coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कोरोना कहर – आफ्ना हातमा कहाँ छ र मृत्यु !

निबन्ध

खेमराज पोखरेल

 

यो बेला संसार कोरोना कहरबाट प्रताडित छ । लाखौं  मान्छे हताहत भएका छन् । हताहतभन्दा त्रस्त भएका छन् । त्रस्तभन्दा आतङ्कित भएका छन् । एकप्रकारले भन्ने हो भने अहिले संसारभरिका मान्छेहरू मानसिक रूपमा अन्तरिक्षबाट खुम्चिएर राष्ट्र, राष्ट्रबाट साँघुरिएर समाज, समाजबाट निचोरिएर घर र घरबाट एक्लिएर एक्लै भएको छ  र एक्लै भएको अनुभूत गरेर मृत्युको गन्ध सुँघ्दै छ । त्यो   गन्धले मान्छे आफैँभित्र हुँडलिएको छ । यही हुँडुल्याइभित्र मान्छे फेरि पानी धमिल्याउँदै छ । माछा मार्दैछ । यिनै तन्तुमन्तुभित्र मान्छेको जीवन छ । जीवनभित्र मृत्यु छ । मृत्युभित्र यथार्थता छ । त्यही यथार्थताभित्र मान्छेको जन्म छ, जीवन छ र मृत्यु छ ।

त्यसो त सबैभन्दा ज्यादा मन्थन गरिएको विषयवस्तु हो – जन्म, जीवन र मृत्यु । ंसंसारभरि जति वाद वा सिद्धान्त छन्, तिनले यी तीनै कुरामा आफूअुनकुल व्याख्या विश्लेषण गरेका छन् । मूलरूपमा यो जगतमा भौतिकवाद र आध्यात्मवादले जन्म, जीवन र मृत्युबारे धेरै दर्शन बनाएका छन् । अरू विचारहरू मूलतः यिनै दर्शनका प्रभेद हुन् ।  

भौतिकवादले प्राणीको जन्मलाई एउटा आकस्मिक उन्मादित संयोगको परिणति मान्छ । रजवीर्यको भौतिक समागमको संयोग प्राणीको जन्म हो । भौतिकवाद मूलत विज्ञान, अनुसन्धान तथा दृष्टिमूलक परिवेशमा बाँच्छ । वैज्ञानिक ज्ञान यसको मूल मेरुदण्ड हो ।  

आध्यात्मवाद भगवान् तथा आत्मासँग सम्बन्धित हुन्छ । यसले प्राणीको जन्म भगवानको लीला मान्छ । कतै आत्माको पुनर्जन्मको पनि व्याख्या पाइन्छ । भगवानले यो चराचर ब्रह्माण्डको रक्षा गरेको छ र जन्म पनि भगवानको व्यवस्थापनको प्रतिफल हो भनिन्छ ।

यसैगरी भौतिकवादमा जीवन भौतिक स्वभाव भएको विभिन्न काम, क्रोध, लोभ, मोह लगायतका मदबाट प्रभावित वा निर्देशित भएको ठानिन्छ । भौतिकवादमा जीवन सङ्घर्षमय बताइन्छ । आध्यात्मवादमा जीवनलाई पनि भगवानको कृपाका रूपमा वर्णन गरिन्छ । आत्मिक जीवनको परिकल्पना गरिन्छ । आत्माको स्पन्दनलाई महत्त्व दिइन्छ । मूलतः दिमागले अह्राउने कुराहरू जस्तै आर्जन, सुख, दुख, तर्क, अधिकार, कर्तव्य, प्राप्ति, अप्राप्ति, रोगव्याध, आना, पराया, स्वार्थ भौतिक वस्तु हुन् भने बिनासर्त त्याग, तपस्या, माया, प्रेम, दया आदि हृदयका विषयवस्तु हुन् र यी वस्तु आध्यात्मवादमा प्रमुखताका साथ पाइन्छन् । नाश हुने भनेको कुरा जड देह हो । स्थुल शरीर हो । तर आत्मा मर्दैन भन्ने सिद्धान्त पाइन्छ ।  

यसैगरी आध्यात्मवादमा मृत्यु भगवानको कृपा हो । प्रारब्धको खेल हो । उस जन्मको कमाइ हो । तर भौतिकवादमा मृत्यु पनि भौतिक कुरा हो । जे भए पनि मृत्युलाई भौतिकवाद तथा आध्यात्मवादले सतत् स्विकारेको कुरा हो । फरक के छ भने आध्यात्मवादले भन्छ – मान्छेको भौतिक रूपको मृत्यु हुन्छ । त्यसकारण ईश्वर भक्ति वा त्वमशरणागत हुनु पर्दछ । मृत्यु उन्मुख उमेर भएपछि सन्यास धारण गरेर आफ्नो जैविक नाम, धन, कर्म, तेज, माया, ममता सबै परित्याग गर्नु पर्दछ । ब्रह्ममा लीन हुने मानसिक तयारी गर्नुपर्छ । यसले मान्छेलाई प्यासिभ बनाइदिन्छ । यो सिद्धान्तमा लागेका मान्छेहरू मर्नका लागि आफैँ गङ्गाबासमा पुग्छन् ।  

भौतिकवादले पनि मृत्यु अवश्यमभावी छ भन्छ । मृत्यु कहिले हुन्छ भन्ने कुरा थाहै छैन । हुने कुरा पनि होइन, त्यसैले जीवन छँदै याने कि श्वास छउन्जेल राम्रो काम गरिहाल्नुपर्छ । गरिरहनुपर्छ । यो विचारले मान्छेलाई प्यासिभ हुन दिँदैन । पूरा भौतिक विचार लिएका धनाढ्यहरू पनि लागि परेर काम गर्छन् । भौतिक सुखभोग गर्छन् । बेपत्ता पैसा कमाउँछन् र हरेक वर्ष आफ्नो सम्पत्तिको ठूलो भाग लोककल्याणका लागि च्यारिटीमा दिन्छन् र आनन्द मान्छन् । यसो गर्दा आफ्नो जीवन सफल भएको ठान्छन् र फेरि पैसा कमाउने काममा दौडिन्छन् ।

भौतिक वा पराभौतिक जे भए पनि, कुनै पनि धर्म वा दर्शनले मानेको साझे कुरा भनेको जन्म र मृत्यु हो । जन्म चाहे भौतिक क्रियाको उपज होस् वा धार्मिक दर्शनले व्याख्या गरेझैँ तिलस्मी होस्, पुनर्जन्म वा विधाताप्रदत्त होस्, यसले मान्छेलाई खासै फरक पर्दैन । किनकि जन्मँदा मान्छे खुसी मनाउँछन् । खुसी हुन्छन् । यद्यपि जन्मपछि मान्छेले उसलाई विभिन्न नाम, थर, गोत्र, समुदाय, धर्म, ज्ञान, राष्ट्र आदिको नाम दिन्छन् । प्रसिद्ध दार्शनिक भोल्तेयरले भनेका छन् कि मान्छे जन्मँदा स्वतन्त्र जन्मिन्छ, तर ऊ जन्मनेबित्तिकै समाजले साङ्लाले बाँध्छ । हो यही साङ्लाले बाँधिएको छ मान्छे र चारैतिरको उन्मुक्ति खोज्छ । स्वतन्त्रता भन्नु यही चेत हो ।

मानव सभ्यताले ज्ञानका÷अज्ञानका अनेकौँ सुदिन÷दुर्दिनहरू भोगेर यहाँसम्म आइपुगेको छ । हैजा, विफर, कालाज्वर, टिबी, कुष्टरोग जस्ता रोगले गाउँका गाउँ मरेको कुरा इतिहासमा छ । यी रोग लागेपछि बाँच्ने कुनै गुञ्जाइस नै हुन्नथ्यो कुनै बेला । यो पृष्ठभूमिमा मृत्युका बारेमा मेरा मनमा एउटा भौतिक प्रश्न आइरहन्छ । कुनै मान्छेलाई रोग पनि लागेन, दुर्घटना पनि परेन, सकुशल नै रह्रयो भने के ऊ मर्दैन ? उत्तर तपाई भौतिकवादी भए पनि वा आध्यात्मवादी भए पनि सजिलै दिनुहुन्छ कि ‘किन मर्दैन !, मरिहाल्छ नि ।’ हो मान्छे पक्का मर्छ ।

मृत्युका बारेमा भौतिकवाद भन्छ – मान्छेभित्र अनेकौँ पद्धतिहरू हुन्छन् । मान्छेभित्रका ती पद्धतिहरूले मान्छेको अस्तित्व हुने हो । मान्छे चल्ने हो । बुढ्यौलीका क्रममा ती पद्धतिहरू क्रमिक रूपमा कमजोर र शिथिल बन्न थाल्छन् । र एकदिन यस्तो आउँछ कि ती पद्धतिमध्ये कुनै एकले काम गर्न छोडिदिन्छन्  अनि मान्छे मर्छ । त्यसैले मान्छे मर्नु भनेको पद्धतिको भौतिक नाश हो । भौतिक नाशपछि मान्छेको कुनै वस्तु रहन्न । कुनै अस्तित्त्व रहन्न । आत्मा भन्नु इल्युजन हो ।

यसैगरी मृत्युका बारेमा आध्यात्मवाद अलौकिक तथा तिलस्मी विचार प्रक्षेपण गर्छ – मान्छेको जन्म, जीवन र मृत्युभगवानको कृपा हो । भगवानबिना कसरी यो सृष्टि चल्छ त ! यो चराचर जगतको निर्माण, स्याहार र सङ्हार भगवानकृत्य हुन्छ र आत्माले छोड्नेबित्तिकै मान्छेको मृत्यु हुन्छ । यो सब भगवानको खटनमा हुन्छ ।

मृत्यु चाहे भौतिक होस् चाहे अभौतिक, यसका लागि कारण चाहिन्छ । हो अहिले मानवजगतलाई त्राहीमाम पारेको कोरोना भन्नु एउटा कारण मात्र हो मृत्युको । यो एउटा रोग मात्र हो । मानवसभ्यताको इतिहासदेखि नै प्रकृतिप्रदत्त वा मान्छेको अज्ञानताका कारणले आएका रोग र विज्ञानको सङ्घर्ष भइ नै रहेको छ । मान्छेका आफ्ना नकारात्मक तथा अज्ञानी सोचले गर्दा प्रकृतिले पनि कहिलेकाहीँ विकराल रूप देखाइरहन्छ । यो द्वन्द्वका बिचमा वर्तमान मान्छे उभिएका छन् । यही द्वन्द्वका बिचमा कोरोना पनि उभिएको छ । 

त्यसो भएकाले आजका मितिमा संसारभरिको कोरोना कहरको सामान्यीकरण गर्नु आवश्यक छ । किनकि कोरोना लाग्नेबित्तिकै मान्छे मरिहाल्ने पनि होइन । संसारमा करोडौँ मान्छेहरू निको भएका छन् । केही लाख मरेका पनि छन् । कोरोनाको कारणले मरेका मान्छेहरूभन्दा कोरोनाको त्रासले संसार बिथोलेको छ ।

सबभन्दा महत्त्वपूर्ण कुरा त कोरोनाको प्रकृति र प्रवृति विज्ञानका लागि नौलो थियो । मेडिकल साइन्सका लागि पनि नौलो थियो । धार्मिकभिरूले त यो कोरोनाको कुरा कुनै एउटा धामिक ग्रन्थको हवाला दिएर पहिले नै थाहा थियो भनि पनि दिन्छन् । त्यसकारण यसबारे सूचना पृथक्– पृथक् र अलगअलग आयो सम्बन्धित पक्षबाट । संसारभरिका मान्छेका लागि तथ्यप्रति विश्वसनीयता समस्या रह्यो। कुन देशले भनेको मान्ने ! कुन मान्छेले भनेको मान्ने ! कुन निकायले भनेको मान्ने ! यस्तो अवस्थामा सबैभन्दा ठूलो आतङ्क भिवर स्वार्थका कारणले सामाजिक सञ्जालले गरिदियो । नकारात्मक टिप्पणी गरेर परिस्थिति खल्बल्याइदियो ।

नेपालमा मात्र होइन, अमेरिकामा पनि यो सूचनाको विश्वसनीयता माथि अनेकौं प्रश्न उठेका छन् । विज्ञविज्ञ बिचमा मतान्तर भएका छन् । अमेरिका व्यक्तिगत स्वतन्त्रता भएको मुलुक हो । अमेरिकी बरु मर्न तयार हुन्छ तर व्यक्तिगत स्वतन्त्रता त्याग्न सक्दैन । यसैले पनि अमेरिकामा अलि धेरै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पुगेको तथ्याङ्क बताइन्छ ।  

अब प्रसङ्ग नेपालको । संसारमाझैँ नेपालमा पनि कोरोना पैmलिएको छ । संसारकै उदाहरण जस्तो हजारौँ निको भएर घर फिरेका छन् । केही सयको मृत्यु पनि भएको छ । नेपालको अद्र्धचेतन वा अज्ञानताले गर्दा कोरोनाको गम्भीरतालाई बुझ्न नै सकेनन् .

प्रजातन्त्रको आगमनसँगै नेपालीहरूमा नकारात्मक सोचको विकास हुँदै आएको छ । यसका अनेकन कारण छन् । आर्थिक कारण छ । बेरोजगारी छ । ज्ञानको कमी छ । राजनीतिक कारण छन् । राजनीतिले बाँडेको सपना छ । अराजक बुद्धिजीवी छन् । नेपालका एउटै बुद्धिजीवी विज्ञानका प्रभावदेखि धर्मका बारेजस्ता अनेकन विषयवस्तुमा धाराप्रवाह बोलिदिन्छन् । अर्कातिर जेजस्तो कुरामा पनि मर्न तयार हुने नेपाली छन् । सडकबाट कानून परिवर्तन गर्ने बानी परेको छ नेपालीलाई । जबसम्म सडकबाट कानुन फेरिन्छ तबसम्म कानुनी राज्य बन्न सक्दैन । व्यवस्था फेर्ने हो भने सडक आवश्यक छ । प्रजातन्त्र भन्ने कुरा प्रकृया र कानुन तथा विषयवस्तुको गम्भीर सोचले मात्र हुने हो । नत्र यस्तै हल्ला हो । यो हल्लैहल्लाले नेपाली जनतामा निराशा र नकारात्मकता फैलिँदै गएको छ । यस्तो परिप्रेक्ष्यमा सामाजिक सञ्जालले उकासेको छ । मलजल गरेको छ । पानी धमिल्याइरहेको छ । माछा मारिरहेको छ ।

कोरोनाका बारेमा नेपालका सरकारसँग गर्नु पर्ने अनेकन प्रश्न छन् । किनकि सरकारले नै यो सबै कुराको व्यवस्थापन गर्नुपर्छ । त्यसमा सरकार चुकेको छैन म भन्दिनँ । नेपालजस्तो देशमा भ्रष्टाचार छैन म भन्दिनँ । जाहेर छ, श्रमजीवी जनताले खान नपाएको बारेमा सरकारको यथेष्ट ध्यान पुगेको छैन । अहिले कोरोना कहरका बिचमा खान नपाएर मरिरहेका नेपालीहरूका कुरा सरकारले नै सम्बोधन गर्ने हो । यस्तै कोरोना कहरकै बिचमा भारततिर जान बाध्य भएका नेपालीहरूको नियतिको सम्बोधन पनि सरकारले नै गर्ने हो । यसमा मेरो विमति छैन । तर जनताले आफूले गर्नुपर्ने आफ्नै सुरक्षा प्रिकसन गर्यो कि गरेन भन्ने कुरा निकै महत्त्वपूर्ण छ कोरोना नियन्त्रणमा । जात्रा निकाल्न, रेल हेर्न, सरकारको विरोध गर्न, सरकारको समर्थन गर्न, एउटा मान्छेको नियुक्ति गराउन, कुँडुलो परेर सडकमा निस्कने परिपाटीले कोरोना नियन्त्रण हुँदैन । नढाँटीकन भन्ने हो भने नागरिकहरू कोरोनाका सन्दर्भमा आफ्नो जिम्मेवारी तथा दायित्त्वबाट च्युत भएको देखिन्छ । सुरुमा नपत्याएर नटेरिएको अवस्था रह्यो । पछिसूचनाको विविधता र विश्वसनीयताले रणभुल्लमा परेको देखिन्छ । जब मान्छे भटाभट मर्न थाले अनि आत्तिए । त्राहीमाम भए । जबसम्म जनता आफैँ यो कोरोनाका बारेमा सचेत भएर प्रिकसनको काम गर्दैनन्, त्यतिबेलासम्म कोरोना नियन्त्रण हुने कुरा नै होइन । प्रश्न उठ्न सक्छ जनताले के गर्नु पर्यो ?सामान्य कुरा छन्, विज्ञले औपचारिक रूपमा बनाएको मापदण्ड र तौरतरिका मान्नु पर्यो । साबुनपानीले हात धुनु पर्यो । पटकपटकधुनु पर्यो । उदाहरण पैसा कोरोना सङ्क्रमणको कारण हुनसक्छ । पैसा चलाउने बित्तिकै हात धुनु पर्दछ । बाहिर निस्कँदा मास्क लगाउनु पर्यो । मास्कको बाहिरी भाग छुनु भएन । नचाहिने कुरामा घर बाहिर निस्कनु भएन । अनावश्यक जमघट गर्नु भएन । जुलुुस, जात्रा, पार्टीमा जान भएन । सामाजिक दूरी कायम गर्नु पर्यो । यो कुरा बुझ्नु जरुरी छ कि लकडाउन र कफर््यू सम्भव छैन । किनकि कतिञ्जेल जनजीविकामाथि खेलवाड गर्न सकिन्छ र ! सरकारको समर्थन गरेर वा विरोध गरेर कोरोना नियन्त्रण हुँदैन ।

हो त्यसकारण हामीले मान्छेलाई देवत्वकरण वा राक्षसीकरण गर्न छोडिदिनुपर्छ । देवत्वकरण र राक्षसीकरण दुवै राजनीतिका चाल हुन् । यदि देवत्व र राक्षसकत्वका हिसाबले हेर्ने हो भने खास मान्छेको रूपको बारेमा टुङ्गोमा पुग्न सकिँदैन । त्यसकारण हावाकै भरमा मान्छेलाई देवता बनाएर देवत्व स्थापनाका लागि लौरो बोकेर सडकमा उर्लिनुको केही काम छैन कोरोनाकालमा र राक्षस बनाउन पनि सडक पुग्नुपर्ने कुनै आवश्यकता छैन यो त्राहीमाममा ।

यसो भएकाले कोरोनालाई सामान्य भनियो भने वा विशेष भनियो भने दुवै परिस्थितिमा गलत मान्यता स्थापना हुन्छ । यो कोरोना सामान्य पनि होइन, जटिल पनि होइन । यो सामान्य किन होइन भने यसले ज्यान लिन सक्छ । यो एकदम ज्यामितीय हिसाबमा फैलन सक्छ । हाम्रो एउटा सानो बेहोसी वा अटेरीपनले गर्दा आफ्नो मात्र होइन आफू वरिपरिका मान्छेको मृत्यु हुन सक्छ । परिवार मात्र होइन समुदाय नै प्रभावित हुनसक्छ ।  

यो जटिल किन होइन भने कोरोना लाग्नेबित्तिकै सबै मान्छेको मृत्यु हुँदैन । यसको आतेस लाग्दो कुरा यसको सरुवा लक्षण मात्र हो । अहिलेको अवस्थामा सर्न नदिनु मात्र सही उपाय हो । किनभने विज्ञानले औषधि बनाइसकेको छैन । प्रयोगशालामा छ भनिएको छ । एउटा आश त राख्नु पर्यो कि भ्याक्सिन आएपछि यो रोग पनि पुराना रोगझैँ इतिहासमा सीमित हुन्छ । त्यतिञ्जेलसम्म हामीले आफूले गर्ने होसियारी गर्नु आवश्यक हुन्छ ।

मान्छेले जन्म, जीवन र मृत्युका बारेमा एकतर्फी विचार राख्न थाल्यो भने एउटा गलत कुरा आउन सक्छ कि आखिर अन्तिम सत्य मृत्यु हो भने कोरोनाको लागि होसियारी किन ?

यसलाई यसरी बुझौँ – पानीले बगाएर मरिन्छ भन्ने थाहा भएपछि पानीसँग गरिने होसियारी जस्तो मात्र हो कोरोनाको पनि प्रिकसन ।

अर्कोतिर मरिने भैयो भन्ने पिरले जिउँदै मरिरहेको छ मान्छे । भौतिक जीवनका जटिलतामा पलपल मरिरहेको छ मान्छे । यो बोध पनि जायज मान्न सकिन्न । मनलाई चित्त बुझाउन ‘मरिए मरिन्छ’ भन्न सक्नुपर्छ। मलाई त के लाग्छ भने संसारभरिका गरीबी वा धनीको लाइन लगाइयो भने वा पढेलेखेका वा कम पढेलेखेका वा नपढेकाको लाइन लगाइयो भने वा कुनै पनि क्राइटेरियामा लाइन लगाइयो भने केही करोड अगाडि वा पछाडि हुने न हो जिन्दगी । त्यसले के फरक पर्छ र ! एकधरो लाउने, एकमुठी खाने र एक क्षणभंगुर निमेषको श्वास फेर्ने त हो मान्छेको जिन्दगी । किनकि यो संसारमा तपाईँ हामीभन्दा ज्यादै दुखी, दरिद्री वा पिछडिएका मान्छे अरबौँ छन् । बाँच्नका लागि संघर्ष गरिरहेका छन् । देश गुमेकोमा सङ्घर्ष गरिरहेका छन् ।

अनि अर्को कुरा यदि मरियो नै भने पनि कुन नौलो कुरा हुन्छ र जिन्दगीमा । यो मृत्यु संसारमा पहिलो त होइन नि । एकछिन कल्पना गर्नुस् आफ्ना पुर्खाको । कुनै समयमा उनीहरू जन्मिए । गरे । खाए । जीवन बाँचे । कोही अरूका लागि पनि बाँचे । कोही आफ्नो र आफ्नो परिवारका लागि मात्र बाँचे । काल विभिन्न बहानामा आयो । लग्यो । चिचिलो पनि भनेन । पाको पनि भनेन । एउटा दिन आउँछ हाम्रो पनि । त्यो एकै निमेषभित्र पनि आउन सक्छ । अलि पर पनि आउनसक्छ । तपाईँ हामीले भोलि देख्न नपाउने पनि हुनसक्छ । त्यसकारण तपाईँ हामी सके अरूका लागि पनि बाँचौँ । सक्दैनौ भने पनि आफ्ना लागि त सानले बाँचौँ । मृत्यु  आफ्ना हातमा छैन । यसमा केको चिन्ता ! आफ्ना हातमा भएको होसियारी त हामी गर्न सक्छौँ नि । आगे तपाईँ आध्यात्मवादी हुनुहुन्छ भने भगवानको मर्जी भन्नुस् । भौतिकवादी हुनुहुन्छ भने भौतिक परिवेशको मर्जी भन्नुस् । यी दुवै वादीले कोरोनाको फैलावट रोक्न पहिले होसियारी त गर्नुस् ।

प्रकाशित: १० आश्विन २०७७ ०६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App