७ वैशाख २०८१ शुक्रबार
कला

कलाकार दामोदर बरालका १० चित्र

उदाहरणीय युवा

कलाकार दामोदर बराल।

विदेशी पर्यटकका माझ नेपाल चिनाउने गतिलो माध्यम चित्रकला पनि हो। नेपाल घुम्न आएका पर्यटकहरू हाम्रो प्रकृति, संस्कृति, जीवनशैली, इतिहास र मुहारचित्र झल्कने चित्र किनेर लैजान्छन्। तिनै विदेशीका लागि मनै हर्ने कोसेली बनाउने कुशल कलाकार हुन्–दामोदर बराल।  

चितवनको पर्यटकीय केन्द्र सौराहामा उनी दिनरातै चित्र बनाउँछन्। विशेषतः एक्रेलिक रंगका माध्यमले ल्याण्डस्केप र पोटे«ट बनाउँछन्। झलक्क हेर्दा तस्वीरजस्तै देखिन्छन् उनका चित्र। तीनमा रंगसँगै उनको कल्पनाशीलता पनि घोलिएको हुन्छ। त्यसैले उनका चित्रमा सबैका आँखा टाँसिन्छन्।  

उनले बनाएका चित्र तात्तातै बिक्री हुन्छ। स्टक बस्न पाउँदैन। अचेल लकडाउनले गर्दा भने ग्यालरीमा चित्रहरू थुप्रिएका छन्। पर्यटन क्षेत्र ठप्प भएकाले अझ कति समय चित्र स्टक बस्ने हुन्, अहिल्यै भन्न सकिन्न।  

चित्रकलामार्फत नेपालको प्रवद्र्धन गर्दै आएका पर्यटन दूत हुन् चितवनका कलाकार दामोदर बराल। कलाकर्मबाटै उनले नाम र दाम दुवै कमाएका छन्। 

कोरोना भाइरसको महामारी फैलेसँगै सरकारले लकडाउन गरेपछि उनी ग्यालरीमै बसेर चित्र बनाइरहेका छन्। उनको घर चितवनकै भरतपुर महानगरपालिका–१० मा छ। उनी आफ्नो घरमा होइन, भाडाको ग्यालरीमा बसेर कलाकर्म गर्छन्।  

बेलाबेलामा क्यामेरा, क्यानभास, स्टयाण्ड र रंग बोकेर गाउँघर डुल्छन्। कति चित्र त्यहीँ बसेर बनाउँछन्। कतिपय क्यामेरामा खिचेर ल्याउँछन् र फुर्सदमा बनाउँछन्। ल्याण्डस्केपका लागि पोखरा सेरोफेरोका घाचोक, धम्पुस, ल्वाङघलेल र  घान्द्रुकतिर बरोबर पुगिरहन्छन्।  

उनी व्यवसायिक कलाकार। कलाकर्मले नाम र दाम दुवै दिएको छ।  

‘सिजनमा राम्रै कमाइ हुन्छ। कमाईबाट संतुष्ट छु’, उनले भने, ‘मातृभूमि छाडेर विदेशमा घोटिनु वा अरूको काम गर्नुभन्दा आफ्नै मनखुसीले काम गर्न पाउँदा आनन्द लाग्छ।’  

उनी ३९ वर्षका भए। सात वर्ष भयो उनले क्रियटिभ आर्ट ग्यालरी चलाएको।  

उनी स्कुले जीवनदेखि नै चित्र बनाउँथे। चितवनको माडीमा जन्मेहुर्केका उनले कक्षा १० सम्म त्यहीँको जनकल्याण माविमा पढे। कलामोहले गर्दा एसएलसीपछि ललितकला क्याम्पस पढ्न काठमाडौं आए। विसं २०५७ मा आइएफए सकेर उनी चितवन फर्केपछि व्यवसायिक काममा जुटे।

अनि त उनले फर्केर हेर्नै परेन। त्यसपछि माथिल्ला कक्षामा पढ्ने फुर्सदै पाएनन्। कला सागरमा चुर्लुम्म डुबुल्की मारिरहे। मारिरहेछन्।  

‘स्कुलमा साथीको लहलहैमा लागेर चित्र कोर्थें। साथी र शिक्षकहरूले तारिफ गरिदिन्थे’, उनी सम्झन्छन्, ‘त्यही स्याबासीले मलाई कलाकार बन्न हुटहुटी जगायो र आज यहाँसम्म आइपुगें।’  

उनी अचेल एक्रेलिक रंग बढी खेलाउँछन्। पहिला जल रंग पनि चलाउँथे। उनले सन् २००२ मा कलाकार दुर्गा बरालसँग दुई महिना जल रंगको कक्षा लिएका थिए। त्यसबेला उनी घरमै बसेर चित्र बनाउँथे। आफूले बनाएका चित्र ग्यालरीहरूमा बच्थे।  

तिनताका जल रंगका चित्रको माग राम्रो थियो। ‘दुर्गा सरसँग सिकेर आएपछि मैले बनाएका चित्रहरूको डिमाण्ड बढ्यो’, उनले भने। 

‘सिजनमा राम्रै कमाइ हुन्छ। कमाईबाट संतुष्ट छु’, उनले भने, ‘मातृभूमि छाडेर विदेशमा घोटिनु वा अरूको काम गर्नुभन्दा आफ्नै मनखुसीले काम गर्न पाउँदा आनन्द लाग्छ।’   

सयौं चित्र बनाइसके उनले। हिजोआज नेपालीहरूले पनि आफ्ना घर सजाउन चित्र किन्न थालेका छन्। यसले कलाकारलाई बचाउँछ।  

उनका अधिकांश चित्रहरू विदेशमा पुगेका छन्। सामूहिक चित्रकला प्रदर्शनीमा सहभागी भएर उनी आफैं पनि कोरिया, जापान, थाइल्याण्ड, भारत, दुबई, कम्बोडिया र इजिप्टसम्म पुगे। उनका चित्रहरूको प्रदर्शनी भने अमेरिका र इटाली लगायत देशमा पनि भैसक्यो।  

उनले विसं २०५६ मा चितवनमै एकल कला प्रदर्शनी गरेका थिए। केही वर्षपछि काठमाडौं र पोखरामा एकल प्रदर्शनी गर्नेछन्। लकडाउनपछि भने युरोप र अस्टे«लियामा सामूहिक प्रदर्शनी गर्ने योजनामा छन्।  

उनी फुलटाइम कलाकार हुन्। उनले बनाएका दशवटा चित्रको यहाँ चर्चा गरिएको छ। कर्ममा विश्वास गर्ने कलाकार दामोदर बरालको सुस्वास्थ्य एवं दीर्घायुको कामना!  

धम्पुस

अन्नपूर्ण र माछापुच्छे« हिमालसँग आँखा जुधाइरहेको कास्कीको एउटा सुन्दर गाउँ– धम्पुस। पोखरा बजार नजिकैको धम्पुस पर्यटकीय गाउँ हो। त्यहाँ ढुंगा र खरले छाएका चिटिक्क घर छन्। कलाकार बरालले एक्रेलिक रंगका माध्यमले धम्पुस गाउँको चित्रण गरेका हुन्। धम्पुसको फोटोमा बरालले कल्पनाशीलताको जलप पनि लगाएको देखिन्छ।   

हात्ती  

सौराहा भन्नेबित्तिकै आँखामा हात्ती र गैंडाका दृश्य आउँछन्। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सौराहा पर्यटकीय केन्द्र हो। सौराहाका व्यवसायीले पर्यटकलाई निकुञ्ज र सामुदायिक वनमा हात्ती सफारी गराउँछन्। बरालको यो चित्रमा भने हात्तीमाथि माहुते मात्र छन्। पाहुनालाई हात्ती सफारी गराएर फर्कने क्रममा रापती नदीको दृश्य उनले क्यानभासमा उतारेका।

गाडा

चितवनमा पहिलापहिला खाद्यान्न लगायत अन्य सामान बोक्न गाडाको बढी प्रयोग गरिन्थ्यो। अचेल फाट्टफुट्ट मात्र यस्ता गाडा देखिन्छन्। ट्रयाक्टरको आगमनसँगै पुराना गाडा हराए। चित्रमा सौराहा नजिकैको बूढी रापती खोलामा गाडा देखिन्छ। यसमा बरालले जाडो याममा कुहिरो लागेको अवस्था झल्काएका छन्। 

पहाडी गाउँ

हिमाल, पहाड, वनजंगलको मीठो संयोजन भेटिन्छ पहाडी गाउँमा। स्वच्छ वातावरण, आत्मीय व्यवहार र फरासिला गाउँले नै गाउँका विशेषता। त्यस्तै तनहुँ जिल्लाको एउटा सुन्दर गाउँको चित्र हो यो। त्यही गाउँकी एक महिलाको आग्रहमा बरालले वर्ष दिनअघि यो चित्र बनाएका। 

भोटको जीवन

प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि हिमाली जनजीवन सजिलो छैन। दुःख गरेरै बाँचेका छन् उनीहरू। आफ्नो परम्परा, संस्कृति र जीवनशैलीलाई जोगाइराखेका छन्। चित्रमा एउटी महिला दाउराको चुलोमा ढिँडो मस्काउँदैछिन्। कलाकार बरालले सन् २०१६ मा बनाएको यो चित्र जापानको एउटा नेपाली रेष्टुराँमा सजाइएको छ। 

फिसरम्यान  

चितवनका रैथाने थारु र बोटे समुदायले खोला तथा नदीमा माछा मार्ने काम गर्छन्। माछा मारेका दृश्य वर्षैभरि देखिन्छ। कलाकार बरालको चित्रमा थारु समुदायले पटिहानीमा जाल फ्याँकेर माछा मार्दै गरेको देखिन्छ। यो चित्र पटिहानीकै नयाँ पर्यटन प्रोडक्ट ‘अम्ब्रेला स्ट्रिट’मा राखिएको छ। उनले झन्डै ९ महिना अघि यो चित्र बनाएका थिए।  

निश्छल  

बालबालिका कोमल हुन्छन्। निश्छल हुन्छन्। निर्दोष हुन्छन्। उनीहरू भगवानका सुन्दर सृजना हुन्। बराल बेलाबेलामा यस्तै पोटे«ट (मुहारचित्र) पनि बनाउँछन्। उनले ग्राहकको अर्डरअनुसार फोटो हेरेर यो निश्चल बालकको चित्र बनाएका हुन्। 

काठे गाडा

चितवनका गाउँहरूमा काठे गाडाको प्रयोग हटिसकेको छ। यस्ता गाडाहरूको चक्काहरू भने शहरबजारका होटल तथा रेष्टुराँमा सजाइएको भेटिन्छ। टायरवाला गाडा आएसँगै परम्परागत गाडा हराए। चालिसको दशकसम्म यस्ता गाडाहरू प्रयोगमा थिए। बाल्यकालमा देखेका दृश्य सम्झेर र पुरानो फोटो हेरेर बरालले यो चित्र बनाएका।  

बुद्ध

विश्व शान्तिका अग्रदूत गौतम बुद्ध लुम्बिनीमा जन्मेका थिए। उनी इसापूर्व ६२३ मा जन्मेका थिए। तिलौराकोट दरबारबाट माइती देवदह जान हिँडेकी मायादेवीले पुष्करिणी पोखरीछेउमा उनलाई जन्माएकी थिइन्। तिनै बुद्धको सम्मानमा बरालले चित्र बनाएका हुन्।  

बूढी रापती  

बूढी रापती शान्त स्वभावकी नदी हुन्। सधैं आफ्नै गतिमा बग्छिन्। नदी किनारामा पुग्दा मनमा एक किसिमको शान्ति छाउँछ। कलाकार बरालले यो चित्रमा हरियो रंगको मीठो संयोजन गरेका छन्। नेपाल ललितकला प्रतिष्ठान चितवनले वर्ष दिनअघि आयोजना गरेको कला कार्यशालामा उनले यो चित्र बनाएका हुन्। 

प्रकाशित: १९ भाद्र २०७७ ०७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App