जितेन्द्र रसिक
खोक्रो आडम्बर बोकेका
क्यारेमका गोटीहरू
बोर्डको सिलिङहरूमा
ठोक्किएर चिप्ला खरीका
धुलोहरूसँगै सुलुलु चिप्लिरहने
हामी महामानवहरू !
कसैको इशाराले
एक चुट्की लगाउँदा
सुलुत्त अँध्यारो दुलोभित्र पसी
जितेको घमन्ड गर्ने
वाहवाह...
महामानवहरू
फगत उचालिँदा उचालिने
पछारिँदा पछारिने
हावाको इच्छामा
आकाशमा उडेका बादलहरू
वायुकै इच्छामा
कहिले झरीभै थोपा–थोपा
घिनलाग्दा पाखा बगरमा
फोहोरका लाप्साहरूसँगै
पखालिनुपर्ने
फेरि घामको दयाले बाफिएर
आकाश छुन पुग्ने
चटक्कै बिर्सेर स्वाभिमानका हरथुँगाहरू
रिमोर्टका किबोर्डसँगै चल्ने
हामी,
स्वचालित,
बिलकुल स्वचालित
महामानवहरू
चेतनाका भोल्युम दबाउँदा
मान्छे यसरी प्रकट हुन्छन्
मान्छे – मान्छे नै हो भन्छन्
मान्छे–बुद्धिमानी
मान्छे – ज्ञानी
मान्छे – सर्वस्व
विश्वकै प्राणीहरूमा महानतम
वाह...
यो कोलाहलमा
तुच्छ,घृणा, द्धैष,स्वार्थ, लोलुपता, क्रोध,
कठोर, रिसराग ....
वाह मान्छे वाह...
मान्छे पानीपानी बनेर फोहोरमा बग्ने
कहिले दन्दनी बलेर ईष्र्याको आगोमा
भातभुङ्ग गृहनगरहरू
वाह...हामी महामानवहरू ।
कालो रातको लबेदा समाएर
पिलपिले ताराको
र,
जुनेली आश्वासनको चुल्ठोमा झुन्डिएर
घरघर र गोठआँगनी
उजिल्याउने फोस्रो मायाजालको
कन्तुरभित्र थुनिएर
दलानभरि छरिएका स्वार्थका चारोहरू
छरर–छरर...
गल्लीगल्लीमा पाखापखेरीमा
निस्वार्थ पन्छीका हुलहरू
जावीभित्र थुनिएर
वा पिँजडामा कैद गरेर
सयपचासमा बिक्री गर्दै
धोक्रे भुँडी टुमुक्क पारेर
कुर्सी भरिभरि प्याला पिएर मदहोस भै
इलिस बङ्गालका पुराना माछाहरूझैं
हररात– हरदिन परिकारका थुप्राहरू जस्तै
पुरानै म्हेम्हेको थालमा
मुर्दातुल्य समयको अगाडि
पसारिएका अधकल्चो
संविधान र संघीयताका खिरहरू
लामा बाजेको ॐ ममापेमे हुँ
सँगै, चिहानमा बाख्राको मासु लुछ्दै
आइराग घुटुक्क पार्दै
उन्मुक्त स्वाद चखुवाहरू
कानमा जनै भिरेर
चोखो– चोखो जप्दै पाइखाना धाएका
बाहुनजस्तै यो नयाँ कहलिँदै गएका
माटाको चर्केका जीर्ण घ्याम्पोजस्तै
लघु विचारका आधुनिक मानवहरू
खिया परेको फलामे शालिकमा
खाक्सी घोटीघोटी
सुनको जलप लगाएर
सुनकै शालिक देख्ने
अजङ्गका बूढा पहाडहरू
धमिला आँखाका ती नानीहरू
युग फेरिने आसामा
मक्ख छ ।
पक्क छ ।
सुन्दर मुलायम झाँगिएका
फूलहरू सरक्क मिचेर पैतालाले
बगर–बगर पारेर
सुन्दर रोडम्यापहरू
फरर–फरर....
घुम्ने कुर्सीमाथि बस्ने अन्धो युगका
अन्धो हामी,
वाहवाह हामी महामानवहरू ।
...
स्वर्गैै जितेको भन्ठान्छौं
नरक जीवन बिताउँछौं
राक्षसहरूको दन्त्यकथाहरू कथीकथी
राक्षसकै कथाभन्दा
वजनमा कम गर्दै गर्दैनौं ।
मक्ख पर्दै आफूले आफैलाई सर्वेसर्वा थान्छौं
सर्वेसर्वा थान्दै मक्ख पर्छौ ।
गाई मारेर गधा पुज्छौ ।
गधा पुजेर गाई मार्छौ
हारेर पनि जितेको भान गर्छौ
भान गरेरै जित्छौ
रातमा लाटोकोसेराको जति पनि तौल छैन
आँखाभरिभरि आगोको मुस्लो सल्काएर
बस्तीमा ज्वाला दन्काएर
आफ्नै काखमा कोटीहोम रचेर
स्वाहास्वाहा जप्ने वाह
...हामी महामानवहरू
सायद
महामुर्ख भएरै महामानव बन्यौ
महामानव भएरै महामुर्ख बन्यौ
कर्म एकगुणा, कुरा दश गुणा
अलिकति पनि हिनताबोध छैन हामीमा
छैन हैन, छँदै छैन ।
विषहीन गोमनजस्तै
न त डस्न नै सक्नु न त बस्न नै ।
एकादेशको कथाका पात्र बन्न रुचाउने हामी
लोडसेडिङमा लठ्ठामा झुन्डिएर
बसेका गुलुपहरू जस्तै
वाह हामी महामानवहरू ।
...
विचार भएको बुद्धि नभएको
बुद्धि भएको विचार नभएको
उसिनेको र तारेको ससुराको
अण्डाको कथाजस्तो
मध्यरातमा आकासै ढाक्ने मुर्कट्टा
उज्यालोमा विलीन सुलसुले
रातको लाटोकोसेरो
दिनको हुटिट्याँउँ
जीर्ण मानवहरू
ह्यास, चरेस र अफिममा लठ्ठ
जीर्ण मानिसहरू
वर्जित शहरका वर्जित आइमाईहरू
ठमेलका गल्लीभित्र छरपस्टिएका
यौवनका व्यापारीहरू
वस्तुजस्तै आफूलाई
वेच्न र किन्न तयार
मेरा देशका नेताहरू ।
प्रत्येक रातको प्रहरमा
म्याओ आँखा बालेर
निर्दोष दुलोहरूसँगै
आस्थाका जञ्जीर चुँडाल्ने
सिंहरदरबारका दुलोभित्र
लुकेका स्यालहरू
र
वरिपरि
कसैको जिन्दगी धर्धरी च्यातेर
आफ्नै जिन्दगी सेक्ने
इतिहासका नाङ्गा मान्छेहरू
फेरि
कोतपर्व रच्न तयारतयार छन् ।
अराष्ट्रियको लिगमा गुडाएर स्वाभिमान ।
स्वाभिमानमाथि कुडाएर अराष्टिय रेलहरू ।
धुजाधुजा पारेर देश
उमार्दैछ निरंकुशे च्याउहरू
संविधानको गला रेट्दै
भुटेर लेनिन र माक्र्सका विचारहरू
उसिनेर आइस्टाइन र ग्यालिलियोका गिदीहरू
चटनी बनाएर सुरुप्पसुरुप्प
पिउँदैछ हिटलरी ब्राण्डका रेडलेवल र
ह्विस्कीहरूसँग
लाइकाको जति पनि वजन नभएका
वाह हामी महामानवहरू ।
वाह , हामी महामानवहरू
दल्छिन गेगरमा
चकमकको झुल्का रगड्दै
पुर्खाले सुरु गरेको इतिहास
परमाणुको डल्लासँगै
महामृत्युका उत्पादनहरू
नाफाघाटा, क्रयविक्रय
शस्त्रअस्त्र र क्षेप्यास्त्रहरू
जहाँ मान्छेमान्छे ििबच
सिंगो ब्रम्हाण्डकै अस्तित्व
किनबेच भैरहेछ ।
बारुदको ढिक्काहरूसँगै
प्रलय बोकी
आफ्नै अस्तित्वका अवशेषहरूसँगै
प्रतातित रक्तकुण्दका बिजहरू
केलाइरहेछौं भावशून्य सागरको पिंधमा
ठुन्क्याइएका विश्व खाने परमाणुका उही डल्लाहरू
महात्रासदीको संघारमा मार हान्न
तत्परतत्पर युगीन समाजका महामानवहरू
अलच्छिन हातहरू र विचारहरूसँगै सिर्जिएका
युद्धमा महासंग्रामहरू
होमिएका युगान्तकारी मान्छेहरू
युगयुगदेखि सलबलाएका सर्वत्र
वाह हामी महामानवहरू
हो हामी महामानवहरू ।
प्रकाशित: १७ मंसिर २०७७ १०:५५ बुधबार





