शर्मिला खड्का (दाहाल)
वसन्त ऋतुलाई लोभ्याउँदै तिमी फुल्यौ
मेरो कौसी र आँगनमा
सानासाना नानीलाई डोरयाउँदै कसरी आमाहरू
तिमीलाई लोभिँदै हेर्थे
हतारहतार घडीको सुईसँगै कुद्ने कर्मचारीहरू
कसरी चोर आँखाले तिमीलाई हेर्थे
बटुवाहरू, रमितेहरू, छिमेकीहरू आफ्ना आँखाहरू कसरी
नचाउँदै, उचाल्दै, चियाउँदै
तिमीलाई हेर्थे
तिमी लाजले भुतुक्कै भएर
आफैभित्र हराएर दिन परदिन
सुगन्ध र सौन्दर्य छर्न निर्लिप्त थियौ
मेरो मायामा त्यसै लुटपुटिएर
आफैँलाई भुलेर हाँसिरहेका थियौ
तर, अचानक एकदिन कुनै अदृश्य शक्तिले
यी सब कुरा बन्द गरिदियो
दौडिरहको बाटाहरू टक्क अडिए
कुदिरहने घडीका सुईहरू बन्द भए
तिमीलाई हेर्ने हजारौँ आँखाहरू
बाटाबाट एकाएक गायव भए
भन्छन् दन्त्यकथामा झैं शहरमा कुनै राक्षस पसेको छ रे
भन्छन् शहर– बजारहरू कुनै श्मशानघाट
बनेका छन् रे
सुन्छु सिंहझैं गर्जने आवाजहरू
मुसासँग मित लाउन थालेका छन् रे
आधुनिकतामा रमाउने मनहरू गाउँपाखा खोज्दैछन् रे
गाउँ होइन, शहर होइन, देश होइन महादेश नै
विरहको धुन बजाउन थालेका छन् रे
आफूभित्र आफैलाई खाज्दै छन् रे
सोच्दै छन् रे विज्ञानले हामीलाई
के बनायो, कहाँ पुरयायो, किन पुरयायो र कसरी पुरयायो ?
तर उनीहरू जवाफ खोज्न तिमीलाई नै सोध्न आउँदैछन् रे
तिमी कसरी यस्तो विपतमा पनि हाँसिरहका छ्यौ ?
तिमी कसरी प्रकृतिको अनेकौँ चुनौतीलाई पार गर्दै
बाँचिरहको छ्यौ रे
आखिर सृष्टि त एउटै हो
हामीले अलिकति बाटो विरायौ कि ?
तिम्रो सौन्दर्यको महत्व पो बुझेनौ कि ?
तिम्रो सुगन्धको सन्देश पो बुझेनौ कि ?
भन्छन् अरे,
कसरी संसार ठप्प हुँदा पनि तिमी उसरी नै हाँसिरहेका छ्यौ
जसरी तिमी बर्षौ पहिलेदेखि हाँस्दै आएका छ्यौ
हामीले तिम्रो महत्व पो बुझेका रहेनछौ कि ?
ठूल्ठूला शस्त्र, ठूल्ठूला शास्त्र, बमगोला, बारुद, क्षेप्रास्त्रले
बुझाउन नसकेको कुरा
आखिर हामीलाई आँखाले देख्न नसक्ने जीवाणुले देखाइदियो
आखिर जीवन त केही रहेनछ
मानिसलाई हराउन कुनै युद्घ त लड्नुपर्ने रहेनछ
तर पनि मानिस किन यो वैभव, घमण्ड र फोस्रो आडम्बर लिएर
बाँचिरहेको छ ।
उसको जीवन त आँखा देख्न नसकिने सूक्ष्म कणमा
त्रसिद हुँदो रहेछ ।
यही सूक्ष्म कणमा ऊ विवश, लाचार, निरीह छ
शायद यो नै सृष्टिको अर्को लीला हो कि ?
अब मानिसहरू धेरै कुरा तिमीबाट सिक्नुपर्ने छ अनि बुझ्नुपर्ने छ ।
त्यसैले उनीहरू तिमीलाई सोध्न आउँदैछन् रे ।
प्रकाशित: ११ मंसिर २०७७ ०७:५९ बिहीबार