शेखरकुमार श्रेष्ठ
श्रीमानलाई खाना पस्केर खुवाइसकेपछि रूपाले हत्तारहत्तार खाना खाइन् । श्रीमान्ले अफिसको युनिफम सर्ट र पाइन्ट लगाइसकेका थिए । श्रीमान्ले ड्रयरबाट मोजा निकालेर लाइसक्दा नसक्दै रूपा श्रीमान्को समीप सेवाका लागि हाजिर भइन् ।
“मेरो टाई बनाइदेऊ न ।” श्रीमान् टाई बाँधी मागे ।
रूपाले टाईको नट बनाई लगाइदिइन् अनि रूपाले हत्त न पत्त दराजबाट कोट निकालिन् । उनले श्रीमानलाई कोट लगाउन सघाइन् । रूपाले कोटको धूलो टकटकाइदिँदै लाडिएको स्वरमा भनिन्, “अब त हजुरको यो कोट ज्यादै पुरानो भइसक्यो । हजुर अर्को कोट सिलाइस्योस्न् ।”
श्रीमान् मात्र मुसुक्क हाँसे । श्रीमानको मुस्कान नसकिँदै रूपाले खाटमा भएको ढाका टोपी झिकेर लगाइदिइन् । श्रीमान्ले टेबुलमाथि भएको ब्याग लिए । रूपा बाहिरी ढोकानिर पुगिन् । उनले श्रीमानको जुत्तामा लागेको माटोको धूलो टकटकाइदिएर ढोकाको छेउमा राखिदिइन् । श्रीमान् अफिसका लागि निस्कन लाग्दा रूपाले दराजको ऐना मिलाएर आफ्नो अनुहार पुलुक्क हेरिन् ।
त्यतिबेला ज्योतिष बाजेले मन्त्र उच्चारणसहित दिएको खरानीको टीका श्रीमानले निधारको बिचमा मिलाएर लगाए । अनि बाहिर निस्केर श्रीमतीले बुरुस लगाएर राखिदिएको जुत्ता लगाउन गोडा छिराए ।
“ओ ऽऽहो ! झन्डै लडेको ?”, श्रीमान् भयभीत भई कराए ।
श्रीमानले श्रीमतीको टाउकोको कपालमा समाउन पुगे । श्रीमानको हातले टाउकोको कपाल अठ्याउँदा रूपाको मुख अँध्यारो भयो । तापनि आफैलाई सम्हाल्दै रूपाले मुसुक्क हाँस्दै भनिन्, “हैन हजुरले जुत्ता कसरी लाइस्या ? झन्डै लडिसिनुभएको !”
“लडेको भए पनि तिमी छँदै थियौ नि ? केको चिन्ता छ र मलाई ? तिमीजस्ती अर्धाङ्गिनी, प्राणप्रिया, सहगामिनी साथमा छँदा ।” विशेष्य श्रीमती शब्द लुकाएर विशेषण शब्द प्रयोग गरी श्रीमानबोले । यसपटक भने श्रीमती आवाज नै निकालेर हाँसिन्– गम्भीर तालको पानीमा माथिबाट परेको ढुङ्गाको थर्कनले हलचल भएझैँ ।
श्रीमतीसँग बिदा भएर श्रीमान् हिँडेपछि छोराछोरी पनि खाना खाएर क्याम्पस जाने लुगा लगाउन आआफ्ना कोठाभित्र पसे । छोराछोरी दुवैले आजको छनोटको लुगा लगाई भने, “ममी, गयौँ है । आज बेलुका घर फर्कन ढिलो हुन्छ कि जस्तो छ ।”
परिवारका ठूलादेखि कनिष्ठ सबैजना आआफ्नो व्यवसायमा दख्खल दिन हिँडेपछि श्रीमती रूपा भान्साकोठामा गइन् । भात पकाउने, पस्कने र खाने सबै भाँडाको साथ चुल्हो सफा गरेपछि रूपाले भान्साकोठामा कुचो लगाइन् । भान्सेधन्दा सकेपछि साबुन पानीले हातगोडा धोइन् र दराजको ठूलो ऐनाअगाडि रहेको कुर्सीमा बसिन् । हिजो कोरेको कपाल फुकाएर काइँयो लगाइन् अनि कपाल सर्लक्क पछाडि लगी बाँधिन् ।
बाबियोझैँ लामा रूपाको कपाल पुठ्ठासम्म तुर्लङ्ङ झोल्लियो । उनले कपाललाई सानोसानो पारी कोरिन् । सानो कपालका मुठ्ठालाई पनि उनले मिहीन दृष्टिले गम्भीर भई हेरिन् । हेर्दै जाँदा उनको दृष्टि सेतो कपालमा प¥यो । उनी झसङ्ग भइन् । उनले ढोका र झ्यालतिर हेरिन् । अनि फुलेको सेतो कपाल टिप्न काला कपाल पन्छाइन् । उनले सेतो कपाल जतनसँग समाउँदै आकाशतिर हात झटकारिन् । एउटा सेतो कपाल झिक्न पाएको छैन उनको दृष्टि अर्को सेतोमा प¥यो । “लौ, धेरै कपाल पो सेता भएछन् कि क्या हो ?”
उनले टिप्न लागेको सेतो कपाल टाउकोमा नै छाडिन् । उनले शनैः शनैः हल्कासँग कपाल कोरिन् । उनले आँखाको कोसमा बाटुलो गाजल लगाइन्–जसरी हरेक नारीले अनुहारको सुन्दरता देखाउन जेजे जहाँ जसरी लगाउँछन् उनले त्यसैगरी लगाइन् । शृङ्गारपटार सकेपछि उनी घर बाहिरको सुसेधन्दामा लागिन् ।
उमेरले चवालीस वर्षकी भए पनि रूपाको मुहार धपक्कै बलेको थियो । उनको आँखा षोड्षी उमेरको चञ्चला केटीको झैं तीक्ष्ण थियो । उनको वदन गाईको बाच्छोको झैं छोऊँछोऊँ लाग्ने थियो । उनको निधार स्वच्छन्द आकाशझैं चौडा र गाला पूर्णिमाको रातजस्तै झल्लल बलेको थियो । उनले कानमा लगाएकी स्वर्ण आभूषण हरिया पातका बिचमा फलेका सुन्तलाझैं मनमोहक थियो । उनको अनुहारबाट हातमा नजर दिने हो भने नाडीको नसाचाहिँ फुलेको तर हातको रङ भने दूधजस्ता सेता थिए ।
दिन ढल्केर साँझ पर्न थाल्यो । रूपाले घरबाट विभिन्न काममा जानेका लागि खाजा तयार गरिन् । उनी आफैले पनि खाजा खाइन् । परिवार पाल्न पैसा कमाउन गएका उनका श्रीमान् घर फर्किए । उनले ढोका खोलेपछि पति आई कौचमा दिनभरिको कामको थकान बिर्सन लामो श्वास फेर्दै थचक्क बसे । पत्नी रूपा चिया बनाउन भान्साकोठातिर लागिन् ।
रूपाका पतिले कोटबाट रातो कलम झिके । उनले पत्रिका पढ्दै महत्वपूर्ण कुरा रेखाङ्कन गर्न थाले । पत्नी रूपाले बाफ आउँदै गरेको चिया बोकी आइन् । उनले पतिको टेबुलअगाडि चियाको कप राखिन् र भनिन्, “पहिले चिया त खानुहोस् । खाजा पनि ल्याइदिइहालूँ कि ?”
“पर्दैन अहिले । आज मैले साथीहरूसँग कार्यालयमा नै बसेर खाजा खाएको छु ।”, पति बोले ।
श्रीमती मौन रहँदै टेबुलमा भएको अघिल्लो दिनको पत्रिका पढ्न थालिन् । श्रीमान्ले भने आजकै पत्रिकाको पछिल्लो भाग पल्टाए । त्यस पृष्ठमा भर्खरका नवयौवना नायिकाहरूको मांसल देखिने तस्बिर थिए । श्रीमान्ले तन, मन र सूक्ष्म दृष्टि दिँदै रूपाकै अगाडि नायिकाका तस्वीरहरू हेरे । यस समय पति घरीघरी पत्नीको मुखतिर पनि कर्के नजरले हेर्थे । श्रीमती रूपा पनि बेला बेलामा श्रीमान्को दृष्टि परेको पत्रिकातिर हेर्थिन् । श्रीमान्ले पत्रिकाबाट नजर हटाउन नसकेको देखी रूपा श्रीमान्सँग टाँसिन थालिन् ।
श्रीमतीको धक्काले केही धकेलिएका श्रीमान् अलिकति पर सरे । उनले पत्नी रूपालाई हेरे । उनीहरूको आँखा साँझको त्यस समयमा मन नै लहसिने गरी जुध्यो । श्रीमान्ले पछिल्लो पृष्ठ नै स्पष्ट देखिने गरी टिटेबुलमा पत्रिका राखेर लुगा फुकाल्न थाले । रूपा पनि झट्ट उठिन् र कोट फुकाल्न हात बढाइन् । उनले बिहान लगाइदिएको टाई हिफाजतसाथ फुकाइन् ।
श्रीमान्ले लुगा फेरे । श्रीमान्को नजरले कोठाको चारैतिर दृष्टि दियो । सबैतिर हेरेपछि श्रीमान्को आँखा दिउँसो सजिएर चिटिक्क परेकी रूपामाथि पर्न गयो । उनले रूपालाई शिरदेखि पाउसम्म नियालेर हेरे । उनको यो हेराइ यसभन्दा पहिले एकपटक मात्र थियो, त्यो पनि रूपा घरभित्र प्रवेश गरेको पहिलो दिन वा सुहागरातको दिन । आज पनि पतिले नियालेर लगाएको एकएक कपडा र अङ्ग हेरे । उनी एकबाजी हाँसे । रूपाले महसुस गरिन्, सुहागरातको दिन पति मुसुक्क मुस्काएका थिए तर आज खित्का पनि छोडे ।
रूपाले सोधिन्, “किन हाँस्नुभएको ?”
“त्यसै, त्यत्तिकै हाँसो उठ्यो ।”
“भन्नुस् न के भयो ?”, रूपाले लाडिँदै भनिन् ।
श्रीमान्ले पुनः श्रीमती रूपालाई नियालेर हेरे अनि भने, “ए रूपा त लौ ...।”
“किन ? के भयो ? म के भएँ ?” रूपाले मस्किँदै पतिको प्रशंसा पाउने आशाका साथ सोधिन् ।
“लौ, तिमी त बूढी पो भएछौ ? ल हेर त कपाल पनि फुलेछन् । यी त पानी खान नपाएको कर्कलाझैं फुलेछन् ।”, फुलेको कपाल छातीतिर तानेर झार्दै पतिले भने ।
कपाललाई छातीबाट तानी सिउँदोतिर लग्दै रूपाले भनिन्, “हो तपाईँचाहिँ बूढो हुनुभएको छैन नि ? आनो अनुहार शीत परेको घाँसझैं फुस्रो भएको कसले हेरिदियोस् नि ?”
“मैले ढाँटेको होइन रूपा । ल हेर । यी तिम्रा गाला पनि त धान काटेर बाँझो पल्टिएका खेतझैं फुङ्ग परेका छन् । यी गालाका हड्डी पनि त बेमौसमी झारझैं उक्सिएका छन् । हेर, म त केटा मान्छे । अहिले नै कहाँ बूढो भएको छु र ?”, पतिले रूपाको नभई आफ्नै प्रशंसा गरे ।
“सात वर्षीय गोमासँग विवाह गर्ने शिव शर्मा ब्राह्मणझैं खान पाएपछि दुधिलो गोमा देखेपछि हृष्टपुष्ट हुने जाति हुँ म । त्यसमा पनि म भर्खर दुईबिसा आठ उमेरको त भएँ ।” पतिले पुरुष अभिमान देखाउँदै बोले ।
श्रीमान्को कुरा सुनिसकेपछि रूपाको अनुहार अमिलो निचोरेर फालेको खोस्टाझैं अनुहारको भाव बदलियो । उनी केही बोल्न नै सकिननँ । उनी सरासर भान्साकोठातिर लागिन् । उनलाई आज खाना बनाउने जाँगर मरेर गयो । उनले प्रेसरमा भात बसालिदिइन् । उनले तोफा र भटमास मिसाएर गुन्द्रुकको तरकारी मात्र पकाइन् । अनि पति टिभी हेरी बसिरहेको कोठाको खाटमा मौन तर दुनोट फुलेझैं फुलेर बसिन् ।
दुवै छोराछोरी पनि घर आइपुगे । रूपाले छोरीलाई भनिन्, “नानी, सबैलाई भात पस्केर खान दे ल । म आज खान्न । भोक पनि लागेको छैन । आज टन्न खाना खाएँ । मज्जाले अघाएकाले उकुसमुकुस भइराखेको छ ।”
खाना खाएर सबै फर्किए । रूपा अझ पनि अघिकै आसनमा थिइन् । रूपाले बोली, “आमा, के भयो आज ? तपाईका अनुहार अँध्यारो देख्छु नि ? “सन्चो नभएर हो त आमा ? आज तरकारी पनि कस्तो कस्तो थियो ? अचार पनि बनाउनुभएको रहेनछ । आजको खानेकुरामा धेरै कुराको अभाव थियो । खासगरी तपाईँको माया थिएन ।”, छोराले जिज्ञासात्मक प्रश्न राख्यो ।
रूपाको अनुहार श्रावणमा वर्षात्को आह्वान गर्दो मेघको झैं धमिलो थियो । पतिले पनि रूपालाई हेरे । पति मुसुक्क हाँस्न खोजे तर उनले मनबाट निस्केको हाँसोलाई बाहिर देखाएनन् । उनी केही नबोली कौचमा ढल्केर टिभी हेर्न थाले । रूपालाई भने आज त्यस कोठा नै अप्ठेरो भएको महसुस भयो । उनलाई सास नै रोकिएलाजस्तो अटेसमटेस हुन थाल्यो । उनलाई भाउन्न हुन थाल्यो । उनलाई सुसु गरूँ कि जस्तो भयो । उनलाई भोमिट पनि आउन लागेजस्तो हुन थाल्यो ।
रूपा जुरुक्क उठी ट्वाइलेट गइन् । बल्ल उनलाई केही राहत मिल्यो । उनले ट्वाइलेटमा भएको ऐनामा आफ्नो अनुहार नियालेर हेर्न थालिन् र मनमनै भनिन्, “साँच्चै, म त बूढी नै पो भएको रहेछु त । कपाल त फुलेफुले । निधारमा टीका नै नबस्ने भएछ । खोई त दिउँसोको शृङ्गार ? शृङ्गार पनि त खसेछ । कानका लोती पनि त झोलिएका छन् । गाला पनि त वर्षाको उन्मादले छाडेको बगरजस्तै भएको रहेछ । ओठ पनि त फूल टिपेर बाँकी रहेको डाँठजस्तै भएछन् । आँखा पनि त ब्याउँदाब्याउँदै थाकेको बाख्राको झैं टीठलाग्दो भइसकेछन् । जिब्रो पनि त लवण नपुगेको आलुझैं भएछ ।
रूपाले जति जति मिहीन ढङ्गले आफूलाई हेरिन् उति उति आफूमा अपुग र खस्किएको सम्झन पुगिन् । उनलाई ओइलाइरहेको बैँसप्रति नै उदेक लाग्न थाल्यो । उनी आफैसँग आफूले बोल्न नसक्ने कमजोर बनिन् र पतिलाई सम्झँदै आँखाबाट आँसु झारिन् ।
“आमा ढोका खोल्नुहोस् न मलाई ट्वाइलेट छिर्न मन लाग्यो ।”, छोराले ढोका ढकढक्याएपछि रूपा बाहिर निस्किन् । उनी केही नबोली कौचमा गएर बसिन् । टिभीमा हिन्दी सिरियल आइरहेको थियो । कोहीको पनि कसैसँग बोलचाल भएन । करीब एक घन्टापछि श्रीमान् सुत्न गए । छोराछोरी पढ्न भनी आआफ्ना कोठामा छिरे ।
रूपाले टिभीको च्यानेल परिवर्तन गरिन् अनि आवाज बढाइन् । रूपाको मनलाई कार्यक्रमले तान्न सकेन । उनले टेबुलमा भएको पत्रिका जुन श्रीमान्ले अघि हेरेका थिए त्यसैलाई हेरिन् । श्रीमान्ले अघि हेरेको तरुनी नायिकाको अर्धनग्न तस्विर नै उनले हेरिन् । उनी जुरुक्क कौचबाट उठिन् र लगाइरहेको साडी घुँडाबाट माथि सारिन् । उनलाई लाज लाग्यो र फेरि कौचमा गएर बसिन् । उनले फेरि पत्रिका हातमा लिइन् र सोचिन्, “कति राम्री छे यो केटी । छिन्न लागेको बारुली कम्मर । पाक्न लागेको फर्सीको झैं तिघ्रा । कोरली बाच्छोको झैं पिँडौला । छोटो भए पनि कति सुहाएको कपडा ? मैले लगाएको लुगा हेर ।”, उनले त्यही नग्न केटीको पुठ्ठामा पर्ने गरी आँसु झारिन् ।
रूपाले कौचमा नै बसेर हातको सिरानी बनाइन् अनि टाउको राखेर सोच्न थालिन्, “साँच्चै म अब वृद्ध नै भएको हुँ त ? के मेरो उमेर ढल्केको हो त ? के मेरो उमेरसँग अब जवानी छैन त ? गाईवस्तुले त अन्तिम अवस्थासम्म यौवनलाई देखाएर मालिकका लागि पाठापाठी दिएर सम्पन्न बनाउँछन्, के ममा मेरा श्रीमान्लाई यौवनको सन्तुष्टि दिने इच्छा अब झर्न लागेको हो त ?”
रूपा आफूले बनाएको प्रश्नभित्र आफै अलमलिएर हराउन थालिन् । आज उनमा श्रीमान्सँग कुरामा मच्चिने क्षमता पनि रहेन । दिनभर कोकोसँग रहेर केके काम गर्नुभयो त भन्ने कुरा पनि उनले सोध्न सकिनन् । छोराछोरीले गरेका कार्यको प्रगति विवरण पनि लिन सकिनन् । आज उनी मणि हराएको सर्पजस्तो भइन् ।
सोच्दासोच्दै रातको त्यस समयमा घडीका सबै सुई एकैठाउँमा पुगे । घडीले सबै सुईलाई पृथ्वीरूपी संसारमा घुम्न दिएर अन्तमा आफ्नै वशमा राखेर समय दिइरहेको देखिन् । तर, आफूले कसैलाई नियन्त्रणमा राख्न नसक्ने हो कि भन्ने महसुस गर्न थालिन् । यही महसुससँगै उनी कौचमा निदाइन् ।
उनका पतिदेव हँसिलो मुद्रामा कार्यालयबाट मोटरसाइकल लिएर फर्कँदै थिए । पतिको मोटरसाइकलपछाडि लावण्यवती नारी थिइन् । उनले त्यो स्त्री को हुन् चिन्न नै सकिननँ । पतिको पछाडि बसेर आफ्नै घरभित्र पस्दै गरेकी युवती देखी रूपा झसङ्ग भइन् । ढोकामा बसिरहेकी रूपाले पति र पतिसँग घरभित्र छिर्दै गरेकी युवतीलाई बाटो छाड्न दुई पाइला पछाडि हटिन् । उनले ढोकालाई छड्के पारी घरको द्वारमा नै आइसकेका पति र यसभन्दा अघि कहिले नदेखेकी नवयुवतीलाई छड्के बनी कर्के नजरले हेर्ने प्रयास गरिन् । उनलाई पति पतिजस्तो लागेन । उनले आफ्नै पतिलाई पनि अर्कैको पति देखिन् । घरमा प्रवेश गरेका ती जोडीलाई उनले परेवाको जोडीका रूपमा हेरिन् । केटाले कोट फुकाले । कोट नव युवतीले हातमा लिइन् । नवयुवतीले केटाको टाई खोलिदिइन् । दुवैले एकअर्कालाई अँगालोमा बाँधेको देखिन् अनि कोठाको त्यस एकान्तमा ओठ र गाला अनि ओठमा ओठ जोडेको देखिन् । रूपाले बल्ल महसुस गरिन् र बोलिन्, “होइन, तपाईले को युवतीसँग मुख जोड्नुभएको ?” रूपा रुन थालिन् । उनी झसङ्ग भइन् । कौचमा नै निदाएकी रहिछन् । उनले सपना पो देखेकी रहिछन् । उनलाई पतिले कौचबाट उठाएर खाटमा पनि लगेका रहेनछन् ।
“छ्या, कस्तो सपना देखिछु ! सपना सपनामा नै सकियोस् । म नचाहिँदो सोचमा पो डुबिछु ।”, रूपाले मनमनै सोचिन् । उनी कौचबाट उठिन् र कवामा भएको पानी खाइन् । पानी खाँदाखाँदै उनको आँखा दराजको ऐनामा प¥यो । उनले ऐनामा सविस्तार आफ्नो मुहार हेरिन् ।
“छ्या, अनुहार त कस्तो कुरूप पो भएछ ! हेर नाक कति माथि उठेको ? डिम्पल रहनुपर्ने गाला पनि त भित्र पसेछ । आँखामा गाजल नै नअडिने भएछ । निधार पनि त कोप्चिलो परेछ । दाँत पनि काला हुन थालेछन् । दाँतको बिचमा त खाली भाग पनि देखिन थालेछ । ला, मेरो दाँतमा त किरा पनि लागेछ । कपाल पनि दिउँसो हेरेभन्दा धेरै सेता भइसकेछन् ।”, रूपाले सम्पूर्ण शरीर हेर्दै आफूमा हराउन थालेका विगत सम्झन थालिन् ।
रूपाको हात सुस्तरी शृङ्गारका सामान राखेका ड्रयरमा पुगे । उनले लाली, किरिम, पाउडर, लिपिस्टिक दलिन् । उनले कानमा झुम्का लगाइन् । गलामा सिक्री पनि लगाइन् । उनलाई शृङ्गारका प्रशाधनले जिस्काएजस्तो लाग्यो । उनको आँखाबाट आँसु झ¥यो । उनी कौचमा नै घोप्टो परिन्, “साँच्चै, पतिदेव म बूढी नै भएछु ।”
रूपा रुँदारुँदै त्यहीँ निदाउन पुगिन् । उनले पूर्व सपना दोहो¥याएर क्रमशः देखिन् ।
“तपाईले म बूढी भएकाले नै अर्की श्रीमती मेरा लागि सौता ल्याउनुभएको हो ?”, रूपाले भनिन् ।
“हो, तिमीमा अब बैँसको उबार रहेन । तिमीले मलाई शारीरिक आनन्द दिन सकेनौ । तिमी थाकिहाल्छौ । त्यसैले मैले ल्याएको हुँ ।”, पतिले जवाफ दिए ।
“अनि छोरा छोरी ।... बढेर लाठे भएका छोराछोरीका अगाडि सरम लागेन हजुरलाई ।”, रूपा जोडले कराइन् ।
“केको सरम रूपा ? मनको इच्छा नपुगेपछि ल्याउन परिहाल्यो नि । तिमीलाई थाहा छैन ? मानिसलाई यौन पनि त गाँस, वास, कपासजस्तै आधारभूत र प्राकृतिक हुन्छ ।”, पतिले भने ।
“म तपाईलाई छाड्दिनँ । यस उमेरमा तपाईले धोका दिनुभएको ? म तपाईसँग बदला लिन्छु ।” यति भनी रूपा लुगा लगाएर माइत गइन् ।
माइतीको सहयोगमा उनले जिल्ला अदालतमा लोग्नेलाई विपक्ष बनाई मुद्धा हालिन् । अदालतको फैसलाअनुसार श्रीमान् र नव युवती जेल परे । उनी माइतबाट घर फर्किइन् ।
पाँच वर्षपछि लोग्ने जेलबाट छुटे । जेलबाट छुटेका पति नव युवतीलाई लिएर घरबाहिर निस्कँदै भने, “रूपा तिमीले मलाई पाँचपाँच वर्ष जेलमा कोचेर महान् र आदर्श बन्ने पुरस्कार दिएका छौ । यही पुरस्कारका कारण तिमीलाई यो घर छाडेर म कहिले नफर्कने गरी जिल्लान्तर हुँदै छु ।” यति भनी अगाडि डेग बढाएका पतिलाई रूपाले सम्बोधन गर्दै भनिन्, “विमल ! मलाई...।”
रूपाले बोलाउँदा पनि उनका पतिले पछाडि फर्केर हेरेनन् । उनका पतिले छुटेको रेलझैं रफ्तार बढाएको बढाई गरे । रूपा भने रेलको यात्री छुटेझैं स्टेसनमा थुचुक्क बसिन् ।
केहीबेरपछि छुटेको रेल भेट्न दौड्न थालिन् । उनले दौँडदादौँड्दै पति चढेको रेल भेटिन् । उनमा स्वाँस्वाँ बढ्यो । उनी निद्राबाट ब्युँझन पुगिन् ।
“धत् ! कस्तो पाजी र पापी सपना देखिएछ ।” उनी मनमनै दिक्क भइन् । उनी पति निदाइरहेको खाटछेउ पुगिन् ।
गिद्धले सिनो देख्दा झम्टन खोजे झैँ रूपाले लोग्नेलाई छोप्न हात बढाउँदै भनिन्, “मलाई बुढी भन्ने यसलाई अहिले नै मारिदिन्छु ।”
सुतिरहेको लोग्नेको घाँटी छेउमा हत पुग्दा रूपाको हात टक्क रोकिए । उनले लोग्नेको गाला मुसारिन् । सुतिरहेका लोग्ने कोल्टे फर्किए ।
रूपा फेरि कौचमा आएर बसिन् । उनले छोरा विजय र छोरी विमलालाई सम्झिइन्, “छोरा २० वर्षको भइसक्यो । छोरी त झन् २२ वर्षकी भइसकिन् । अबको दुई वर्षमा त विवाह गरिदिनुपर्छ । उमेर छँदैमा छोरीले सन्तान जन्माउन पर्छ नत्र छोरीलाई सन्तान पाउन, हुर्काउन र बढाउन गाह्रो पर्छ ।”उनी फेरि सम्झन्छिन्,“ ...हैन मलाई के भो आज ? के नाना कुरा सम्झेकी हुँला ?”
रूपा कौचबाट खाटमा गएर पल्टिइन् । उनले लोग्नको मुख एक टकले हेरिन्, “हो म बुढी भएकी छु तर मेरा पति पनि त बुढा भइसक्नुभयो नि । उहाँले पनि त सेता भएका कपाल कालो बनाउन मेहन्दी हालेका छन् नि । अनि मलाई धेरै माया पनि त गर्नुभएको छ नि । लाउन, खान, बिरामी पर्दा स्याहारसुसार पनि त गरेकै छन् ।”
“मलाई पाइनँ भने मर्छु भन्ने मेरा पतिलाई मैले आज व्यर्थमा शङ्का गरेँ । के भएको होला यो मनलाई पनि ? वास्तवमा पतिले जिस्केर भनेको शब्दलाई लिएर मैले शङ्काको डोरीमा पिङ खेलेँ । मैले आफूलाई नै पीडा दिएँ । निद्रा नलाग्ने बनाएँ ।” रूपा पश्चातापतिर लाग्छिन् । रूपा कौचबाट उठेर ऐना छेउमा गइन् । उनले भद्दा भएको पाउडर र लिपिस्टिकलाई सानो टालोले पुछिन् ।
“लौ मेरो ओठमा त घाउ पो भएछ ।” उनले बोरोलिन झिकेर ओठको घाउमा दल्न थालिन्, ओठमा लाली पनि नसुहाउने भएछ । म त बूढी त बूढी साँच्चै बूढी पो भएछु । लोग्नेमानिसहरू ६० वर्षको उमेरमा पनि तन्नेरी यौवन झिक्ने हुन्छ भन्छन् ।
रूपाको आँखा पत्रिकाको समाचारमा पर्छ । उनी समाचार पढ्छिन् – बिस वर्षकी युवतीले असी वर्षका वृद्धसँग खुसीसाथ विवाह गरे ।
रूपाले सबै समाचार पढिन् । समाचारमा असी वर्षका केदारसँग बिस वर्षकी कञ्चनको विवाह भएको कुरा थियो । उनले समाचार दोहो¥याएर पढिन्, ‘४८ वर्षका विमलसँग २० वर्षकी कञ्चनको विवाह ।’
रूपा रुँदै बाहिर निस्किन् । उनी जुत्ता राख्ने ¥याक छेउमा पुगिन् । अनि जुत्ताको कालो पालिस कपालमा लगाउँदै भन्न थालिन्, “म सेतो कपाल पूरै कालो बनाउँछु ।”
रूपाको यो बोली विमलले सुने । विमल उठे । जिरो वाडको चिम बलेको कोठामा ट्युवलाइट बाले । घडी हेरे । रातको तीन बजेको रहेछ । उनले रूपालाई कोठा, भान्सा, आगन्तुक कोठामा खोजे तर देखेनन् । उनी कराउँदै बाहिर निस्के, “रूपा ! रूपा ! !”
छोराछोरी पनि आँखा मिच्दै उठे, “किन के भो बुबा अनि आमा खोई त ?”
छोराछोरी दुवै आमा भन्दै कौसीतिर लागे । विमलले मूलढोका ढप्केको देखे । विमल बाहिर निस्किए । छोराछोरी पनि सबै ठाउँमा बत्ती बाली अन्तमा मूलढोकाबाट बाहिर निस्किए ।
रूपा भ¥याङमुनि मोटर साइकलको छेउमा रहेको सबैले देखे । रूपा लुकिङ ग्लास हेर्दै कपालमा जुत्ताको पालिस लगाउँदै थिइन् ।
“आमाआमा ! किन के गरेको यस्तो ? के भयो तपाईँलाई ?”, छोराछोरी रुन थाले ।
“रूपा मध्यरातमा किन बाहिर ? आज के भो तिमीलाई ? हिजो दिउँसो बेस्मारी काम गरेको थकाइले गर्दा मैले तिमी उठेको थाहा नै पाइनँ । किन के भयो ? यसरी मलाई छाडेर रातको बिचमा एक्लै बाहिर आउनुहुन्छ ? मलाई डर लाग्दैन । बुढेसकालमा पतिलाई पत्नीले छोडेर जानु हुँदैन भन्ने कुरा तिमीलाई थाहा छैन ।” पति विमलले रूपालाई भने ।
“मलाई माफ गर्नुस् । मैले त तपाईको कुरालाई वास्तविक ठानेँ ।”, रूपा बोलिन् ।
विमलले रूपालाई अँगालोमा बेरे । विमलाले बाबुको र विजयले आमाको हात समाते । सबैजना भित्र पसे ।
मलाई पनि माफ गर रूपा भन्दै विमलले अघिल्लो दिनको कुरा छोराछोरीलाई सुनाए । रूपा हाँसिरहिन् । छोराछोरी कुरालाई कथा मानी सुनिरहे ।
प्रकाशित: २३ आश्विन २०७७ ०८:२४ शुक्रबार





