कल्पना काफ्ले
म चूपचाप छु यतिबेला
नाङ्गा नाचहरू
एक तमासले हेरिरहेछु
नियालिरहेछु दूर देशसम्म
बाह्र वर्षकी
अबोध बालिकामाथि
बाघलेझैँ झम्टिएर
मारिदिने नरभक्षी
सम्झिँदा पनि
मथिङ्गल हल्लिएको छ
के थाहा
त्यो कलिलो मस्तिष्कलाई
यौनको विषय
कस्तो पिपासु सन्तानलाई
जन्म दियौं आमा ?
कस्तो अशुभ समयमा
गर्भधारण गरेर
लिएर आयौ यस लोकमा
मेरो प्रश्न छ तिमीसँग
यस्ता कलङ्कलाई
जन्म दिनुभन्दा
कोख बाँझै रहेको भए
अति बेस हुन्थ्यो तिम्रो
आमा र बहिनी नचिन्ने
आफ्नै रगतमा
आफ्नै बीज उमारेर
आफ्नै रगत
घटघट पिउन सक्ने
यो कस्तो
पुरुष जन्तु हो आमा ?
कुन रतिरागलाई
उजागर गरेर
कुन समयमा
कस्तो बीज रोपिदियौ
आमाको गर्भमा
र यस्तो कुलङ्गार जन्मियो
बाबा,
तिमीलाई प्रश्न छ मेरो
यस्ता नरपिचाशलाई
जन्म दिनुभन्दा
तिम्रो बिजाणु
नपुंसक भएको भए
अति बेस हुन्थ्यो ।
म छोरी हुँ
म एउटी नारी हुँ
एउटा अद्भुत
सोच लिएर
कुन्तीले
भगवान् सूर्यको गर्भधारण गरेर
सन्तान जन्माएझैँ
जल
तेज
पृथ्वी
वायु
र आकाशको
गर्भाधारण गरेकी छु मैले
मेरो कुमारीत्व भर्खरै
नष्ट गरेर
म गर्भिणी भएकी छु
यतिबेला
तपाईं ठान्नुहुन्छ
मैले पेट बोकेकी छु
तर
मैले मेरो पेटभित्र
पेट बोकेको होइन महाशय,
अन्यायका विरुद्ध
एक्लै लड्न सक्ने
जिम्मेवार
र कर्तव्यनिष्ठ
एउटा
नागरिकको भ्रूण
तयार गरिरहेकी छु
त्यसले
निकट भविष्यमै
नराधमहरूको
समाप्तिपश्चात्
एउटा बुद्ध विश्वास
र अर्को कृष्ण साहस
फैलाएर समाजमा
स्थापना गर्नेछ
सत्यम् , शिवम् , सुन्दरम् ।
हो म गर्भिणी छु यतिबेला
विशाल हृदय भएको
एउटा नागरिकको
भू्रण तयार गरिरहेकी छु ।
प्रकाशित: १३ आश्विन २०७७ ०६:५४ मंगलबार