लक्ष्मण अर्याल
“रक्सी नखाउन बा ।” – छोराले बाउलाई भन्यो ।
“यो सब नक्कली कुरा हो । कहाँ खान्छु म रक्सी ?” – बाउ बोल्यो ।
“म खबर सुँघिरहेको छु बा यता प्रवासमा । रक्सी छाड क्या । सबैलाई शान्ति मिल्छ । अब तिम्रो सुख काट्ने उमेर हो बा । दुःख नगर, आफ्नो जिउ हेर, आमा हेर, छोरी हेर, मेरो मुख हेर, नातिनातिना हेर अनि समाज हेर । जीवन भनेको, परिवार भनेको रक्सीको गनाउने झोल होइन बा यो त सुगन्धित बहुमूल्य अत्तरजस्तो छ ।” – हिम्मत भिकेरै बोल्यो छोरो ।
“बिहानै चिया खाने बेलादेखि नै भट्टी पस्छ, दिनभर पिउँछ भनेर सुनाएका होलान् तँलाई । अर्काका कुरा नसुन् । म लम्पट जँड्याहा भए मान्छेले मलाई किन मानेका त ? किन नमस्कार गरेर हिंडेका त ?”
“नमस्कार त संस्कार हो बा पाको मान्छेलाई मान्नु । नमस्कार गर्नेमा संस्कार सास फेर्दै रहेछ भनी ठान । ल एकछिन त तिमीले भनेकै पत्याएँ । भन न त किन आइरहेछ बा एउटा नमीठो गन्ध यति टाढासम्म ?”
“म पनि खोजिरहेछु नियत के हो ? मलाई लम्पट जँड्याहा बनाएर फाइदा लुट्नेहरू म खोजिरहेछु । आखिर किन मानिसहरू मलाई खेदो खन्छन् ?”
बाउले फोन राख्यो । छोराले फोन सुँघ्यो ।
भट्टीवाल्नीले मुस्कुराउँदै भनी – “ढँटुवा बाउ ।”
उसले भट्टीवाल्नीका नशालु आँखामा आँखा टँसाएर भन्यो – “काली, तिमी जान्छ्यौ त मसँग । सत्ते, मारानी बनाएर राख्छु । मेरो छोराका कुरा सुन्यौ नि – ‘बा ! आमा हेर, छोरी हेर ।’ भनन त पोक्ची तिम्री छोरी खोइ त आज ?”
प्रकाशित: १५ आश्विन २०७७ ०५:५१ बिहीबार