कति डाह हुँदो हो तिमीलाई मैले बाँचेको देखेर
जस्तै दुःखमा पनि म हमेसा हाँसेको देखेर
अरूको रात देखेर उज्यालो हुने तिम्रो अनुहार
अँध्यारो हुँदो हो छिमेकको भाले बासेको देखेर।
०००
ठूलाठूला कुरा गथ्र्यौ दरबार देख्दिन तिम्रो
परिवारपरिवार भन्थ्यौ घरबार देख्दिन तिम्रो
लड्नुपर्छ शत्रुसँग, झुक्नु हुँदैन भन्थ्यौ
भागेको देख्छु तिमी सँधै तरबार देख्दिन तिम्रो।
०००
जतिसुकै बाठो हुँ भन्नेलाई पनि कहीं न कहीं समयले लाटो बनाउँछ
मै हुँ भन्ने महसुरलाई पनि कुनै न कुनै दिन समयले माटो बनाउँछ
अहिले त यो मुस्कान हो, यही मौकामा निरन्तर मुस्कुराउ प्रिय
रहँदैन यो खुसी सदासदा एक न एक दिन समयले खाटो बनाउँछ ।
०००
पुग्नु कहीं थिएन, तिमीलाई देखेर आएँ
हेर्दै थियौ तिमी, म आगो टेकेर आएँ
भन्थ्यौ नि तिम्रो हुन भाग्यमा लेख्नुपर्छ
भुलेछ भावीले लेख्न, आफैं लेखेर आएँ।
०००
सबैभन्दा दुख्ने मन नै हुन्छ
रूँदा पनि पहिले मन नै रून्छ
मनको पीडा मनमै राखे पछि
मन बाहेक अरू कस्ले सुन्छ ?
०००
खास हुन भन्दा दास हुन खोज्छन्
जिऊँदो हुनु भन्दा लास हुन खोज्छन्
बाह्रैमास फेसबुकमा झुन्डिने पनि
स्कूल कलेजमा पास हुन खोज्छन्।
०००
कति छोडिए, कति भेटिए
कति लेखिए, कति मेटिए
तिम्रो जय होस भन्नेहरू नै
ईष्र्यामा जलिरहेका देखिए।
०००
यो भाग्यले पनि अनेक गरिरहन्छ
मौसम बेमौसम तुसारो परिरहन्छ
जति पन्छाए पनि दुःख जिन्दगीका
माथिबाट पहिरो झरिरहन्छ।
०००
चिन्दै नचिनेकालाई पनि ‘चिनेको हो’ भन्नुपर्छ
हरेक दिन चिनेकोलाई पनि ‘तपाईं को’ भन्नुपर्छ
केके सिकाउँछ सिकाउँछ यो जिन्दगीले पनि
सँधै थाहा भएकै कुरा पनि ‘ए यस्तो पो’ भन्नुपर्छ।
०००
तिम्रो आँखाको प्रहार ठिक छैन अचेल
तिमीलाई छोएर बहने बहार ठिक छैन अचेल
रूपको पनि त एउटा सीमा हुन्छ नि प्रिय
अति भयो त्यो अनुहार ठिक छैन अचेल।
०००
चिच्याएर हुँदैन, कराएर हुँदैन
आफूले मात्र मन पराएर हुँदैन
मनको कुरा मनमै राख्छौ किन ?
मोही माग्नेले ढुंग्रो लुकाएर हुँदैन।
०००
जिते जस्तो हुन्छ अचानक हार्छ जिन्दगीले
हाँस्दाहाँस्दै फेरी आँसु झार्छ जिन्दगीले
हिँड्न त अहिलेसम्म आरामले हिंडेकै छु
थाहै हुन्न कुन दिन अभर पार्छ जिन्दगीले।
प्रकाशित: १९ भाद्र २०७७ ०२:०४ शुक्रबार