२३ फाल्गुन २०७७ आइतबार
कला

पत्रकारको पास

लघुकथा

श्रीराम राई

 

उखुमै लागेको थियोे भदौरे घाम  । सवारीसाधन फाट्टफुट्ट मात्रै  चल्दै थियोे ।  सुरक्षाकर्मी पसीना पुछ्दै ड्युटी गर्दै थिए ।

उसले सर्र कार गुडाउँदै सोच्यो – लु गर मापासे चेक, लु गर हामीलाई चेक !

भक्तपुर नयाँठिमीबाट ललितपुर गोदावारी पुगेर फर्किदासम्म पनि पुलिसले हेथ्र्यो र छोडिदिन्थ्यो ।

उसले घर फर्किनेबित्तिकै हातमुख धोयो, फ्यान चलायो र चिसो पिउँदै टेलिभिजन हेर्न थाल्यो । त्यहाँ सामान्य पहिरनका बाटो हिँड्ने ठिटाहरू उठबस गर्दै थिए । सुरक्षाकर्मीले हप्काउँदै थिए । ढाडमा लौरो बर्सिदै थिए ।

उसकी श्रीमतीले भनिन् – धन्न हामीचाहिँ फेला परेन छौं । नत्र यस्तै उठबस गर्नुपथ्र्यो होला ।

आँगनमा ऊ गाडी बन्द गरेर भित्र छिर्न खोज्दै थियो, पल्ला घरका रविन खर्दारले सोधिहाले – होइन यस्तो कोरोना कहरमा कसरी गोदावरी पुगेर आउनुभयो ! पुलिसले केही गरेन !

उसले सानका साथ जवाफ दियो – मान्छे इमानमा बाँच्नुपर्छ  । इमानसाथ  नियममा बसे कसैले केही गर्न सक्दैनन् ।

छिमेकी खर्दारलाई अझै चित्त बुझेन । फेरि सोधे –पुलिसले त कसै गरे पनि हिँड्न दिँदैन नि त । पत्रकार पुलिस मात्र हिँड्छन् पासमा ।

मौले कान्छा कारलाई पुछपाछ र धोईपखाली पार्दै थियो । अनि उसले पो जवाफ दियो – हेर्नु न खर्दार साप, हाम्रो मालिक पनि भर्खर पत्रकार हुन भएछ । हेर्नु त यी गाडीमा पत्रकारको पास टाँसेको छ !

प्रकाशित: २ आश्विन २०७७ १२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App