लता केसी
शिवरात्रिको दिन थियो । गाउँमा निकै चहलपहल थियो। सबै गाँउले स्वंयसेवक रूपमा खटिएका थिए । व्यवस्थित र मर्यादित ढङ्गले कार्यक्रमहरू संचालन भैरहेका थिए । मेला लागेकाले खेलकुद , खानपिन र व्यापारका विभिन्न स्टलहरू पनि टन्नै थिए । सबै आआफ्ना धुनमा मस्त थिए । म पनि त्यसै मेलाको एउटा कुनोमा दर्शक बनेको थिएँ ।
मनमा कौतुहुलता थियो – आखिर त्यो फुच्चे केटो किन सबैसँग हात पसार्दै छ ! हेर्दा निरीह र झुत्रे देखिन्छ । बिचरा सडक बालक होला । खानलाउन पाएन होला । माग्दै हिँड्यो ।
पैसा , वस्त्र र खानेकुरा धमाधम सोहोर्थ्यो र एकछिन हराउँथ्यो । बारम्बार यही दृश्य दोहोरियो । म टोलाएँ । आफ्नो कामै बिर्सेर म उसको छेउमा गएँ । सोधेँ – के गर्छौ बाबू तिमी ! स्कुल जानु पर्दैन ! दिनभरि मागेरै बस्छौ !
अलि हच्कियो केटो तर उत्तर नदिई पर गयो , मभन्दा निकै पर । केटो रहस्यमय बन्यो । मैले उसको चियो गरेँ । भएभरको सामान एउटा ट्याक्सीमा हालेर हुँइकिँयो ऊ ।
म संशकित भएँ । कतै चोर त होइन वा कसैले उसलाई चोर बनाएर फाइदा त लिइरहेको छैन ! उसको जीवन बर्बाद त गरेको होइन ! अनेकन् प्रश्न उठेँ । जिज्ञासा बढ्यो । एउटा बालक र उसको भविष्यको चिन्ता भयो । मानवता पलायो अनि उसको पिछा गर्ने विचारले मैले हत्त न पत्त मोटरसाइकल दौडाएँ ।
ऊ अघिअघि , म पछिपछि लगभग आधा घन्टापछि उसको ट्याक्सी रोकियो । पैसा चुक्ता गर्यो । मागेर थुपारेका सबै सामान सकीनसकी बोक्यो । ऊ गेट खोलेर भित्र पस्यो । म परबाट हेरेको हेरै भएँ । ऊ आठदश जना सडक बालबालिकालाई सरसामान बाँड्न व्यस्त भयो । मनमनै पुकारा गरेँ – यो बालकलाई मन मात्र होइन प्रभु , धन पनि देऊ ।
प्रकाशित: १७ मंसिर २०७७ ०९:३१ बुधबार





