८ वैशाख २०८१ शनिबार
कला

हाम्रा दोधारेपन

गत जुलाईमा हिन्दीमा एउटा समाचार पढेकी थिएँ। गुवाहाटी न्यायालयले एक पुरुषलाई उसकी पत्नीले चुरा र सिन्दुर नलगाएको आधारमा पत्नीसँग डिभोर्स गर्न अनुमति दिएको खबर थियो। अदालतले यस कारण सो मन्जुरी दियो कि एक हिन्दू महिला भएर रीतिरिवाज मान्दिनन् भने उनी यो विवाह भन्ने संस्थालाई नै अस्वीकार गरिरहेकी छन्।  

हिन्दू संस्कृतिभित्रका शृंगार, गरगहना, चुरापोते, सारीजस्ता पहिरनले महिला हुनु अनि विवाहित महिला हुनुको परिभाषाको प्रतीकको रूपमा बुझाउँछ। यसरी एकातिर हामी हाम्रो हिन्दू संस्कृतिप्रति एक प्रकारले गर्व गरिरहेका हुन्छौँ र सोही अनुसार चल्नुमा गौरवान्वित पनि हुन्छौँ। अब यहाँ अर्को अनौठो कुराचाहिँ के हो भने, अझै पनि हाम्रो समाजमा कोही पुरुषले असामाजिक काम ग-यो, या भ्रष्टाचार ग-यो, जिम्मेवारी पूरा गर्न सकेन भने स्थानीयस्तरमै उसको धज्जी उडाउनका लागि उसलाई चुरा उपहार दिने (व्यंग्य स्वरूप) चलन छ। यो चलनमा महिला नै सहभागी भएका हुन्छन्।  

चुरा उपहार दिनु केको प्रतीक होला ? विभिन्न धातुका गहना मानव सभ्यतासँगै महिलाले धेरै र केही मात्रामा पुरुषले पनि घाँटी, नाडी, कान, नाकमा लगाउन थालेको कुरा पढियो, देखियो। र, गहना कालान्तरमा महिलाका लागि प्रतीककै रूपमा रहन गयो। अनि यो चुरा दिएर विभिन्न तप्कालाई काम नलाग्ने, घरमै बस्ने, निष्क्रिय भन्न खोजेको होला कि ?  

म पनि यही हिन्दू संस्कृतिभित्र हुर्किएर समाजमा भएका चालचलन र मूल्य मान्यतासँग साक्षात्कार हुँदै त्यसैमा समायोजन भइरहेकी एक महिला हुँ। महिलाहरू हजारौँ वर्षदेखि एक मानवभन्दा पनि भिन्न रूपमा प्रस्तुत गरिँदै आएको जगजाहेरै छ। हेलिएको, पीडित, नागरिकता, भोटको दर्जा पाउन पनि वर्षौं कुर्नुपरेको र अझै पनि कैयौँ दासताका चिह्न यथावत छन्। महिलालाई एक स्वतन्त्र मान्छे मान्न नसकिरहेको हाम्रो सामाजिक संरचना, पुरुषवादी सोचजस्ता कुराले गर्दा आजकल बढीजसो महिलाकै विषयमा सोच्न र सामाजिक अवहेलनाको जराजरा केलाउन मन लाग्ने भएको छ। विभेदका जरा केलाउँदा महिला, दलित, गरिब, बालबालिका, अपांगता भएका व्यक्ति, फरक लैंगिकता भएका व्यक्ति लगायत कमजोर सोझासिधा र पीर–मर्कामा परेका पुरुषको बारेमा पनि एक सचेत मानिसले सोचेर अगाडि बढ्नुपर्ने देखिन्छ। आखिर समाज बन्ने त महिला–पुरुषसहितको उपस्थितिले हो। एकले अर्काको अस्तित्व स्वीकार नगरीकन आवेगहरूले केवल द्वन्द्व निम्त्याउला।  

महिला–पुरुष समान भएको समाज, जातजाति, हेलाहोँचो, विभेद नभएको समाजका लागि बहस गर्नु हुलहुज्जत गर्नु तथा समाज, धर्म–संस्कृति भाँड्नु अवश्य होइन। बरु कहाँ–कहाँ विभेद छ, व्यापक बहस गर्दै अगाडि बढ्नु नै समाजलाई प्रगतिशील बाटोमा डो-याउने उपाय होला।

समाजमा सदियौँदेखि चलिआएका महिलाद्वेषी, जातीयता लगायत विभेदका पक्षलाई जरैदेखि नियालेर समाजसामु छर्लंग पार्नुपर्नेछ। अनि जो पीडक पक्ष छन्, उनीहरूले पनि ‘यो अन्याय नै हो, हामी अन्याय गर्ने पीडक नै हौँ, हाम्रो सामाजिक संरचना विभेदयुक्त छ र यी विभेदको अन्त्य हुनैपर्छ’ भन्ने महसुस गर्नैपर्छ। जबसम्म समाज न्याय र समानता उन्मुख हुँदैन, अबका सचेत पुस्ताले खबरदारी गर्न छाड्न हुँदैन।  

हाम्रो समाजका चलन र हाम्रा दोधारेपनलाई यहाँ केही उल्लेख गर्न मन लाग्यो। हामी देखिएका कुरालाई, यथार्थतालाई भन्दा पनि युगौँपहिले कुनै अदृश्य शक्तिमाथि कल्पना गरेर बनाइएका ग्रन्थमा बढी विश्वास गर्छौं। एकथरी विद्वान् पूर्वीय दर्शनको अध्ययन गरेर यसमा भएका वैज्ञानिक पक्षलाई केलाउँदै ‘वेदजस्ता ग्रन्थमा मानव–मानववीच विभेद थिएन, तर २५ सय तीन हजार वर्षयता भने विभिन्न खालका विभेद देखिन थालेका हुन्’ भनेर पनि भन्छन्। हाम्रा पूर्वीय दर्शन वैज्ञानिक छन् पनि भन्ने गर्छन्। ग्रन्थहरू वैज्ञानिक थिए, विभेद थिएन तर समाजमा विभेद अभ्यास हुँदै आएका छन् भने किन त्यसमा परिमार्जन नगर्ने त ? यसमा भने फेरि हाम्रो समाज मौन रहन्छ।  

हामी हिन्दू संस्कृतिभित्र सर्वमान्य भनेर देवतालाई पुज्छौँ, मान्छौँ। शिवलाई त देवताको पनि देवता मान्छौँ। हामी देवीहरूलाई पनि मान्छौँ, पूजाआजा गर्छौं। विभिन्न प्रतीकको रूपमा देवीहरूलाई उल्लेख गरिन्छ– सरस्वती विद्याकी प्रतीक, लक्ष्मी धनकी प्रतीक। प्रतीक मानेर पूजा गरिन्छ, महिलालाई शास्त्रमा समेत ठूलै ओहोदा दिइएको छ भनिन्छ। तर शिक्षा, चेतना र खोजबिनको दुनियाँमा पुरुषले विशाल फड्को मार्दा महिलाहरू शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक, लैंगिक हिसाबले पछाडि पर्दै आए, पारिए। यसबारे अब सचेत भइसकेका महिलाले पनि मनन गरेर सोध्न थाल्नुलाई यो समाजले ठीक ठान्दैन, जान्ने–सुन्ने भएको आक्षेप लगाउँछ, मानौँ कि महिला जान्ने–सुन्ने हुनै हुँदैन।  

हिन्दू संस्कृतिभित्र महिला मात्रले मान्नुपर्ने पर्व छ– तीज, ऋषि पञ्चमी। यो पर्वमा विशेषगरी महादेवको आराधना गर्दै महिलाले आफ्ना श्रीमान्को लामो आयु तथा आरोग्यको कामना गरेर निराहार व्रत बस्ने गर्छन्। व्रत समापन गर्नका लागि श्रीमान्लाई प्रसाद नैवेद्य दिएर, खुट्टामा चोखो जलले सिँचेर सो खुट्टाको पानी व्रतालु महिलाले खाने गर्छन्। अनि लगत्तै ऋषि पञ्चमीको पूजाअर्चना गरिन्छ। महिलाले वर्षभरि महिनावारी हुँदा झुक्किएर गरेका ‘पापहरू’ मोचन होस् भनेर यस पञ्चमीमा पूजा गरिन्छ।  

महिनावारी महिलाको पाठेघरसँग सम्बन्धित छ र महिनावारी भएपछि नै महिलाले गर्भ धारण गर्न सक्छन्। अनि मात्र यस धर्तीमा नयाँ मानवको जन्म हुन्छ। तर, यिनै पवित्रता र अपवित्रताको कसीले अझै पनि किशोरी अनि महिलाहरू साँगुरा छाउपडीमा बस्न बाध्य छन्। कति महिला छाउपडीमा बसेकै कारण हिंसा भोग्न बाध्य छन् भने सर्प लगायतले डसेर मृत्युवरण गरेका पनि छन्। छुवाछुत तथा महिनावारीको छोइछिटोको विषयलाई दण्डनीय बनाए पनि हाम्रो मनमा नदेखिने त्यो पापको डर छ। कुनै सचेत महिलाले ‘धर्म भनेको पुरुष र महिलालाई बराबर हुनुपर्छ। श्रीमान्–श्रीमती बराबर हुन्, सहयात्री, साथी हुन्। पुरुष जातिको खुट्टाको पानी खानैपर्ने चाहिँ सरासर दास प्रवृत्ति हो। यस्ता चलन नमान्दैमा संस्कृति मासिँदैनन्’ भनेर आवाज उठाइन् भने यहाँ ती महिला घोर नारीवादी, उदण्ड र हिन्दू संस्कृतिविरुद्ध लागेको भनिन्छ। यहीँनेर हामी दोधारमा छौँ। के धर्म र संस्कृति जोगाउने ठेक्का महिलाको मात्र हो ? धर्मग्रन्थमा कुनै कालखण्डमा एक पुरुषले सिर्जना गरेका अनि पुरुषलाई नै सर्वोच्च मानेर कल्पना गरेर बनाइएका काल्पनिक पात्रलाई पुजिरहनुभन्दा पनि सुझबुझ गरेर साह्रै चित्त नबुझेका, अन्यायी, विभेदी खालका संस्कृति नमानौँ भन्न पाइँदैन ? कि समाजका विज्ञानसम्मत कुरा पुरुषलाई लागू हुने, धर्म र कथा, कल्पनासम्मत कुराचाहिँ महिलालाई लागू हुने भन्ने छ ? एकथरी भन्छन्, व्रत बस्नाले शरीरलाई फाइदा हुन्छ। महिलाहरू नै भन्छन्– व्रत बस्दा मन आनन्द हुन्छ, शान्त हुन्छ। होला, यसको केही आध्यात्मिक, मनोवैज्ञानिक र शारीरिक पाटो। तर व्रत बसिकसेपछि त्यो व्रतको समापन गर्न भने सहयात्री श्रीमान्को खुट्टाको पानी खानुपर्ने चलन अलि सुहाउँदो भएन, उता भगवान्लाई पूजा गर्ने अनि फेरि श्रीमान्लाई पनि उही ‘भगवान्’झैँ पाउ पुज्ने चलनचाहिँ ठीक होइन भन्ने एउटा गीतले नै फेरि यहाँ नकारात्मक तहल्का पिट्छ, समाज र संस्कृति भाँडियो भनेर। के हामी दोधारे भएनौँ र ?

यहाँ अनेक राजनीतिक, आर्थिक लगायत विकासका पाटोमा उथलपुथल भएका छन्, सामाजिक सांस्कृतिक पक्ष भने अनेक खालका विभेदबाट ग्रसित छ। यस्तो हुनुको कारणमा हाम्रा पुरातन धार्मिक, सांस्कृतिक चलन हुन्। ती चलन पनि विशेषतः जातीय र महिलालाई उपेक्षा गर्ने खालका छन् भन्ने कुरा घामजत्तिकै छर्लंग छ। सामाजिक रूपमा पनि अहिलेको समाजमा हरेक विषयवस्तु, सामाजिक रहनसहन तथा मानवीयताको कोणबाट अध्ययन विश्लेषण गर्ने परिपाटी सुरु हुँदै छ। यही परिपाटीको फलस्वरूप अन्यायपूर्ण लागेको, विभेदपूर्ण लागेको, हेपिएको, चेपिएको, शोषण गरेको कुरालाई पनि एक सचेत नागरिकले आवाज उठाउन थाल्दैमा उल्कापातै हुन थाल्यो भन्नेहरू पनि जुर्मुराउन थालेका छन्। अमानवीय चलन, व्यवस्थाको विषयमा आवाज उठ्छ भने त त्यसमा सकारात्मक भएर समस्याको समाधान गर्ने, न्यूनीकरण गर्ने होइन र ? हाम्रा धार्मिक ग्रन्थ पनि समय अनुसार विभिन्न संस्करणमा फेरिए, नयाँ कुरा थप भए पनि भनिएको छ। यसो हो भने महिला विभेद र जातीय विभेद हटाएर ती ग्रन्थलाई पुनः संस्करण गर्न पनि सकिएला, यसमा विज्ञहरू सकारात्मक भए भने।

समाज र समाजका धर्म–संस्कृतिलाई नियम–कानुनझैँ मान्दै आएका तर समय क्रममा यसमा भएका विभेदलाई केलाउँदै यो त हामीमाथि अन्याय पो रहेछ भन्नेहरू केवल महिलाहरू मात्रै छैनन्। जस्तोः जनै पूर्णिमा पनि हिन्दू समुदायले मनाउने महत्वपूर्ण पर्व मानिन्छ, तर हिन्दू समाजभित्रकै अर्को समुदायलाई जनै लगाउने नियम छैन र यो पर्व हामीलाई मान्य छैन भन्ने आवाज पनि उठिरहेको छ। ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र भनेर छुट्ट्याइएको र शूद्र बनाइएका समुदायलाई यज्ञोपवित अधिकार नदिइएकाले यो पर्व विभेदित लाग्छ भन्छन्, केही विद्वान्हरू। ब्राह्मण क्षेत्री परिवारमा जनै धारण गरेका पुरुषलाई महिनावारी भएकी महिलाले चार दिनसम्म छुन नहुने, महिलाले महिनावारी भएका बखत पकाएको खाना खान नहुने जस्ता चलन छन् र यही चलनले कतिपय एकल परिवारमा भएका महिलाले प्रत्येक महिनावारीमा चार दिनसम्म राम्रोसँग खाना खान पनि नपाउने र श्रीमान् छोराछोरीलाई खाना पकाएर खुवाउन नपाएको, दुःख पाएको अनुभव पनि सुनिन्छ।  

एकजना महिला भन्दै थिइन्, उनलाई महिनावारीमा एकदमै पेट दुख्छ। उनको घरमा दुई छोरा र श्रीमान् मात्रै छन्। उनी महिनावारी भएका बेला छोरा तथा श्रीमान्ले उनले छोएको खाँदैनन्, घरमा आफैँ  पनि पकाउँदैनन्, बाहिर गएर खान्छन्। उनी दुखेसो गर्दै थिइन्, यो महिनावारी कहिले बन्द होला र कैयौँ टन्टा साफ होला। ती महिला आफैँले पनि महिनावारी प्राकृतिक हो, यसमा छोइछिटो जरुरी छैन भन्ने बुझ्न सकेकी छैनन्। एउटा धर्मका ठाउँमा अर्को धर्म तथा एउटा संस्कृतिको ठाउँमा अर्को संस्कृति मान्नेभन्दा पनि हामी जहाँ छौँ, जुन संस्कृतिमा चलिआएका छौँ, त्यसैलाई परिमार्जित, सभ्य, सबैलाई समान ठान्ने मानवीय बनाऊँ भन्ने हो। महिला–पुरुष समान भएको समाज, जातजाति, हेलाहोँचो, विभेद नभएको समाजका लागि बहस गर्नु हुलहुज्जत गर्नु तथा समाज, धर्म–संस्कृति भाँड्नु अवश्य होइन। बरु कहाँ–कहाँ विभेद छ, व्यापक बहस गर्दै अगाडि बढ्नु नै समाजलाई प्रगतिशील बाटोमा डो-याउने उपाय होला।

प्रकाशित: ३ आश्विन २०७७ ०५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App