२३ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

सरकार कानुन खै ?

कविता

देशमा शान्ति खै ?

 

पेटभरि खान नपाएर जनता रोए सत्ता टिकिरह्यो  

सुखी नेपाल समृद्ध देशको नारा सधै बिकिरह्यो ।।

 

जुनै पार्टी आए पनि गरीबको पेट भर्ने आएन ।

देशको विकास,सोच्ने सच्चा सपुत्र देशले पाएन ।।

 

देशलाई सधै लुछाचुँडी बाँडी खाने भाँडो बनाए  

युवाहरूलाई बेरोजगारी बनाई देशकै घाँडो बनाए ।।

 

नातावाद चलिरह्यो देशको विकास गर्ने किन  

भ्रष्ट्राचारमा लिप्त भए सातपुस्तालाई आराम दिन ।।

 

कहिले देशलाई शान्ति दिएनन् सधैभरि तानातान  

राम्रा मान्छेलाई देशले चिनेन गरे कुर्सी हानाहान ।।

 

ढाँटीढाँटी भोट माग्छन् गाउँलेलाई झुक्काएर  

गाउँको विकास गर्दे गर्देन बजेट राख्छन् कुम्लाएर ।।

 

सुन्दर शान्त देशको मुहार हेर्ने जनताको रहर  

नेताहरू मिली देशलाई पिलाउँदै छन् विषादी जहर ।।

 

सरकार कानुन खै ?

 

गर्भमा नै मारिन्छ, छोरी जन्मे नरपशुले गर्छन् बलात्कार

हत्या, हिंसा, आतंक अति भो, कति निदाउँछौं अन्धो सरकार ।।

 

आफ्नै आफन्तबाट छैन छोरी सुरक्षित, डरले सधैं सताउँछ  

शिक्षकद्धारा साना कलिला मुना बलत्कृत, यस्ताले के पढाउँछ ।।

 

बलात्कारी जोगाउन, पञ्च बसी पाँचसयमा छोरीको इज्जत बेच्छन्  

कानुनी बाटो खोज्यो भने, पैसा दिई कुटपिट गरी हेप्छन् ।।

 

देशमा जताततै हत्या, बलात्कारले चरम सीमा नाघेको छ  

कानुन फित्तलो भएर, यौन पिपासुको मनोबल जागेको छ ।।

 

पाइलापाइलामा डर, छैनन् छोरी सुरक्षित जोगाउने कसरी

कागजको खोष्टामा मात्र होइन, अपराधीलाई सजाय दिलाऊँ जसरी ।।

 

शान्तिको देशमा अशान्ति भयो, अन्धो सरकार कानुन बनाऊ  

यस्ता देशका बलात्कारी, ज्यानमारालाई फासीको सुलीमा चढाऊ ।।

प्रकाशित: २२ आश्विन २०७७ ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App