coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

विषयहरू परिचित, दृष्टिकोण मौलिक

पुस्तक

‘यस संसारमा मौलिक भन्ने वस्तु केही पनि छैन,’ ख्यातिप्राप्त बालरोग विशेषज्ञ डा. हेमाङ्ग दीक्षितले आफ्नो नवीनतम् पुस्तकको भूमिकामा कसैलाई उद्धृत गर्दै यस्तो लेख्नुभएको रहेछ । यो भनाइ पढ्दा मलाई आफू नेपाल नेसनल कलेज (जसलाई अचेल शंकरदेव क्याम्पस भनिन्छ) को छात्र छँदाको सम्झना भयो । नेपाली भाषा र साहित्य साह्रै रसिलो गरेर पढाउने प्राध्यापक राममणि रिसालले एकपल्ट कक्षामा यस्तै कुरा भन्नुभएको थियो ः यस संसारमा चर्चा, बहस हुनसक्ने सम्पूर्ण कुरा छलफलमा आइसकेका छन् जस्तो लाग्छ । लेख्न, विवेचना गर्न कुनै विषय बाँकी नै छैनन् भन्ने भान समेत हुन्छ । तर लेखपढमा लागेकाहरूले अनुभव गरेका छौं, हेर्ने कोण र अभिव्यक्तिका विविधताले गर्दा हरेक कुरामा हरेकपटक नयाँ पन, नयाँ विषय आउँछन् । जसरी हरेक मानिसको शरीरमा हात–गोडा लगायत सबै अंग एकैनासका हुन्छन् तर एक मानिस अर्को मानिसभन्दा भिन्न हुन्छ । एकको अनुहार अर्कोसँग मिल्दैन । अपवादका कुरा बेग्लै हुन्, अन्यथा प्रत्येक व्यक्ति विशिष्ट हुन्छ । बोली–चाली, हिँडाइ समेतका भिन्नताले उसको चिनारी बनेको हुन्छ । आदि, इत्यादि । २०७० साल कार्तिकमा परलोक हुनुभएका राममणि गुरुका २०२९÷३० तिरका यस्ता वचन र विचारबाट म अद्यापि लाभान्वित छु । गुरुका अन्य थुप्रै शिष्यहरूको पनि यस्तै अनुभूति होला ।

नेपालीमा ‘स्मृतिका डोबहरू’ भन्न सुहाउने किसिमको छ डा. दीक्षितको नयाँ कृतिः ‘रिफ्लेक्सन्स डाउन द एजेज’ । अंग्रेजीमा लेखिएको यो पुस्तक आत्मपरक निबन्धहरूको सँगालो हो । यसमा विषयको टड्कारो विविधता छ ः धर्म, संस्कृति, पर्यटन, कूटनीति, राजनीति, अर्थनीति, कृषिनीति, उद्योग नीति आदिको सेरोफेरोमा रहेर खोतलिएका अनेक घतलाग्दा प्रसंग र सन्दर्भ भेटिन्छन् । पढेर जानेका कुराको साथमा परेर जानेका ज्ञानगुनका धेरै पक्ष समेटिएका छन् । स्वास्थ्यसेवा र चिकित्सा शिक्षा त उहाँको आफ्नै कार्यक्षेत्र भयो । तिनलाई स्तरीय तुल्याउनेबारे उहाँका व्यावहारिक सुझाउ छन् । त्यसैगरी, नेपाली समाजको बनोट र यसका सबल–दुर्बल पाटाहरूलाई मिहीन ढंगले केलाइएको छ । नेपालमा प्रचलित लोकोक्तिहरूको सार्थक प्रयोग यत्रतत्र भेटिन्छ । भाषा र साहित्यमा डा. दीक्षितको अभिरुचि उल्लेखनीय रहिआएकै हो । बालसाहित्य पनि उहाँको लेखनको विधा हो ।  

हरेक आलेखमा नयाँ पन पाइन्छ चर्चाको विषय परिचित परिधिकै भए पनि । जस्तो, काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउन ढिला हुनुका अनेक कारण होलान्, तर शहर बजारमा पानी भरिएका प्लाष्टिकका ‘जार’ र बोतलको व्यापार फस्टाएको देख्दा कतै व्यवसायीहरूको चलाखी त हैन भन्ने कुरो लेखकको मष्तिष्कमा खेल्न पुगेको छ ।

हरेक आलेखमा नयाँ पन पाइन्छ चर्चाको विषय परिचित परिधिकै भए पनि । जस्तो, काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउन ढिला हुनुका अनेक कारण होलान्, तर शहर बजारमा पानी भरिएका प्लाष्टिकका ‘जार’ र बोतलको व्यापार फस्टाएको देख्दा कतै व्यवसायीहरूको चलाखी त हैन भन्ने कुरो लेखकको मष्तिष्कमा खेल्न पुगेको छ । कतिपय निबन्धमा यसअघि चर्चामा नआएका जानकारी र सूचनाहरू पाइन्छन् । जस्तो, नेपालमा सिख समुदायका मानिस कहिले आए र तिनका पवित्रस्थल काठमाडौं उपत्यकामा कहाँ–कहाँ छन् त्यसको उल्लेख सविस्तार भएको छ । सिख मतका संस्थापक गुरु नानक नेपाल आएको सन्दर्भ कोट्याउँदै तिब्बतबाट फर्किंदा उहाँले बालाजुको जंगलमा एक रात बिताउनुभएको कुरा उल्लेख छ । त्यो ठाउँ अचेल म्हेपी भनेर चिनिन्छ । बुद्ध, सगरमाथा, गोर्खाली योद्धा र तिनसँग गाँसिएका थरी–थरीका जानकारी २६८ भन्दा बढी पृष्ठको यस पुस्तकमा पाइन्छ । उपलब्ध सूचनालाई विवेचना गर्ने क्रममा लेखकले पश्चिमी संसारका उस्तै खाले मान्यताबारे तुलनात्मक चर्चा गरेको पनि भेटिन्छ ।  

दृष्टिकोणका कुरा चाहिँ भिन्दै हुन्– लेखकका सबै जिकिर, जिरह पाठकले रुचाउनैपर्छ भन्ने कुरो भएन । उदाहरणका लागि, हिन्दू पद्धतिमा पूजा विधि, कर्मकाण्ड, आशौच जस्ता प्रचलनमा सरलता अपनाउन सकिने कुरामा कसैले विवाद नगर्ला तर ‘सुधार’को नाममा वेद, पुराण, गीता समेतका ग्रन्थको उपेक्षा गर्ने वा तिनको अन्तर्यमा हेरफेर नै गर्ने कुरा आइपरेका बखत लेखक र पाठकबीच विचारको अन्तर हुन सक्छ । किनभने देवभूमिको रूपमा चिनिएको नेपालको विशिष्टता नखल्बलियोस् भन्ने मान्यता राख्नेहरू बढी संवेदनशील पनि हुन सक्छन् ।  

किताबमा सत्र–सत्रवटा निबन्धलाई चार खण्डमा बाँडेर ६८ वटा शीर्षक प्रस्तुत गरिएको छ । यसमा कोभिड–१९ को नयाँ महामारीसँग जोडेर दुइटा आलेख थपीकन कुल ७० वटा निबन्ध समेटिएको छ । बूढो पुस्ता र नयाँ पुस्ताको चर्चा गर्दा ७७ वर्षीय जो बाइडेन अमेरिकामा राष्ट्रपति निर्वाचित भएको विषय समेत थप्नुहुन्थ्यो होला लेखकले । तर अमेरिकी चुनाव हुँदा यो पुस्तक छापिइसकेको रहेछ ।

हेमाङ्ग दीक्षित लेखकको रूपमा प्रस्तुत हुँदा चिकित्सकको चिनारी दिन आवश्यक ठान्नुहुन्न । उहाँलाई लाग्दो हो, बिरामी वा उपचारविधिका विषयमा लेखेका बखत स्वतः डाक्टर भनेर पाठकले परिचय पाइसकेको हुन्छ, अघिपछि त्यो बिल्ला किन भिरिरहनु प¥यो र । उपन्यास वा आख्यान प्रकाशित भएका बखत उहाँले साहित्यको स्रष्टा मात्र हुन रुचाएको देखिन्छ । त्यसैले होला, यस्ता कृतिमा लेखकको नाम ‘मणि दीक्षित’ मात्र हुने गर्छ ।  

दीक्षितका सबैजसो पुस्तक अंग्रेजीमा छन् । नेपाल र नेपालीबारे अंग्रेजीमा लेखिएका किताबको कमी पूरा गर्न यसबाट सघाउ पुगेको छ । विदेशीले (र अचेल त विदेशिएका नेपाली र तिनका छोराछोरीले समेत) यसबाट गतिलै लाभ उठाउन सक्छन् । नेपालमा प्रचलित उखान र लोकोक्तिहरूको प्रशस्त प्रयोग भएको हुनाले चर्चित पुस्तकको महत्व बढ्ने देखिन्छ । काठमाडौंमा जन्मेर, भारत र बेलाइतमा पढेर सन् १९६१ मा डाक्टर भैसकेका लेखकले अंग्रेजीमा कलम चलाउन सहज मान्नु स्वाभाविक हो । हो, माध्यम अंग्रेजी छ, तर विषय नेपालकै सेरोफेरोका छन् । दुई विशाल देशका बीचमा रहेको भूपरिवेष्टित नेपालका चुनौतीहरू बुझ्न चाहने विदेशका विद्वान् एवं अन्वेषकहरूलाई निकै उपयोगी हुने सामग्री छन्– यस नौलो प्रकाशनमा ।

अनि, हामी नेपालीचाहिँ यस लोकोक्तिसित राम्रैसँग परिचित छौं: आगो ताप्नू मुढाको, कुरा सुन्नू बूढाको ।

प्रकाशित: १३ मंसिर २०७७ ०५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App