१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

धनपतिको चोट

लघुकथा

निर्मला बराल 

 

धनपतिको परिवारमा हरेक वर्ष  दशैंमा ठूलै लामकाने खसी ढल्थ्यो । हुन त परिवार पनि ठूलो थियो । सानोतिनो त एक दिनभन्दा दुई दिन पुरयाउन धौधौ परथ्यो । प्रत्येक वर्ष अष्टमीको दिनमा नै हुन्थ्यो मार हान्ने काम । अघिपछि पनि परिवारमा रमाइलो गर्दा खसी नै ढालेर खाएर रमाइलो गर्ने धनपतिको परिवारमा छोराको विवाह गरेको धेरै वर्ष  पछि नातिको जन्म भयो। योभन्दा खुशी अवसर के नै थियो र ! खसी त नढल्ने त कुरै भएन । तर, त्यो कुरा बुहारीलाई भने मन परेन । कारण हप्ता दिन जतिअघि उनको सपनामा बुद्ध भगवान् आउनुभएछ र भन्नुभएछ, “तिम्रो गर्भको बच्चाले जन्म लिएपछि घरमा मारकाट  हिंसा गर्दै नगर्नू !” 

उनले पनि आफूले देखेको सपना श्रीमान, ससुरा र सासूलाई सुनाउन ढिला गरिनन् । आखिरमा घरमा मारकाट नगर्ने तर मासु किनेर ल्याउँदा भैहाल्छ नि भन्ने कुरा तयार भो । औलामा दिन गन्दागन्दै बालकको जन्म पनि भो । परिवारमा खुसीयाली छायो । आफन्त र साथीभाइ डाकेर नातिको न्वारानमा धूमधामसँग मनाइयो ।

समय बित्न कति बेर लाग्छ र ! आजभोलि भन्दाभन्दै  नाति हरि टुकुटुकु  हिँड्ने भो । बच्चा भईकन पनि ऊ शान्त र प्रकृतिप्रेमी थियो । उसका लागि थरीथरीका खेलौना थिए  तर उसलाई भने साँच्चैका  कुकुर, बिराला, खसी बाख्रा,गाई,बाच्छा, चराचुरुंगी मन पथ्र्यो । तिनीहरूलाई  देख्दा उसमा खुशीको सीमा रहदैन्थ्यो ।

पोहोरको साल नब्बे बर्षका धनपतिको बुबा बित्नु हुँदा दशैँ  छेकियो तर यसपालि दशैँ मान्न घरमा चार महिना अघिदेखि नै पहाडको खसी ल्याएर राखिएको थियो ।  घाँस, दाना ख्वाएर राखिएको खसी दिनानुदिन अझ बलियो हुँदै थियो । नातिको साथी बनेको थियो त्यो खसी ।  दिनभर ऊ त्यही  खसीसंग खेलिरहन्थ्यो। आफूले जे खायो खसीलाई पनि त्यही खुवाउनुपर्ने उसको दिनचर्या भएको थियो । खसी पनि ऊसँग रत्तिएको थियो । हरिलाई एकछिन नदेख्दा खसी पनि म्याँम्याँ गर्दै कराइरहन्थ्यो । देखेपछि मात्र चुप लाग्थ्यो । मान्छे र जनावरको यस्तो मायामोह देखेर  धनपति मनमनै भन्न थालेका थिए, “बरु मार हान्नुभन्दा दुईचार दिनअघि ल्याउँदा हुने रैछ ! बेकारमा छिट्टै  ल्याइएछ । बुद्धि पुगेन, के गर्नु !” अष्टमीको  दिन घरको  पूजापाठ गरेर सकियो । बाहिर आँगनमा ठूलो खडकुलोमा पानी भकभक उम्लिरहेको थियो । आज यो खसी काट्दै छन् भनेर हरिले सुइँको पाइसकेको थियो । उसलाई भुलाएर फकाएर कोठामा लान खोजियो । तर उ डेग चलेन ।  

मेरो साथी खसी पनि भित्रै मसँगै खेल्छ भन्दै ऊ रुन लाग्यो । उसले रोएर उधुमै मच्चायो ।  

छेउमा गएर खसीको दाम्लो समाएर रयालसिँगान पारेर ऊ क्वाँक्वाँ रुन थाल्यो । नातिलाई फकाउने सम्पूर्ण प्रयास विफल भयो धनपतिको । आखिरमा मानेन नातिले । 

बरु हजुरबुबासँग उसले बिन्ति गर्यो, “ मेरो साथीलाई बचाउन हजुरको भगवान् बोलाइदिनु न, हजुरबा !”  

बालकको  त्यस्तो अनुरोध सुनेर घरका सबै छक्क परेर मुखामुख गरिरहे ।

प्रकाशित: १३ कार्तिक २०७७ १०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App