१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

रात र पारिजात

कविता

 मिरा प्रसाई   

ओ प्रिय  

म बन्छु पारिजात  

फुल्छु तिम्रै लागि

बिहानले देख्न नपाउँदै  

झर्छु भुइँमा नओइलाउँदै,

म नफुल्दै  

तिमी आउनु

र,  

म झरेपछि मात्र जानू ,

बिहानको आगमन सँगसँगै  

मेरो वरिपरि भमराहरू आउलान्,

छोएर टिपेर आनन्द लेलान्,  

कसैले शिरमा सजाउलान्,  

कसैले मन्दिरमा चढाउलान्  

जो कदापि म चाहन्न,

अस्वीकार्य छ मलाई  

अरू कसैको छुवाइ ।

ओ प्रिय  

हाम्रो संसारमा बिहानको आगमन नहुँदै  

जानू तिमी,  

मेरो चाहना यो छ कि ,

बिहानीले तिमीलाई पनि

हेर्न नपाउन,  

छुन नपाउन  

मेरो मधु मोहकतामा तिमी रमाउ  

तिम्रो शीतल बाहुपासमा म हराउँ,

तिम्रो साथमा मैले

सारा संसार देखूँ  

मेरो काखमा तिमीले  

सारा खुसी भेट्नु,  

म तिम्रो चाहना बन्नु  

तिमी मेरो सपना बन्नु  

जहाँ  ,  

कुनै आग्रह नहोस

कुनै पूर्वाग्रह नहोस  ।

हो प्रिय

तिमी र म रात र पारिजातको जस्तै,  

प्रेमिल प्रेम गरौ  

फिका लागून लैलामजनुका प्रेमकथा,  

रोमियोजुलियटका प्रेमगाथा  

तिम्रो र मेरो प्रेम

रात र पारिजातको  

प्रेम पर्यायले चिनियोस् प्रेमनगरीमा ।

गीत, गजल लेखियून्,

कथा, कविता लेखियून्,

स्तुति र आख्यानहरु लेखियून्,  

लेख्नेहरूको कलम नथाकोस्,  

पढ्नेहरूलाई रोमाञ्चक लागोस्,

सुन्नेहरूलाई सुनिरहूँ लागोस् ।

हो प्रिय,  

तिम्रो र मेरो प्रेम यस्तैयस्तै बनोस् ।

छातीमा हात राखेर भन्छु    

तिम्रा लागि  म पारिजात बन्छु ।

ओ प्रिय

के तिमी बन्न सक्छौ त  

पारिजातको नितान्त रात ?

प्रकाशित: २ आश्विन २०७७ ०८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App