१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

कीर्तिपुरे विद्यार्थीको एउटा कथा

कथा

 जितेन्द्र बस्नेत

 

साँझ झमक्क पर्दा नपर्दै एउटा चारतले घरको फरकफरक कोठाबाट उस्तै प्रकारका सिठीहरू बज्न सुरु हुन्छन् । कतै दोहोरी गीतका टुक्काहरू र हाँसोका आवाज पनि सुनिन्छन् । कोहीपल्लो झ्यालबाट वल्लो झ्यालमा, “ओई के पकाइस् ? बास्ना त मिठै आयो त ” भन्दै ठट्टा गर्छन् । त्यति नै बेला अर्को कोठाबाट एउटा साथी कचौरा लिएर उसले पकाएको दाल अलिकति हालेर लाँदै भन्छ, “के हो आज त दाल, भात, तरकारी नै खानलागिस् त !”  

पछि लाग्दै उसको कोठातिर जाँदै ऊ भन्छ, “केको दाल, भात, तरकारी ? तेरो कोठामा गोलभेँडा देख्या थेँ, त्यही दुईवटा ल्याएर अचार बनाउने हो । यो साग त भोलिका लागि ।”

दुवै हाँस्छन् । देशका अनेक भूगोलबाट उच्च शिक्षाका लागि त्रिभूवनविश्वविद्यालयमा आएर बस्ने मूलथलो रमणीय कीर्तिपुरका हरेक घरका कोठाहरूले लाग्छ पूरै देश बोकिरहेको छ । नजात, न भाषा, न वर्ग, न क्षेत्र । एकमुस्ठ मित्रता र एकत्व देखिन्छ ती युवापुस्तामा र त्यो कोठे संस्कृतिमा । लाग्छ, पीडा र परिवेशगत असहजतालाई लुकाएर मुस्कुराउन जान्ने युवा जमातका विश्वविद्यालयका दिनहरू रमाउँदै छन् पलपल ।

पाठकवृन्द ! कथा भेट्टाउनुभयो कि भएन? एकपटक पुनःनियाल्नुहोस् त ! दाल पकाएर गोलभेँडा लिन जाने पूर्वी पहाड धनकुटाबाट आएको किरण हो । उता मिठो बास्नापल्लो झ्यालबाट लिँदै गरेको अशोक, उसको पोखरामा राम्रो पक्की घर छ रे । अनि दाल लिएर जाने साथी जनकपुरबाट आएको विश्वराज, पातलो ज्यानको, अलि रोगी छ, तर डाक्टर बन्ने सोचमा तल्लीन । सायद कीर्तिपुरभरि यस्तै सङ्गम छ, अस्थायी बसोवास गर्ने युवा पुस्ताको । भित्र जस्तोसुकै यथार्थ र सन्ताप भए पनि भविष्य निर्माणमा होमिएका युवाहरूको आशा र दृढता अनवरत प्रवाहित छ ।

सुरुवातमा यस्तै उत्साह, सम्भावना र रहरमा बिते उनीहरूको साँझ, बिहान र दिनहरू । उता मित्रता, खुशी, विश्वास र सहयोग पनि रोचक थिए । घरबाट बेलाबेलामा ल्याएको चामल, दाल, सुख्खा तरकारी र बाले दुईवटा खसी बेचेर पठाइदिएको पैसा किरणले फारो गरेर चलाउनुपर्ने रहेछ भन्ने बुदानबुदै वर्ष बित्न लाग्यो । एकातिर शहरी जीवनशैली, अर्कोतिर आफ्नो यथार्थ, उसमा असन्तुष्टि बढ्नु स्वभाविक नै थियो । सबै कुरा ‘हुँदा’मा मात्र ठीक देखिने रहेछ र समयले नै सबै सम्बन्ध, विश्वासमा बाँध बनाउने रहेछ । आफ्ना रहरहरू, अध्ययन र घरको अवस्थाको तालमेल नमिल्दा किरण पढाइको कौतुहलताभन्दा भोक र शोखले खुम्चिन बाध्य भयो बिस्तारै । कतै शिक्षणको जागिर मिलिहाल्छ कि भनेर पत्रिका र अनलाइन साइटहरू हेर्न थाल्यो । तर, भन्नेबित्तिकै कहा ँपाइनु ! ऊजस्तै अरूले पनि भोग्न थाले यस्तै दिनचर्या । बल्ल जीवनको वास्तविकता किरणले महसुस ग¥यो । मित्रतामा द्वेष, दूरी र स्वार्थले अर्को डेरा जमाउँदै गयो । मान्छे आखिर मान्छे नै हो । पहिले आफैँलाई त सोच्छन् नि ! सबैले, हैन र !

दुई वर्ष बितिसक्यो, कीर्तिपुरको बसाइ, घरबाट पठाइदिएको केही पैसा र चामलले आफ्नो दैनिकी गुजार्दै थियो ऊ । पैसाको अभाव र जागिरको खोजीले उसको पढाइमा असर पुग्यो । नतिजाहरू राम्रा आएनन् ।उता अशोक अङ्ग्रेजी पढेको र पहिलाको केही अनुभव भएकाले उसका काका पर्नेले एउटा निजी विद्यालयमा पढाउने राम्रै जागिर दिलाए । अर्कोतिर विश्वराज बिरामी भएर थलिएपछि उसका आफन्तहरू मिलेर घर पठाए । यस्तैयस्तै अनेक बाटाहरू छानिए होलान् धेरैका । हरेक दिन एक पाउ गोलभेँडा, एक मुठा साग, आधा लिटर मोही किनेर साँझको भीडभाडमा ऐक्यबद्धता जनाएझैँ ओहोरदोहोर हुने जमात पातलिन थाले । लामो यत्नपछि किरणले एउटा विद्यालयमा गणित पढाउने जागिर पायो मासिक पन्ध्र हजार रुपिँया । सुरुमा के नै जस्तो भयो । घरमा पनि सुनायो । उता सबै रमाए, छोरो जागिरे भो अरे ! यताउ सलाई पनि घरभाडा र खान ठीकै भयो । जागिर कम थियो त्यसैले घरमा पठाउन सकेको थिएन । उता अशोकको उन्नति भयो । आफन्तको विद्यालयमा प्रधानाध्यापकसम्म भएछ । दुवै आआफ्नो दैनिकीले व्यस्त भए । तरकारी साटेर खाने कचौराहरू र गोलभेँडा साटिन छाडे । विरलै कुराकानी हुन्थ्यो । तर जे भए पनि साँझपर्नासाथ वरपरका कोठाहरूबाट उस्तै सिठी, ख्यालठट्टा र  हाँसोका आवाजहरू आउन छाडेका थिएनन् । मनमा के थियो बाहिर देखिन्न । आखिर मान्छे झ्यालढोकाखोलेर पो कहाँ रुन्छ र !

रहँदाबस्दा किरणले कीर्तिपुरमै पनि ट्युसन सेन्टरमा पढाउने मौका पायो । २०७६ सालको दसैँमा घर जाँदा उसले घरमा केही सामान र कपडाहरू पनि लान सक्यो । सबै खुशी भए । दसैँपछि लगत्तै स्कुल खुल्ने भएकाले ऊ फर्कियो । पढाइको भन्दा कामको तनाव बढी भयो । स्कुलको काम घरमा पनि गर्नुपर्ने भएकाले कलेज जान छोड्यो । नयाँ राम्रो कामको लागि आवेदन दिँदै ग¥यो । उसको आफ्नो अध्ययनको अन्तिम वर्ष चल्दै थियो, अध्ययन रोकियो । जागिर खाने निहुँमा जागिरले उसलाई खाँदै थियो ।

वर्ष दिन नबित्दै घरबेटीले भाडा बढाइहाल्थे । पन्ध्र हजारको जागिर, आधाजति भाडामा ठिक्क । उता अशोकले आफ्नो स्थिति राम्रो भएपछि त्यहाँ कोठा छोडेर अर्कौ घरमा दुईवटा कोठा लिएर बस्न थाल्यो । एक हप्तापछि थाहा पायो किरणले । फाल्गुनमहिनादेखि विश्वव्यापी महामारी बनेको कोरोनाको प्रकोपले नेपाललाई पनि अछुतो राखेन । चैतको दोस्रो साताबाट नेपाल पूरै ठप्प हुने गरी लकडाउन भयो । हतारमा, आवेशमा र आवेगमा दौडिरहेको शहरमा सन्नटा छायो । केही समय रहला भन्ने सोच्यो उसले पनि । स्कुलको वार्षिक परीक्षाको सबै काम सकेको भए पनि उसलाई स्कुलले चैतको तलव दिएन । कोठामा सीमित भयो ऊ । स्थिति असामान्य भएको भन्दै उसलाई काममा आउनु नपर्ने खबर आयो । सबै बाटाहरू बन्द भए उसका ।

 गरी खाने बाटो र सामान्य जीवन बाँचेकाहरूमा ठूलो घात भयो लकडाउनले । ज्यालामा काम गर्ने श्रमिक, मजदूर लगायत मूल सडकका पेटीमा बाँचिरहेकाहरू मूल्यहीन र बेसाहारा भए । रोगको सन्त्रास तीव्र गतिमा बढ्दै गयो । सोच्दै नसोचेको संकटले सबैलाई असर पा¥यो । एक छाक पनि खान नपाएपछि अनेकौँ बाधा छिचोल्दै हप्तौँ हिँडेर हजारौँ लर्कन पैदल हिँडेर आफ्नै थाकथलो फर्किए । हुँदाखाने र हुनेखानेको भिन्नता यही बेला स्पष्ट देखियो । यता किरण अन्योलले कोठामा छटपटायो । अलिअलि बचेको पैसा घरभाडा तिर्दै सकियो । घरको चामल सकियो । हितैषीहरू सम्पर्कविहीन भए । गाउँ फर्किन पैसा भएन । एकपटक अशोकलाई केही सहयोग मिल्ला कि भनेर फोन ग¥यो तर “व्यस्त छु पछि कुरा गर्छु ।” भन्दै फोन काटिदियो । कोठामा ग्याँस चुलो, भाँडा र रित्ता बट्टाहरू बचे । अलिकति बचेको चामलबाट जाउलो खाँदै गुजारा ग¥यो केही दिन । आखिर मुखमा मास्क लगाउँदैमा पेटको भोक नछेकिने रहेछ ।

कोरोना झन्झन् फैलिए पनि जनजीवन सहज बनाउन लकडाउन खुकुलो भयो । चहलपहल बढ्यो तर श्रम र पाखुराहरूको भने दूराावस्था थियो । कतिले माग्दै हिँडेको, कोही भोकले सडक पेटीमा ढलेको समाचारहरू आए । सरकारी जागिरेलाई भने कुनै चिन्ता थिएन । उसले घरबाट पैसा पठाइदिनु भन्न पनि सकेन । तर, मन थाम्न नसकेर एकदिन उसले अशोकलाई भेटेर केही रकम सहयोग गर्न भन्यो । तर अशोकले, “हेर साथी,  परिस्थिति जटिल छ । यस्तो बेला केही गर्न सकिन्न। बरु आज मेरोमै खाना खाएर जा”भन्यो । उसले नाईँ भन्न सकेन । अघिल्लो दिनदेखि उसले केही खाएको थिएन । मित्रतामा गोलभेँडा, दाल, साग बाँड्दा जुन हार्दिकताको भाव थियो, त्यो छाकमा उसले त्यो भेटेन । मन रुवाउँदै आधा खाएर उठेर निस्कियो ऊ । दिनभर कोठामै बस्यो । बेलुका उसको कोठामा सिठी बजेन । पल्लो झ्यालबाट कसैले चियाएनन् । कोठामा चुकुल लगाएर बसेपछि घरबेटीसँग भेट हुने उही भाडा तिर्दा मात्र हो । उसलाई न पढ्न जाँगर भयो न निदाउन सक्यो । मोबाइल पनि बन्द ग¥यो । एक गिलास पानी पियो । भित्ताको काँटीमा कलेज जाँदा बोक्ने झोलाले उसलाई हेरेजस्तै लाग्यो । केही महिनादेखि उसले त्यो चलाएको थिएन । उसले त्यो झोला झिकेर टक्टक्यायो । पछाडिको चेन खोलेर हे¥यो । त्यहाँ एक सय पचास रुपैँया रहेछ । त्यो पैसा भेटेपछि उसले हतारहतार सबै खल्ती खोतलेर छाम्यो । तर, पैसा त्यति मात्र थियो । जे होस्, कस्तो नसोचेको परिणाम उसका आँसु खसे । भेटेको त्यो अनमोल धन फेरि उही गोजीमा राखेर उसले चेन लगायो । झोला सिरानीमा राखेर पल्टियो ।

भोलिपल्ट ढिला उठ्यो । हतार हतार मुख धोएर कपडा फे¥यो । त्यही झोला बोक्यो । आफूसँग भएको पुरानो मास्क पुछ्पाछ गरेर लगायो । अनि ढोकामा साँचो लाएर ऊ निस्कियो । दुई घण्टाजति हिँडेर कीर्तिपुरबाट ऊ रत्नपार्क पुग्यो । नजिकै बाटो छेउमा धेरै मानिसहरू अलि खुकुलो गरी लाम लागेर बसेका थिए । सारा जीवन र अस्तित्व सकिएर छटपटाएका झैँ देखिने तिनीहरूलाई केही मनकारी मानिसहरूले केही समयदेखि त्यहाँ खाना खुवाइरहेका थिए । किरण त्यही लाममा पछाडि उभियो । दायाँबायाँ हेरेर टुसुक्क बस्यो । पत्रकारहरू आजको खबर बनाउँदै थिए क्यामरा तेरस्याएर । एक हातले क्यामरा छेल्दै निहुरियो ऊ ।

जीवनको यो कठिन अवस्थाले उसको मन कुँडियो । पेट र गाँसका लागि एउटा युवा र सयौँ अरू सिंहदरबार अगाडि नै त्यसरी भोकले दुर्घटित हुँदै गर्दा नजिकै सैनिक मञ्च टुँडिखेलमा संविधान दिवसको विशेष कार्यक्रमको तयारी हुँदै थियो । उसले एक गाँस मुखमा हाल्यो  तर आँखाबाट दुई थोपा आँसु खसे । तत्काल प्रधानमन्त्रीको आगमनको कारण त्यहाँ भीडभाड गर्न नमिल्ने उर्दीले सबै तितरवितर हुँदै थिए । ऊ पनि पहिलो गाँस मात्र खाएर रहेको बाँकी खानाको टपरी च्यापेर निस्कियो । ऊ कता लाग्यो कसैले हेक्का राखेनन् ।

प्रकाशित: २० कार्तिक २०७७ ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App