कि हाम्रो सम्बन्ध निकै अगाडिसम्म यस्तै जोओस । तर सुजन मेरा बुबा मदेखि खसी हुनु हुदैन । अस्तिको परिक्षाफलदेखि नै । उहाँले हामीलाई के के भन्नु भयो । त्यसैले म दुखी छु ।” 

आफुभन्दा गरिब घरको बाहुनको छोराले सधै आफ्नी छोरीलाई परिक्षामा तल परेको मेजर बखानसिंह ठकुरीलाई मन परेको थिएन । अस्तिको परीक्षाफल हेर्न आउँदैमा उनले प्रधानाध्यापक यदुबिलासलाई भनेका थिए । “के हो मास्टर साब तिम्रो स्कुलमा यो टपरे बाहुन भन्दा अरु फर्स्ट हुदैनन्? मेरी छोरी फरर अंग्रेजी बोल्छिन तै पनि सधै दितीय?” मास्टर साबले हाँस्दै एकै वाक्यमा उत्तर दिएका थिए “अन्तिम परिक्षामा सबै बिषय र सर्बपक्षीय मुल्याकन हुन्छ मेजर साप तर द्धितीय हुनुपनि निकै राम्रो हो ।”  मेजर ओठ लेपर्दै घर फर्किएका थिए.तसपछी मेजरसापले आफ्नै छोरीलाई भनेका थिए “ के हो छोरी तिमि जहिल्यै सेकेन्ड? तिम्लाई बोर्डिंङ पढाएको जान्ने बनाउन, खै त्यो पिलान्धेरे बाहुनलाई कहिल्यै जित्न सकिनौ?” बाबा को यहि कुराले उसको मन घोचेको थियो मनमा तिर गाडेको थियो । 

उसले सुजनलाई आफ्नो प्रतिस्पिर्धी भन्दापनि आफ्नो साथीको रुपमा लिएकी थिइ । बाबाको प्रिितशोधको भाबना र प्रयोग गरेको भाषाशैलीले उसलाई निकै बिझायो । सोची, मान्छेहरु किन जबरजस्ती प्रतिस्पर्धी बनाउँदै छन उनीहरुलाई? किन बिथोल्न खोज्दैछन उनीहरूबिचको बालसुलभ प्रेम? किन घचेट्दैछन साथीत्व,सदभाब र सम्बन्धबाट टाढा ? उसले त्यो दिन सबैकुरा सुजनलाई भनि । बाबाका कुरा, उसको मनमा उत्पन्न त्रास, भाबना र माया । अनि उनीहरुले त्यसैदिन प्रण गरे एकार्कामा प्रतिस्पर्धी भएर होइन अझै घनिष्ट साथी भएर, हरेक बिषयहरुको ज्ञान साटेर अगाडी बढ्न । नजानिँदो पाराले उनीहरुले एकापसको हात समाते । सुजनका हातहरु केहि कामेका थिए अनि तातो पनि । सुभेच्चाका हातहरु दरिला र नरम थिए ।  

भुइमा हेरेर अलिक घोरिदै हात नछुटाई सुरजले भन्यो “प्रिय सखा तिम्रो पहिलो दिनको आगमनबाट नै म तिमिलाई नै हेरिरहन्थे, थाहा छैन किन हेर्थे तर बिश्वास गर तिमीलाई प्रतिस्पर्धीको रुपमा कहिल्यै हेरिन, यदि त्यस्तो हुन्थो भने म तिम्रो साथी पनि बन्थिन होला, प्रिय सखा हाम्रो सम्बन्ध अब राधा र कृष्णको जस्तो भईसक्यो अब कसैले छुटाएर पनि छुट्दैन । म तिमीलाई आजपनि भन्छु तिमि मेरी प्रर्तिस्पर्धि होइनौ बरु प्यारी साथी हौ, यदि तिमि प्रथम भयौ भने म जाति खुसि कोहि हुदैन होला । आजपनि मेरो पुरै शुभेच्छा छ तिमी अर्को वर्ष प्रथम हुन सक । तिम्रो लागी म दितीय हुन तयार छु.” यतिबेला उनीहरूबिद्यालय भाबनको पछाडीपट्टी रहेको नस्पतिको बोटमुनी थिए । संस्कृति गुरु धर्माकान्त बिदामा भएकाले सातौ घन्टी खालि थियो । सबै साथीहरु छैटौ घन्टी सकेर घर गइ सकेका थिए । पालेदाइले सातौ  घन्टी सकिएको सुचना गर्दा उनीहरूझस्केर आफ्नो आफ्नो घर तिर लागेका थिए ।

योपालि पनि सुजन प्रथम र शुभेच्छा दितीय भएका थिए अब त बिद्यालय स्तरको अन्तिम परीक्षामात्रै बाकि थियो । यो बिचमा बखानसिंहले आफ्नी छोरीलाई उस्तै कुराहरु निकै सुनाए । उ हरेक कुराहरु सुजनसंग बाड्ने गर्थी । उनीहरूएक आपसमा झनै नजिकिदै गए । एककिसिमले भन्ने हो भने अरुको उक्साउने कुराले न शुभेच्छालाई सुजन को प्रतिस्पर्धी बनायो न त सुजनलाई उनीबाट टाढा । उनिहरुलाई राम्रोसंग थाहा थियो अबको ११ महिनामा उनीहरुको जिन्दगीकै परीक्षाहुनीवाला छ । दुबैलाई प्रवेशिकातहमा उत्कृष्ट अंक ल्याएर शैक्षिक भविष्यको फलामे ढोका संगै पार गर्नु थियो ।  

कक्षा दशको अन्तिम परीक्षाको अन्तिम दिन थियो । परीक्षाएक बजेनै सकिएपनि उनीहरू उही भबन पछाडिको नास्पातिको बोटमुनी थिए. । दुबैजनाले एकापसलाई निकै नियालेर हेरे । मानौ कि उनीहरुको भेट पहिलोचोटी भएको छ । आजसम्म उनीहरुले एक आपसमा यसरि गहिरिएर हेरेकै थिएनन् । गोरो मोहोडा,हल्का मुस्कान, सलक्क परेका लामो कपाल  सेतो र निलो रिबन मिलायार दुईचिल्ठा बाधेको, हल्का लालिमा चढेका गाला, पातलो ओठ, ठुला आखा, आकासे रंगको सर्ट, निलो स्कट, उसले अझै नियालेर हेर्यो शुभेच्छालाई । बालीकाबाट बिस्तारै किशोरी हुदै गरेकि, पोटिलो छाति । उसलाई कुनै परि भन्ंदा कम लाग्थेन शुभेक्षा । आज झन् उसले फरक महसुस गर्यो त्यो तीन कक्षामा भेटिएकी सानी साथि त निकै बदलिएर किशोरी भईसकिछ । अब उसले प्रेमिका देख्न थालेको थियो त्यो केटीमा । अग्लो कद, ख्याउटे मोहोडा, ठुलो निधार, चुच्चो नाक मुनि भर्खर बसेका गुंगाका रेखी, उही आकासे सर्ट र निलो प्यान्ट अनि खुट्टामा बबी चप्पल । खासै आकर्षक ब्यक्तित्व थिएन सुजनको । उनले पूरै नियालेर हेरिन उसलाई र हाँसिन हल्का । बोली अझै मिसिएको थिएन एक अर्काको ।

“के हेरेको एकोहोरो?” शुभेच्छाले नै सुरु गरी. “केही नाई” उसले उत्तर फकायो. “अनि तिमीले?” उसले सोध्यो “किन हासेको नि?”. “तिम्रो जुँगा हिहिही”  । शुभेच्छाको हाँसो रोकिएन । हातमा के छ ? केही होइन । देखाउन प्लिज। अहिले नै नाई । कहिले त? घर जाने बेला । अनि तिम्रो हातमा? मेरो पनि केही होइन। मलाई देखाउँदैनौ? घर जाने बेलामा ।

दुवै जनाको मुस्कान मिसिएर विस्फोट भयो । “ह्म्म्म आई गट ईट” शुभेच्छाले सुजनको हातको कागज तानेर लिई। नाईनाई एकछिन न कृपया । सुरज तान्न खोज्दै थियो तर शुभेच्छाले पूर्णतया आफ्नो बसमा लिइसकेकी थिई । सुरजले ल्याएको एउटा पोस्टकार्ड र खामबन्दी चिठी थियो । उसले तुरन्तै पोस्टकार्ड हेरी । त्यतिबेलाका चल्तीका हिरो –हिरोइन एक अर्कालाई अँगालो हालेर बाँधिएका थिए । छेउको एक कुनामा लेखिएको थियो विथ लभ... सुरज।  

“अहा कति राम्रो थ्यांक्क यु” शुभेच्छेले भनिन् । उनी चिठी पनि खोल्न खोजिन् । यतिबेलासम्म सुरज लाजले पानीपानी भइसकेको थियो।  “नाईनाई कृपया घरमा गएर एक्लै हेर ल” सुरजले भन्यो । उनले त्यो चिठी निकै जतनसाथ झोलाको भित्री गोजीमा हालिन् । उनले पनि सुरजलाई उस्तै ठूलो पोस्टकार्ड दिइन् । त्यसमा एकाजोडी परेवा र एउटा फूलको चित्र थियो । तलको कुनामा लेखिएको थियो उही तिम्री शुभेच्छा । त्यो दिन पहिलोपटक उनीहरूले एकापसमा अंगालो हाले र औपचारिक रूपमा प्यार साटासाट गरे । अंगालोबाट छुट्टिएपछि मात्र उनीहरूलाई बोध भयो आज भेट्नुको खास विषय । भेट सधै हुन्थ्यो, हेराहेर सधै, आँखाहरू सधै जुधी नै रहन्थे । मुस्कान साटासाट निरन्तर तर पनि अन्तरंग कुराकानी गर्न यस्तै लगन जुराउन पथ्र्योे उनीहरूलाई । 

आज विद्यालयको अन्तिम दिन थियो। प्रवेशिका दिन जाँदा भेट हुन सक्थ्यो, नजिकै गाउँका भएकाले अरूबेला पनि भेट हुन सक्थ्यो तर पनि उनीहरू यही स्कुलमा हुर्किएको उनीहरुको बालसुलभ प्रेमलाई यही किशोर बनाउन चाहन्थे, उनीहरू जस्तै। निकैबेरको मौनतापछि सुजनले बोल्यो “प्रवेशिका सकेपछि तिमी के पढ्छौ रे? अँ नर्स हैन त ?” 

“अँ बाबाको सपना त्यही छ” उसले उत्तर फर्काई “फेरि बाबाको सपना? अनि तिम्रो चै सपना छैन? तिम्रो सपना चै के नि?” सुरजले प्रतिप्रश्न गार्यो. “म डेढ वर्षको हुँदा मेरी आमा स्तन क्यान्सर भएर बित्नुभएको रे । त्यसपछि बाबाले नै मलाई हुर्काउनुभयो.।  त्यसैले उहाँ मलाई नर्स बनेर अरूको सेवा गरेको हेर्न चाहनुहुन्छ. । सायद प्रवेशिकापछि बाबाले मलाई आर्मीको स्वास्थ्य क्याम्पसमा नर्स पढ्ने व्यवस्था मिलाउनु हुनेछ.” उसले उत्तर फर्काई र सोधी “अनि तिमी चै के पढ्ने नि मेरो ख्याउटे?”

 “सपनाको कुरा एउटा हुन्छ धरातल अर्को, हिमालको सुन्दरता मनमोहक हुन्छ तर चिसो दुख अर्को । के गर्नु सखा मेरो पढ्ने चाहना इन्जिनियर हो तर मेरो बाबाको पण्डित पेशाले त्यो धान्न सक्दैन । त्यसैले सायद गोर्खा क्याम्पसमा नेपाली र गणित पढ्छु होला ।” उसको बोली निकै मसिनो भइसकेको थियो । शुभेच्छाको सपनाको कुरा सोध्ने उसलाई आफनै सपनाले पहाडले थिचेझै थिचेको थियो । ओ ओ अनि तिम्रो सपना चै” उसले प्रतिप्रश्न गरी,  “जो पूरा हुदैन तर म शिक्षक बनेर यही स्कुलमा पढाउन आउनेछु अनि तिमीजस्तै सयौ नर्स र मेरो सपनाजस्तै हजारौ इन्जिनियर बन्न सक्ने विद्यार्थी तयार गर्नेछु मेरो नया सपना छ” उसले भन्यो ।  

यो कुराले चै शुभेच्छा पनि निकै खुसी भई र मनमनै भनी –कति ज्ञानी मान्छे । छुट्ने बेलामा उसले सुजनको हात समाती र भनी, “ सुजन तिमी जे बने पनि, म जे बने पनि, तिमी जता भए पनि म जता भए पनि, मलाई एउटा प्रमिस गर आजबाट तिमी र म कहिल्यै छुट्ने छैनौ । सधै संगै हुनेछौं मनमा भावनामा र हाम्रो पढाइ सकिएपछि उनीहरू हामी सधै संगै हुनेछौ” उसले सुजनको हात समातेर आफ्नो हातमाथि राखी र भनी, “सुजन तिमी सधै मलाई माया गर्छौ नि प्रमिस?” “कसम” सुजनले हात समातेरै उत्तर फर्कायो ।

निकै पुलकित थियो उसको मन । पढ्न भनेर किताब निकाली तर चंचलताले उसलाई छपक्कै छोप्यो । घरि किताब पल्टाउँथी घरि पोस्टकार्ड हेर्थी । घरि सुजनको चुच्चो नाक र जुँगाको रेखी सम्झेर मनमा नै हाँस्थी । पोस्टकार्डको कुनामा लेखिएको ““विथ लभ सुजन ””भन्ने शब्दलाई उसले निकैबेर हातले छोई । बच्चादेखि नै बाबाको मात्र प्यार पाएकी उसलाई प्यार गर्ने अर्को मान्छे पनि थपिएको थियो । किनकिन उसलाई सुजनको माया आमाको मायाजस्तै सहृदयी, कोमल र निस्वार्थ महसुस गरेकी थिई ।. उसले सुजनको चिठी खामबाट निकाल्न खोजी, किनकिन उसलाई त्यो खाम च्यात्नै मन लागेन । खाम सुजन आफैले बनाएको थियो र खाममा दुईओटा गुलाफका फूलको चित्र थिए । उसले खामलाई म्वाई खाई र पुनः झोलाको भित्री गोजीमा राखी ।

प्रवेशिकाचैत चार गते नै सुरु भइसकेको थियो  परीक्षा केन्द्र परेको थियो पालुंगटार । उनीहरूले अहिलेसम्म घरबाट यति टाढा गएकै थिएनन् । फराकिलो टार, आप र लिची लटरम्म फुलेका मनमोहक दृश्य । ईटाबाट बनेका घरहरू

, मस्र्याङ्दी नदीको सुस्केरा निकै मनमोहक थियो । तर गर्मी भने निकै उखरमाउलो हुन ेरैछ टारको, पानी उस्तै खल्लो । सुजन केटाहरूसंगै डेरा गरेर बसेको थियो । शुभेच्छा केटीहरूसंगै । परीक्षा केन्द्रमा दिनदिनै देखादेख हुन्थ्यो उनीहरूको । मुस्कान साटासाट गर्थे, हात हल्लाउँथे. फर्किदा पनि जो छिटो भयो गेटबाहिर कुरेर बस्थे । एकार्काको परीक्षा कस्तो भयो कुराकानी गर्थे । कुन प्रश्नको उत्तर के लेखे सोधासोध गर्थे । प्रवेशिकाको अन्तिम दिन उनीहरू साथीहरूसहित तुरतुरे बजार पुगेर जेरी, पुरी, समोसा तरकारी खाए । त्यसको भोलिपल्ट उनीहरू गाउँ फर्किए । प्रवेशिका सकिएको दसबाह्र दिनपछि मेजर बखानसिंह शुभेच्छाको कोठामा थिए ।

एकाएक बाबालाई आफ्नो कोठामा देखेर उनी अक्क न बक्क भइन् । त्यसै पनि बाबाको छायामा उनी सर्पलाई गरुडको छायाँ परेजस्ती हुन्थिन् । छोरीलाई परीक्षा केन्द्रमा छोडेर मेजर साप पनि त्यतैबाट पोखरा हानिएका थिए पेन्सन बुझ्न । हिजो मात्र घर फर्केका ।” परीक्षा कस्तो भो त नानु?” उनले शुभेच्छालाई सोधे । “राम्रो नै भएको जस्तो लागेको छ बाबा” उनले उत्तर फर्काइन् । “लागेको मात्र छ कि भएको पनि छ ?” मेजर सापले मिलिटरी स्वभाब देखाइहाले । “नारिसइस्यो न बाबा राम्रो भाको छ !” उनले उत्तर फर्काइन् । “त्यो बाहुनलाई जित्छौ त यो पालि” फेरि उस्तै घोच्ने प्रश्न । शुभेच्छा मौन बासिन् यो पालि । उनलाई कताकता रिस नै उठेको थियो ।

“खैर छोरी परीक्षा राम्रो भाको छ भने अब तिमी भोलि नै काठमाडौं जानुपर्छ । तिमीलाई लिएर म नै त्यहाँ जानेछु । उता तिमी जगत कर्सापको घरमा बस्नेछौ । लक्ष्मी आन्टीले तिमीलाई आफ्नै छोरीजस्तै माया गर्नुहुन्छ । ऊ बेला नै तिमीलाई उही छोडिदिनु भनेर हत्ते गर्नुभाथ्यो । मैले नै एउटी छोरीलाई कसरी छोडांै भनेर सकिन ।”

बाबाका कुरा सुनेर उनलाई कताकता डर लागेझैं भयो । स्कुलका साथीहरू सम्झिइन् । उनीहरू गाउँमै खेलेर बसेका थिए । फेरि सुजनलाई सम्झिइन् मुटु गरौ भएर आयो । माया नहुर्किदै उनलाई शहर पस्नपर्ने भया ।.थाहा थिएन फेरि कहिले फर्किन्छन् । थाहा थिएन फेरि कहिले भेट्न पाउने हो आफ्नो प्यारासंग । सानो आवाजमा बाबासंग भनिन्, “अलिक दुईचार दिनपछि गए हुँदै बाबा ?”  

बाबाले उत्तर फर्र्काइहाले, “हुँदैन, मैले बन्दोबस्त गरिसके ।” अब उनले भनेर हुने केही थिएन । अब उनलाई जानै पर्ने थियो । भोलिका लागि सामान मिलाउनुपर्ने थियो.नर्सिंङको प्रवेश परीक्षा तयारीका लागि अहिलेसम्म पढेका किताब र नोटहरू पनि लैजानुपर्ने थियो ।

एकातिर उनको सपनाले बोलाउदै थियो शहरबाट अर्कोतिर उनको मायाले गोडा समाउँदै थियो । भन्दै थियो त कसरी एक्लै त्यत्रो शहरमा जान सक्छेस्? कसरी यहाँका साथिहरूबिना पढ्न, खेल्न र हिँड्न सक्छेस? सुजनबिना त्यहाँ तेरो हेरविचार गर्ने, माया गर्ने र सिकाउने को हुन्छ त्यो बिरानो ठाउँमा? एक्लै त्यो बिरानो मुलुकमा कसरी खुसी हुन् सक्छेस्? बाबाको उर्दीले झन् वैराग्य थपिदिएको थियो उनको कोमल मनमा । किन बाबा यसै गरी सधै मलाई टुटाइराख्नुहुन्छ सधै? किन यसरी नै आफ्नै मनमौजी गर्नुहुन्छ? किन प्यारो सुजनलाई शत्रु जस्तो देख्नुहुन्छ? उनले आमालाई सम्झिन्– भित्तामा झुन्ड्याइएको तस्बिरलाई स्पर्स गरिन् । 

आमा भाको भए उनले भन्न सक्थिन् मनको कुरा । भन्न सक्थिन् प्यारको कुरा । मनमा एकैचोटि हजारौ प्रश्नको भुमरी चलेर आयो । जानु त अवश्य छ एकदिन, तयारी गर्नु नै छ सपना साकार बनाउनका लागि । शहर पस्नु जरुर छ तर उनलाई ग्लानि छ कि समयले यति सारै हतार गरेकोमा, जुनीजुनीसंगै हुने कसम खाएको आफ्नो प्यारसंग एकचोटि भेट्न नपाएकोमा । जाने बेलामा उसको हात समाएर चुम्मन गरेर निस्कन नपाएकोमा ।  रातको नौ बजिसकेको थियो कोठामा बत्ती बलिरहेको थियो । उनले सुजनको पत्र सम्झिन् । झोलाको भित्री गोजीबाट निकालिन् र पढ्न थालिन् । चिठीको मजबुन यस्तो थियो.

प्रिय सखा!

लाग्दैछ कि लेख्न अलिक हतार गरे ! कम्तीमा पनि प्रवेशिकासम्म कुर्नुपर्ने थियो जस्तो लाग्दैछ अहिले पनि ! हाम्रो बिद्यालय जीवनको अन्तिम दिनको अघिल्लो दिन म यो पत्र लेख्दै छु तिमीलाई ! कक्षा तीन देखि आठ वर्षसम्म हामीसंगै पढ्यो । संगै बसेपछि कुइनो ठोकिन्छ भने भनेझै संगै जिन्दगीको यो यात्रामा मैले कतिपटक जानेर नजानेर तिम्रो मन दुखाए होला । त्यसलाई साथी सम्झेर माफी दिनेछांै बन्ने ठानेको छु । थाहा नै नपाई कति छिटो मेरी सानी साथी एउटा अप्सराजस्तै, वसन्तमा फुलेको गुलाफको फुलाजस्तै किशोरी भइसकिछ । एउटा लोभलाग्दो गुलाफको थुंगा । निरन्तर तिमी द्धितीय र म प्रथम हुदै आयौ यहाँसम्म । प्रिय सखा, यो मानेमा मलाई माफ गर । मैले  चाहेर पनि तिमीलाई प्रथम बनाउन सकिन ।  कताकता यो मनमा ग्लानि महसुस भैराखेको छ । लाग्छ म प्रथम भएर के पाए र अहिलेसम्म? अबको केहिदिनमा हामी प्रवेशिका दिदै छौ ।  प्रिय सखा, मेरो पूरै शुभेच्छा छ प्रवेशिकामा तिमी नेपालकै प्रथम हुन् सक । तिम्रो जिन्दगीको सपना स्पस्ट छ यो मानेमा तिमी सधै प्रथम नै छौ । थाहा छैन प्रवेशिकापछि तिमी कहिले शहर जानेछौ । तिम्रो शहर प्रस्थान निश्चित र बाध्यात्मक छ किनकि यो पहाडको कन्दरामा तिम्रो सपना फुल्न सक्दैन । पहाडले त सधै सिरु फुलाउन जानेको छ । सिमल फुलाउन जानेको छ तर सिमलको भुवाको गन्तव्य निकै  टाढा छ उडेर कहा पुगेर उम्रिन्छ थाहा छैन ।  फुलाउन त सिरान डाँडाले गुराँस पनि फुलाउँछ तर गुराँसको महत्व यो पहाडलाई भन्दा शहरलाई नै थाहा छ । त्यस्तै तिम्रो सपनाले शहर पुगेपछि मूर्तता पाउने छ । प्रिय! तिमीलाई फेरि पनि मेरो पूर्ण शुभेच्छा छ तिमी शहरमा पुगेर आफ्नो सपना फुलाउनु । तिमी नेपालकै एक नम्बर नर्स हुन् सक्नु । तर आफ्नो गाउँघर कहिल्यै नभुल्नु । सपना पूरा गरेर तिमी आउनेछौ यही पहाडका घाउहरूमा मलम लगाउन म यही कुरिरहेको हुनेछ तिमीलाई ।  

अन्तमा तिम्रो लागिः

तिमी आँखा भए म नानी बनेर आउनेछु ,

तिमी माछी भए म पानी बनेर आउनेछु ।  

तिम्लाई एक्लै रात कटाउन पर्दा,

म तिम्रो काखमा सिरानी बनेर आउनेछु ।

उही तिम्रो सुजन !

चिठी पढेपछि उसलाई भाबुकताले छपक्कै छोपेछ । उही नास्पातीको फेदमुनि बसेर सुजनका कुराहरू सुनिरहेझैँ लाग्यो उनलाई । हरेक कक्षाका याद फिल्मी दृश्यजस्तै आइरह्यो झिलमिल बनेर । दुई थोपा आँसु खसे पत्रमा । हत्तपत्त पुछिन् त्यसलाई। चिठीमा मसी लतपतियो हल्का । उनलाई सुजनको परिपक्क्ताले अचम्म बनायो । कति सजिलै समय र परिस्थितिको बोध गर्न सक्छ ऊ । कति सजिलै मान्छेको मन बुझाउन सक्छ ऊ । कस्तो मायाको जादु छ उसमा । कति निस्वार्थी र सहृदयी छ ऊ । उनले फेरि महसुस गरिन उसको माया र आमाको माया, उसको शुभेच्छा र आमाको शुभेच्छा सधै उस्तै छ सरल, निस्वार्थ । उनले चिठीलाई पुनः उही खाममा राखिन् भिताबाट आमाको तस्वीर झिकिन् एउटा पासपोर्ट साइजको सुजनको फोटो, आमाको तस्वीर र सुजनले दिएको पोष्टकार्ड एउटा छुटै पोको बनाएर झोलाको भित्री गोजीमा राखिन् । हतारमा सुजनलाई एउटा सानो चिठी लेखिन् र भोलिका लागि तयारी गरिन् ।  

प्रकाशित: १८ मंसिर २०७७ १०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App