१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

उसलाई पनि कसैबाट, विश्वासघात हुन सक्छ

मुक्तक

 निर्मला कुँवर 

मलाई दुख्दा साँच्चै घायल, को हुन्छ र  आमाजस्तो

छेउमै बसी मनको व्यथा, को सुन्छ र आमाजस्तो

यो संसारमा कोही हुन्न, आमालेझैँ माया गर्ने

मेरो पीडा देख्दाखेरि, को रुन्छ र आमाजस्तो।

 

   आज मलाई पीडा दिने, मान्छे भोलि रुन सक्छ

    उसलाई पनि कसैबाट, विश्वासघात हुन सक्छ

   मेरो मुटुभित्र उसले, जस्तो आगो झोसेको छ

    त्यही आगोले उसलाई पनि, कुनै दिन छुन सक्छ।

 

     बुझेकी छु धोका खाई, आँसु झर्दा कस्तो हुन्छ  

     एउटै मुटु बारम्बार, चिरा पर्दा कस्तो हुन्छ

     माया लगाई सयौँ जुनी, तिम्रै हुन्छु भन्ने मान्छे

    घात गरी अर्कै दिलमा, बसाईँ सर्दा कस्तो हुन्छ।

 

    देश लुटेको पापले तिम्लाई, पोल्ने दिन आउन सक्छ

    नाङ्गो पारी तिम्रो कर्तुत, खोल्ने दिन आउन सक्छ

   निरीह छन् जनता भन्ने, नसोचे नि हुन्छ अब

   अति भए ढुंगा समेत, बोल्ने दिन आउन सक्छ।

 

    मेरो माया बल्ल बुझ्छौ,कुनै दिन छुटेपछि

   ख्याल गर फर्कन्न म, मेरो मन टुटेपछि

  चाहे फकाउ, माफ माग,  मेरो मन जित्ने छैनौँ

   विचार गर जोडिँदैन, ऐना त्यो फुटेपछि।

प्रकाशित: ३० भाद्र २०७७ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App