८ वैशाख २०८१ शनिबार
कला

हिँउ फूलको गाउँबाट

कविता

केशवप्रसाद पौडेल  

 

हिमालको काखमा छ

ताप्लेजुङ गाउँ

नहेरी नै भन्ने गर्छन्

यसलाई सानो ठाउँ ।

यही माटोले जन्म दियो

शान्ति निर्मातालाई

हराभरा शान्तिपूर्ण

ताप्लेजुङलाई ।

स्वर्गको नै भूमि रै छ

ताप्लेजुङ गाउँ

तमोर र फावाखोला

पहिचान तिम्रो ।

चौरी, भेडा चराउने

गोठ उति राम्रा

धन, मन, तनले नै

अति धनी तिमी ।

कञ्‍चनजंघा, कुम्भकर्ण भेट्न आउने तिमी

ओलाङचुङ र   तिम्बुङले मनै लोभ्याउने

चेतनाको विगुल फुक्न

सबै उभ्याउने

मनैभरि फुरूङ्ङ भो तिमी सम्झाउँदा

शीरमाथि पाँचगाउँमा

पाथिभरा माता

छातीभरि गुराँस र हिमालको साथ ।

 

फर्कफर्क तिमी अब

विश्वले शान्ति खोजेको बेला

युद्ध नै युद्धले आजित भएकाहरू

खोज्दै छन् आज ताप्लेजुङलाई

रोज्दैछन आज ताप्लेजुङलाई

सेवारो पाथिभरा, सोवारो कावेली

पूरा गरिदेऊ हाम्रा इच्छाहरू

भन्नेहरूका लागि

उनको शरणमा आई

शीर झुकाई माताका अगाडि

लम्पसार पर्नेहरूका लागि

स्वर्गभूमि भएका बेला

तिमी भने कतार र साउदी  

अनि

दुबई र मलेसिया धाइरहेको देख्दा

दुख लागिरहेछ

पीडा भइरहेछ

त्यसैले फर्कफर्क

हे ताप्लेजुङबासीहरू

आऊ बस तिम्रै भूमिमा

शान्त र स्वर्गको यो भूमिमा

खाडी चौरीको फोहोर फाल्न छाडेर

तिम्रै हरियाली पाखाभरि

च्याङ्ग्रा चराउ

चौरी र भेडा गोठबाट

डलर फलाउ

धुपी र गोब्रेसल्लाको बासनाले

विश्व मगमगाउ

पाँचऔले, ठूलो ओखती र हडचुरले

विश्व रङ्ग्याउ

फुङलिङ र फुरूम्वुहरू आज भनिरहेछन

खोकलिङ्ग र फुलबारीहरू आज भनिरहेछन्

दोखुले पनि साथ दिन्छु

भनिरहेको बेला

बर्मादेखि विश्वयुद्धको पीडा भोगेर

यो देशलाई स्वतन्त्र राख्‍न

सक्षम तिमी

आज भनिरहेको देख्दा

यो माटोले भनिरहेछ

आउ तिम्रै गाउँमा

छुर्पी र तुम्वाको उद्योग चलाउ

बरु गुराँसको रक्सी बनाउ

विश्‍वमा पुर्‍याउ

म सहयोग पुर्‍याउँछु

तीलाई उच्च स्वर्गानुभूति

म गराउँछु

तिम्रै खुसीका लागि

आज म उभिएकी छु

बुझ, फर्क अब यही

तिमीलाई म चिनाउँछु

हिउँ तन्ना बिछ्याएरै

हिउँफूल नै बर्साउँछु

हिउँकै पुष्पगुच्छाले  

सबै जनलाई स्वागत सम्मान म गर्दछु

रंगीविरंगी गुराँसको माला लगाई

साँच्चै सारथी म बनाउँछु

आऊ –रमाउँ

खुसी भएर नेपालमा

विकासको मूल फुटाउ

समृद्धिको मुहान बनाउ

नेपाललाई शान्ति, स्थायीत्व र विकासको

सर्वस्वीकार्य नमुना बनाउ

भनिरहेछन् पाथिभरा माता

सुझाउ दिइरहेछन फक्ताङ्लुङ माता  ।

प्रकाशित: १७ मंसिर २०७७ ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App